Friday, February 27, 2009

त्यो क्षण !

शिव प्रकाश

त्यो क्षण !
तिम्रा ती हेराइहरुले
मेरो बाटो छेकिरहेका थिए
तिम्रा ती बोलाइहरुले
मलाइ रोक्न खोजिरहेका थिए
तर मेरा बाध्यताहरुले
मलाइ लगातार धकेलिरहेका थिए ।

त्यो क्षण !
तिम्रा ती कोमल र्स्पर्शहरुले
मलाइ निरन्तर तानिहरेका थिए
मायाका तिम्रा ती बन्धनहरुले
मलाइ तिमीभित्र कतै बाँधिरहेका थिए
तर मेरा अप्ठ्यारहरुले
मलाइ तिमीबाट अलग्याइरहेका थिए ।

त्यो क्षण !
तिम्रा ती स्पन्दनहरुले
मेरा ढुकढुकीहरु बढाइरेहका थिए
तिम्रा ती अब्यक्त पीडाहरुले
अभ्यन्तरमा मलाई स्तब्ध बनाइरहेका थिए
तर मेरा विवशताहरुले
मलाइ बराबर लखेटिरहेका थिए ।

त्यो क्षण !
तिम्रा मुहारका ती मलिन भावहरुले
मलाइ भित्र भित्रै सताइरहेका थिए
रसाएका तिम्रा ती आँखाका पानीले
मलाइ कता कता भिजाइरहेका थिए ।
तर तिम्रा ती बलिया हौषलाहरुले
मलाई जीवन-सङ्घर्षको पथमा घचेडिरहेका थिए ।

त्यो क्षण !
तिमीले दुःख लुकाएर सुख देखाएको
पीडा लुकाएर हाँसो मुस्कुराएको
तिम्रा ती अचेत भावहरु
मैले सबै बुझिरहेको थिएँ
तर बिदाइको त्यो क्षणमा
म पनि तिमी जस्तै अबुझ भै दिएँ !
हो, म पनि तिमी जस्तै अबुझ भै दिएँ !

हालः बोष्टन/अमेरिका, नोभेम्बर ३०, २००६

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !