Monday, July 20, 2009

सीमाना हराएको देश


शिव प्रकाश


भीषण कथा छ

महाभारतको

अझ भयानक

अर्को कथा छ

एउटा देशमा,

त्रास-सन्त्रात

, कोलाहलको !


अग्लो पहाड छ

एउटा प्रदेशमा,

पीडाको झन् अग्लो

अर्को पहाड छ

त्यो देशमा !


जहाँ निस्सासिएको छ

वाग्मती,

उस्तै विभत्स छ‌

मान्छेको स्वरुप , त्यहाँ !


अन्धकार छ

समय,

समय भन्दा

झन् अन्धकार छ

जीवन !

साह्रै गह्रुङ्गो छ

ढुङ्गो,

झन् सारो गह्रुङ्गो छ

मान्छेको मन !


मान्छे छ, त्यहाँ

मान्छे जस्तो देखिन्छ

तर मान्छेभित्र त्यहाँ

मान्छे छैन !


पीडाका यी घाउहरुले

टन्टनी पिलिएको

एउटा देश छ

सीमाना हराएको देश

भित्रभित्रै सधैं दुःखिरहेछ

एउटा नागरिक छ,

सीमान खोज्दै

आफ्नो देशको

कतै बसेर

भित्रभित्रै सधैं रोइरहेछ ।


(अश्रृंगार कविता अभियान )



No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !