Tuesday, February 24, 2009

मेरो पहिलो परिचयः नेपाली

म को हूँ? मेरो नाउँ के हो? मेरो थर के हो? मेरो जात के हो?
मेरो नाउँ शिव, राम, श्याम, हरि, कृष्ण, बहादुर, प्रसाद, नाथ, लाल, कुमार जे होस्!
मेरो नाउँ पछि आउने मेरो जात ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र तथा मेरो थर पौड्याल, पोख्रेल, कटुवाल, दराई, राई, लिम्बु, मगर महर्जन, नापित, माली, कामी, दमाई, श्रेष्ठ, सार्की, चमार, मुसहर, बाँतर, सतार, धिमाल, थारु, चौधरी, तेली, बनिया, मण्डल, महतो, हजाम, पण्डित आदि इत्यादि जे होस्!
म कसको छोरो हुँ? कसको दाजु, कसको भाइ, कसको बाबु, कसको भतिजो, कसको काका, कसको मामा, कसको ज्वाइ, कसको सालो, कसको भिनाजु अथवा कसको लोग्ने वा कसको प्रेमी? आदि इत्यादि जे होस्!
म जेसुकै नाम–नामेसी, जात–जाति अथवा भाषा–भाषी, थर–थरान र सम्प्रदायको मान्छे किन नहुँ? कसैसँग कुनै साइनो बाँधिएर संसारको कुनै स्थानमा किन नरहुँ? तर मैले सधैं मेरो परिचय खोजिरहेको, चहारिरहेको हुन्छु, चाहिरहेको हुन्छु। चाहँदै, खोज्दै, चाहर्दै, पच्छ्याउँदै जाँदा मैले मेरो परिचयको परिचय एउटामात्र पाउँछु!
यावत् प्रश्नको एउटामात्र उत्तर अर्थात यावत् एवं विविध खोजीको एउटैमात्र प्राप्ति! सम्पूर्ण प्रश्नको एउटै उत्तर! तर पूर्ण अर्थात सम्पूर्ण उत्तर!
र, त्यो एउटा अर्थात एक्लो तर पूर्ण र सम्पूर्ण उत्तर हो – नेपाली! म नेपाली! मेरो परिचय नेपाली अर्थात् मेरो पहिलो परिचय नेपाली!
हो, सबैभन्दा पहिला म नेपाली हूँ र मेरो पहिलो परिचय नेपाली हो।
यो एउटा र एक्लो उत्तर नै मेरो परिचयको सामूहिक र सम्पूर्ण उत्तर हो। मेरो सम्पूर्ण परिचयको पूर्ण परिचय हो – नेपाली! मभित्रका अनेकताभित्रको एकता हो – नेपाली! मभित्रका अथाह अन्तर्भिन्नताभित्रको एकरूपता र आस्था हो – नेपाली! मेरा वरिपरिका अपूर्णताभित्रको पूर्णता हो – नेपाली! कहिल्यै मरेर नजाने कसैले हरेर लान नसक्ने मेरो परिचय हो – नेपाली! मेरो मन – नेपाली! मेरो तन – नेपाली! मेरो पन – नेपाली! मेरो अस्मिता हो – नेपाली, मेरो अस्तित्व हो – नेपाली! नेपाली, नेपाली र नेपाली!
म नेपाली! नेपालको छोरो नेपाली अथवा नेपालको छोरी नेपाली! अर्थात मेरो पहिलो परिचय नेपाली, नेपाली र नेपाली! मात्र नेपाली!
नेपाली हुँ, त्यसैले म भन्छु –
नेपाली हूँ म नेपालको माटो यो छातीमा सजाउँछु
पूर्खाले पूजेको माटोको टीका निधारमा लगाउँछु।
म स्वदेशमा हुँ वा दशदेश दूर परदेशमा हुँ सधैं म भन्छु –
म नेपाली हुँ।
मेरो नाउँ नेपाली हो।
मेरो जात नेपाली हो।
मेरो थर नेपाली हो।
मेरो भाषा नेपाली हो।
मेरो भावना नेपाली हो।
मेरो आस्था नेपाली हो।
मेरो विश्वास नेपाली हो र मेरो बिचार नेपाली हो।
मात्र नाउँका लागि मलाई दिइएको मेरो नाउँ शिवप्रकाश भएता पनि जन्मले पाएको मेरो जन्मसिद्ध नाउँ नेपाली हो। जुन अकाट्य छ। अमेट्य छ। हृदयको शिलापाटीमा लेखिएको छ।
मलाई यो नाउँ मेरो जन्मपछि कसैले दिएको हैन, कसैबाट उपहार, उपाधि र उपमाका रुपमा पएको हैन। कसैले गुताइदिएको पगरी हैन। मैले जन्मदै लिएर आएको नाउँ हो – नेपाली! अर्थात नेपाली शिवप्रकाश र शिवप्रकाश नेपाली!
नेपाल आमाको कोखबाट जन्मिए। नेपाली भएरै नेपाल आमाको काखमा हुर्किएँ। अहिले म जहाँ रहे पनि सबैभन्दा पहिला नेपाली हुँ। त्यसपछि मात्र कथित नामले, जातले, भाषाले, सम्प्रदायले, धर्मले चिनिने फलानो चिलानो अरु कोही हुन सक्छु!
मेरा बाबुको जात र थरभन्दा अघि म त्यो नेपाली माटोको जात हूँ। त्यो नेपाली धरतीको थर हूँ। जुन मेरा बाबु बराजेले पूजेको माटो र धरतीको जात र थर हो – नेपाली! त्यसैले मेरो जात नेपाली हो, मेरो थर नेपाली हो अर्थात मेरो पहिलो परिचय नेपाली हो। र, मेरो जन्मसिद्ध परिचय नेपाली हो।
म जसको छोरो भए पनि नेपालीको छोरो हुँ। म जसको बाबु भए पनि नेपालीको बाबु हुँ। नाम नामेसीमा म सबैभन्दा पहिला नेपाली हूँ। जातपातमा म सबैभन्दा पहिला नेपाली हुँ। छत्तीस वर्णमा मेरो सबैभन्दा पहिलो वर्ण नेपाली हो! सयौं जातजातीमा मेरो पहिलो जात पनि नेपाली हो। नातासम्बन्धमा सबैभन्दा पहिला नेपाली हुँ। त्यसपछि मात्र म कसैको दाजु, भाइ, काका, भतिजो, मामा, ज्वाइँ, सालो, भिनाजु, लोग्ने वा प्रेमी हुँ वा हुनसक्छु। तर यी सबैभन्दा पहिला म नेपाली हुँ!
तराइदेखि हिमालसम्म, मेचीको वल्लो किनारदेखि महाकालीको पल्लो किनारसम्म अनि देशदेशावरमा छरिएर रहेका नेपाल आमाका सन्तान दरसन्तानसँग मेरो एउटै साइनो छ, एउटै नाता छ – ती सबै मेरा नेपाली बन्धुबान्धव हुन्। त्यसपछि मात्र नाता वा साइनो जोडेर चिनिने अरुको म कोही हुँ वा मेरा अरु कोही हुन्। यी सबैका म सबैभन्दा पहिला नेपाली हुँ र सबैका लागि मेरो पहिलो परिचय पनि नेपाली हो।
त्यसैले म भन्छु –
तराइमा धोतीकुर्ता लगाए पनि म सबैभन्दा पहिला नेपाली हुँ
पहाडमा डोको नाम्लो बोके पनि म सबैभन्दा पहिला नेपाली हुँ
हिमालमा चौरी चराएर हिँडे पनि म सबैभन्दा पहिला नेपाली हुँ
चारजात छत्तीस वर्णमा मेरो सबैभन्दा पहिला वर्ण नेपाली हो।
त्यसैले म गर्वकासाथ भन्छु –
म नेपाली हुँ
म ईश्वरसँग प्रार्थना गर्छु –
आफूलाई सधैं नेपाली भनिरहूँ,
सधैं मेरो पहिलो परिचय नेपाली बनाइरहूँ।
शिरमा सगरमाथा बोकीरहूँ
मुटुमा मेची र महाकाली बगाइरहूँ।
नेपाली हुनुको अर्थ आफूलाई यसरी नै सधैं म नेपाली बनाइरहूँ, नेपाली भनाइरहूँ। नेपाली देखाइरहूँ। म जस्तै सबै नेपाली “म” हरू, मनहरू, मस्तिष्कहरू, मतहरू, मननहरू, मनपेटहरू, मनसाहरू, मनोभावहरू, मन्थनहरू सबैभन्दा पहिला नेपाली “म” हुन् र सधैं नेपाली “म” नै भइरहुन्। सबै नेपाली “म” हरूले सधैं आफ्नो परिचय नेपाली बनाइरहुन्!
हाल – बोष्टन, अमेरिका।

2 comments:

  1. शिव प्रकाश जी,
    गर्न सकिने प्रकार को सहयोग भए भन्नुहोला, ब्लग मा सहयोग गर्न पाउँदा खुशी लाग्छ । यो ब्लग भर्खर सुरु भएजस्तो लाग्छ । लेख्दैजानुहोस्, हामी पढ्दैजानेछौँ ।

    अनि हामी जहाँ रहेपनि र जे जस्तो भएपनि नेपाली हौँ ।

    ReplyDelete
  2. राम्रो भावना

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !