Sunday, March 1, 2009

यौवनका फौबन्जारहरु !

शिव प्रकाश

अभावको भोको भन्दा

रहरको भोको छ आधुनिकता,

अवस्थाको विवशता भन्दा

आधुनिकतासँग विवश छ अवस्था !

मौलिकता विहिन आधुनितकताभित्र

मौलाइहरेछ नूतन सभ्यता

मान्छेभित्र कुमान्छे जस्तै

सभ्यताभित्र झाँगिदैछ असभ्यता

आधुनिकताभित्र भित्रभित्रै गाँजिदैछन्

नैराश्यपूर्ण नूतन नग्नसभ्यताहरु

आधुनिकताको रमाइलो हाटबजारमा

चल्वलाइरहेछन् यौवनका फौबन्जारहरु !

चरम आधुनिकताको आदिम सँस्करणमा

मोडल र सुपरमोडलको बजारको भेलमा

विक्दैछन् यौवनका रहरलाग्दा कोपिलाहरु

नाङ्गिदैछन् समाजका प्रतिष्ठा र लज्जाहरु

लज्जित छन् शालिन सभ्यताका धरोहररु

ढल्दैछन् धमिरो लागेका धरहराहरु जस्तै

गल्दैछन् धपधपी जलेका मैनहरु जस्तै

सँस्कार र सौभ्य सभ्यताका परिस्कारहरु

नाङ्गा शरीर नाचेका अँध्यारा शहरुहरुमा

खुशी छन् मान्छे आधुनिकताको रमझममा !

लज्जीत छैनन् किंचित

उन्नत अवयवका मौलिक मालिकह‍रु

मादक मौनता बोकेका ति सुन्दरताहरु

मान्छे हैन वस्त्रविहीन हुन्छन ढुङ्गाहरु

ढुङ्गा जस्तै हुनुमा खुशी छन्

यौवनका फौबन्जारहरु !

सौन्दर्यताको नयाँ अर्थ

जीउँदा मान्छेहरुको नग्नता

नग्नताको पर्याय बन्दैछ सौन्दर्यता

नव यौवनाहरुको नग्न भीडमा

लज्जित छन् ति परिधानहरू

शरीर ढाक्ने गुन्यु, चोली र फरियाहरु

नग्नतामा खुशी छन् यौवनका फौबन्जारहरु !

सुन्दरता नगन्तामा हैन सौम्यतामा हुन्छ

सुन्दरता प्रदर्शनमा हैन पहिरनमा हुन्छ

तर नग्नतामा खुशी छन् यौवनका फौबन्जारहरु !


बोस्टन / अमेरिका मार्च ०१, २००९ ।

1 comment:

  1. शिव जी आधुनिकताको राम्रो चित्रण कबिता मार्फत् । धन्यबाद

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !