शिव प्रकाश
प्लेनको इन्जिन ‘अफ’ हुने वित्तिकै सेलफोनको स्वीच ‘अन’ गर्छ
एउटा म्यासेज आइसकेको छ– “आशुतोष, म तिमीलाई एक घण्टा पछि फोन गर्छु– गौरी
।”
समयको लामो फड्कोले साइनोको रंग झन् गाढा बनाएको छ । अतीतका मीठा
अनुभूतिमा बाँचेका स्मरणहरु झन् वयस्क बनेर आशुतोषका मनभरी दौडिन थाल्छन् –
कहिले प्रभासँग अनि कहिले गौरीसँग ।
वादलका थुम्काहरुसँग कतै ठोक्किदै,
कतै छलिदै, कतै लुकामारी गर्दै स्वप्नभूमि अमेरिकाबाट उडेको जहाज विभिन्न
देशका आकासको छाती चिर्दै मातृभूमि नेपालको माटोमा अवतरित हुन्छ । दिनले
संध्याको पोल्टोमा टाउको लुकाइसकेको छ । अहिले साँझको पाँच बजिसकेको छ ।
प्लेनको
ढोका कतिखेर खुल्छ ? घरदेशको सम्झनाले निथ्रुक्क भिजेको उसको मनमा अहिले
छट्पटी र औडाहा छड्किन थालेको छ । आँखाभरि आठवर्ष अघिदेखि देखेका सपनाहरु
छन् । ती आज साकार हुदैछन् ।
उसका आँखाका परेलीमा सधैं नाचिरहने,
अन्तष्करणमा सधैं डुलिरहने र मस्तिष्कमा सर्धै खेलिरहने त्यो मातृभूमि ! आज
आफ्नो अभागी निधार बल्ल त्यो मातृभूमिको चरणकमलमा अड्याउँदै छ । विगत
दुःखै दुःखमा बगाएको भए पनि दुःख के हो यतिबेला उसले सबै भुलेको छ । ऊभित्र
खुशी नै खुशी मात्र छ । “आखिर जीवनमा खुशी पनि आउँदो रहेछ– धेरै वर्षपछि
मातृभूमिको माटोमा माथा टेकाउँदैछु ।” आशुतोषलाई अहिले यस्तै लागेको छ ।
प्लेनको
सिँढीको अन्तिम खुड्किलो छोड्नु अघि ऊ टक्क रोकिन्छ । मातृभूमिको
पवित्रमाटो टेक्नु अघि त्यो माटोलाई ढोक्छ । प्लेनबाट ओर्लिनेको लाइन
एकैछिन अवरुद्ध हुन्छ । उसका अगाडि–पछाडि धेरै मान्छे छन् । जो त्यही
प्लेनमा यात्रा गरेका थिए ।
पछाडिबाट एउटा आवाज आउँछ– “के गरेको यो
लाईन जाम गरेर ? हा... हा... हा... यस्ता पनि मान्छे देखिए !” अनायास त्यो
रुखो हाँसोको कर्कश आवाज उसका कानमा ठोक्किन्छ । त्यो आवाजले मुटुमा ढुङ्गा
ठोक्किए जस्तो दुःखाउँछ उसलाई ।
“कसैको नभाको स्वाङ् !, बाटो छोड
ए....” अर्को एउटा संवेदनाहिन उदण्ड आवाजले उसलाई धकेल्छ । अगाडि केही
पर्यटकहरु छन् उनीहरु एकतमासले हेर्छन् । एउटाले सोध्छ– “के गरेको यो ?” उ
विनम्रता पूर्वक मधुरो स्वरमा जवाफ दिन्छ – “मेरो देशको माटोलाई ‘स्यालुट’
गरेको ।”
ओरिपरिका अरु नेपालीले हाँसोको पात्र बनाउँछन् उसलाई । तर,
पनि उ कसैसँग केही वाद–विवाद, अनुग्रह–आग्रह, विग्रह–पूर्वाग्रह नगरी अघि
बढ्छ । मनमनै भन्ठान्छ– यस्तै रहेछ ढुंगालाई ढोग्नु धर्म मानिन्छ तर
माटोलाई ढोग्नु अपराध ठानिन्छ । त्यो घटना एउटा दुस्वप्न जस्तो लाग्छ उसलाई
। मनमनै धारे हात लाउँछ । आकासमा झण्डै उन्नाईस–बीस घण्टाको उडान अनि
लण्डनको लामो ट्रान्जिट । बहराइनका थप केही घण्टा । झण्डै तीस–बत्तीस
घण्टाको निरस, पट्यार र थकानलाग्दो यात्रा ! तै पनि आशुतोष पटक्कै थकित
देखिदैन । उसको अनुहारमा बिहानीको किरणले चुमेको त्यो आफ्नै हिमालको चमक छ ।
जसलाई ऊ शिरको मुकुट ठान्छ । शरीरमा कलकल बग्ने ती आफ्नै देशका वयस्क
खोलानालाको स्फूर्ति छ । जुन आफ्ना नसानसामा सधैं बगेको अनुभूत गर्छ । मनमा
उमंगको गुँरास ढकमक्क फुलेको छ । जुन उसको दुःखमा पनि साथी बन्छ र खुशी
दिन्छ ।
मातृभूमिसँग उसको सम्बन्ध त्यही छ– जुन सम्बन्ध नङ र मासुको हुन्छ । मुटु र श्वासको हुन्छ अनि जून र ताराको हुन्छ ।
तर
विडम्बना ! समयको भँगालोले उसलाई भूगोलको कुनै सुदूर कुनामा लगेर धेरै
वर्ष थन्क्याइदियो । विधाताको इच्छा– उसलाई माता र मातृभूमिको काख अनि
परिवारको मायाबाट वर्षौ अलग गरायो । अन्ततः आज एक निराश्रित एकाङ्की
जीवनबाट गृहस्थ जीवनमा फर्केको छ । मानिस जस्ता देखिने मान्छेहरुको जंगलबाट
फेरि मानिस भेट्न आएको छ ।
बाहिर उभिएका सयौ अपरिचित अनुहारमा आँखा
दौडाउँछ । त्यो भीडमा टाढैबाट प्रभालाई देख्छ । खुशीले प्रफूल्ल हुन्छ ।
झलमल्ल जून–तारा झुल्केको आकाश जस्तो हुन्छ मन तर एकाएक झट्ट गौरी सम्झिन्छ
। अहिले आफू फेरि एउटा दशगजामा उभिएको जस्तो लाग्छ उसलाई । एकतिर प्रभा र
अर्कातिर गौरी ! आँखामा प्रभा, मनमा गौरी ! एउटा अन्तर्द्वन्दले उसको
अन्तर्मनमा अर्को युद्ध चलाउँछ एकछिन् ।
साँझ झमक्क परिसकेको छ । घरमा
पुग्छ– अँध्यारो छ । बत्तीको स्वीच अन गर्छ– बल्दैन । धेरै अँध्याराहरु
मध्ये लोडसेडिङको सघन अँध्यारोमा देश डुबेको छ । उसलाई लोडसेडिङको तालिका
थाह छैन । छोराले भन्छ– “बाबा, बत्ती छैन । राती बाह्र बजेमात्र आउँछ ।”
बल्ल उसलाई थकानको महशुस हुन्छ । लखतरान शरीरलाई सोफामा एकछिन् लडाउँछ । उठेर नुहाउँन बाथरुम तिर जान्छ र धारा खोल्छ– पानी आउँदैन ।
“खै मैले धारा खोल्न जानीन कि क्या हो ?” श्रीमतीतिर हेर्दै भन्छ ।
“नजानेको
हैन, पानी नभएको हो । धारा रित्तो छ । एकदिन विराएर पानी आउँछ– जम्मा दुई
घण्टा । बिहानै आयो अब पर्सी मात्र आउँछ ।” श्रीमतीको कुराले ऊ एकछिन्
विलखबन्दमा पर्छ । श्रीमतीका अनुहारमा एकटक लाउँछ । मोती हराएको नाग जस्तो
त्यसै ओलिएर सोफामा फेरि पल्टन्छ ।
“रित्तोधारा ....! रित्तोधारा ....!” एक्लै बोल्छ ।
“यसमा
त्यस्तो अचम्म मान्नु पर्ने कुरा म त केही देख्दिन । यहाँ त यो सामान्य हो
। गुण्डा, फटाहा, हत्यारा, लुटेरा र डनहरु मारिए भने जुलुस निस्किन्छ,
बन्द–हडताल हुन्छ अनि शहीद घोषणा हुन्छ तर देश आफैं शहीद हुन लागेको छ । यो
सबै सामान्य भएको छ । सबैलाई मान्य भएको छ । ”
श्रीमतीले भनेका कुरामा
केहीबेर गम्भीर हुन्छ । हेर्छ– प्रभाको अनुहारमा यौवनका आभाहरु उडिसकेको
देख्छ । शरीरमा वैंशको वशन्त छैन । मनको मर्मको कितावमा पीडाका अक्षरहरु
पढ्छ । वेदनाका भाषा सुन्छ ।
सोच्छ– म एक अपराधी हुँ ! उ जिन्दगीको
हिसाबकिताब गर्न थाल्छ । कमाएको भन्दा गुमाएको नै बढी आउँछ शेषमा । विगत र
वर्तमानलाई तौलन्छ– वर्तमानको पल्ला अति हलुको देख्छ । ऐनामा आफ्नो अनुहार
हेर्छ– उस्तै देख्छ आफ्नी स्वास्नी प्रभा जस्तै । यौवनको भीख अब कोसँग
माग्ने ? यौवन गुमाएर कमाएको पैसाको अर्थ खोज्छ– केही पाउँदैन ? झन् लखतरान
थाके जस्तो लाग्छ उसलाई । मैनबत्तीको मधुरो उज्यालोतिर गहिरो नजर लाएर
जीवनको परिभाषा खोज्छ– जीवन एक ठट्टा पनि रहेछ जस्तो लाग्छ ।
ए, मान्छे
! हैन कहाँ हरा’....? प्रभाको आवाजले झस्किन्छ । “यस्तै हो । अँध्यारोसँग
विरक्ति लाग्यो होला । हाम्रो त प्रीत गाँसिसकेको छ ।” प्रभा मुस्कुराउन
खोज्छे ।
“मैले कुरा बुझिन ।” आफ्ना उदास आँखा प्रभाको अनुहारमा डुलाउँछ । फिक्का उज्यालो जस्तो लाग्छ ।
“मैले
धेरै अँधेरा रातहरु एक्लै काटीसकेकी छु । त्यसैले आजको यो अँधेरो मलाई
अँधेरो जस्तो लागेको छैन । तपाइँको उपस्थिति नै यो घरको उज्यालो हो ।”
चुपचाप आशुतोष चुपचाप नै छ । फेरि आफ्ना आँखा प्रभाको अनुहारमा दौडाउँछ । प्रभाको अनुहारमा कताकता केही खुशी जस्तो पनि देख्छ ।
“यस्तै
हो भने त तपाइँ यहाँ चारदिन पनि टिक्नु हुन्न । यहाँ ‘छैन’सँग मित र
‘अँधेरो’सँग प्रीत लाएर बाँच्नु पर्छ । दुःखसँग हाँस्नु पर्छ । देशमा अब
‘छैन’ बाहेक केही बाँकी छैन ।”
उसले फेरि पनि कुरा बुझ्दैन र सोध्छ– “ प्रभा, के भन्न खोज्या ?”
“छैन
अर्थात केही छैन । देशमा पेट्रोल छैन, मट्टीतेल छैन, ग्यास छैन, पानी छैन,
बत्ती छैन । यो सबै सामान्य भैसकेको छ । मान्छेमा नैतिकता छैन, इमान छैन,
धर्म छैन, मानवता छैन, संवेदशीलता छैन । मान्छेभित्र हुनु पर्ने जे हो त्यो
नै छैन । यो सबै झन् सामान्य भैसेकेको छ । खोज्दै गयो भने केही ‘छैन’ ।”
“भनेपछि देशमा ‘छैन’ मात्र बाँकी छ ।” आशुतोष फिसिक्क हाँस्छ तर भित्रभित्रै उसको मन दुःखेको छ । देशको पीडा अनुहारमा झल्किन्छ ।
“ल म तातो चिया बनाएर ल्याउँछु ।” प्रभा भान्सातिर लाग्छे ।
“मलाई थाह छ तिमी थाकेका छौं तर त्योभन्दा बढी म थाकेकी छु तिम्रो पर्खाइमा । स्वागत छ तिमीलाई मातृभूमिमा । भोलि.............. !”
गौरीको
आवाजले उसलाई विगतको त्यो लामो बाटोमा एकछिन् फेरि हिँडाउँछ, स्मरणका
उकाली–ओरालीहरु चढाउँछ–ओराल्ःछ । औपचरिकताका केही शालिन शब्दले गौरीप्रति
आभार देखाउँदै “हुन्छ” मात्र भनेर फोन विसाउँछ । अनि स्मरणको उही बाटोमा
हिड्छ जुन बाटो उसको मानसपटलमा हिडिरेको छ ।
आशुतोषको मष्तिष्कमा गौरी र गौरीको मष्तिष्कमा आशुतोष प्रेमका एक अनौठा विम्ब र प्रतीक भएर बसेका छन् । यता जीवनमा प्रभा छे !
चियाको कप नजिकै राख्दै सोध्छे– “यात्रा कस्तो भयो त ?” प्रभाको आवाजले उ
आफू अहिले फेरि घरमा भएको महशूस गर्छ । आत्मग्लानीको पसिनाले एकचोटी मन
भिजाउँछ । गौरीलाई एकछिन् विर्सिन्छ ।
“अँ ठीकै भयो तर अलि थकित भए जस्तो भएको छ । के भन्नु प्रभा दिक्क लाग्छ सम्झिदा पनि ....! पछि भनुला कुनै दिन ।”
आठ
वर्षपछि भेटेको लाग्नेसँग बेलाबेलामा प्रभाका आँखा ठोक्किन्छन् । आफैंमा
कताकता अलिकति लज्जा, अलिकति संकोचले प्रभालाई एक अनौठो दूरीमा राखेको छ ।
अनि लज्जा र संकोच जस्तै केही सन्देहले पनि पछ्यारहे जस्तो लाग्छ प्रभालाई ।
सूर्यास्त सँगै लजालु बनेको साँझ । प्रभाको मुहारमा छाएको शालीन मृदुभाव । आशुतोषलाई भने आफ्नै स्वास्नी पनि कस्तोकस्तो भरखरै मात्र चिनेको
जस्तो हुन्छ । कुरा गर्न पनि कताकता अप्ठ्यारो जस्तो । कुरा गर्ने कुरा पनि
केही नभए जस्तो । साँच्चै भन्ने हो भने भरखर ‘लभ’ पर्न सुरु भए जस्तो !
कुरै नआउने, आए पनि छिट्टै सिद्धिने जस्तो । एउटा पछि अब अर्को के कुरा
गरुँ जस्तो भइरहन्छ ।
उनीहरु बीच त्यो समयले एउटा लामो रेखा तानेको छ । थाहा छैन छोट्याउन यो समयले कति समय लिन्छ ?
० ० ० ० ० ०
बातैबातमा
........ ! र, बातैबातमा रात वित्छ । विहानीको सुनौलो स्पर्शले धरती
उज्यालो भैसकेको छ प्रभाको मन जस्तै । उठेर नुहाउन जान्छे । चिया लिएर
आउँछे । आशुतोषको छेउका बसेर भन्छे– “उठ्न अलि अबेला भएछ तर आहा ! आज मन
कति चंगा भयो ।” आशुतोष मुस्कुराउँछ ।
“गौरी पर्खिरहेकी होली, ओहो ! एक बज्न लागिसकेछ ।” हतारहतार निस्कन्छ ।
पिपलबोटमुनी
गौरी गाडी रोकेर बसिरहेकी छे । एउटा मीठो मुस्कानले स्वागत गर्दै
मित्रताका हात निशङ्कोच अघि बढाउँछे र भन्छे– “वेल कम माइ डियर आशु ! तर
मैले हिजै भनेकी थिइन, एक बजे भनेर...। पाँचमिनेट ढिलो भयौ नि । खोइ त
अमेरिकन टाइम ?” प्रश्नसूचक दृष्टिसँगै गौरीका प्रेमिल आँखा आशुतिर
एकोहोरिन्छन् ।
“सरी” भन्दै लामो मुस्कान छोड्दै गौरीको अनुहार तिर आफ्ना आँखा विछ्याउँदै र सोध्छ– “हामी कहाँ जान्छौँ त ?”
“म जहाँ लान्छु त्यही ।” गौरीको बोलाई उस्तै छ पहिलेकै जस्तो भाववाचक र अलि चर्को ।
गाडी तीनकुनेबाट मोडिएर भक्तपुरको हाइवेतिर लाग्छ । कुराकनीको शिलसिला सुरु हुन्छ ।
“अनि यत्रो वर्षपछि फर्किएको तिमी, के फरक देख्यौ त देशमा ?”
“धेरै
देखेँ, गौरी । नेता भनाउँदा भष्माशूरहरुले बोली फेरेछन् । पहिले मजाले
नेपाली बोल्न जान्नेहरुले आज नेपाली भाषा विर्सिएछन् । हिजोसम्म
दौरा–सुरुवाल र ढाकाटोपी ढल्काएर दरबार छिर्ने तिनै अनुहारहरु आज अर्थोकै
के–के लाउन थालेछन् । भेषभूषा त फेरेछन् तर अनुहार र व्यवहार फेरेका रहेछन्
। भित्रका उही सधैका भष्मासुर,अझै भष्मासुरै रहेछन् !
“अनि अरु नि ?” आफ्ना ठूला–बाटुला चंचल आँखा नचाउँदै सोध्छे ।
“गौरी,
कताकता मेरो देश, आफ्नै देश हो कि हैन जस्तो पनि लाग्यो । कि देश परदेश गएको
हो कि जस्तो पनि लाग्यो ? कि त्यो परदेश नै मेरा देश भित्रिएको हो कि जस्तो
पनि लाग्यो ? खै के हो ? देशमा एकप्रकारको 'फ्युजन' देखेँ । यो 'फ्युजन' हो वा
मेरो 'कन्फ्युज' थाह छैन !” उसले विष्णुविभूका कविताका यस्तै केही भावहरु
पनि सम्झन्छ र थप्छ– “स्वप्नदर्शीहरु पनि सायद सबै शहीद भए !”
“अर्थात .... ?” उ छिट्टो र छोटो बोल्छे । शब्दका चास्नी घोल्न सिपालु छे ।
“सुन–
यो देशका गाउँ–शहरमा पहिले देशभक्ति र देशप्रेमका गीतहरु सुनिन्थे । अहिले
हेर त– शीलाकी जवानी रे ! मुन्नी बदनाम हुई रे ! दूधेवालकदेखि
जाउलेबूढाहरुसम्मका मुखमा झुण्डिएको ! सिनेमाहरुमा राष्ट्रप्रेम र मानवता
हुन्थ्यो । अहिले त जताततै देहदर्शन मात्र देख्छु ! टीभीमा, पत्रपत्रिकामा
। मोडल बन्नलाई नाङि्गनै पर्ने भएछ । जताततै डिंकाचिकाको नक्कल । जस्ताको
तस्तै । हैन के हो यो ? कता जादैंछ नयाँपुस्ता र यो नयाँ पुस्ताले
डोर्याउने समाज ?
“गौरी, देशमा छाएको अँध्यारोसँगै सँस्कारका बत्तीहरु सबै निभे जस्तो लाग्यो मलाई । चेतनाका जुनकीरीहरु सबै मरिसके जस्तो लाग्यो ।”
गौरी लामो शास तान्छे । “हो, हईऽऽ... कस्तो भयो समाज” भन्दै “अनि म नि ?” उही चंचलेपाराले सोध्छे ।
गोरो
वर्णकी गौरी । बाटुला चंचले गाजलु आँखा । सलल बगेको हलुका रातो कपाल । हात
गोडा उस्तै सलक्क परेका । जीउडाल उस्तै चटक्क मिलेको अझै । हल्का कालो
रंगको टिसर्ट । अलि उदरतापूर्वक खोलिएको छाती । उसका आँखामा झनै वयस्क
देखिन्छे गौरी ।
आफ्ना आँखा निर्वाध डुलाउँछ उसको शरीरमा । जूनको
उज्यालोमा विताएका पल्लवित पलहरु सम्झन्छ । गोधुलीमा हराएका मधूर साँझहरु
सम्झन्छ । शहरबाट कतै टाढा खेतबारीमा विताएका उज्याला दिनहरु सम्झन्छ ।
गौरीसामू गौरीसँगैका विगतमा एकछिन् हराउँछ । गौरीको गालाको चिटिक्क परेको
कोठी जस्तो सधैं गालामै टास्सिउँ जस्तो लाग्छ उसलाई । हाँस्दा फक्रिएको
गुलाफ जस्तो देखिन डिम्पल जस्तै उसको मनमा सधैं फक्रिरहुँ जस्तो लाग्छ ।
सोच्दासोच्दै
आफ्नो मन नेताहरुको आचरण जस्तै खराब जस्तो पनि लाग्छ । सत्ताको सिंहासनमा
बसेका नेताले जस्तै मनका सिंहासनमा बसेकी गौरीलाई म किन निकाल्न सक्दिन ?
आफैलाई प्रश्न गर्छ ।
गौरीले एक्कासी गाडीको ब्रेक ध्याच्च लाउँछे । उ
झस्किन्छ र गौरीका हात समाउन पुग्छ । कताकता असजिलो महशुस गर्छ । अनुहार
अलि फिक्का हुन्छ । ग्लानीको अनुभूति अनुहारमा उत्रिन्छ ।
गौरी
मुस्कुराउँदै बोल्छे– “त्यसैले ब्रेक लगाएको हुँ । कहाँ हराएको ? बोस्टनका
समुद्र किनारका ‘बीच’ र शहरका ‘वीच’हरुले मन उतै ताने कि क्या हो ? बडो
शालीन र भद्र बनेर बसेका थियौ नि ! डर लाग्यो ?”
“छैन ।”
“नत्र किन समायौ त हात ?”
आशुतोष हाँस्छ । गौरीले त्यो हाँसो बुझ्छे र उ पनि हाँस्छे । दुबै एकछिन् रोमान्टिक हुन्छन् ।
खै
मेरो बारेमा त केही भनेनौ नि ? “कस्तो ‘गुफी’ जस्तो हँऽ तिमी ? नो कमेन्ट ?
फेरि ब्रेक हानौ कि क्या हो ? अब त ब्रेक हैन एक्सिलेटर दवाउँछु र उडाउँछु
तिमीलाई । कसैले नभेट्ने ठाउँमा पुर्याउँछु नि !”
“तिमी, तिमी जस्ती रहिनछौ, गौरी !” मुसुक्क हाँस्दै वाचाल बोली बोल्छ आशुतोष ।
“अर्थात
?” गौरीका आँखामा आवेगको एउटा लघु विम्ब झलक्क झल्किन्छ तर आशुतोषलाई थाह छ
प्राय नारीहरुलाई नराम्री भन्नु हुदैन भन्ने कुरा । अनि धेरै पुरुषले
नारीलाई कहिल्यै नराम्री पनि भन्दैनन् । नारीप्रति पुरुषहरुको एउटा जन्मजात
व्यवहार हो । त्यसमा पनि गौरी निक्कै राम्री देखिन्छे । उमेरले मान्छेलाई
खान्छ भन्छन् तर उसले उमेरलाई खाएकी छे जस्तो लाग्छ ।
“अर्थात गौरी !
तिमी, तिमी जस्ती नभएर तिमीभन्दा राम्री रहिछौ । झन् राम्री ! सुन नउगेलिने
र तिमी बुढी नहुने रहस्य एकै हो कि क्या हो ?”
आशुतोषको कमेन्टले
गौरीको मुखबाट हाँसोको बाक्लो फोहोरा फुट्छ । अनुहारमा ढकमक्क गुराँस फुल्छ
। “गीभ मी फाइभ” गौरीको खुशीलाई आशुतोषले साथ दिन्छ । दुबै उन्मुक्त हाँसो
हाँसोमा एकछिन् हराउँछन् । गाडी मन्द वेगमा दौडिरहेछ । हावाका हलुका स्पर्शले गौरीका
कपालका रौ अनुहार भरी आफूखुशी सल्बलाउँछन्। हेरुँ हेरुँ लाग्ने गरी !
बेलाबेलामा ती कपालका केस्रा आसुतोषका गालासम्म ठोक्किन आउँछन् । जिस्किन
आउँछन् ।
लामो ग्यापको अनुभूति र अनुभवहरु बाड्दै यात्रालाई अगाडि
बढाइरहेछन् तर दुबैलाई लाग्छ उनीहरु बीच त्यस्तो लामो ग्याप कहिल्यै भएको
थिएन । आफ्ना विगतलाई कति छिट्टै वर्तमानसँग हिडाइरहेछन् आफुसँगै उनीहरु ।
सडकको
किनारमा एकछिन् गाडी रोकेर गौरी एकतमासले आशुतोषलाई हेर्छे । अनि छिनमै
आँखा बन्द गरेर भन्छे– आहा ! मनका आँखाले हेर्दा तिमी झन सुन्दर देखिन्छौ ।
”तर, हामी कहाँ जादैछौ ?” आशुतोषको कौतुहलता तपक्क तप्किन्छ । आँखा गौरीको अनुहारमा विसाएको छ। जुन उसको नियमित प्रकृया नै भएको छ आज।
“आइपुगियो ।” नभन्दै गाडी नगरकोटको एक भव्य होटलको आँगनमा पुगेर रोकिन्छ ।
“हामी यहाँ गौरी ?” आफ्ना अमुक आँखा गौरीतिर लगाउदै सोध्छ ।
“हो
यहाँ, जस्ट फलो मी !” लाग्छ यो कुनै कमाण्डरको आदेश हो । ऊ गौरीका पाइला
पछ्याउँदै एउटा सानो सेपरेट डाइनिंग रुममा छिर्छ । होटलमा सबैले गौरीलाई
‘म्याम’ भन्दै नमस्कार गर्छन् । सधै आउने ग्राहक जस्तो ! नजिकबाट चिनेजाने
जस्तो गरी ! ऊ अल्मिलिन्छ । किन हो ? के हो ? गौरीलाई कसरी चिने यी सबैले ।
गौरी बैंकमा काम गर्छे ऊ एउटी बैंकर हो । यो होटलसँग उसको के रिलेशन ?
“ह्याभ अ सीट । ह्वाट उड यू लाईक टु ड्रिंक ?”
आशुतोष गौरीको विपरित कुर्सीमा बस्छै गौरीको प्रश्न उतै फर्काउछ– “तिमी के पिउँछौ नि ?”
“म आज वाइन पिउँछु ।” अवाक बोल्छे गौरी ।
आशुतोषलाई
मनै खलबल्याउने, आँखै तिर्मिराउने आश्चार्यका रंगीचंगी फूलहरु फूले जस्तो
लाग्छ आफ्ना ओरिपरी ! “यो केटी काठमाण्डुदेखि यहाँसम्म ड्राइभ गरेर आएकी छे
। वाइन पिउँछु भन्छे । यस्तो होटलमा ल्याएकी छे । फर्किदा गाडी कसरी
चलाउँछे ?” आफैभित्र केही प्रश्न उब्जिन्छन । उ तिनै प्रश्नमा एकछिन्
हराउँछ ।
“चिन्ता नगर फर्किदा मसँग मेरो ड्राइभर कर्णध्वज हुनेछ ।” सायद तिमीले यही सोचेका होलाउ, हैन त ?
मन्द हाँसोसाथ सहमतिको टाउँको हल्लाउँछ आशुतोष ।
केही स्यान्क्स गौरीले अर्डर गरिसकेकी छे । चियर्स......... । दुबैका गिलास बज्जछन् ।
“भन आशु, कस्तो छ अमेरिका ?”
“मान्छे जस्तै छ ।”
“मेरो प्रश्न त सद्दे नै हो तर उत्तर किन पागल ?” गौरीले तीखा नजरका वाँण र लोभलाग्दो मुस्कान एकसाथ छोड्छे ।
“देखेको मान्छे र बेहोरेको मान्छे फरक हुन्छ, गौरी । त्यस्तै हो सुनेको अमेरिका र भोगेको अमेरिका पनि फरक छ ।”
“कस्तो फरक ?”
मान्छेभित्रको
मान्छे जस्तै छ अमेरिकाभित्रको अमेरिका । अणु–परमाणु र जीवाणुहरुको देश हो
अमेरिका । अहिले यति नै, अरु कुरा गर्दै गरौंला ।
“ओ, मिस्टर ! धेरै कुरा ‘फ्री’ छ रे नि त्यहाँ ?” गौरीका आँखाका तिखा हेराईको अर्थ बुझ्छ ।
“हो
म्याम ! भावना नै मूल्यहिन भएपछि अरु कुराको मूल्य के हुन्छ ? तिमी नै
अनुमान लगाऊ । तर, मैले जीवनमा कुनै पनि ‘फ्री’ को उपयोग गरेको छैन ।”
एकछिन् हाँस्छन् दुबै अनि चुपचाप हुन्छन् । त्यो मौनतामा एकछिन् आँखा–आँखा
बोल्छन् ।
गौरीले आशुतोषको हात तान्छे र प्रेम र सम्मानको एक चुम्बन
चुप्प पार्छे । खिसिक्क हाँस्छे । धन्यवादको प्रतिउत्तरमा मुन्टो हल्लाउँछे
।
“भाइ, म्यानेजनर सा’बलाई पठाइदेऊ त ।” वेटरतिर हेर्दै भन्छे । आशुतोष
झन् छक्क पर्छ । मनमा अनेक शंका–उपशंकाको दोहोरीलत्ता चल्छ । यो होटल !
म्यानेजर ! सबैसँग चिनजान ! के हो ? ‘अलमल गोत्र आमा एक बाउ सत्र’ जस्तो
हुन्छ उसलाई ।
“म्याम, सर मिटिङ्मा हुनुहुन्छ रे, एकै छिन पछि आउँछु भन्नु भा’छ ।”
“ओके
नो प्रब्लम, थ्यांक्यू...” गौरीले वेटरलाई भनेको वाक्य सिध्याउन नपाउँदै
पछाडिबाट एउटा आवाज आउँछ– “हजूर, नमस्कार ! म कर्णध्वज ।”
गौरी उठ्छे ।
मुसुक्क मुस्कुराउँछे र छेउमै बस्ने संकेत गर्छे । आशुतोषले गौरीको
हाँसोमा भिन्नता पाउँछ । गौरीको अहिलेको यो हाँसो र केहीबेर अघिसम्मको
त्यो हाँसो फरक लाग्छ उसलाई । “के मान्छेपिच्छेको हाँसो पनि फरक हुन्छ ?
कतै त्यो 'कस्मेटिक' हाँसो त थिएन ?” उसलाई कताकता मनको बाघले लखेट्छ ।
‘नारीको शत्रु सुन्दरता हो’ भन्छन् हो कि क्या हो जस्तो पनि लाग्छ । “को हो
कर्णध्वज ?” सामुन्ने बसेकी गौरीभन्दा अघि प्रश्नको एउटा पहाड उभिन्छ उसका सामू ।
शूटबुटको
शुभ्र पहिरनमा शालीन बोली र भ्रद स्वाभावको जस्तो लाग्ने कर्णध्वजले
खल्तीबाट चेक निकाल्दै मित्रताका हात आशुतोष तिर बढाउँछ । चेक आशुतोषको
हातमा थमाउँछ ।
“भद्र हाँसो हास्दै भन्छ– “धनले धन कहिल्यै दिदैंन,
लिन्छ मात्र । मनले हो दिने त । भौतिक रुपले तपाइँभन्दा हामी अझै विपन्न
छौं तर यसको अर्थ त्यो होइन कि हामीसँग धन धेरै भएर दिएको हो । यो त मनले
दिएको हो, खासमा गौरीको मनले । तपाइँले गरेको एक असल कार्यका लागि एउटा
सानो सहयोग मात्र हो । त्यो यज्ञका लागि अलिकति चरु सम्झिनुस् यो र
स्वीकार्नुस आशुतोषजी ।”
गौरी बीचमा बोल्न खोज्छे । "एकछिन गौरी" भन्दै
गौरीलाई रोक्दै कर्णध्वज फेरि बोल्छ– “वाइ द वे मलाई थाहा छ अमेरिकाको दुःख
। म सात वर्ष दुःख गरेर फर्किएको हुँ । होटल म्यानेजमेन्टमा मास्टर्स गरेर
। मलाई तपाइँ र तपाइँको दुःखको कमाइले गर्न लागेको त्यो सामाजिक कामको
बारेमा गौरीले सबै बताएकी छिन् ।”
“मलाई एउटा कुराले असाध्यै प्रभाव
पारेको छ आशुतोष । आफ्नो जन्मदिनका नाउँमा मान्छेले उडाउने हजारौं रुपिया
तिमीले तिम्रो गाउँको स्कुललाई जन्मदिनको उपहार भनेर दिएको चन्दाले मेरो
मनमा एउटा अमिट छाप पार्यो । अनि तिमीले त्यही स्कुलमा स्थापना गरिदिएको
अक्षयकोश, आफ्ना बाबुको नाममा स्थापना गरेको प्रतिष्ठान । यो सबैमा तिम्रो
दुःखको कमाइ त्यो धनले भन्दा पनि तिमीभित्रको त्यो मनले गरेको हो जस्तो
लाग्यो । मैले यो कुरा कुनै अखबारमा पढेको थिएँ । त्यतिबेला तिमीभन्दा सायद
म बढी खुशी थिएँ होला ! मेरो मित्रको महानता देखेर ।” गौरी एकसासमा बोल्छे
।
आशुतोषका आश्चर्यवोधक आँखाहरु घरी गौरीका, घरी कर्णध्वजका आँखासँग
ठोकिन्छन् । "तर, कर्णध्वज हो को ?" ओठमा मुस्कान भए पनि मनमा एउटा आँधीहुरी
चलिरहेको छ ।
“वाइ द वे आशुतोष उहाँ मेरो श्रीमान् कर्णध्वज ! अहिले यही
होटलको एज्युकेटिभ म्यानेजर ।” ऊ तीनछक्क पर्छ । सपना जस्ता लाग्छन् उसलाई
यी सबै । यो सबै कुनै एउटा पुरानो, सभ्य र शालिन सिनेमा हेरे जस्तो पनि
लाग्छ । एकछिन् एकतमासले हेर्छ दुबैका अनुहार । छोटो मौनता पछि सबै
मुस्कुराउँछन् ।
“गफ गर्दै गरौ म आइहाल्छु, अनि लागुँला नि हुन्न ?” कर्णध्वज बाहिरिन्छ ।
“नो
हग ?” गौरीले मन खोल्छे । गौरीको उदारताको पर्खाइमा बसेको हुन्छ आशुतोष
पनि । दुबैले एकछिन् आँखा चिम्लिन्छन्, लामो सास तान्छन् ।
“यतिसम्म त
नैतिकताले पनि छुट दिन्छ नि हैन त आशु ! अनि तिम्रो र मेरो कथाले पनि
मागेको हुन्छ नि हैन र ? अहिलेका सिनेमामा जस्तो !” दिल खोलेर हाँस्छे गौरी
फेरि ।
“आशुतोष तिमीले जानेबेलामा भनेका थियौ नि– 'हामी जीवनसाथी नभए
पनि जीवनभरको साथी हुन सक्छौ' भनेर । मैले सधैं तिम्रो त्यही वाक्यलाई
सम्झे, सोचेँ र मनन गरेँ । तिमीले भनेजस्तो प्रेम र विवाह फरक हो भन्ने
छुट्याएँ । आखिर सम्भव पनि त थिएन ...। अन्ततः तिम्रो अवतारको रुपमा
कर्णध्वजलाई मैले मेरो प्रेमी र पति दुबै स्वीकारेँ र उसँगै खुशी हुने
प्रयत्न गरेँ । गरिरहेको छु र सायद गरिरहने छु तर एक शर्तमा...... ।
“कस्तो शर्त ? गौरी !”
“पछि भन्छु कुनै दिन......।” उसले वाक्य टुङ्ग्याई ।
तर गौरीले अहिलेसम्म बताएकी छैन, त्यो शर्त .... ! आशुतोष सोच्छ– हो, जीवनपटमा जिन्दगी एक ठट्टा पनि रहेछ ।
जनवरी ०६, २०१२ बोस्टन, अमेरिका ।
(नोटः जैमली कथा संग्रहको गौरी कथाको विनिर्माण कथा)