Tuesday, June 16, 2009

बलैक्वाक पौरुषता


शिव प्रकाश


धागो,
बारम्बार प्रयत्न गर्छ
उनिन
उनिएर बाँधिन
बाँधिएर बटारिन
बटारिएर गाँठो पर्न
अर्थात
पूर्णपुरुष जस्तो
देखाउन खोज्छ
परम पुरुषार्थ
सीयोसँग !
गाँस्न खोज्छ
अनुपम् आत्मिय सम्बन्ध
दिन खोज्छ
परम उत्कर्षमय आनन्द
डुवाउन चाहन्छ
गहिरो अनुभूतिमा
सुम्पन चाहन्छ
एक अलौकिक उपहार

तर जब जब
नजिक हुन्छ, धागो
स्पर्श गर्न खोज्छ
तब तब अस्थिर बनिदिन्छ, सीयो
धेरै पुरुष जस्तै निरन्तर
असफल हुन्छ, धागो !
थाह छैन,
पुरुषलाई जस्तै धागोलाई
सीयोको इच्छामा निहित छन्
उसका सम्पूर्ण चाहना
सीयोको स्थिरतामा मात्र सम्भव छ
उसको पौरुषता
आखिर पुच्छर न हो
धागो पनि पुरुष जस्तै
लगनगाँठो समाएर हिड्ने
त्यसैले जे हुन्छ सबै कुरा
सीयोको चाहनामा हुन्छ
अर्थात……,
सीयो,
जबसम्म हल्लिन्छ
तबसम्म केही हुदैन ...
बलैक्वाँक पौरुषता !

(अश्रृंगार कविता अभियान .......)



No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !