Friday, February 13, 2015

विजयजी, तपाईंले देशमा नेतै देख्नु भएन रे !

शिव प्रकाश print

  • 4543
     
    121
     
    3
    Google +
     
    4667
  • GET NEWS ALERTS

विजयकुमारसँग असहमत/सहमत
आफ्नो अज्ञानताका बारेमा ज्ञान हुनु ठूलो ज्ञान हो। तर, राजनीतिमा पनि यो ज्ञान गौण हुँदो रहेछ।
एक प्रसंगमा लेखक विजयकुमारले माघ २६, सेतोपाटीमा लेख्नु भएको छ–नेपालमा नेतै भएनन्। तर, सहमत हुन सकिनँ।
मेरो विमतिले भन्छ– नेपालको क्षेत्रफल, जनसंख्या र आवश्यकतालाई मानक बनाउने हो भने संसारमा सबैभन्दा बढी नेता भएको देश नेपाल नै होला!
प्रिय विजयजी, सबैलाई थाहा छ, पहिलो संविधानसभाले संविधान दिन सकेन। र, यो पनि थाहा छ; वास्तवमा नसकेको होइन नखोजेको हो। यहाँ फ्र्याङ्क्लिन डी रोजभेल्ट (१८८२–१९४५) ले भनेको एउटा जिउँदो सत्यको याद आउँछ– राजनीतिमा अकस्मात केही हुँदैन यदि भयो भने पनि त्यो त्यसरी नै प्लान गरिएको हुन्छ।
प्लान अनुसार नै पहिलो संविधानसभाको अवशान भएको हो कि होइन? प्लान अनुसार नै दोस्रो संविधानसभाले तोकेको मितिमा महाभारत पर्व मच्चाइएको हो कि होइन? नेताले नभए यो सब कसले गर्छ? यो प्लानको ‘लिडिङ् र ब्याकिङ्' गर्ने सामर्थ्य कोसँग हुने थियो? के त्यो नेता होइन?
माघ ५, २०७१ लाई इतिहासले भोलि सायद ‘संविधानसभाभित्र महाभारत' भनेर लेख्नेछ। (नेता) प्रचण्ड र बाबुराम युद्धभूमिबाट हाँस्दै निस्किएको तस्बिर त्यही इतिहासले सधैं देखाउने छ। के त्यो युद्धभूमिमा हाँस्न सक्ने मान्छे नेता होइन? सभा भनेको सभ्यता पनि हो, तर त्यसलाई असभ्य बनाएर हाँस्न सक्ने नेताबाहेक अरु को हुन सक्छ? तपाईंले कसरी देख्नु भएन त्यस्ता नेतालाई?
आफू हाँसेको तस्बिर उहाँहरु आफैंले देख्नु भयो, खुसी हुनु भयो। तर देश रोएको तस्बिर देख्नु भएन। हाँस्नु–खुसी हुनु अति राम्रो हो तर, देश रुँदा हाँस्न सक्नुलाई कति राम्रो मानिन्छ? देशले डाँको छोड्दा आफूले खित्का छोड्ने यस्ता नेतालाई तपाईंले कसरी देख्नु भएन विजयजी?
विजयजी, अहिले दोष एउटाले अर्कोलाई दिएका छन् तर यिनले आफ्नो दोष आफूले कहिले देख्छन्? मध्यरातसम्म कुरेर बसेका देशका करोडौं आँखाले त्यो महाभारत हेरिरहेका थिए। ताण्डव लीलापछि केहीले आफ्नो जित भएको ठाने। तर, विजयजी, तपाईंका आँखाले के देखे? जित कसको भयो, हार कसको?
मलाई त लाग्छ– सबै नेताले जिते। देशले हार्‍यो, जनता हारे। आफ्नै देश र जनतालाई हराएर आफूलाई महान् विजेता घोषित गर्ने प्राणी नेता नभए अरु को हुन सक्छ? यस्ता महान्‌लाई तपाईंले नेता नदेख्नुको अर्थ नेता नमान्नु पनि हुन सक्छ। नमान्नुको अर्थ अपमान पनि हुन सक्छ। नेपोलियन बोनापार्ट (१७५९–१८२१) ले त्यसै भनेका होइनन्– राजनीतिमा विसंगति कमजोरी होइन।
जनताबाट प्राप्त विश्वासको मतलाई आफ्नै देश हराउन र रुवाउन प्रयोग गर्ने मान्छे नेता नभएर को हुन सक्छ? एक वर्षभित्रमा संविधान पाउने खुसीमा भोट दिने जनतालाई दुःखी बनाउने अरु को हुन सक्छ? हुन त भोलि, जनताले यो दुःखको बदला लेलान् तर, त्यतिबेला ती नेता सायद अवशानको गहिरो गर्तमा विलिन भइसकेका हुनेछन्। तै पनि कसरी देख्नु भएन यस्ता नेतालाई तपाईंले?
झिँगाको पित्को बराबर निष्ठा र नैतिकता हुन्थ्यो भने मूल्य र मान्यताको राजनीति हुन्थ्यो होला! मूल्य र मान्यता अँगाल्न सकेको भए मध्यरातमा पहिलो संविधानसभाको हत्या हुने थिएन। मध्यरातमै दोस्रो संविधानसभाको गर्भ तुहाइने थिएन। के देशको भविष्यको हत्या गर्ने/गर्भ तुहाउने काम नेताबाहेक अरुले गर्न सक्छ?
विजयजी, नेपालमा नेता छैनन् भन्नु हुन्छ तर त्यसो भनेर यो मध्यरातको दोष कसलाई दिनु हुन्छ? त्यो पापको भार कसलाई बोकाउनु हुन्छ? त्यो अपराधको बोध कसलाई गराउनु हुन्छ?  देशमा नेतै छैनन्। जे गरेका छन्, सबै जनताले गरेका छन् भनेर यस्तालाई भोट दिने जनतालाई नै कतै दोषी करार गराउन खोज्नु भएको त होइन?
रेमिट्यान्स, विदेशी ऋण र सहयोगबाट चलेको कंगाल देशलाई झन् कंगाल कसले बनाउँदै छन्? याद राख्नुस्, संविधान निर्माणका नाउँमा देशको झण्डै साढे एक खर्ब रुपैयाँ स्वाहा भइसकेको छ।
अघिल्लो वर्ष प्रकाशित एक जानकारी अनुसार पहिलोदेखि दोस्रो संविधानसभामा मङि्सरभित्र कुल १ खर्ब ४१ अर्ब ३४ करोड खर्च हुने बताइएको थियो। अहिले माघको अन्त्यतिर आइपुग्दा त्यो अङ्क निक्कै माथि पुगेको हुनु पर्छ।
पहिलो संविधानसभाका लागि ९१ अर्ब २६ करोड रुपैयाँ खर्च भएको कुरा संविधान नबनाउने सचिवालयले जनाएको थियो। पहिलो संविधान नबनाउने त्यो शोभाहीन सभाको चारवर्षे अवधिमा ६ सय १ को ‘खै त्यो के जाति' भन्ने बथानले ४ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ रासनपानीबापत लिएको थियो। दुई वर्षभन्दा बढी आफ्नो आयु आफैं थपेको त्यो बथानले झण्डै अर्को साढे दुई अर्ब रुपैयाँ हजम गरेको हुनु पर्छ। यो हिसाबले ६ सय १ त्यो बथानको एक टाउकाको भागमा वर्षमा १८ लाख परेको छ।

राजनीति, धर्म र संविधान

विजयजी, नाङ्गा आँखाले र्हेनुस् त कति लज्जास्पद छ– विश्व अर्थतन्त्रमा बलियो बनेको शक्तिशाली राष्ट्र चीनका राष्ट्रपतिको तलब केही दिन अघिसम्म करिब १ लाख रुपैयाँ मात्र थियो। संसदका कुर्सी भाँच्ने, सडकमा तोडफोड गर्ने, ट्याक्सी जलाउने त्यो बथानका ‘माननीय'(?) हुन् कि ‘हाननीय'को तलब कम्तिमा पनि महिनाको १ लाख ५० हजार?
गरीब देशको खर्बौं नष्ट गरेर सात वर्षमा एउटा संविधान दिन नसक्दा पनि लज्जाबोध नगर्ने नेताबाहेक अरु को हुन सक्छ, विजयजी? होइन, यत्रो हुँदा पनि कसरी देख्नु भएन तपाईंले नेता?
संविधान निमार्णका नाउँमा अहिलेसम्म आइपुग्दा देशले झण्डै दुई खर्ब स्वाहा गरेको हुनु पर्छ। हिसाब गर्नुस्, दुई खर्ब रुपैयाँ भनेको कति धेरै पैसा हो? सोच्नुस्, कति ठूलो विकास–निर्माण हुन सक्थ्यो यो गरीब देशमा त्यो पैसाले?
त्यो पैसाले सघन अन्धकारमा डुबेको मुलुकलाई अलिकति उज्यालो दिन सकिन्थ्यो होला। त्यो पैसाले सिटामोल नपाएर मर्ने कति दिनदुःखी नेपालीलाई बचाउन सकिन्थ्यो होला? त्यो पैसाले झाडापखालाले प्याकप्याक भएर प्राण त्याग्न बाध्य निरीह नेपालीलाई जीवनजल पियाएर ब्युँत्याउन सकिन्थ्यो होला? त्यो पैसाले आङ् छोप्ने एकसरो लुगा नभएर शीतलहरमा कठाङ्ग्रिएर मर्ने ती सयौं बेसहारा बूढाबुढीको प्राण रक्षा गर्न सकिन्थ्यो होला? बाध्यताले लघारेर अरबको तातो बालुवामा परेड खेल्न पुगेका युवालाई रोजगारी सिर्जना गरेर रोक्न सकिन्थ्यो होला? अबरका राक्षसहरुबाट लुछिन बाध्य कति नेपाली चेलीहरुको अस्मिताको रक्षा गर्न सकिन्थ्यो होला?
विजयजी, नेताप्रति आशा र विश्वास गरेर जनताले गाँस कटाएर दिएको हो कि होइन, त्यो पैसा? अब जनताले कि संविधान देऊ, कि संविधानका नाउँमा खाएको खर्बौं रुपैयाँ फिर्ता देऊ भने तपाईं के भन्नु हुन्छ? नेता छैनन् नभन्नुस्, नत्र तपाईं नै पर्नु होला नि! नेता नभए यो देशको हुर्मत काढ्ने र लुट्ने को हुन् त? 
तपाईंले राष्ट्रियताको कुरा पनि उठाउनु भएको छ। परचक्रीको पाउ मोल्नु, अनुकूल हुन्जेल तिनकै इसारामा नाच्नु, तिनैले पाइन चढाएको खुर्पाले देशको घाँटी रेट्नु, प्रतिकूल भए तिनकै प्रचण्ड विरोध गरेर आफूलाई राष्ट्रवादी देखाउने राष्ट्रियता नेताको नभए कसको हुन्छ?
विजयजी, सहमत हुनुहन्छ/हुनुहुन्न, नेता धेरै भए तर नेताले नेताको अर्थ बुझेनन्। अर्थ नबुझ्नुको अर्थ हो, आफ्नो अज्ञानताको बारेमा ज्ञान नहुनु। त्यसैले माथि सुरुमै भनेको थिएँ नि, राजनीतिमा ज्ञान गौण हुँदो रहेछ।
क्रेचका अनुसार नेता दुईखाले हुन्छन्– औपचारिक र वास्तविक। औपचारिक नेता नैतिकतालाई अभियान बनाउँछन्, वास्तविकहरु आभूषण। त्यसैले वास्तविक नेतालाई असल र औपचारिकलाई खराब मानिन्छ। नेता नभएका होइनन्, वास्तविक मात्र नभएका हुन्।
मलाई यो पनि लाग्छ– नैतिकता र दृढता असल नेताका गुण हुन् भने शब्दाडम्बर खराब नेताका असल गुण हुन्।
नेता होइन, देशले अहिले त्यही वास्तविक अर्थात् असल नेता खोजेको छ। नेता हुनेले नेताको अर्थ बुझ्न सकेको भए अर्थ अनुसारको चरित्र र छवि निर्माण हुने थियो। तर विडम्बना! देखिने एउटा र गरिने अर्को कुलङ्गार प्रवृत्ति हावी हुँदा भावी पिढीले समेत नेताको त्यही कुलङ्गार विम्बलाई नै विरासतका रुपमा ग्रहण गर्दैछन्।
विजयजी, नेता नभएका होइनन्, वास्तविक नेता हुन् नसकेका मात्र हुन्। त्यसैले इटालियन दार्शनिक तथा इतिहासकार निक्कोलो माकियाभेली (१४६९–१५२७) ले भनेको कुरा हाम्रा नेताका हकमा ठ्याक्कै मिलेको छ– राजनीतिसँग नैतिकताको कुनै सम्बन्ध छैन।
माकियाभेलीको भनाइलाई अझै मूलमन्त्र ठान्नेहरु सबै पनि नेतै हुन् तर नेता नाउँका औपचारिक निमित्त पात्र मात्र। जो कोहीद्वारा केही निश्चित समय र कामका लागि नेता भनेर नियुक्त गरिएको हुन्छ। वास्तविक नेता नहुनु नै अहिलेको विडम्बना भने हो।
विजयजी, ‘नेतृत्वका लागि शिक्षा जननी हो' भनेर उनै रोजभेल्ट कालमा ‘डार्कहर्स'का नाउँले चिनिने अमेरिकी राजनीतिज्ञ वेन्डेल विल्कीको भनाइ अहिले सार्थक भएझैं लाग्छ। सोच्नुस् त, नेता नाउँका निमित्त पात्रहरुको मस्तिष्कमा अशिक्षाको अँध्यारो मुस्लोले ढाकेको छ कि छैन?
सक्नुहुन्छ भने लेखक जोन सी म्याक्स्वेल (१९४७)ले भर्खरै लेखेका कुरा एकचोटि ‘पात्रनेता'हरूलाई पढाइदिनु होला – नेता त्यो हो, जसलाई बाटो थाहा छ, जो बाटोमा हिँड्छ र बाटो देखाउँछ।
हुन त तपाईंले खोजेको नेता पनि यस्तै होला! यदि हो भने एउटा कुरा बुझ्नुस्– एउटा थियो मरिसक्यो, अर्को जन्मिन बाँकी नै छ।
विजयजी म यतिखेर बिपी कोइरालाको त्यो अमरवाणी सम्झिरहेको छु– एकमुठी माटो लिएर अन्तरआत्मालाई सोध, जे भन्छ त्यही गर!
मौका मिले फेरि लेख्दै गरौंला, भेट्दै गरौंला, सेतोपाटीमा।

प्रकाशित मिति: बुधबार, माघ २८, २०७१ १६:५९:५०

श्रद्धाञ्जली !

  • शिव प्रकाश
    • २४ माघ, २०७१, नागरिक, शनिबार ।
     1789  5 Google +6  0  0
जन्मेकै दिन उसले श्रद्धाको समाधि टेकेको थियो।
श्रद्धा, हार्दिक श्रद्धाञ्जली!' हिजोमात्रै यी तीन शब्द फेसबुकमा राख्यो। समवेदनाका हजारौं समवेत शब्द पोखिए। छक्क पर्योध, मानौं कसैलाई थाहा थिएन श्रद्धाको अवसान!
समाज अन्धो हो कि बहिरो! कि दुवै हो? यो भयानक मृत्युको दुःखमा आँसुको डोको भर्खर भर्दै छ समाज!
उसलाई लाग्छखिया लागेको मेसिन हो, मान्छेको मस्तिष्क। कमनसेन्स' नामको मर्मत गरेर पनि काम छैन, फेर्नैपर्ने हुन्छ ।                                              श्रद्धाञ्जली!
फेसबुकमा उसले लेखेको हुन्छकृपया यो दुःखद सन्देशलाई लाइक' नगरिदिनुहोला! तर मृत्युमा लाइक' हान्ने पनि कति हो कति! ती लाइक देखेर मान्छेप्रतिको उसको धारणा फरक हुन्छमान्छेको मस्तिष्क बिग्रिएको मेसिनमात्र होइन, भाइरस लागेको कम्प्युटर पनि हो। डिस्अर्डरमा चलेको छ। त्यसैले धेरैले मृत्यु मन पराएका छन्।
भाइरसले निलेको कम्प्युटरको स्त्रि्कनमा नेकेड फोटो पप्अप् भएजस्तै समाजमा नांगा सालिकहरू पप्अप भइरहेछन्। सिंगो मान्छे डिस्अर्डर भएपछि नांगो सालिक बन्छ। ती नांगा सालिक समाजमा क्याटवाक गर्दै सलबलाउँछन् तर ऊ अचम्म मान्दैन। यसलाई प्रविधि बरदान ठान्छ। आयातीत आधुनिकताको उपहार ठान्छ। आयातमुखी प्यारासाइट' समाजलाई धन्य भन्छ।
श्रद्धाको मृत्युमा बगेका आँसुले फेसबुकका पाखाभित्तामा झुन्डिएका डोका सबै भरिइसकेका छन्। जीवनभर रुनै नसकेका मान्छे पनि रोएका छन्। रुनै नजानेका मान्छे पनि रोएका छन्। मान्छेको वीभत्स मृत्युलाई महान् उत्सव मनाउने क्रान्तिकारी पनि रोएका छन्। देशका प्रधानमन्त्रीहरू पनि रोएका छन्। श्रद्धाको मृत्युमा डाँको छोडेर रोएको अभिव्यक्ति दिएका छन्।
उसलाई लाग्छरुने अवस्था आउनु राम्रो होइन तर रुनु राम्रो हो। अरूको पीडामा रुन सक्ने मान्छेसँग संवेदना हुन्छ।
ट्वीटरमा रुने पनि त्यतिकै छन्। मृत्यलाई फेभरेट' मान्ने मृत्युका फ्यानहरू पनि धेरै छन्।
फेसबुकको लाइकजस्तै ट्वीटरमा फेभरेट हान्नेहरू देखेर उसको धारणा फेरि परिवर्तन हुन्छ। यो धारणालाई ऊ अहिलेको नेपाली भाषाको वर्णशंकर स्वरूपको समृद्ध शब्द माइन्ड चेन्ज' भन्छ।
शरीरका सबै अंगप्रत्यंग चेन्ज' गर्न डाक्टर चाहिन्छ तर माइन्ड चेन्ज', मान्छे आफंैले गर्न सक्छ। उसलाई यो पनि थाहा छ, मान्छेमात्र त्यस्तो प्राणी हो; जो जहाँ मन लाग्यो त्यहाँ, जति बेला मन लाग्यो त्यति बेला, जे मन लाग्यो त्यही गर्छ! ऊ पनि मान्छे हो, उसले पनि गर्छ।
मृत्युमा खुसी हुनु अर्थात् मृत्युलाई मन पराउनु भनेको मृत्युप्रति मान्छेको आकर्षण बढ्नु हो। आकर्षण भनेको प्रेम हो, प्रेम भनेको आकर्षण हो। मान्छेले मृत्युलाई प्रेम गर्न थालेको छ। मृत्युले मान्छेलाई झन् बढी प्रेम गर्न थालेको छ। मृत्यु मान्छेको मलामी बन्दै छ। अब मान्छे मृत्युसँग डराउँदैन। त्यसैले मान्छे न मार्न डराउँछ, न मर्न डराउँछउसलाई यस्तै लाग्छ।
फेसबुक र ट्वीटरमा छरपस्ट पोखिएका समवेदनाका शब्दाँसु, लाइक र फेभरेटसँगै धेरैले सोधेका छन्को हो श्रद्धा? उमेर कति? कहाँ बस्ने? मृत्यु कसरी भयो? कहिले भयो? फोटो किन नराखेको? धेरैले तीनपुस्ते पनि खोजेका छन्।
ऊसँग श्रद्धाको तीनपुस्ते छैन। फोटो पनि छैन। बाँकी सबैको कुराको जवाफ दिनु जरुरी ठान्दैन।
पत्रपत्रिकामा समवेदना पनि छपाउँछ। त्यहाँ पनि त्यति नै लेख्छ, जति फेसबुक र ट्वीटरमा लेखेको छ— ‘श्रद्धा, हार्दिक श्रद्धाञ्जली!' समवेदना सन्देशमा पनि श्रद्धाको फोटो छैन, अमूर्त चित्र छ।
समवेदनाको इतिहासमै नौलो समवेदना छापिन्छ। थर, वतन, उमेर र तस्बिरविनाको विचित्र समवेदना देखेर संसार चकित हुन्छ।
श्रद्धाको मृत्युले पोतिएको छ सामाजिक सञ्जाल। पोत्नेका लाम बढ्दै जान्छ। श्रद्धाञ्जलीभन्दा श्रद्धाका बारेमा प्रश्न बढी उठ्न थालेका छन्। सबैका प्रश्न उस्तै छन्— ‘को हो श्रद्धा? उमेर कति? मृत्यु कसरी भयो? कहिले भयो? खोइ फोटो? फोटो नराख्नुको कारण के?'
कतिले प्रश्नमाथि प्रश्न गर्छन्— ‘कि श्रद्धाको हत्या भएको हो? कसले गर्योन? कहिले भयो? कसरी भयो? कुन पापीले मार्यो् श्रद्धालाई? को हो त्यो हत्यारा? खोजबिन हुनुपर्यो । बाहिर ल्याउनुपर्यो ।'
एकथरी आक्रोश र आवेगको बाढीमा बग्छन्— ‘ए हत्यारा! ए काँतर! बाहिर निस्की। श्रद्धालाई मार्ने को होस् तँ? किन मारिस्? के थियो तेरो चाहना?'
अर्काथरी चिन्ता पोख्छन्— ‘श्रद्धालाई बलात्कार गरेको हुनुपर्छ। श्रद्धा सामूहिक बलात्कारको सिकार हुनुपर्छ। बलात्कारपछि हत्या गरिएको हुन सक्छ। ती हत्यारा बलात्कारीको खोजी हुनुपर्छ।'
नारीवादीहरू फेसबुकमै नारा लाउन थाल्छन्— ‘बलात्कारीलाई फाँसी दे!'
कतिले शंकाको घैंटो भर्दै जान्छन्— ‘श्रद्धा मरेको पुष्टि कसरी गर्ने? खोइ सबुत प्रमाण? कतै यो हौवा त होइन?'
यही मेसोमा घैंटो भर्दै जाने अरू पनि छन्— ‘यो संसारमा लाखौं श्रद्धा होलान्! कुन श्रद्धाको कुरा गरेको? कसरी पत्याउने? श्रद्धालाई श्रद्धाञ्जली दिने आधार के?'
हँुदाहुँदै सामाजिक सञ्जालमा श्रद्धाको मृत्यु भाइरल बन्छ। रेडियो, टिभी, पत्रपत्रिका सबैतिर श्रद्धा, श्रद्धा, श्रद्धा!
फेसबुक र ट्वीटरमा श्रद्धाञ्जली दिने र सहानुभूतिका आँसु चुहानेको बाढी उर्लदै जान्छ। लेख्दै जान्छन्— ‘श्रद्धा तिमी जीवित छौ भने भन तिमी कहाँ छौ? म तिम्रा लागि प्राण दिन तयार छु।'
सहानुभूतिको थाक बढ्दै जान्छ— ‘श्रद्धा, हामी मान्छे हौं! तिमी हाम्रो हृदयमा छौं। हाम्रो हृदयमा तिमी सधैं बाँचिरहने छौ।'
हजारौंले श्रद्धाप्रति श्रद्धा व्यक्त गर्छन्— ‘श्रद्धा, तिमीप्रति हाम्रो श्रद्धा सधैं अटल रहनेछ। तिमी अमर छौ। हामी तिमीलाई मर्न दिँदैनौं।'
फेसबुक र ट्वीटरमा स्तब्ध हुने अझ कति हो कति छन्। तिनले त झन् आफूभित्रको त्यो निश्चेतता र विमूढताको मुस्लो निभाउन बेलुका बोतलकै सहारा लिएको कुरा लेख्छन्। सायद त्यसैले आधा रातसम्म व्यस्त हुन्छन् सहरका भट्टीहरू।
देशभर समाचारको नदी बगेको छ। मानौं देश श्रद्धाको शोक सागरमा डुबेको छ। पत्रपत्रिकाको हेडलाइनमा श्रद्धा! रेडियोटेलिभिजनका ब्रेकिङ न्युजमा श्रद्धा! अनलाइनमा श्रद्धा! सबैले भनिरहेका छन्, लेखिरहेका छन्— ‘हाम्रो टिम श्रद्धाको खोजीमा छ। हामीसँगै रहनुहोला, अपडेटको प्रतीक्षा गर्नुहोला...!'
लेखककविले श्रद्धाप्रति असीम सम्मानका शब्दहरू बगाइरहेका छन्। गीत, गजल, कविता, मुक्तक लेखिएका छन्। लेखस्तम्भ लेखिएका छन्।
यीसँगै मुठाका मुठा प्रश्नका कुन्युले उसको इमेल, फेसबुक र ट्वीटरका पाखाभित्ता भरिइसकेका छन्। प्रायः सबैको प्रश्न उस्तै छ— ‘को हो श्रद्धा? कहिले मरेको? कसरी मरेको?'
उसलाई श्रद्धा मरेको थाहा छ तर कसरी र कहिले थाहा छैन। किन भन्ने थाहा छ तर कसले भन्ने थाहा छैन!
कतिले शंकाका तिखा ढुंगा उसैमाथि प्रहार गरेका छन्— ‘कतै ऊ स्वयं श्रद्धाको हत्यारा त होइन?'
ऊ मौन छ। नबोल्नुलाई नै बोल्नुको अर्थ मान्छ।
फेसबुकमा टाँसिएका धमिला मनका सुकिला मुहारजस्ता लाग्छन् संवेदनाले पोतिएका ती शब्दहरू उसलाई। काठमाडौंका सुक्दै गरेका ढुंगेधारा जस्ता मान्छेका तुरतुरे चेतनामा पनि विष्णुमतीको मैलो विम्ब देख्छ। मुख खोल्नु भनेको विष्णुमतीको लेदो आफ्नो मुखमा हाल्नु हो। मौनता नै मौनताको विकल्प हो भन्ने ठान्छ।
उसलाई थाहा छ, नालीका गुह्येकीरा सलबाएजस्तो सलबलाइरहेका हुन्छन्, फेसबुकमा आत्मरति र ढोङका शब्दरूपी कीराहरू। कति हो कति छन् घृणाको बीउ रोपेर प्रेमका बिरुवा उमार्नेहरू। पलाँसको फूलमा गुलाफको जलप लगाउनेहरू। पानीको फोकामा अनुहार हेर्नेहरूले संवेदनाको गहिराइ छुन सक्दैनन् भन्ने उसले बुझेको छ।
आफैंलाई प्रश्न गर्छ— ‘छुन नसक्नेले अनुभूत कसरी गर्छ?'
ऊ आफ्नै प्रश्नले बेरिएको छ। त्यसमाथि हजारौंका हजारौं प्रश्नले झन् टनटनी कसेको छ। श्रद्धाको मृत्युले सामाजिक सञ्जालमा ल्याएको बाढी झन् उर्लंदो छ। प्रश्नका धारिला तीर झन् बढी बर्सिन थालेका छन्। अर्थात् ऊ नै हो हत्यारा! शंकाको कालो बादलमा आफ्नै छाया देख्छ।
सधैंजसो राति अबेलासम्म सोच्छ। आज राति पनि त्यस्तै हुन्छ। सपनामा आफू मरेर आफ्नो त्यही छाया सलबलाएको देख्छ। आफ्नै छाया आफ्नै मलामी गएको देख्छ। ऐँठनले डल्लो पर्छ। उकुसमुकुस हुन्छ। चिच्याउँछ। खुट्टा तन्काउँछ। झसङ्ङ ब्युँझन्छ।
धाराबाट पानी चुहिँदैन। पसिनाका धारा चुहिरहेछन्। पसिनाले नै नुहाउँछ। सहरमा पानीको पर्याय पसिना भएको छ। मान्छे, मान्छैकै पसिना पिएर बाँचेको छ। ऊ त्यसलाई नियति हैन, नियतको चाल भन्छ।
बिहान दलिनमा उमि्रएको कल्याङ्कुलुङ आवाज कानमा ढोक्किन्छ। ढोका खोल्छ। अनौठा दृश्य नाचेको देख्छ।
सबैका हातमा फूलका थुँगा र गुच्छा छन्। धेरैका अनुहार अँध्यारा छन्। मनभित्र पस्न सक्दैन।
अँध्यारा अनुहार लाउनेहरूमा धेरैजसो कपालदाह्री तीलचामले भएका कवि, लेखक, पत्रकार र तालु खुइलिएका प्रोफेसरहरू छन्। केही नेताका अनुहार उस्तै छन् सधैंका जस्ता! गोहीका अनुहारमा कुँदिएका खोबिल्टाबाट आँसु चुहिएको हो कि र्याउल? थाहा पाउँदैन।
मलामी जाने होइन?' एउटाले सोध्छ।
आफू मरेको र बाँचेकोमा भ्रम हुन्छ। हिजो रातिको सपना साँचो हो जस्तो लाग्छ। आफ्नो मलामी आफैं जान लागेको जस्तो ठान्छ। फेरि उसका लागि यो अनौठो होइन! ऊ आफ्नो बिहेमा आफैं जन्ती पनि गएको थियो। दुलहीको प्रेमीले मण्डपमै आएर सिन्दुर लगाइदिँदा आशीर्वाद दिएर फर्किएको थियो।
सबै जता लाग्छन्, पछिपछि लाग्छ ऊ। सहरको सभ्यताले सिँगारिएको कुरूप वाग्मतीको किनारमा सुकेका मुडामाथि देशका ख्यातिप्राप्त कवि हृदय वैरागी सुतिरहेको देख्छ।
ओझेलमा परेको झुप्रोको पर्याय बनेर हिजोसम्म बाँचेको कवि वैरागीको मृत्युमा शोक र श्रद्धा व्यक्त गर्नेको ताँती छ। मनमनै सोच्छहिजोसम्म कहाँ गएका थिए यी?
मलामी गएकाहरू सबै त्यही रात मर्छन्। मर्नेबित्तिकै सबैले एउटा भावपूर्ण स्वर सुन्छन्— ‘हार्दिक श्रद्धाञ्जली!'
मर्नेहरू सबैले वरिपरि हेर्छन्। कोही छैन। कुनै आकृति छैन। कुनै छाया छैन।
सबैले सोध्छन्, ‘को होस् तँ?'
स्वर बोल्छ, ‘श्रद्धा!'
हामी बाँचुन्जेल कहाँ थिइस्?'
मरेको थिएँ!'
कसरी मरिस्?'
कवि वैरागी बाँचुन्जेल तिमीहरू मरेजस्तै!'
श्रद्धाबाट थप आवाज आउँछ, ‘आफ्नै हृदयको चिहानमा तिमीहरूले मलाई गाडेका थियौ।'
आफ्नो मृत्युप्रति सबै दुःखी हुन्छन्। एकै स्वरमा भन्छन्, ‘हामीलाई हार्दिक श्रद्धाञ्जली!'
गएराति एउटा डरलाग्दो सपना उनीहरूमाथि घोप्टिएको हुन्छ।
मलामी गएका सबैको फेसबुक छैन। ट्वीटर छैन। भएका सबैले बिहानै फेसबुक र ट्वीटर अपडेट गर्छन्, ‘हत्यारा हामी सबै हौं। हाम्रै हृदयको चिहानमा गाडिएर बसेको छ श्रद्धा!'
यो स्ट्याटसमा कसैले कमेन्ट गर्दैन। कसैले लाइक गर्दैन। कसैले रिट्वीट गर्दैन। कसैले फेभरेट हान्दैन। उसले फेरि लेख्छ, ‘श्रद्धा, हार्दिक श्रद्धाञ्जली!'