Monday, March 23, 2009

आमा

शिव प्रकाश

आमा ! ठम्याउन सकिन मैले
तिम्रो ममताको व्यापकतालाई
सायद त्यो धेरै अग्लो होला
आकाश छुने उचाइभन्दा पनि
सायद त्यो अझै गहिरो होला
सागरको सतह भन्दा पनि

आमा ! आँक्न सकिन मैले
तिम्रो हृदयको विशालतालाई
त्यो विशालताभित्र सधै
कञ्चन हिमाल हाँसेको देख्छु
सन्ततिका लागि त्यहाँ सधै
पूर्णिमाको जून झल्केको देख्छु


आमा ! भेट्टाउन सकिन कहिल्यै
तिम्रो भावनाको सीमान्ततालाई
जहाँ सधैअन्तहिन ममताको
मग्मग वासना मग्मगाएको पाउछु
त्यहाँ हाम्रा लागि बिहानीको
शितलकिरण सधैंसधैछाएको भेट्छु

आमा ! चिन्न सकेको रहेनछु मैल
मातृत्वको सघन त्यो महानतालाई
तिमी तिनै याचक गान्धारी रहेछौ
सन्तानको प्राणरक्षाका लागि पाउ पर्ने
तिमी तिनै चरीमाता रहेछ आमा
खाएको ओकलेर बचराको पेट भर्ने
‌‌

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !