Friday, August 28, 2009

लुगाभित्रका नग्न नृत्य



शिव प्रकाश

मृत्यु - कामनाका
कर्कष गीतहरु
गाउँदै रुखा स्वरमा
बजाउँदै शोकधूनहरू भित्रभित्रै
शकुनी मनहरू
खुशी मनाउँदै नाचिरहे’थे –
लुगा लाएर
तर सबै नाङ्गै थिए -
लुगाभित्र !
सोचिरहे’थे -
मन पराइरहेछन् सबैले
उनीहरुका नृत्य,
तर दर्शक सबै
घिनाइरहे’थे तमाम् ती दृष्य !
थाह छैन,
उनीहरुलाई अझै
लुगाले जीउमात्र छोप्छ -
अनुहार छोप्दैन,
लुगाले अङ्गमात्र छोप्छ -
विचार छोप्दैन,
लुगाले लाजमात्र छोप्छ -
सँस्कार छोप्दैन !
उनीहरु एउटै अनुहारका थिए -
सबै बिराला जस्ता
उनीहरु एउटै विचारका थिए -
सबै बुख्याँचा जस्ता
उनीहरु एउटै सँस्कारका थिए -
सबै ब्वाँसा जस्ता !
नाचिरहेछन् अझै
उनीहरू लुगा बाहिर
निरन्तर छ अझै
नग्न नृत्य लुगाभित्र !

(अश्रृंगार कविता अभियान ……)

1 comment:

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !