Tuesday, July 14, 2009

साइनो

शिव प्रकाश

हलो…. हलो…. हलो………..काका ! म बोलेको, नेपालबाट…..!’
हतास, अत्यास र भयपूर्ण अभयको अस्वाभाविक स्वर शेखरको मनमा चिसो पस्यो । मातृभूमि नेपालमा दैनिकरुपमा भइरहेको हत्या, हिंसा, आतंक, लुटपात, अपहरणका खबरले दशदेश दूर परदेशमा समेत आतंकित भएर बसेको शेखरले सम्झियो- पक्कै केही दूर्धटना भो कि क्या हो !
के भो, भन…. भन…. छिटो भन ……..’ अत्तालिदै सोध्यो।
काका….! काका…..! शीला दिदीलाई घर लान सकिएन !
किन के भो र सकिएन ……? के भन्न खोजेको छिटो भन !
हामी उहाँलाई आर्यधाट लादैछौ, मैले बाटोबाट फोन गरेको।अवरुद्ध  आवाजमा रोदन मिश्रित शव्दहरु अभयका मुखबाट फुट्न सकिरहेका थिएनन्।
शेखर चिच्यायो – ‘यो हुन सक्दैन। कसरी भो यो सबै यति चाडै……? हे परमेश्वर …..के गरिस तैले ….? कति निर्दयी छस् त ! ईश्वर भएर पनि तैंले शीला दिदीप्रति किन दुष्ट व्यवहार गरिस ?
हो काका यथार्थ यही हो। हामीले बचाउन सकेनौ। आज उहाँलाई हामी अन्तिम विदाई गर्न वाध्य भयौ।मलिन र पीडामिश्रित स्वरमा त्यति भनेर अभयले फोन राखिदियो।
सात वर्षपछि घरदेश टेकेर परदेश फर्केको सात दिनमै शीला दिदीको मृत्युको खबर आयो । शीला दिदीको अवस्था देखेर उसलाई  डर थियो तर यति चाडै दिदीले हार्नु हुन्छ भन्ने विश्वास थिएन ।
जीवनमा धेरै उतारचढाव र दुखका खेल खेल्दैझैल्दै सातवर्षदेखि परदेशमा रहेको शेखरले शीला दिदीको त्यो अपत्यारिलो मृत्युलाई सहजरुपमा लिन सकेन। आज जीवनमा पहिलोपटक सपना साँचो भएको उसले महशूस गरो। गए राती नराम्रो सपना देखेको कुरा त्यतिबेला सम्झियो जतिबेला शीला दिदीको मृत्युको खबर उसले अभयबाट सबैभन्दा पहिले पायो।
आफ्नै बाबुलाई वर्षौ देख्नै नपाई दुई वर्ष अघि परदेशमै बाबुको मृत्यु स्वीकारेर काजक्रिया गर्न वाध्य शेखरले बाबु भन्दा केही महिना अघिमात्र आफ्नै सासुलाई पनि परदेशबाटै अलविदा गरेको थियो । यो कालो कालखण्डमा उसले काका, ठूलाबा र अरू नातेदारहरु गरेर धरैलाई गुमाइसकेको थियो। घरदेश छोडर परदेशमा रहनु पर्दाको यो पीडाबाट छटपटीरहेको शेखरका लागि शीला दिदीको मृत्यु सबैभन्दा भयानक भयो । बुबा र सासु धेरै वर्षदेखि विरामी थिए । उमेरले पनि पचहत्तर नाधिसेकेको थिए तर पनि सात वर्ष देख्नै नपाई आफ्ना प्रियजनलाई दूरदेशबाटै विदाई गर्नु पर्दाको पीडा कति दुःखदायक हुन्छ ? ईश्वरको खेला ! यी सबै सहन र समन उ गर्न वाध्य थियो ।
तर शीला दिदी त भरखरै बाउन्न त्रिपन्न वर्षकी मान्छे ! पढेलेखेकी मान्छे ! आजभन्दा करीव पच्चीस वर्ष अघि एम. कम पास गरेकी मान्छे ! त्यो जमानामा नेपालका पढेलेखेका नारीहरुमध्ये औलामा गनिने मान्छे ! एउटा ठूलो बैंकको प्रथम श्रेणीको अधिकृतसम्म भएर भरखरै रिटायर्ड भएकी मान्छे ! सात बैनी छोरीहरु मध्ये सबैभन्दा साहसिली छोरी। घरमा दाजुभाइ नभएर छोरीछोरी मात्र हुँदा दुष्ट मानसिकता भएका फन्तहरूबाट बारम्बार प्रताडित हुँदा पनि कहिल्यै निरास नहुने छोरी । एउटा सुसंस्कृत परिवारकी छोरी । अल्पायुमा भएको आफ्ना बाबुको निधन पछि सम्पत्तिका लागि  तिनै आफन्तहरुबाट भइरहेको बारम्बारको मानसिक यातनापूर्ण क्रमण र अतिक्रमणमा कहिल्यै नहार्ने र समर्पण नगर्ने छोरी । आत्मबल अत्यन्त  बलियो भएकी छोरीशीला दिदी कसरी हारिन् मृत्युसँग यति चाडै ?’’ शेखर यस्तै यस्तै  सोचिरह्यो । शीला दिदीको मृत्युलाई उसले स्वाभाविक मान्न सकिरहेको छैन, उ पत्याइरहेको छैन, मात्र सोचिरहेको छ । यो स्वाभाविक मृत्यु होइन, अस्वाभाविक हत्या हो । हत्याराहरू तिनै मन्थरा र सकुनीहरू हुन् ।’’
दुइ घण्टा पछि नयनाको फोन आयो – ‘शेखर, शीला दिदीलाई बचाउने धेरै प्रयत्न गरियो तर सकिएन, के गर्नु ?नयनाको बोली स्पष्ट थिएन । बोलीमा बोलीभन्दा वेदना थियो, व्यथा थियो, रोदन थियो, क्रन्दन थियो । बोलीमा घुक्कघुक्क र सुक्कसुक्कको बोली नै बढी थियो।
शेखर, दिदीहरू र हाम्रो जीवनमा एक पछि अर्को आँधीतुफान आए जस्तो लागिरहेको छ । सबै भताभुंग बनाउन खोजिरहेको जस्तो लागिरहेको छ, ।’’ नयनाका शब्दहरू त्यसै अवरूद्ध भए । म पछि फोन गर्छु शेखर…..! अनि अहिले घरमा फोन नगर्नु दिदीहरु झन् रुनुहुन्छ।नयनाले धेरै कुरा गर्न सकिन । उसले फोनमा भनेकी थिइ, ‘अब दिदीहरु के गर्ने होला ? शीला दिदी ठूलो भरोसा र साहस हुनुहुन्थ्यो घरको !
नयनालाई पनि केही बर्षअघिदेखि आमाको अभाव खड्किएको । त्यसमाथि आफ्नो सबैभन्दा नजिकको साथी अर्थात श्रीमान् शेखर धेरै वर्षदेखि परदेशमा । वर्षौको एकांकी जीवन ! अनि त्यसमाथि अचानक दिदीको मृत्यु ! 
शीला दिदी अरु दिदीहरु भन्दा अलि झोक्की र रिसाह भए पनि उसको सोझो पनलाई नयना साह्रै माया गर्थी र बेलाबेलामा शेखरलाई भन्थी – ‘के गर्नु सीता दिदी साह्रै सोझो छ, एकहोरो छ, भनेको मान्दैन र त ती मन्थरा र सकुनीले साखुल्ले पल्टेर भए नभएका उल्टापाल्टा कुरा सुनाए । दिदीलाई एकहोर्याएर आफ्नो दुनो सोझ्याए पाखण्डीहरूले ।शेखरले सोच्यो- यस्तो अपराध सायद यो दुनियाँमा कसैले गर्दैनन् होला !शेखर अझ अबरुद्ध भयो । राजनलाई फोन गरेर काममा बोलायो र कामबाट विदा लियो।
बग्दा बग्दैको नदी रोकिए जस्तो ! उड्दा उड्दैको चरा खसे जस्तो ! हेर्दाहेर्दैको एउटा जाज्वल्य हिमाल एकाएक सम्पूर्ण ढले जस्तो ! आफु उभिएको धरातल अचानक भासिए जस्तो ! आगो सल्किएर सम्पूर्ण आकाशगंगा धपधपी बले जस्तो ! के के, कस्तो कस्तो भयो शेखरलाई ! धेरै बेर एकोहोरियो । आँखा चिम्लियो । आत्माबाटै प्राणपखेरू उडेर शरीरमात्र बाँकी भए जस्तो भयो । गर्लम्म सोफामा ढल्यो । धेरैबेर साच्यो तर केही सोच्न सकेन । उसको बाबुको मृत्युको खबरले उ ज्यादै दुःखी भएको थियो र पनि त्यति असहज भएको थिएन, जति शीला दिदीको मृत्युको खबरले भयो।
शीला दिदीले अर्को ज्वाईको तुलनामा शेखरलाई कहिल्यै नजिकको नठाने पनि उसले शीला दिदीलाई कहिल्ये टाढाको व्यवहार गरेन। उसालाई विश्वास थियो शीला दिदीको आँखा एकदिन खुल्छन्। नयना पनि शेखरलाई यसै भन्थिन सहनु र हेरिराख्नु  पर्छ शेखर, मान्छे हो एकदिन त आँखा खुलिहाल्छ नि। मान्छेको छाला ओढेको मान्छे जस्तो देखिने मान्छे र मान्छेमा फरक त असल मान्छेले एकदिन पत्ता लाउन सकिहाल्छ नि। शीला दिदी भित्रबाट असल मान्छे हो एकदिन पक्कै आँखा खुल्छन् ।तर शीला दिदीका खुलेका आँखा शेखरले आफूलाई कहिल्ये देख्न पाएन । उनका आँखा सदाका लागि बन्द भइसकेका थिएँ
शेखरले सोच्यो – ‘वास्तवमा असल मान्छेले नै अरुलाई विश्वास गर्छ । अनि त्यो नै मान्छे हो ।  विश्वासघाती कुमान्छे हो। मान्छे र कुमान्छेबीचको पहिलो फरक पनि विश्वास र विश्वासघात नै हो । आखिर मान्छेले यो संसारमा लुकाउने नै के छ र ! कुनै न कुनै रुपमा कहीँ न कहीँ मान्छेको नाङ्गो र सक्कलीरुप मान्छेले देख्छ नै।’ हुन त मन्थरा र सकुनीको नांगो स्वरूप घरका सबैले देखेका थिए तर शीला दिदी तिनका सामू सधैं धृतराष्ट्र बन्नु भयो । नारी भएर पनि गान्धारी कहिल्यै बन्न सक्नु भएन ।
सात वर्ष पछि शेखरलाई भेट्दा टिलपिल आँशु  भरिएका आँखा छोप्दै कोठामा एक्लै पारेर शीला दिदीले भनेको कुरा अहिले उसका मस्तिष्कमा रानोका वरिपरी मौरी घुमेजस्तो घुमीरहेका छन् । अब उसलाई ती मान्छे जस्ता देखिने पाखण्डीसँग यति घृणा हुन थालेको छ, त्यतिको घृणित सायद संसारमा अरू कसैले कसैलाई गर्दैन
ज्वाइँ, मैले मान्छे चिन्न सकिनछु, मन्थरा र  सकुनी त बहिनी र ज्वाइँको आवरणमा आफ्नै घरमा रहेछन् । तपाइँ पनि ज्वाइँ त्यो पनि ज्वाइँ तर कति फरक हुदो रहेछ एउटै नाताभित्रको मान्छेको भावना र नियतमा । यो नातालाई तपाइँले सधैं शिरमा राख्नु भो तर त्यसले कुल्चियो । चोर र फटाह चिन्न गाह्रो हुदोरहेछ।  म फर्केर आएँ, अब म यो घरबाट कहिल्यै बाहिर जान्न, त्यो दुष्टका सामू कहिल्यै पर्दिन ।यस्तो भन्ने शीला दिदी अन्तत सदाका लागि जानु भो । शेखरले कहिल्यै सोचेको थिएन, शीला दिदीले कुनै दिन यस्तो कुरा आफूसँग गर्नुहुन्छ भनेर। शीला दिदीकारिपरी सधैं गुँड बनाएर शेखरका बारेमा नकारात्मक कुरा कथुर्नु उनीहरूको दिनचर्या नै बनेको थियो। मन्थरा र सकुनीका नयाँ अवतारहरू शेखरका विरुद्ध षडयन्त्रमात्र गरिरहन्थे तर त्यो षडयन्त्र शेखर हैन शीला दिदीका विरुद्ध भइरहेको थियो । उहाँले त्यो कहिल्यै बुझ्नु भएन तर जतिखेर बुझ्नु भो त्यतिखेर बुझ्नुको अर्थ केही रहेन । जतिखेर शीला दिदीका आँखा खुले त्यतिखेरसम्म सबै ढिला भइसकेको थियो । अँध्यारोले जीवन छोपिसकेको थियो । त्यो अन्धकारभित्र शीला दिदी आफैंलाई देख्न नसस्ने भै सक्नु भएको थियो ।  मानसिक र शारीरिक रोगले निकै चापिसकेको थियो। मानसिक सन्ताप नै सबैभन्दा ठूलो रोग भएर भित्र भित्रै गाँजिइरहेको थियो।

अहिले शेखरको कानमा शीला दीदीको मलिन त्यो आवाज लगातार गुन्जिरहेको छ। आँखामा शीला दिदीको त्यो पश्चातापपूर्ण अनुहार झल्झली आइरहेको छ । मस्तिष्कमा शीला दिदीको निष्कपटता अनि नारीसुलभ सोझोपन निरन्तर खेलिरहेको छ । शेखर भित्रभित्रै मुरमुरिन्छ, दाह्रा किट्छ, मुठ्ठी बटार्छ र भन्छ ए, पापी पाखण्डीहरु हो, तिमीहरुले शीला दिदीको हत्या गर्यौ ! तिमीहरु नै हौ शीला दिदीका हत्यारा । तिमीहरुले अपमान, अपहेलना र कपट गरेर शीला दिदीको साहस टुटायौ । निर्वल बनायौ, लाचार बानायौं र मृत्युको मुखमा हाल्यौ। उपचार गर्न पनि विमुख गराएर मृत्युलाई उपहार दियौ, शीला दिदी 
शीला दिदी साह्रै साहसी हुनुहुन्थ्यो। आँटी हुनुहुन्थ्यो। नाजायज कुरामा कसैसँग कहिल्यै नझुक्ने र सम्झौता नगर्ने उहाँभित्र अर्को एउटा कठोर शीलाको स्वरूप थियो । कार्यालय प्रमुख हुँदा कसैले उहाँसामू नाजायज लाभका कुरा गर्ने साहस गर्दैन थे । अनियमितता, भ्रष्टाचर र दुराचारको नालमा डुबेका सरकारी अर्ध सरकारी कमर्चारीमा एक नमूना नारी हुनुहुन्थ्यो । त्यसैले आफ्नै दिदीबहिनी र आमा पनि शीला दिदीसँग डराउँथे। तर जालीको जालमा फसेपछि दिदीको आँत कमजोर भइसकेको रहेछ। चंगुलमा फसेको माछो जस्तो भित्रभित्रै छट्पटिइरहनु भएको रहेछ। भनौ, कसलाई भनौ घरको पीडा नभनौ कति कहिलेसम्म नभनौ आफूभित्रको पीडा । सहुँ, कति सहुँ  एउटा स्वाभिमानी मान्छेमाथि भएको मानसिक यातना। यो कुरा सबै शेखरलाई त्यही दिन मात्र खुलस्त यो जुन दिन शीला दिदीले गहभरी आँसु बोकेर बताउनु भयो । शीला दिदीका अनुहारमा अरू अनेक अनुहारहरू छाइरहेका थिए, अनेक भावहरू आइरहेका थिए । सादय अरु पनि धेरै कुराहरु भन्ने इच्छा थियो होला उहाँलाई तर अनुकुलता परेन। बाँकी धेरै कुराहरु थाँति राखेर जानु भो, गएको गयै हुनु भो ।
शेखरले यो कुरा नयनालाई पनि भनेको थिएन। शेखर शीला दिदीको संघर्ष र त्यागलाई सम्झन्छ। दाजुभाइ नभएको घरमा अति दुःख गरेर पढेको र अविवाहित बसेको । एम. कम. पढ्न बसन्तपुरदेखि किर्तिपुरसम्म पुसमाघको जाडो, साउनको वर्षा, भदौको भेल चैतको घाम केही नभनी पैदले हिडेर जाने आउने गरेको। जागिर खादै पढ्दै गरेको । तीसौं वर्षको लामो जागिरे जीवन पछि सुख गर्छु भन्ने बेलामा भएको उहाँको असहज, अप्रत्यासित, अस्वाभाविक र असामयिक मृत्युको जिम्मेवार अरु कोही हैन शीला दिदीले भनेका तिनै मन्थरा र शकुनीहरु नै हुन् । उ किटान गर्छ - लोग्नेस्वास्नी मिलेर हाँ हाँ र जालमा ताल मिलाउने तिनै चरित्र पात्रहरु नै हुन् ।
जुत्ता लाउनेलाई थाह हुन्छ जुत्ताले खुट्टा कहाँनिर खान्छ भनेर, पढेलेखेर अलिकति ज्ञान आर्जन गर्नेलाई मात्र थाह हुन्छ कि पढ्न लेख्न कति गाह्रो छ भनेर। ज्ञान के हो ? धर्म के हो ? इमान के हो ? निरक्षर भट्टाचार्य बराबर त्यो शकुनी पात्रलाई एउटै मात्र ज्ञान छ जाल बुन्ने र मन्थरालाई जाल हान्न सिकाउने । शकुनी चरित्रको पर्याय अर्कालाई दुःख दिनु र अरुको दुःखमा रमाउनु हो। यस्तै यस्तै कुराले शेखरको मनमा अहिले डेरा जमाएको छ। डिग्री पास गरेको छु भनेर छोरी छोरी भएको घरमा ज्वाइँ बनेर घुसेको वर्षौ पछि मात्र थाह भयो त्यसले सात क्लास मात्र पास गरेको रहेछ भनेर । के पो गर्नु र पछि थाह भएर ?
यो सब त्यो घरका लागि भएको हो । सीता दिदीलाई लाक्षागृहमा हालेर त्यो घर हत्याउनु छ । सम्पत्ति खानु थियो खाएको भए हुन्थ्यो तर सीता दिदीको अबला, सोझो र एकहोरोपनको भरमार फाइदा उठाएर यसरी बहकाएर मृत्युसामू सुम्पनु कतिसम्म  नीचता हो ? त्यसले निचताको पराकाष्ठा नाघेको छ । ईश्वर तिमी बाँचेका छौ भने त्यसलाई दण्ड देउ ।शेखर संयमित हुन सक्दैन । उ त्यहीबाट ईश्वर पुकार्छ ।  हुनत घरमा सबैले उसको चाला बुझिसकेको थिए तर छोरीको मायाले आमा पनि चुप र बहिनीले दुःख पाउँछे भनेर दिदीहरु पनि । उसले उनीहरुको संयमतालाई आफ्नी स्वास्नी मार्फत उपयोग गरिरह्यो । छोरी र बहिनीका रूपमा मन्थराको अवतार र ज्वाइँका रूपमा सकुनीको अवतारका आक्रान्त आक्रमणलाई आमा र दिदीहरू कसैले पनि प्रतिकार गर्न सकेनन् । परदेशमा भएको शेखर केही गर्न सक्दैन । यी कुराहरु जति सम्झन्छ त्यति मुरमुरिन्छ, शेखर ।
शेखरले आफू परदेशिनु अधि नै भनेको थियो – ‘दिदी तपाइँ अलि दुव्लाउँदै गए जस्तो छ एक पटक डाक्टरलाई जचाउँनु तर उल्टो शीला दिदीलाई बहकाए। शेखरलाई समेत दोषी बनाए,   नजर लायो भनेर। डाक्टरकहाँ गएर केही हुदैन दिदी बोक्साबोक्सीको आँखा लागेको हो। फलानो बोक्सो हो, फलानी बोक्सी हो, चिलानी यस्ती हो, ढिस्कानो यस्तो छ । तिनका नजरमा हेर्नु हुदैन । तीसँग बोल्नु हुदैन। धामीझाँक्री, झारफुक, भाकल, तन्त्रमन्त्र आदिमा शीला दिदीलाई घुमाउने बहकाउने काम वर्षै गरिरहेछ। शीला दिदी अन्धविश्वासको भूमरीमा घुमिरहनु भयो, पत्याइरहनु भयो । तीनले जे भन्छन् त्यही गरिरहनु भयो । जहाँ लान्छन् त्यही जानु भयो । आफ्ना कुरा घरका अरू कसैलाइ थाह दिनु भएन । आमा र दिदीबहिनीले कति भन्दा पनि शीला दिदी मान्नु भएन सपेराको मोहनीमा फसेको नागजस्तो हुनु भो । उनीहरुले भनेको हरेक कुरामा टाउको हल्लाइरहनु भो । जे जे भने त्यही त्यही मात्र गर्नु भो । सबैले भन्थे- यस्तो पढेलेखेको भएर पनि के भएकी होली, शीला !
शीला दिदी रिटायर्ड हुदाँ आएको एकमुष्ठ पचास लाख ! अब अर्को नयाँ नाटकको मञ्चन सुरू भयो ।
दिदी यहाँ त यति धेरै खराब नजार भएका मान्छे छन् । यहाँ बस्यो भने कहिल्यै शान्ति हुदैन । अन्तै घर बनाएर सर्नु पर्छ । यो घरमा आउने धेरै मान्छेको नजर खराब छ, अनि घरकै मान्छे पनि । तिनका आँखा लागेर नै दिदी यसरी बेलाबेलामा विरामी पर्नु भएको । ज्वाइँले जग्गा खोजिसिन्छ, त्यही घर बनाएर उतै गएर बस्नु पर्छ । त्यहाँ कसैको नजर लाग्दैन शान्ति पनि हुन्छ । सकुनीले मन्थरालाई सिकायो । आफ्नो योजना मन्थराको मुखबाट शीला दिदी सामू बारम्बार बकायो । उसले हाँमा हाँ मिलाउँदै गयो । त्यो पैसाले संगसंगै दुइटा घर बने। यो कुरा अरू कसैलाई थाह भएन । न आमा न दिदीबहिनीहरूलाई । एउटा भाडामा लाग्यो । अर्कोमा शीला दिदी फै सर्नु भो, फ्नो मूल घरमा बुढी आमा र  अरु दिदीबहिनी छोडेर बहिनीज्वाइँका रूपमा अवतरित मन्थरा र सकुनीका अवतारहरूसँग । बुढी भएकी आमालाई उनको सराइले गहिरो असर पार्यो र अन्ततः आमा थलिनु भो। त्यो कुरा अरु दिदीबहिनीले बुझेका थिए तर बुझ्नु पर्ने ले नबुझे पछि के नै लाग्दो रहेछ र ! शीला दिदी अन्धो हुनु भो । शेखर पनि ज्वाइँ नै हो । शेखर घरका अरू सबैका लागि विश्वासिलो र सम्मानित थियो तर शीला दिदीका आँखामा उनीहरूले शेखरलाई कसिँगर बनाएर राखे । मन्थरा र सकुनीले जे भने त्यो भन्दा अरू कसैका केही कुरा शीला दिदीले सुन्नु भएन । मानौ मायवी जालमा फस्नु भएको थियो ।
नयाँ घरमा आज, भोली, पर्सी गर्दै दिन वित्दै गए। उसलाइ शीला दिदी हैन घर चाहिएको थियो । जे भए पनि ज्वाइँ हुँ लोकका सामू लाजगालका खातिर पनि यिनले मलाइ निकाल्न सक्दैनन् भन्ने कुरा उसले बुझिसेकेको छ । बाटोको काँडा बनेको शेखर पनि परदेशमा नै थियो । शीला दिदी अब उसलाई बोझ हुन थाल्यो । हप्काइ दप्काइ गर्न थाल्यो । हरेक कुरामा आँखा तर्न थाल्यो । दाह्रा किट्न थाल्यो । काटुँ र मारूँ गर्न थाल्यो । शीला दिदीलाई उनको आफ्नै घरबाट निकाल्ने उपाय खोज्न थाल्यो । दिनभर रत्नपार्क तिर चाहर्ने र पीपलबोटमा टुक्रुक्क बसेर सित्तैमा पत्रिका हेरेर त्यसैको भरमा घर आएर डिंग हान्ने गरेको उसको पुरानो चलनलाई शीला दिदीका ज्ञानचक्षुले देख्न थाले । सडकमा ढुङ्गा हान्न गएर आज यस्तो भो, आज उस्तो भो भन्दै अखबारी हल्लालाइ दरवारको खबर भन्ने,  कहिले दरबारको मान्छे हुँ त कहिले सीआइडी विभागको अधिकृत हुँ भनेर सधैं झूठो आडम्बर देखाएर हिड्ने मान्छे जब महिनौसम्म दिनभर काम न काज घरमा कुचो लाएर बस्न थाल्यो तब शीला दिदीलाई थाह भो यसले मेरा आँखामा पट्टी बाँधेर मलाइ घुमाइरहेको रहेछ । आफैंलाई हप्काइ दप्काइ गर्दा पनि लोग्नेलाई संसारको अलेक्जेन्डर द ग्रेट देखाउन र सधैं हो मा हो भन्ने बहिनीप्रति पनि शीला दिदीको आँखा उघ्रिदै गए, विश्वास टुट्दै गयो । …‘यो त ………मान्छे होइन रहेछ, पशुमा पनि निकृष्ठ जंगली पशु रहेछ। बहिनीको पनि यो रूप ? । यो पशुसँग अब म बस्दिन । शीला दिदीले निर्णय गर्नु भो ।

मान्छेले यो संसारमा लुकाउने नै के छ र ! कुनै न कुनै रुपमा कही न कही मान्छेको नाङ्गो रुप मान्छेले देख्छ नै। शीला दिदीका अगाडि उ क्रमशः नांगिदै गयो । आज अलिकति, भोली अलिकति, पर्सी अलिकति गर्दै । उसको सक्कली सकुनी चरित्र पुरै देखेपछि सीता दिदी आफ्नै पौखरले बनाएको त्यो घरमा बस्न नसकेर मूल घर फर्कनु भो तर त्यतिबेलासम्म धेरै कुरा अन्त्य भै सकेको थियो । आमा वितिसक्नु भएको थियो । बल्ल सीता दिदीले शेखरसँग उसको तुलना गर्दै दिदी बहिनीसँग भन्नु भयो - शास्त्रले भनेको कुरा ठीकै रहेछ, जहाँ रावण हुन्छ त्यहाँ राम जन्मन्छ धन्य भववान् ! रामको रूपमा शेखरलाइ यो घरको अर्को ज्वाइँ बनाइदिय । सबैका आँखा रसाए, अनुहार मलिन भए।
आमा वित्दा घरपरिवार, छर छिमेक, नातागोता पुरै शोकमा डुव्यो तर त्यो सकुनीको अनुहारमा साहनुभूति र समवेदनाको देखावटी लेपनसम्म पनि थिएन । गोहीको जति पनि आँशु चुहाउन सकेन त्यो मान्छे जस्तो देखिने मान्छेले । सायद उ सीता दिदीको पनि कामना गरिरहेको थियो , जति छिटो सीता दिदी ………… त्यति चाँडो यो घर……..!
उसलाई मान्छेसँगको साइनो भन्दा शीला दिदीको घरसँगको साइनो दह्रो बनाउनु थियो। उ त्यो घरमा भित्रिए पछि मान्छेसँगको अरु साइनोलाई उसले तोडिदियो । त्यो घरसँगको साइनो दह्रो बनाउन नाता, साइनो, सम्बन्ध, निष्ठा, इमान, धर्म, मानवियता र  कर्तव्यपरायणताको छाती कुल्चदै शीला दिदीलाई मृत्यसँग साइनो लाइदिएर अहिले पनि झाडु लाउँदै उ त्यही घरमा बसेको छ ।
सकुनी र मन्थराका लहैलहैमा शीला दिदी आफै पनि धाँमी, झाँक्री, छारफुक, जोखाना, बलि, भाकलका पछि लागेर निक्कै गलिसक्नु भएको थियो। घर एको भोलिपल्टै बेहोस हुनु भो । अस्पताल लगियो , डाक्टर भन्यो ब्लडप्रेशर र सुगरले हर्ट ड्यामेज गरिसकेको छ । पर्सीपल्टै शीला दिदीले मृत्यसँग सकुनीले जोडीदिएको साइनो स्वीकार्दै अन्तिम शब्द शेखर ज्वाSSS....इँSSS.... भन्दै सबैसँगको साइनो तोडेर जानुभयो । 

(मधुपर्क)

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !