Tuesday, June 30, 2009

एक योद्धाको खोजी

शिव प्रकाश


खोजीमा छु
एक योद्धाको
त्यो योद्धा
योद्धा जस्तो होस्
ठूलो होस्/बलियो होस्
बहादुर होस्/शक्तिशाली होस्
सहासिलो होस् ।
बुद्धिमा होस्/विवेकमा होस्
विद्वतामा होस्/ विचारमा होस्
आचारमा होस्/आस्थामा होस्
सत्यमा होस्/निष्ठामा होस्
धर्ममा होस्/कर्तव्यमा होस्
गराइमा होस्/बोलाइमा होस्
प्रेममा होस्/भावनामा होस्
 विश्वासमा होस् ।

युद्धको नियम अनुसार युद्ध लडोस्
युद्ध प्रतिशोधका लागि हैन
परिवर्तनका लागि गरोस्
हार्नु र जित्नु त छदैं छ युद्धमा
हार्नुलाई हिनता नमानोस्
जित्नुलाई जगजगी नठानोस् ।
म यस्तै विद्वत, बलियोसत्यसाहसी विवेकवीर,
 प्रतिद्वन्दी योद्धाको खोजीमा छु
म एक निशस्त्र युद्धको स्वागतमा छु ।


स्वागतमा छु म एक निशस्त्र युद्धको
युद्ध लड्नु नै छ भने योद्धा सँगै लडौ
युद्ध लड्नु नै छ भने एक योद्धा सँगै   लडौ


युद्ध लड्नु नै छ भने
निर्धासँग के लड्नु ?
त्यो त्यसै कमजोर छ -
सिंह सामू स्याल जस्तो  !
युद्ध लड्नु नै छ भने
सानासँग के लड्नु ?
त्यो त्यसै चाम्रिएको छ -
बटबृक्ष मुनिको च्याउ जस्तो !

जित्नु नै छ भने बलियैलाई जितौं
जित्नु नै छ भने
एउटा योद्धालाई नै जितौं
जुन योद्धासंग
हारे पनि केही जितियोस्
नजिते पनि केही नहारियोस्
जित्दा जितको मजा होस्
हार्दा हारको लज्जा नहोस् !

म एक योद्धाको खोजीमा छु ।

(अश्रृंगार कविता अभियान ‌‌‌‌‌‌‌‌‌‌‌‌‌......)
हालः बोस्टन, अमेरिका

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !