Friday, March 20, 2009

माटो, मान्छे र देश

शिव प्रकाश

त्यो माटो,
माटो जस्तो छैन
माटोको र‌ङ्ग फेरिएछ
रगत साँधिएको त्यो माटोमा
माटोको महक छैन
माटोको चहक छैन
माटोको रङ्ग छैन
धेरै भयो आजकाल
कमेराले घर पोतिएको छैन
त्यो माटो, माटो जस्तो छैन ।
रगत मुछिएको माटोको
हिलाम्मे आहालमा
मान्छे अझै रोपिरहेछ
हि‌साका रोपाइँहरु
मान्छे अहिले
मान्छेकै बलि चढाउँदैछ
मान्छे अहिले
मान्छेकै बलि पिउँदैछ
मान्छेमात्र हो
मान्छेको बलि चढाउने
मान्छेमात्र हो
मान्छेको बलि पिउने
स‌सार खाएर नअधाएको मान्छे
मान्छे खान थालेको छ्
मान्छेजस्तो देखिने मान्छेभित्र
मान्छे हराउन थालेको छ ।
छोडेर आएको माटो र मान्छे
हराए जस्तो लाग्दैछ
देश खोज्दै जाँदा
मेरो देश परदेश पुगेजस्तो हुदैछ
देश देशजस्तो देखिन छाडेछ
माटो विरानो भए जस्तो लाग्दैछ
माटो र मनको अटुट साइनो
कता कता नाजुक भए जस्तो लाग्दैछ
विष्णु दाइलाई सोधेँ
किन हो
देश परदेश गएको हो कि
परदेश देश पसेको हो
आजकाल मन र माटो दुबै रोएको छ
हो, आजकल मन र माटो दुबै रोएको छ ।

जनवरी २८, २००९ बोस्टन/अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !