Thursday, April 2, 2009

बलैक्वाँक, टोटे नियात्रा नविस्मरण

शिव प्रकाश
कविहरु कविता गाउँ लुम्लेबाट फर्किदै थिए । गीत, कविता, मुक्तक, भजन, गलज आदिलाई पजल, फजल बनाएर मांसहारी भाषा भाव र शैलीमा मलजल गर्दै थिए । बोल्न अलिकति होस् पुर्याए न कि अर्काले धोति फुस्काइ दिन्थ्यो ।आउँदा प्राय सबैले एउटै उपाधी लिएर लाए "टोटे" । बलैक्वाक केहीदिन यतादेखि कविहरुका बोलीचालीमा बेलाबेलामा प्वाकप्वाक आउने नगरेको हैन । तर त्यतिको प्रचुर प्रचार बलैक्वाकले पाएको थिएन । रमेश टोटेले शिव टोटेसँग ख्यालठट्टामा प्रयोग गरेको बलैक्वाक उनीहरुमा मात्र सीमित रहेन । त्यसमाथि विप्लव टोटेले बलैक्वाकसँग चिम्टाको चमत्कार जोडेर अमूर्त शैलीमा खैलाबैला हुनेगरि यात्रमा हल्लाखल्ला मच्चाउँदै आए । यात्राको स्लोगन थियो “सिरानेमा चिम्टा, बलैक्वाक !” धनराज टोटे आफू "सुल्टो देशमा उल्टो मान्छे" हो कि "उल्टो देशमा सुल्टो मान्छे" हो आफै‌ले बुझ्न नसकेकेर रन्थनिए पछि मानसिकता गुमाए जस्तो मर्स्यङ्दी र त्रिशुली दोभान मुग्लिनबाटै उँधोतिर ‌‌‌ओरालो लागे सबै टोटेहरुलाई छोडेर । तर आफूले एउटा दिव्यज्ञान प्राप्ति गरेकोमा लुम्लेबाट अधिल्लै दिन लुथ्रुक्क लुइकिएका सागर उदासटोटे भन्दा दंगदास थिए धनराज टोटे । धनराज टोटेले नेपालको गजल साहित्यमा मात्र हैन औद्योगिक इतिहासमा अब क्रान्ति ल्याउने भएका छन् । विश्वमै नभएको “प्लास्टिकको चामल र गोबरको ध्यू” नेपालमा उत्पादन गरेर चमत्कार ल्याउने अमूर्त अठोट गरेको छनक र सनक दुबै उनमा झल्किन्थ्यो । उनलाई त्यो दिव्यज्ञान र प्रविधिको प्रज्ञान पनि टोटे‍यात्रामा मै प्राप्त भएको हो ।दामोदर टोटे र गोवर्धन टोटे अनि अर्का मौनकर्मी ध्रुव टोटे लगायत बेलाबेलामा शब्दका गुल खिलाउने फूलमा न थपिएकादेखि लिएर जुनियर जुब्लियर बेलाकुबेला कुराबेकुरामा रन्किने रौले टोटे र भैसीको गीत गाउने संगीते टोटेहरुको बीचमा अर्का लिजेण्ड टोटे पनि थिए टोटे दाइ राजेन्द्र थापा ।यि सबै टोटे मित्रहरुका बीचमा म पनि के कम ! “नेपाल खाने पानी सँस्थान” को नाम परिवतर्न हैन हेरफेर भएको सूचना हाम्रा सभासद्ले पाउनु अघि नै मेलै मेरा टोटे मित्रहरुलाई दिएँ । हेरफेर भएको नयाँ नाउँ हो “नेपालखाने पानीसँस्थान” ! “नेपालखाने पानीसँस्थान”ले उपत्यकाका बासी जनताहरुको स्वास्थ्यलाई ध्यानमा राखेर लुगा धुँदा लुगै मैलो हुने क्वालिटीको हाई फर्टिलाइजर भएको पानीलाई पिउने हैन खाने युक्त बनाउनका लागि जारी गरेको हावा दैनिकमा प्रकाशित सूचना पनि सुनाइ दिएँ । सूचनामा भनिएको थियो “काठमाण्डौ उपत्यकाको पानी, तातो पानीमा उमालेर र राम्ररी साबुन वा सर्फले धोएर मात्र खानु होला !” यो संस्मरण हैन अविस्मरण हो । किन भने संस्मरण भनेको सम्झिरहनु पर्ने तर अविस्मरण भने कहिल्यै नविर्सने खालकJ भएकोले यो संस्मरण हैन यात्रा नविस्मरण … कसो !पोखराको यौवन र मादकतासँग खेल्न खप्पिस भादगाउँले टोटेको अमृत वाणी र व्यवाहरले मलाई पनि रिन थोपरेको छ तिर्ने दिन आउँला !

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !