Thursday, August 20, 2009

न्यूयोर्कमा सम्पन्न भाषासाहित्य सम्मेलन र हाम्रो मन

शिव प्रकाश

अधिल्लो दिन बेलुका पुस्तक बिमोचन समारोहमा एक प्रत्रकार मित्रले भने - दाइ, मेरो पेपरलाई पनि सहयोग गर्नु परो । प्रतिउत्तरमा मैले भने - हुन्छ नि भाइ, के सकिन्छ गरौंला नि ! मेरो पत्रिका दूईसय कपि निस्किन्छ, भोलीको कार्यक्रमका लागि पास हुन्छ कि हुन्न् ? सोधाइमा पत्रकारिता हैन पत्रुकारिताको गन्ध पाए मैले । उत्तर छोटकरीमा दिएँ - भाइ, त्यहाँ कोही फेल हुदैन सबै पास !
खिस्स दाँत देखाए चाम्रो अनुहार लाएर कता लागे एकछिन पछि देखिएन उनलाई !
अब यहाँ मेरो उत्तर गलत हो वा उनको प्रश्न ! अर्थात उनको प्रश्न सही हो वा मेरो उत्तर ? यो यहाँहरुको जिम्मा !
यही अगष्ट १४ तारिक बेलुकाको कुरो हो यो । भोलीपल्ट आगष्ट १५ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको आयोजनाका लागि साँझ न्यूयोर्क पुगेको थिएँ ।
पहिलो पटक अन्तर्राष्ट्रिय भूमिमा नेपाली भाषासाहित्यका बारेमा एउटा सम्मेलन सम्पन्न भयो । यद्यपि केही कमजोरीहरु भए, स्वीकार्छु; आयोजक भएको नाताले ।
अमेरिकाको न्यूयोर्क जस्तो महँगो शहरमा आयोजना भएको सम्मेलन कसरी सम्पन्न भो ? आर्थिका स्रोत कसरी जुटाउनु भो ? मैले वा हामीले पनि केही सहयोग गर्नु पर्छ कि भनेर सम्मेलन सकिने समयको अन्तिम घडीसम्म कसैले स्वेच्छाले सोधेको थाह भएन । तर पास भने सबैलाई चाहिएको थियो । नमीठो लाग्यो, अति नमीठो लाग्यो ! ति मित्रको पनि त दायित्वभित्र पर्थ्यो होला, यो सम्मेलनलाई होस्टेमा हैंसे गरेर सफल बनाउन ! उनी पनि त म जस्तै नेपाली हुन् । मैले पनि त मेरा लागि हैन नेपाली र नेपाली भाषाका लागि लागिपरेर गरेको हुँ ।
अनि म जस्तै अरुले पनि भत्भति पैताला पोलुन्जेल र पिँडुला बटारिन्जेल काम गरेर आर्जन गरेको पैसाबाट थोरबहुत उठाएर सम्मेलन आयोजन गरेका हौं । कसैले घ्वापघ्वापी उघाएर केही दिएको हैन ! यी सबै कुरा यी मित्रले किन बुझ्न चाहेनन् कि बुझेर पनि नबुझे जस्तो गरेका हुन् ?
अर्कातिर अर्का एक मित्रले आफ्नो वेभसाइटमा सम्मेलनका बारेमा कपोल टीकाटीप्पणी लेखेर अद्भूत पत्रकारिता देखाए । राष्ट्रपतिको सन्देश वाचन गर्नेको नाउँ समेत गलत लेखिएको उनको समाचारमा प्रवेश शुल्क नराखिएको भए अझ धेरैको उपस्थिति हुने थियो धेरै मान्छे प्रवेश शुल्क पच्चीस डलरले गर्दा प्रवेश नै नगरी फर्किए भनेर आयोजकलाई धोच्नुसम्म धोचे । पास नभए सम्मेलनमा नआउने कुरा पनि सम्मेलन अघि कतिले सुनाए । आउनु नआउनु ठूलो कुरो हैन तर मेरो पनि केही दायित्व र कर्तव्य छ भन्ने कुराको हेक्का हुनु महत्वपूर्ण हो ।
तर उनको त्यो अद्भूत पत्रकारिताको चमत्कारी दिमागले किन सोचेन कि सम्मेलनका यी कुनै पनि कुराहरु यहाँ सित्तैमा आएका छैनन् होला भनेर ! कि मेरो दिमाग उल्टो घुमेर मैले यस्तो सोचेको हुँ थाह भएन ?
दुःख लाग्यो, साह्रै दुःख लाग्यो । यो सम्मेलनमा लागि कति महिनादेखि आफ्नो समय व्यतित गरियो । कति रात निद्रा पुगेन, यसैको काममा लागिरहियो । बोस्टनदेखि न्यूयोर्क जाने, आउने, होटलमा बस्ने, खाने आदिमा कति खर्च भयो यसको हिसाब अलग्गै छ । तर त्यही न्यूयोर्कमा भएका स्थानिय मित्रहरुले इतिहासमा पहिलो पटक नेपाली भाषा साहित्यका बारेमा आफ्ना आँगनमा भएको सम्मेलनमा जम्मा पच्चीस डलर तिर्नका लागि यत्रो टीका टिप्पणी गर्नु कति जायन वा नाजायज हो मैले बुझ्ना सकिन ! म जस्तै बाहिरबाट आउने प्राय सबैले प्रवेशशुल्क तिरेको तर न्यूयोर्ककै धेरैले नतिरेको पनि देखियो, जसमा आयोजक भनेर पगरीले गुतिने पनि थिए । मलाइ पनि रहर थिएन होला आफ्ना लालाबालाका इच्छा काटेर सम्मेलनमा थोरै भए पनि सहयोग गर्ने । तर मनै हो सबै कुरा । हुन त धन हुनेको मन हुदैन, मन हुनेको धन हुदैन ।
नेपालबाट आउने अतिथिको भाडाभरौटदेखि लिएर प्राय सम्पूर्ण आगन्तुक तथा अथितिको बसोबास, खानपिनसम्मको खर्च कहाँबाटा आयो होला ? यी व्यवस्थापनदेखि लिएर सम्मेलन आयोजनासम्मको खर्च कहाँबाट आयो होला ? यी माथिका अद्भूत पत्रकारिता शिल्पीकार महोदयहरुले सोच्न नसक्नु मेरा लागि अर्को अद्भूत सोच र खोजको विषय भएको छ !
मेरो प्रश्न - मित्रहरु कहाँबाट आयो होला हलभाडाँ ? कहाँबाट आयो होला विहानको खाजा चिया ? कहाँबाट आयो होला दिनको दाल, भात, तरकारी ? कहाँबाट आयो होला अरु व्यवस्थापन खर्च आदिइत्यादि … ? यो पनि त ति मित्रहरुले सोचिदिएर हामीले पनि सहयोग गर्नु पर्छ कि भन्ने हेक्का राखिदिएको भए साचो पत्रकारिता र भाषासाहित्यप्रतिको सम्मान अलिकति भए पनि देखिन्थो होला ! तर उल्टो कुरो अड्कियो प्रवेश शुल्कमा ………! यी सबका अतिरिक्त न्यूयोर्ककै केही मित्रहरूले गरेको आर्थिक र भौतिक सहयोग अविस्मरणीय रहने छ ।
म आफू पनि आजभन्दा करीव बीस वर्ष अघि पत्रकारिता क्षेत्रबाटै यो भारेभूरे लेखन क्षेत्रमा आएको हुँ । सायद त्यसकारणले पनि मलाई अझ बढी दुःख लागेको हुन सक्छ, यी विषयमा ।
बिहानको ब्रकेफास्टमा चिया, कफी, डोनट पछि दिनको भोजन समेत लुड्याएर गैसके पछि त त्यस्तो तेजस्वी मष्तिष्क भएका मित्रहरुको दिमागमा त्यतिखेर त आउनु पर्ने यो सब कहाँबाट आयो र मैले खाएँ भन्ने कुरा ! तर किन आएन ? यहाँ मेरो प्रश्न गलत पनि हुन सक्छ किन भने पत्रकार हुनुको अर्थ हाम्रो परिवेशमा अझै सबैथोक सित्तैमा खानु अर्थात पाउनु पर्छ भन्ने कुरालाई नैसर्गिक आधिकार जस्तै मानिएको छ । पाए सीताका गीता लेख्नु नपाए उही सीताको रमिता उछाल्नु हामी पत्रकार भनाउँदा कतिको स्वविबेकीय अधिकार नै भएको छ ! भलै त्यतिसम्म नहोला, तर कुनै पनि विषय उठाउँदा त्यो विषयको गम्भीर्यतालाई आक्न अवश्य सक्नु पर्छ ।
नाफा रहित र कसैलाई व्यक्तिगत फाइदा नहुने गरि हामी हामीबाट दश, बीस, पचास, सय उठाएर गरिएको त्यो सम्मेलन जस्ता श्रृजनात्मक कार्यमा हामीले पनि केही सहयोग गर्नु पर्छ भन्ने सोच यस्ता मित्रहरुमा कहिले आउँला ? कुनै व्यवासयिक नाचगान, रसरंग, जाँडपार्टी वा डिजे भएको भए निर्धक्क सर्यौ डलर खर्च गर्न हिच्किचाउँदैन हाम्रो मन ! तर आफ्नै मुटु जस्तो प्यारो आफ्नै भाषासाहित्यका बारेमा एक जुगमा एक पटक पच्चीस डलर सहयोग प्रदान गर्न सक्दैन त्यही हाम्रो त्यही मन..... !
मित्रहरु जुनसुकै कुरा ”कम्प्लेन” गर्न धेरै सजिलो हुन्छ तर ”कम्प्लाई” गर्न त्यति नै गाह्रो हुन्छ । अतः मित्रहरु, पत्रकारितालाई पत्रुकारिता हैन व्यवसायिक सम्मान र आस्थाकासाथ अघि बढाऔं । अनि समाजका हरेक आँखामा सम्मानित बऔं । उपदेश नठान्नु होला अनुभव प्रतिविम्वित भएका हुन् ।

2 comments:

  1. शिबजी तपाईको लेख पढेर एकातिर दु:ख लाग्यो भने अर्को तिर तपाई जस्ता नेपाली भाषा र साहित्यका तपस्बी देखेर गर्बले छाती ठूलो भयो। तपाईले गर्नु भएको काम र लगनको म मन बाटै सलाम गर्छु।
    सित्तैमा पाए अलकत्र खाने संकारका मान्छे कहाँ हुदैनन् र? यो सबै कुरालाई सामन्य रुपमा लिनु होला र फेरि फेरि पनि तपाईलाई यस्तो कार्य गर्न प्रेरणा मिलोस मेरो शुभकामना छ।
    (माथि प्याराग्राफहरु अलि नछुट्टिएर हो कि पठ्न गाह्रो भए जस्तो लाग्यो मिलाउनु होला है)

    ReplyDelete
  2. राम्रो प्रयास. मन प्रसन्न भयो.

    - सुलभ

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !