Saturday, February 28, 2009

गौरी

शिव प्रकाश

प्रगाढ मित्रताको फैलँदो आयतनमा प्रेमको गहिरो तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरू बेलाबेलामा छछल्किन खोज्थे । भित्रभित्रै सुनामी चल्थ्यो । एकअर्काभित्र डुवुल्की मार्ने चाहना वर्खे भेलजस्तै उर्लन्थ्यो तर पनि आफैंभित्र सीमित थिए एक आपसमा । अनि सीमित रहे वर्षौसम्म । भेटघाट भने  निक्कै बाक्लो र निरन्तर थियो ।
के सागर आफैंमा तिर्खाएको हुन्छ ?  नभए म किन तिर्खाएकी ? आशुको प्यास ! उ किन मेरो तिर्खा बनेर छ ? उसको प्यासमा म कतै काकाकुल त हुन्न ? प्राय यस्तै सोच्न थालेकी छे गौरी ।
आशुतोष एकाएक विदेसिने भयो । यो कुरा गौरीसँग पनि उसले लुकाइरहेको थियो तर कुनै साथीबाट गौरीलाई एक्कासी थाहा भयो आशुतोष भोलि नै उड्दै छ भनेर !
भोलिको उडान आफ्ना सामान र सुटकेस मिलाउँदैमा रातको एघार बजिसकेको थियो फोनको घण्टी बज्यो । आशुतोषले हेलो भन्न नपाउँदै "म तिमीलाई अहिले नै भेट्न चाहन्छु !" गौरीको आवाज सुनेर आश्चर्यचकित आशुतोस बग्दा बग्दैको नदी रोकिए जस्तो भयो । एकछिन् रोकियो ।
"तर... तर.....तर गौरी अहिले त धेरै अबेला भइसक्यो । थाह छ कति बज्यो ?"
थाह छ, भयो होला आशु तिम्रो लागि अबेला तर मेरो लागि भएको छैन् गौरीले राग र रीसपूर्ण ठाडो जवाफ दिदै  भनी । गौरीको अस्वाभाविक र अप्रत्याशित जवाफ अनि जवाफभित्र गुम्सिएको उन्माद र चाहना ! उ नचाहेर पनि गौरीबाट टाढिनु त छँदै छ त्यसमाथि हृदयको खोपीमा बसेकी गौरीबाट बिछोडिने घाउले उसलाई भित्रभित्रै  पिरोलीरहेको थियो । त्यो पीडा उसले गौरीसामू व्यक्त गर्न सकेको थिएन।  उ चाहन्थो भरसक गौरीलाई केही कुरा थाह नहोस् । म गौरीको हुन सकुलाँ तर गौरी मेरी हुन सक्दिन । एउटा अमूर्त सोचमा डुबेको थियो ।
तर.....गौरी किन यति अबेला, आखिर त्यस्तो के ?
आशुतोष भनिनसक्दै गौरीले भनि "त्यो पनि मैले भन्नुपर्छ तिमी पुरुष..........´।"
रात निक्कै छिप्पिसकेको हुनाले गौरीलाई मनाउने प्रयत्न गर्‍यो, भोलि भेट्ने वाचा गर्दै । गौरीले आशुतोषप्रति आवेश पोख्दै भनि "तिमी पुरुषहरू आफ्ना मर्जीका मालिक हुन्छौ, हामी नारीको इच्छाको कदर कहिल्यै गर्दैनौ ।"
पीडापूर्ण हाँसो हाँस्दै उसले उत्तर दियो "तिमी नारीहरु पनि त यसरी बेला न कुबेला, ठाउँ न कुठाउँ अमिल्दा अप्ठ्यारा अत्तो थाप्छौ र दोषचाहिँ पुरुषलाई दिन्छौ । भैगो यो मध्यरातला नविथोलौ, भोली जहाँ जतिबेला भन्छौ म तयार छु ।
"तर तिमीले मलाइ विथोलीसकेका छौ, ल भैगो उसोभए विहान आठबजे होटल ग्रिनल्यान्डको एघार नं कोठामा म तिमीलाई पर्खिरहेकी हुनेछु ।" गौरीले फोन बिसाई ।
"म पुरुषको भोको होइन । कर्णध्वजको अलावा लाखौं पुरुष छन् मेरा वरिपरि ! मेरा आँखा हजारौ पुरूषका आँखासँग ठोक्किएका छन् तर उसका आँखासँग ठोक्किए पछि किन अलग हुन सकेनन् मेरा आँखा ? किन उसैका आँखासँग ठोक्किदा ममा तरंग पैदा भयो ? अनि त्यो तरंगले मेरो अंतरंगलाई किन हल्लाउन थाल्यो ?  किन आशु नै उभिन्छ मेरा सामू एउटा सुन्दर सजीव शक्तिशाली शालिक बनेर ? मेरा सम्पूर्ण बाटाहरू उसले छेकिरहेको छ । के म मात्र उसको प्रेमको पात्र हुँ ? के म जस्तै उसका प्रेमका हजार प्रेमीपात्रहरू छन् ? म पात्र हैन म उसको प्रेमको भोको हुँ । उसले मभित्र प्रेमको अनौठो परिकार सजाएको छ । मेरो त्यो भोकको उपज पनि आशु नै हो र भोजन पनि आशु नै हो । अनि मेरो प्रेमको पर्याय पनि आशु नै हो र प्राप्ति पनि आशु नै हो, अरुकोही हुन सक्दैन । मभित्र एउटा साम्राज्य बनाएको छ उसले । त्यो साम्राज्यमा आफैँभित्र शासित छु म । मैले त्यो साम्राज्यलाई बचाउनु छ तर कसरी ? कर्यध्वज ..... ? अनि भत्काउँ भने कसरी भत्काउँ त्यो साम्राज्य, मेरो प्रेमको साम्राज्य ? म अपूर्ण हुन्छु । म अपूर्ण बाँच्न चाहन्न । एक पटक भए पनि म त्यो साम्राज्यको सम्राट उसलाई घोषणा गर्छु ।"  यस्तै तर्कना र तिर्सनामा तैरदै गौरीले त्यो रातसँग रातभर बात गरेर रात बिताई ।
आज गौरी आफूभित्रको गह्रौंपनलाई हलुङ्गो पार्न चाहन्छे । आशुतोषसामू आफूलाई रित्याउन चाहन्छे। आशुतोष होटलको कोठामा छिर्ने बित्तिकै उसले ढोकाको चुक्कुल लगाई, पर्दा मिलाई । आशुतोष किंकर्तव्यविमुढ एकहोरो हेरिरहन्छ गौरीलाई । निशब्द उभिएको छ एउटा सग्लो पुरुष ! एउटा सग्लो पुरुषभित्रको एउटा पूर्णपुरुष मूर्तिवत् छ गौरीसामू ! निमग्न छे गौरी, निशब्द छ आशुतोष । हेरिरहेछन् एक अर्कालाई, आँखा- आँखा बोलिरहेछन् । आँखामा आँखामा प्रक्षेपणा भइरहेछ । लाग्छ त्यहाँ आँखा-आँखाको युद्ध भइरहेछ । एउटा पुरुषभित्रको पूर्णपुरुषको परिकल्पनामा निथ्रुक्क भिजेकी छ गौरी ! गौरीका आँखामा गोधुली छाइसकेको छ । सम्पूर्ण अनुहारमा लालिमा चढिसकेको छ । मनमनै सोच्छे- ज म एउटा सीमा नाध्न चाहन्छु । लक्ष्मणरेखा मेट्न चाहन्छु । एक्कसी सम्पूर्ण सीमा र बन्धन नाघ्दै गौरी आशुतोसमाथि विसर्जित हुन्छे । मानौ आत्महत्या गर्ने मान्छे जसरी आँखा चिम्लेर हामफाल्छ ।
स्तब्धताले ढाक्छ कोठा । जिउँदा मान्छेको समाधिस्थल जस्तो बन्छ कोठा केहीबेर.........! केही क्षणको निशब्दता र उकुसमुकुपछि आशुतोस बोल्छ- "गौरी मलाई ढिलो भयो म.......म जान्छु" गौरी चुपचाप स्वीकृतिको शिर हल्लाउँदै आशुतोषलाई आफूबाट मुक्त गर्छे र एक तमासले हेरिरहन्छे। उ कोठाबाट निस्कन्छ । निशब्द गौरी झ्यालका पर्दा उघार्दै आशुतोषलाई फरि हेरिरहन्छे....हेरिरहन्छे। आशुतोस पछाडि नफर्की एकहोरो अगाडि बढिरहन्छ.....बढिरहन्छ... । अलि टाढा पुगरे फर्केर हेर्छ गौरी त्यही झ्यालबाट हेरिरहेकी छे । गौरीको नजरबाट क्रमशः आशुतोस बिलाउदै जान्छ ।  +            +              +              +              +              +              +              +              +              +              +              +              +
लामो समयपछि विदेशवाट फर्किएको आशुतोषले मातृभूमि टेक्ने बित्तिकै गौरीलाई फोन गर्‍यो । जसरी गौरीले जानेबेलामा उसलाई गरेकी थिई । अनि जानेबेलामा आफू गौरीबाट जुन ठाउँमा छुट्टिएको त्यही ठाउँमा गौरीसँग पहिलो भेट गर्ने चाहना राख्दै भन्यो "गौरी सक्छौ र याद छ भने उही ग्रीनल्याण्ड होटलको ११ नं कोठामा आऊ आज बेलुका आठ बजे । म त्यही हुन्छु ।"
यसबीच खोलामा धेरै पानी बगिसेको छ। समयले धेरै बसन्त गुजारिसकेको छ। अनि जीवनले धेरै आरोहअवरोध भोगिसकेको छ तर पनि आशुतोषसँग भेट्ने असीमित लालसा जीवितै थियो गौरीमा पनि । एक्कसी गौरीको मन अलि चिसो भयो- यत्रो वर्ष विदेश बसेर आएको मान्छे ? अनि उ अलि अनौठो स्वभावको छ । हुन त प्रेम र नारीप्रतिको उसको दृष्टिकोण सायद अरू पुरूषहरूभन्दा फरक छ । तै पनि ... ! आशुतोषप्रति आश्वस्त हुन नसकेर गौरीले होटलमा हैन अन्तै जाने मुड बानाएर भनी "आशु आज कुनै रेष्टुराँमा भेटौं, बसौं,  केही खाउँ र गफ गरौं ।" लामो समयपछिको भेटमा आफ्ना निस्पृह चाहनालाई एकाएक उजागर गर्नुभन्दा तिनलाई मुर्झाउन दिनु नै वेस हुनेछ भन्ने लाग्यो गौरीलाई।
धेरै समयपछिको भेट ! रेष्टुराँमा केहीबेर दुबै चुपचाप एकअर्कालाई हेरिमात्र रहे । गौरी आफैभित्र छछल्किएका भावनामा बगिरहेकी थिई । आशुतोष एकहोरो गौरीलाई हेरिरहेको थियो । उभित्रकी गौरी अहिले आफूभित्र छ कि छैन ?  आफैंभित्र खोजिरहेको थियो, छामिरहेको थियो। अनि खोज्दै थियो गौरीभित्र आफूला पनि ? के म गौरीभित्र अझै बाँचिरहेको छु ? फेरि एकछिन उ अमूर्त सोचमा डुब्छ ।
मौनतालाई च्यात्दै "आशुतोष, याद छ तिमीले त्यो दिन त्यस कोठामा के गर्‍यौ ?  त्यसैले तिमीप्रति विश्वस्त हुन नसकेर आज मैले त्यो होटलमा नभएर यहाँ भेटुँ भनेकी हुँ । फेरि पनि त तिमीले त्यसै गर्न सक्छ!" भन्दै थिई गौरी
"गौरी सबै याद छ । दिनभरी हरियो धाँसमा चरेर अघाएका गाईबस्नु साँझमा त्यसैमा उग्राउँदै निदाए जस्तो मैले पनि तिमीसँगका मधुर स्मृतिहरू उग्राउँदै यतिका वर्ष विताएँ । न मैले तिमीलाई बिर्सेको छु न तिमीसँगका ती क्षण नै बिर्सेको छु । अनि गौरी, मैले गर्नुपर्ने जे थियो सायद त्यही गरें होला, अन्यथा माफ पाउँ ।" अस्वाभाविकतामाथि स्वाभाविकताको लेपन लाउँदै सरल र सहज जवाफ दियो आशुतोषले।
आफूभित्र अझै कताकता बलिरहेको भुङ्ग्राको राप जस्तो आवेग ओकल्दै "तिमी त्यसलाई पनि रमाइलो क्षण मान्छौ आशु,  तिम्रो मुस्कान कति कुटिल छ ? रमाइलो क्षण....? म कति दिनसम्म विथोलिएँ तिमीलाई के थाह ? त्यो क्षण दुःखद नभए पनि सुखद अनुभव गरिन मैले । गौरी अलि अस्वाभाविक प्रस्तुत भई । केहीबेर दुवै चुपचाप रहे पनि आँखाँआँखा बोलिरहेका थिए।
"गौरी तिमी अझै केही भन्न खोजिरहेकी छौ भन।"
हो, आशुतोष ! म त्यतिबेला मनमनै भनिरहेकी थिएँ "आशु आज मेरा चाहना तिम्रा इच्छाहसँग युद्ध गर्न म भित्र  पङ्क्तिबद्ध मोर्चा कसेर बसेकाछन् । आऊ एउटा युद्ध लड जुन युद्धमा म हारेर तिमीलाई जिताउन चाहन्छु । एउटा प्रणययुद्ध ! आशुतोष, प्रणययुद्धमा पुरुषको कर्तव्य आक्रमण हो भने नारीको दायित्व समर्णण हो । तर आजसम्म न तिमीले मेरा चाहनामाथि आक्रमण गरेर ममाथि अन्तिम विजय प्राप्त गर्ने साहस नै गर्‍यौ न नारी सुलभ स्वभावभित्र कैद मेरा चाहनाले मेरो उत्कठ उदाङ्गो रूप तिम्रासामु उभ्याउन नै सके । आशु कताकता एउटा अप्रतक्ष चाहनाभित्र बनेको अपेक्षाको चौतारीमा प्रतीक्षारत थिएँ म ! मभित्र कोपिला झैं पत्रैपत्र गाँजिएका मेरा चाहना तिम्रासामु आज सबै फक्रिएका छन् । चुढाल तिनलाई, निमोठ तिनलाई र वासनाको बरसातमा भिजाऊ मलाई । निथ्रुक्क बनाऊ । म भिज्न चाहन्छु मलाई ओत चाहिएको छैन । सामाजिक परिवेशको चुहिएको छानो मुनी आफूलाई ओभानो देखाउनु छैन । आशुतोस्ष म निथ्रुक्क भिज्न चाहन्छु । म डुब्न चाहन्छु । डुबुल्की मार्न चाहन्छु । दिशाविहीन नौका जस्तो बहन चाहन्छु । म हराउन चाहन्छु, केही क्षणका लागि भए पनि म आफूलाई बिर्सन चाहन्छु । आशुतोष तिमीले कहिल्यै ममाथि धावा बोलेनौ । एउटा प्रेमपूर्ण निशस्त्र युद्धका लागि ललकार‌‌‌‌‌.........! तर आज म तिमीमाथि आक्रमण गरिरहेछु तिमी मलाई समर्पण गर, म तिमीलाई गर्छु । केही क्षणको लागि भए पनि पूर्णरूपमा समर्पित भै देउ । तिमी मलाइ हर, म तिमीलाई हर्छु ।  मसँग तिमी हार अनि म पनि  तिमीसँग हार्न चाहन्छु । तिमी मलाई जित, म तिमीलाई जित्न चाहन्छु । मेरा मनका उन्मादहरू सबै पखाली देऊ, मलाइ रित्याइ देऊ ।"
"हो आशुतोष तिमीले त्यो दिन मेरा चाहनाको अनादर गर्‍यौ, अपमान गर्‍यौ र मप्रति अन्याय गर्‍यौ।"
गौरीका गोरा, कोमल र सलक्क परेका लोभलाग्दा बाटुला हात सुम्सुम्याउदै आशुतोषले भन्यो "गौरी अनादर र अपमान भयो होला तिम्रा इच्छाको । अनि अन्याय भयो होला तिमीप्रति पनि ! तर तिमीमाथिको कसैको एकाधिकारको मैले आदर र सम्मान गरेजस्तो लाग्छ । तिमीप्रति अन्याय गरेपनि एउटा लोग्ने मान्छेप्रति न्याय गरे जस्तो लाग्छ।" आशुतोसले अरू धेरै कुरा बतायो ।
प्रलयपछिको शान्त सागर जस्तै गौरी निःशब्द सुनिरहेकी छे र मनमनै भनिरहेकी छे "आशु म अब तिम्रो शरीर हैन हृदयसँग प्रेम गर्छु । मेरो शरीरको हाडमासुलाई तिम्रो शरीरको भोकको साथी हैन तिम्रो भावनालाई मेरो हृदयको साथी बनाउँछु । मैले जे सोचेँ, जे गर्न खोजेँ मलाई माफ गर। म किन किन तिमीप्रति, तिमीसँगको मित्रतासँगै उद्वेलित र अस्थिर भएकी थिएँ । मभित्र भेल उर्लिन थालेको थियो, म बग्न चाहन्थे तर आजदेखि मैले आफूलाई शान्त र स्थिर बनाएँ । मनमनै बोलिरहेकी गौरीले एकाएक मुख खोली "आशुतोष म अरु कसैको जीवन साथी भए पनि अब म तिम्रो जीवनभरको साथी हुनेछु ।"
आशुतोषले प्रेमपूर्ण सुम्सुम्याएका हात बिस्तारै तान्दै विनय विनित र स्नेहले भरिएको मलिन स्वरमा गौरीले "ल त आशु आज म जान्छु" भनी नसक्दै पछाडिबाट कसैले भन्यो "गौरी जाने बेला भएको हो ?"

कर्णध्वजको आवाज सुनेर गौरी छाँगाबाट खसेजस्तो भई । चन्द्रमाको चाँदनी जस्तो सुन्दर र उज्यालो गौरीको अनुहार एकाएक ग्रहण लागे जस्तो अँध्यारो भयो । संकोच र ग्लानीभित्र हतास मिश्रित असहजताको गाढा रंगले अनुहारलाई फुस्रो र मैलो बनायो । एउटा ठूलो हुरीबतासको भुमरीमा रूमलिएकी विचलित चरी जस्ति  गौरीतिर हेर्दे कर्णध्वजले भन्यो- "संसारमा सबै मान्छेले जानेर गल्ती गर्दैनन्, गौरी । कोही नजानेर गल्ती गर्छन् खोज्छन् कोही जानेर गल्ती गर्न चाहदैनन् । धन्यवाद आशुतोष !" ऊ अहिलेसम्म गौरीको पति कर्णध्वजसगँ अपरिचित थियो ।
गौरी र कर्णध्वज बाटो लाग्छन् । लोडसेडिङको मारमा परेको सहरको मधुरो बत्तीको उज्यालोमा गौरीका आकृति देखुन्जेल आशुतोस हेरिरहन्छ ।
बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !