Sunday, August 2, 2009

फूलको चोट


शिव प्रकाश

उल्टो भइरहेछ उसको जीवनमा सधै, सबै कुरा ! छातीमा ढुङ्गा बज्रदा उसले त्यति पीडाको अनुभूत गरेन जति एउटा कोमल फूलको चोटबाट गर्यो । उसलाई कथा थाह छैन तर "हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ" उ अहिले आफ्नै कथा आफैं भनिरहेछ – म सुनिरहेँछु "फूलको चोटको कथा !"
उसले सेतो फूल मन पराउन छोडेको छ !
ढुङ्गाको चोटभन्दा फूलको चोट झन् गहिरो झन् पीडादायक हुँदोरहेछ । निको भएर जाँदोरहेछ ढुंगाको चोट तर कहिल्यै निको नहुदोरहेछ फूलको चोट ! त्यति कोमल फूलले कठोर ढुङ्गाको भन्दा कति गहिरो चोट लाउँदो रहेछ मनमुटुलाई सधैं दुखाइरहने, चस्सचस्स भित्रभित्रै घोचिरहने, विजाइरहने ? अचानोलाई मात्र थाह हुन्छ खुकुरीको चोट, मलाइ मात्र थाह छ फूलको चोट । कठोर भन्थे ढुंगो तर झन् कठोर हुन्छ फूल !  उ भन्दै छ ।
सीताशालाई सम्झदाँ सधै त्यो सेतोफूल सम्झन्छ त्यो फूल सम्झदा सीताशा सम्झन्छु । नसम्झु भन्दा पनि विर्सेर सम्झन्छु । मुटुमा बिजेको काँडा भएर बसेको छ त्यो सेतोफूल मेरो छातीभित्र ! खुशीका क्षणहरु सम्झन्छ तर ती क्षणहरुसँगै पीडाका भेलहरु उर्लेर आउँछन् । अनि भित्रभित्रै अझै म आतंकित हुन्छ "कतै ती भेलले मलाई फेरि नबगाउन् ।" आफूलाई अझै भयभीत पाउँछ
पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्रवर्ष वितिसक्दा पनि सीताशाका वारेमा भित्र अझै द्धन्द छ । मानौं भित्र एकप्रकारको युद्ध चलिरहेछ ! आफैं एउटा युद्धभूमि भइरहेछ युद्घ अघि नै युद्ध हारेको एक युद्ध नायक पनि ! दुबैपक्षको नेतृत्व आफैंले गरेको छ । यो युद्धमा आफै एक अर्काको शत्रु र सहयोगी भएर उभिएको छु आफैंलाई हराएर आफैंलाई जिताएको छु ।
सीताशा ठीक थिई वा आफू गतल थिए ? सीताशा गलत थिइ वा आफू ठीक थिएँ ? युद्ध निरन्तर छ भित्र ! सीताशा-शिवासु ! शिवासु-सीताशा ! गलत-ठीक ! ठीक-गलत ! एउटा भीषण मनोवैज्ञानिक युद्ध विभिषिका मेरो मनमस्तिष्कमा अझै मडारिरहेछ । मुक्ति चाहन्छ यो द्वन्दबाट तर न सीताशालाई विर्सन सक्छ न त्यो फूललाई ! न त आफ्नो त्यो भूललाई ! मैले त्यो फूलालाई सीताशा सम्झिए, सीताशालाई फूल ।
सोच्छ - द्वन्दको कारण सीताशा हैन, फूल हो । हैन, द्वन्छको कारण फूल हैन; सीताशा हो । सीताशा र फूल दुबै होइन म नै हो । दुबै थरी सोच्छ, दुबै थरी स्वीकार्छ, दुबै थरी नकार्छ ! हो पनि, होइन पनि ! होइन पनि, हो पनि ! सायद मान्छेमात्र यस्तो प्राणी हो - जो हो र होइनको विचित्र व्यवहार र अनिश्चित विचारभित्र बाँचेको हुन्छ । मेरो  विश्लेषण हो यो मान्छेका बारेमा- हो पनि, होइन पनि; होइन पनि र हो पनि ! कुनै कुराको निश्चितता छैन मान्छेमा । पशु भए बरू एक निश्चित विधि र व्यवहारमा बस्थ्यो तर मान्छे ! कुकुरले विष्टा खान्छ तर निष्ठा खाँदैन । बाघले मासु खान्छ, नपाए भोकै मर्छ तर घाँस कहिल्यै खाँदैन । मान्छेले त विष्ठा पनि खान्छ, निष्ठा पनि खान्छ । मासु पनि खान्छ, घाँस पनि खान्छ । मान्छेभित्र विचित्रको चित्र हुन्छ । त्यसैले त मान्छेको सबैभन्दा नजिकको साथी पनि मान्छे र सबैभन्दा ठूलो शत्रु पनि मान्छे नै भएको छ । सबैभन्दा विश्वासिलो पनि मान्छे नै हुन्छ र सबैभन्दा घातक पनि मान्छै नै !
पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्र वर्षमा मैले एउटी आइमाईमान्छे सीताशालाई चिन्न सकिन । सीताशालाई चिन्न नसक्नु भनेको म आफैंले आफैंलाई चिन्न नसक्नु पनि हो । मान्छेको परिचय मान्छेले कहिले पाउने ? म आफैंसँग प्रश्न गर्छु । विश्वाश नगेर घात हुदैन, आस नगरे निराश हुनु पर्दैन । मैले पहिल्यै यो किन सोच्न सकिन । यो मेरै कमजोरी हो । मभित्रको मलाइ मैले चिनिन र त मैले विश्वास र आश दुबै गरेँ ।   अझै रनभुल्लमा छ । यो संसारले नबुझ्ने र नसुन्ने एउटा प्रश्न यही संसारलाई गर्छ - 'मान्छे सबै म जस्तै हुन् कि म अरु सबै मान्छे जस्तो हुँ ?' मेरा यस्ता हरेक प्रश्न त्यो फूलसँग सम्वन्धित छन् । हरेक घटनापरिघटना, दृष्यपरिदृष्य सबै त्यो फूलसँग गाँसिएका छन् । अर्थात त्यो फूल नहुदो हो त यी कुनै कुरा हुदैनथे ! अथवा सीताशा नहुदी हो त त्यो फूल पनि हुदैनथ्यो ! अथवा त्यो फूल त्यतिबेला नै फ्याकिदिएको भए सायद सम्झनाका कठोर काँडाहरू विझिरहदैन थे होला !
सीतासाको नाउँसँगै सधैं त्यो सेतोफूल सम्झन्छ । वास्तवमा सम्झनु पनि पर्देन नदी सम्झने वित्तिकै पानीको विम्ब आए जस्तै सीताशासँग फूलको विम्ब आउँछ, फूलसँग सीताको विम्ब । नदीको पर्याय पानी भए जस्तै सीतासाको पर्याय फूल भएको छ, फूलको पर्याय सीताशा । त्यो सेतोफूल तर फूल धेरै प्रकारका हुन्छन् र मान्छे पनि ! मैले एउटा कविता पढेको छु-
निश्छल छ फूल
फूलको निश्छलताभित्र प्रतीक छ प्रेमको
उपमा छ आत्मीयतको, वैभव छ विश्वासको
तर फूलभित्र काँडा पनि हुन्छ ! फूल कागजको पनि हुन्छ !
फूल सम्झेर सुम्सुम्याएको सीतासाभित्र तिखारिएर बसेका विषालुकाँडाको अनुभव मैले गरसिकेको छ । अब न फूलप्रति विश्वास हुन्छ लाई न मान्छेप्रति ! न प्रेमप्रति !
सीताशासँग हिडेका बाटाहरु सम्झन्छ, पाटाहरु सम्झन्छ । खेतबारीहरु सम्झन्छ, उकालीओरालीहरु सम्झन्छ । हातहरु सम्झन्छु, साथहरु सम्झन्छ । बरसातहरू सम्झन्छु, सँगै विताएका रातहरु सम्झन्छ । रातका मातहरु सम्झन्छ, रातका बातहरु सम्झन्छ । रातको मौनता सम्झन्छु, रातको मादकता सम्झन्छ । रात बौलाएको सम्झन्छ रात मुर्झाएको सम्झन्छ । घोडा चढेको सभ्झन्छ, बग्गी चढेको सम्झन्छ । समुन्द्रको किनार सझन्छु, जंगलको बाटो सम्झन्छ । हिउँका फाल्सा सझन्छु, गाउँका खोल्सा सम्झन्छखेतबारीका आली सम्झन्छु, कान्ला पाखा सम्झन्छु । शरह सम्झन्छु, गाउँ सम्झन्छ । हिलो सम्झन्छु, धूलो सम्झन्छअनि प्रत्येक सम्झनासँगै त्यो फूल सम्झन्छ
सीताशाबाट मैले केही राम्रा कुराहरु पनि सिक्ने मौका पाउँछ ती सबै सम्झन्छ तर ती सँगै त्यो फूल सधैं गाँसिएर आउँछ । राम्रासँगै केही नराम्रा कुराहरु पनि सिक्छ पनि सबै सम्झन्छ सबैसंग त्यो फूल उनिएर आउँछ । फूल-सीताशा ! सीताशा-फूल ! काँडा भएको छ त्यो फूल, मेरो मुटु छेड्ने त्यो शूलत्यो सेतोफूल !
एउटा झिनो निष्कर्ष निकाल्छु - मैले आफूलाई भन्दा सीताशालाई बढी चिनेको छु यस अर्थमा चिनेको छु कि मैले आफूलाई सम्पूर्णरुपले देख्न सक्दिन तर सीताशालाई सम्पूर्ण देखेको छु । सीताशाले मलाई लुकाउँन बाँकी नै के थियो र ? अब उसले मसँग केही लुकाउदिन । यदाकदा मभित्र शंकाका झिल्का उछिट्टिए पनि विश्वासको वाफले निभाउथ्यो तर म भ्रममा रहेछुँ । मैले सीताशाको शरीर पो देखेँ त, मन त कहिल्यै देखिन । मन र पानी आखिर उस्तै हुँदो रेहछ । न आकार देखिने न रंग देखिने ! चीसो भए जम्ने बरफ जस्तो हुने, तातो भए उड्ने, भाँडा अनुसार अकार र रंग लिने । अवस्था अनुसार बदलिने । पानीमा रंग देख्नु र मान्छेको मन चिन्नु उस्तै रहेछ । नदेखेको मन  चिन्नु कसरी ? मेरो भ्रममात्र रहेछ । मेरो निष्कर्ष छ- मान्छे हजार वर्ष बाँच्यो भने पनि उसलाई चिन्न सकिदैन । हजार वर्ष संगत गरे पनि उसलाई आफ्न बनाउन सकिदैन ।
हरेक फूल देख्दा सीताशा सम्झन्छ । सीताशा जस्ता हरेक आइमाइहरु देख्दा त्यो सेतोफूल सम्झन्छ । सीतासालाई चाहेर पनि विर्सन सक्दिन सम्झन पनि चाँहदैन । तर विडम्बना सोचेजस्तो जीवन र जीवन जस्तो सोचाइ कहाँ हुन्छ र ! सीताशा पनि छे, त्यो फूल पनि छ । सीतासा अझै हाँसिरहेकी छे यो धरीतमा त्यो फूल पनि अझै सुरक्षित छ कतै कुनै मेरो कितावको पत्रमा तर त्यो फूलको चोट अझै फक्रिरहेछ मेरो हृदयमा ! सायद सीताशालाई त्यो फूलको कुनै हेक्का छैन सीतासाले यस्ता फूल धेरैलाई दिएकी हुन सक्छे । शिवासु जस्ता पात्रहरू चौतरीका वटुवाहरू जस्तो हुन सक्छन् उनको जीवनमा । किताबका हरेक पानाका फरक विषयका पाठहरू जस्तै हुन सक्छन् म जस्ता शिवासुहरू सीताशाहरूका लागि ।
त्यो दिन साँझ झमक्क परिसकेको थियो । गेटमा उभिएर सीताशाले लाई हातमा सेतोफूल, गालामा रातो हुनेगरि चुम्बन र हृदयभरीको शुभकामना दिएर विदा गरेकी थिई । सीताशाका शव्दहरु सम्झन्छ- 'शिवासु धेरैधेरै शुभाकामना ! तर विदेश गएर यताउता धेरै नबरालिनु, यसपटका तिम्रो पालो । तिमी जानु र म जानु भनेको एकै हो, शुभकामना !
जागीर खाएको दश वर्ष भै सकेको छ, मेरो जागिरे जीवनको यो पहिलो विदेश भ्रमण ! भित्र उद्वेलित उत्सुकता र कौतुहलताहरु त्यतिबेलामात्र अलि शान्त हुनेछन् जतिबेला म बोइङ्को ढोकामा हुनेछु । एक दिन कै लागि भए पनि विदेश जानु भनेको हाम्रो समाजमा यसै पनि इज्जतिलो ठानिन्छ, त्यसमाथि अफिसियल भ्रमणमा ! अझै त्यसमाथि करीव एक महिनाको भ्रमण  ! अझ त्यसमाथि सुख्खा जागिरेका लागि एउटा रसिलो र भरिलो आम्दानी । सोचेँ - 'जीवनमा पहिलोपटक डलर पनि देख्ने पाइने भइयो । फुरुक्क परेर घर फर्किएँ फर्कदा मैले जीवनमा पहिलो पटक आफ्नो कमाइले पुरा एक किलो खसीको मासु किने । अनि साथमा एक क्वाटर मन्जो पनि ! खुशीको सीमा रहेन घर आइपुगेको थाहै भएन । सीताशाप्रति विशेष शिष्टाचार तथा कृतज्ञता ज्ञापन गर्नु मेरो कर्तव्य ठाने फोन गरेँ, उठेन ! आधाघण्टा पछि फेरि गरेँ, फेरि उठेन ! किन फोन उठेन ? मनमनै सोचेँ, किनमा मात्र एकछिन अल्झिएँ अरू केही सोचिन । अर्कोआघा घण्टा पछि फेरी गरेँ, फेरि उठेन ! खसीको भूटुवासँग मेन्जो तान्दै फूभित्र उद्वेलित खुशी बाड्न म तुर थिएँ । त्यो खुशीमा म छताछुल्ल हुन चाहन्थे । कता पोखुँ कता पोखुँ भइरहेको थियो । सीताशा बाहेक मेरो विश्वासिलो र अन्तरंग अरू कोही छैनन् । लगातार केहीबेर फोन गरिरहेँ, उठ्दै उठ्दैन । अब हरेक आधाघण्टामा गरिरहेँ, बल्ल घण्टौं पछि  फोन उठ्यो तर फोनमा आवाज अर्कै थियो ! साधेँ तपाइँ को ? जवाफमा 'म काम गर्ने देवकी' भन्ने आयो । सीताशा का बारेमा सोधेँ - 'दिदी आउने वित्तिकै बाहिर जानु भो र बाहिरबाट आउने वित्तिकै घप्लक्क सुत्नु भो' '
अपत्यारिलो जवाफले आश्चार्यको आकाश ममाथि नै खनिए जस्तो भय ! एकछिन टोलाएँ, मेन्जो तान्दै आफूलाई खुशीको संसारमा फेरि दौडाएँ । मरो मनका खुशीले रातभर रातसँग बातमारी रह, निदाइन अनेक सोचेँ । बुबाले धेरै दिनदेखि चाहना गरेको अटोमेटिक साइको फाइभ घडी । सुनको चुरा लाउने आमाको सधैंको भित्री रहर । भाइबैनीला राम्राराम्रा लत्ताकपडा । श्रीमतीला एउटा मोतीको माला । छोराला मन पर्ने खेलौना । यी सबै अब पुरा हुने भए । हिसाब गरेँ- मेरो भत्ताको पैसाले यी सबै आउँछन् ।
जागिर खाएदेखि त्यो दिन पहिलो पल्ट अनठौ स्फूर्ति एको थियो, भित्रै मनसम्म खुशी छाएको थियो । खुट्टा भुँइमै भएता पनि मन बोइङ्गमा उडिरहेको थियो । अब सारा साथीभाइबाट वधाइ पाइने भइयो कल्पनापरिकल्पना लहरमा तैरदै भोलिपल्ट सबेरै म अफिस पुगेँ तर अफिसको सूचनापाटीमा मेरो नाउँ थिएन  मलाई विश्वास लागेन दोहोर्याए हेरेँ, तेहेर्याएर हेरेँ जति हेर्दा पनि शिवासु देखेनन् मेरा आँखाले ! एक तमासले एकछिन हेरिरहेँ । आकाशमा स्वच्छन्द उड्दाउड्दैको पंक्षी पखेटा चुडिएर खसे जस्तो भएँ । बालुवामा पानी जस्ता भए मेरा सपना । एउटा श्लोक सम्झिएँ– विश्वासो नैव कर्तव्यः स्त्रीपु राजकुलेसुचः ।
त्यो सीटमा एकमात्र निर्विकल्प उमेद्वार भनेर सीताशाको नाउँ टाँसिएको थियो । नारीप्रतिको मेरो धारणा नकारात्मक हुदै गयो । सोचेँ, धेरै सोचेँ । रित्तो अफिस कोठामा घोप्टे मुन्टो लाएर सोचेँ । के नारीहरू विश्वासका पात्र हुन् सक्दैनन ? के शास्त्रले भनेको कुरा साँचो हो ? अविश्वास नै नारीको आत्मा हो ? होइन, सबै सिक्का खोटा हुन सक्दैनन् । एउटा खोटो सिक्का देखियो भने सबैलाई किन दोष दिने ? सबै नारी सीताशा हैनन् र हुन पनि सक्दैनन् । नारी त प्रेम स्नेहको पाठशाला हो, दयाको दीयो हो । म किन एउटी सीताशाका लागि सम्पूर्ण नारीलाई दोषी बनाएर त्यो पाठशालालाई वधशाला बनाऊ ? यो मेरो अर्को भूल हुनेछ, सीताशालाई चिन्न नसके जस्तो भूल । सम्पूर्ण नारीलाई चिन्न नसकेको भूल ।
अफिसको त्यही टेबुलमा निधार घोप्टाएर बसेको छु । सीताशाको घरैछेउमै डेरा बस्ने मरो सहायकले खुसुक्क कानमा भन्यो - 'सर सीताशा म्यामलाई हिजोराति अबेला मन्त्रीको गाडीले पुर्याउन आएको देखेको थिएँ ।'
शिवासुले त्यो दिनदेखि सेतोफूल मन पराउन छाडेको छ ।
प्रेम र मित्रता एउटा डुंगा हो भने स्वार्थ अर्को डुंगा हो । जुन डुंगामा सबै प्रेमी र मित्रहरुले दुबै खुट्टा हालेका हुदैनन् । दुइटा डुंगामा दुइटा खुट्टा हालेर तैरनेहरूले थाहै नपाइ एउटा खुट्टा झिकिदिन्छन् । जन्मसँगै मृत्युले पनि जन्म लिन्छ । मित्रता र प्रेमसँगै स्वार्थले घात-प्रतिघात पनि जन्माएको हुन्छ । विश्वास नै नगर अविश्वास नै हुदैन, प्रेम नै नगर घात नै हुदैन - मैले सुनिरहे ।
मित्रता ! मित्रताभित्रबाट प्रेम ! प्रेमभित्रबाट घा । घातभित्रबाट प्रतिघात । अनि घात-प्रतिघातबाट शत्रुता ! शत्रुताभित्रबाट पुनः मित्रता ! यसरी नै सुनायो शिवासुले त्यो फूलको कथा !




1 comment:

  1. कथाले मानिसको स्वार्थी प्रवृतीलाई नंगाएको छ । प्रेम र प्रेम भित्रको घातलाई कथाकारले रोचक ढंगले पस्कनु भएको छ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !