Wednesday, July 15, 2009

अन्धो छ ईश्वर आज पनि


शिव प्रकाश  

बाँचिरहेछन् शकुनीहरु 
मान्छेभित्र फैलाउँदै 
पासापन्जा कुटिलताका
लेखिरहेछन् झूठो कथा महाभारतका  
मरेका छैनन् दूर्योधन-दुशासनहरु  
चिथोर्दै द्रौपदीहरु हाँसिरहेछन् भारी सभामा 
बनाउँदै लाक्षागृहहरु  
मान्छेका वस्ती-वस्तीमा गर्जिरहेछन् आज पनि ।
जिउँदैछन् रावणहरु  
नाङ्गो नाचिरहेछन् मान्छेभित्र 
किचिरहेछन् अत्याचारका गदाले निर्धाहरु निरिह 
हेरिरहेछन् हनुमानहरु वैदेही हरण / जटायु मरण टुलुटुलु आज पनि ।
बजाउँदै कोलाहलका दुन्दुभि  
घुमिरेहछन् कंशहरु मरेका छैनन् हाँसिरहेछन् 
मान्छेभित्र आज पनि ।
नदेखेको ईश्वर ग्रन्थका मिथकहरु  
अन्धाधुन्ध मानिरहेछ मान्छे आज पनि ।
ईश्वर , किन बाँचिरहेछन् शकुनीहरु ?  
किन नाचिरहेछन् रावणहरु ?  
किन हाँसिरहेछन् कंशहरु ? किन गर्जिहरेछन् कौरवहरु ?  
अदृश्य छ ईश्वर ! कि ईश्वरभित्र भ्रम छ  
कि भ्रमभित्र ईश्वर  
कि बाँचेर पनि अन्धो छ ईश्वर
आज पनि !

(अश्रृंगार कविता अभियान .....)

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !