Thursday, April 2, 2009

सीसामा टाउको ड्वाङ्ङ

शिव प्रकाश

भन्नु कल्लाई भन्नु, नभन्नु कल्लाई नभन्नु ! जतिबेला ड्वाङ्ङ सीसामा टाउको ठोकियो त्यतिबेलामात्र था भो त्यो त ढोका रहेछ । ढोका जस्तो नदेखिने ढोका ! लाटो देशको गाँडो तन्नेरी भनेको पनि यही हो ।

हतारमा थिएँ दौडेर गएको ढ्वाङ्ङै भए । न कहिल्यै त्यस्तो ढोका देखेको न कहिल्यै सुनेको ! त्यसैले एकैचोटी टाउँको बज्राइमा परियो । लाजको पसारो विदेशीका सामू अनुहार अँध्यारो ।

सीसाको ढोकामा ड्वाङ्ङ टाउको बजार्ने पहिलो मान्छे पनि म नै होला ! सुनाउँदा लाजमर्दो तर सुन्दा हाँसउठ्दो । यो कुरो हो सन् १९९४ मा जापनको हिरोशिमाको । अफिसका केही हाकिमहरु त्यो होटल (होटलको नाउँ विर्सियो)मा बसेका थिए म भने अर्को होटलमा थिएँ । विहान नौ बजे जापानिजहरुसँग त्यो होटलमा मिटिङ थियो । मिटिङमा भागलिन ढिलो भइरहेको थियो । हत्तनपत्त गाडीबाट ‌ओर्लेर छिटोछिटो जाने भएको त ढोकामा टाउको बज्रेर झण्डै उत्तानो चित ! गिदी खल्बलिने गरि वज्रिए पछि था भो त्यो ठाँडो त ढोका पो रहेछ । सीसाको ढोका !

मान्छेको मोसन अनुसार खुल्ने अटोमेटिक भनाउँदो ढोका ! आफूलाई महाहतार थियो त्यसमाथि त्यहाँ ढोका छ भन्ने न ख्याल नै भो । सीसाको स्लाइडिङ डोर हरेछ तर लाग्थ्यो त्यहाँ ठ्याम्मै केही छैन । त्यही भन्ठानेर हुत्तिएर गएको त ड्वाङ्ङ ! न मैले ढोका छ भन्ने थाह पाए न त्यो अटोमेटिक ढोकाले म आएको थाह पायो । बिस्तारै अली भद्रपारामा हिड्दै जाँदा त्यो ढोका आफै‌ खुल्ने रहेछ तर म बाख्रा धपाउन गए जस्तो गरि दौडेर गए त्यसैले मार खाएँ । अहिले कुनै पनि ढोकाको सामुन्ने पुगेपछि म स्लो मोसनमा जान्छु ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !