Wednesday, July 22, 2009

कमेन्टको उन्नत खेती

शिव प्रकाश

वैजन्तीलाई मेलै डायनोसरको कथा सुनाएको थिएँ । वातावरण नमिलेर पृथ्वीबाट डायनोसर लोप भए जस्तो मेरो दशवर्षे जागीरकालमा म पनि लोप हुने अवस्था आएकोले अस्तित्व रक्षाको लागि विदेश पलायन भएको रहस्य बताएको थिएँ ।
वैजन्ती मप्रति ज्यादै कृतज्ञता र सन्निकटता देखाउँछे । थाह छैन, किन हो ? उसले एकदिन फोन गरेर भनी - 'म पनि एक्लै छु घुम्न आउनुस् न ।' आशय के हो- मैले कुन अर्थमा बुझ्छु, अरुले कुन अर्थमा बुझ्छन्, उसले कुन अर्थमा भनेकी हो ? त्यो आफ्नो ठाउँमा छ !
मैले 'हेरौं' मात्र भने । उसले अलि अप्ठ्यो मान्दै कुरालाई अर्कोतिर मोडी ! उ आफू पनि साहित्य सृजनाकर्मी हो र मेरो एउटा पाठक पनि ।
'एक दशक अगाडि जाने हो भने तपाइँ त नेपालमा स्थापित भै सकेको लेखक हो । बीचमा ग्याप हुनु भो फेरी अहिले इन्टरनेटले तपाइँलाई लेखनमा फर्कायो ।',उ भन्दैछे, म सुनिरहेछु ।

'हुन त तपाइँ समकालीन लेखनमा सकि्रय हुनुहुन्छ । तपाइँका कविताहरु वास्तविक छँटाका छन् कथाहरुले यौन, मनोविज्ञान र समाज तीनै कुरा अँगालेका छन् तर पनि यी श्रृजनाहरु डायनोसर हुन बेर छैन !'
मैले भने- 'कुरा बुझिन ।'
'मेरो मतलब तपाइँका कथा, कवितामा त्यति धेरै "कमेन्ट" छैनन् नि ! कस्ता कस्ता झूरका कति "कमेन्ट" आउँछन् !'
मैले भने- 'मतलब बुझिन !' थपेँ- 'कमेन्टसँग डायनोसरको के सम्वन्ध छ ?'
उसले भनि- 'कमेन्ट नै भएन भने त्यो रचना आफैंमा डायनोसर ठानिदैन र !'
मैले भने- 'यो मनोवैज्ञानिक आत्मरतित असरमात्र हो । मान्छेले मेरा कथा, कविता पढ्दैन् होला, मन पराउँदैनन् होला र त कमेन्ट लेख्दैनन् ! तर म सृजना लेखिरहन्छु ।'
उसले भनि- 'थोरैले मात्र पढेर र बुझेर कमेन्ट लेख्छन् । सबैले पढ्दा पनि पढ्दैनन् । पढ्ने-नपढ्ने, बुझ्ने-नबुझ्ने तपसीलका कुरा हुन् । तर कमेन्टका लागि कमेन्ट लेख्ने र "पपुल्यरिटी" बढाउने हो क्या ! शिर्षकै नहेरी ठोकीदिने - वाह ! क्या राम्रो रहेछ "कीप इट अप इत्यादी …" । अनि तिन्ले पनि आफ्नो मा त्यसैगरी खुइँखुइँती धस्काई दिन्छन् । अरुले हेर्दा ओहो ! कस्तो राम्रो होला कति धेरै "कमेन्ट" !’
मैले भने- "कमेन्टू" को यो उन्नत खेती गर्ने रहस्य मलाई थाह छैन !

बोस्टन, अमेरिका ।

3 comments:

  1. खूब रमाइलो लाग्यो है यो लघुकथा ! अरु पनि पढ्दैछु |

    ReplyDelete
  2. कमेन्ट खोज्नेहरूप्रति तिखो व्यङ्ग्य !

    ReplyDelete
  3. कमेन्ट होस् या नहोस , साहित्य भनेको साहित्य नै हो , जब कुनै असल उद्देश्य लिएर केहि अक्ष्यर लेखिन्छ भावनात्मक रुपमा त्यो साहित्य नै बन्छ र त्यो साहित्य भण्डारको खजाना बन्छ नै ( फरक यति होला कुनै मिठो बन्लान , कुनै तितो कुनै नमिठो पनि ) जो जसको छेम्ताले जसरि लेख्छन उस्तै पस्कन्छन . जसरि भए पनि साहित्य भण्डारको खजाना त बन्यो बन्यो . साहित्य कहिल्यै डाइनोसर भएर लोप हुदैन --
    यो लघु कथाको उद्देश्य राम्रो छ , निरासित हुन पुगेका लेखकलाई उर्जा दिन्छा .
    धन्यबाद .

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !