Monday, August 24, 2009

तिजको लहरमा रमाएको वोस्टनको राताम्ये त्यो साँझ

शिव प्रकाश

हिस्सी परेकी सानी ओ
सिन घिमिरेले मप्रति साह्रै हार्दिकता देखाउँदै हातमा चिनो लगाइदिइन्, एउटा छाप ! साथमा उनले राफलको एउटा टिकट पनि दिइन् । म भित्र पसेँ । राफल पर्यो कि परेन थाह भएन !

मैले अमिगो भनेर जिस्क्याउने फुच्चे पुश्पल रेग्मी पनि नमस्तेको हाम्रो मौलिक अभिवाद गर्दै ठूलोबाबा - ठुलोबाबा भन्दै लुट्पुटिन आयो । उ सानो छ, तर उसको व्यवहार भने ठूलाको जस्तो छ । अमेरिका आएको पाँच वर्ष भैसकेको छ, तर पनि उसले आफूभन्दा ठूलाप्रति गर्ने आदर, सदाचार र कर्तव्य नभुल्दा म आफू उसँग आफनै घरगाउँमा भए जस्तो अनुभूत गरायो उसले । ओसनले पनि त्यस्तै व्यवहार देखाइन् साह्रै खुशी लाग्यो ।
बालाहरुको ममता र स्नेहले मन त्यतिकै पुलकि
त भएको थियो । त्यसमाथि भित्र पस्ने वित्तिकै मन चङ्गा जस्तो भयो, फुरुङ्ग भयो - त्यहाँको प्रफूल्लित वातवरण देखेर पस्ने वित्तिकै नाचुँ नाचुँ लागेको थियो ।हाम्रा लेकबेशीका भीर पहरामा ढकमक्क लालिगुराँस फुलेजस्तो देखिन्थ्यो, त्यहाँ । रातम्ये थियो पुरै हल । तिजको रहर आयो बरी लै…… तिजको रहर आयो बरी लै ………गीत गुन्जिरहेको थियो । प्राय सबै नाच्न गाउनमा मस्त र व्यस्त थिए ।
शिरवन्दी, पाउजु, पोते-तिलहरी, नारीभरी काँचका राता चुरासँग पहलै सुनका चुरा र राता सारीचोलोमा चिरिच्यट्ट सिँगारिएका नेपाली नारीहरु ! छमछम नाचिरहेका थिए……गीत उही बजिरेहेको थियो - तिजको रहर आयो बरी लै .... !
साच्चिकै कुन्नी कति भएको थियो यी आँखाले यस्तो नदेखेको ! नहल्लिने जीउ
पनि हल्लाएका छन् , नभाँचिने कम्मर पनि भाँचेका छन् । सक्ने र जान्ने नृत्यका पारखीहरु कोही पुतली नाचेजस्तो नाचेका छन् , छमछम । नजान्ने र खासै पारख नभएकाहरु कम्मर नभाँचिए'नि सकिनसकी भए'नि जीउ हल्लाएका छन्,! केटाकेटीदेखि लिएर बैंसे, अधबैंसे र बुढीआमाहरुसम्म पनि पसिना पसिना भएका छन्, नाच्दामै । कस्तो उमङ्ग ! कस्तो जोस ! कस्तो जाँगर ! लाग्थ्यो -वर्षभरीको हतासो, धावन्ती र थकानलाई सबैले विर्सेका छन् । तानातान छ नाच्ने र नचाउनेहरुको, यसैमा सबै रमाएका छन् ।
सोचेँ - यस्तै बेला हो जीन्दगानीका भोगइहरु, दुखः र पीडाहरु, थकान र मर्माहतहरु एकदिन भए पनि विर्सने । सबै कुरा विर्सेर मन र म
ष्तिष्कलाई एकदिन भए पनि काटिएको चङ्गा जस्तो निर्विध्न वहकिन दिने । अनि हराएको नाउ जस्तो दिशाहिन तैरन दिने ।
झपक्क राताम्ये छाएको तिजमय हलमा छमछम पाउजु बजिरहेछन् । गीत उही बजिरेहेछ आयो बरी लै…आयो बरी लै…तिजको रहर आयो बरी लै .... ! आँखाको रमिता मात्र हैन, नेपाली पन र नेपालीमनको भावनात्मक एकता पनि छ त्यहाँ । विभिन्न जातजाती, भाषाभाषी, धार्मिक मान्यता, सँस्कार र क्षेत्रियताका चिराहरुमा मातृभूमि नेपालभित्र र बाहिर चिरिदै गरेको नेपाली समाजलाई यो तिजको रहरले एउता सन्देश दिइरहेको थियो - "हामी एउटै मालामा, एउटै गुथ्थामा नेपाली मन र नेपाली पनलाई उनिरहेका छौं। हामी सबैभन्दा
पहिला नेपाली हौं भनेर आफूलाई चिनाइरहेका छौं ।"
मनमनै गर्व गरे - यसरी नै सबै नेपालीले आफूलाई सबैभन्दा पहिला नेपाली भनेर सोचिरहुन् । यस्तै भावनात्मक एकता सबैतिर सधैं देखाइरहुन् । र, आफ्ना् पहिलो परिचय नेपाली बनाइरहुन् । नेपाली भनेर चिनाइरहुन् । अनि यो तिजको रहर जस्तै सबै नेपाली भाषाभाषी, जातजातीहरुका सबै पर्व सधैं सबै नेपालीको साझा पर्व बनिहरहुन् भन्ने कामना गरे ।
हल खचाखच जस्तै थियो । तिज कुन जातीको पर्व वा सँस्कार हो भन्ने थिएन, नेपाली
को हो भन्ने थियो । आयोजक देवी भन्दै थिइन - सोचेभन्दा वढी भयो, खाना नपुग्ने भो के गर्ने होला ? तर खानाको चिन्ता कसैलाई थिएन । गाउन, नाच्न र रमाउनमै प्रायः सबै व्यस्त देखिन्थे । तिजको रहरले सबैलाई रहर लाग्दो बनाएको थियो । बोस्टन शहरमा पहिलो पटक आयोजना भएकोले पनि हुन सक्छ - सोचेभन्दा वढी उपस्थति, उत्साह र उमंग ! एकप्रकारको अद्भूत रहर छाएको थियो - तिजको रहर !
आधुनिताको खोक्रो समिश्रणले रुपान्तरित हुदै गएको हाम्रो समाजमा तीजमा ब्रत बस्ने नवस्ने आफ्नो ठाउँमा आफ्नो व्यक्तिगत इच्छाको रुपमा परिकल्पित हुदैछ । तर विवाहिताले तिजको ब्रत वस्दा श्रीमान्को दीर्धायु हुन्छ र अविवाहिताले महादेबका नाउँमा ब्रत बस्दा असल वर पाइन्छ भन्ने धार्मिक मिथकता बोकेको हाम्रो मान्यतालाई जीवन्तता दिदै नेपाली चेलीहरुले प्रवाशमा तिज पर्व एकातिर रमाइलोका रूपमा मानाइरहेका
थिए भने अर्कातिर हार्दिकता र एकतालाई पनि झल्काइरहेका थिए ।
रातो सारीचोलो लाउने यो विषेश पर्वमा प्राय सबै रातो सारीचोलोमा सिँगारिएका नारीहरुबीच केही मीनी स्कर्ट र पाइन्टमा आफूलाई अति आधुनिक देखाउन आएका नेपाली ठीटीहरु हाँसको बथानमा बकुल्ला जास्ता देखिएका थिए । चिटिक्क मिलाएर पहिरिदा सारी चोलोको पहिरनमा नेपाली नारीहरु जति सुन्दर देखिन्छन् त्यतिको सुन्दरता अन्य कुनै पहिरनमा नदेखेको अनुभूत मेरा आँखाले गरे । सोचेँ - नारीहरुको सबैभन्दा सुन्दर (सेक्सी) पहिरन पनि सारी चोलो नै हरेछ !
डा. प्रगति पनि आफ्नो खिरिलो जीउ भाँच्दै नाच्दै थिइन । आयोजकहरु सबै व्यस्त थिए । महेश्वर माइकामा तिजका गीतका लहर मिलाएर बजाउनमा व्यस्त थिए । उनलाई पदमले साथ दिइरहेका थिए । विनोद र रामजी पानी आसार्दै थिए, पेशल
पानी बाड्दै थिए । गर्मीले उकुसमुकु भइसक्दा पनि नाच्नेहरुमा थाकान देखिदैनथ्यो । कतियप भने नाच्दानाच्दा पसिनाले खलखल, प्यासले प्याकप्याक भए जस्तो पनि देखिन्थ्यो । एक तमासको रमाइलो थियो ।
न्यू ह्याम्पसायरबाट आएर भए नि लोकजी लोकको कल्याणमा लागेका थिए, भान्सामा यताउती गरिरहेका देखिन्थे । भान्साको सघन कक्षमा धनकुमार, उत्सव, शम्भु र भरतको ठट्यौलीले निकै रौनकता ल्याएको थियो । ध्रुवलाई भ्याइ नभ्याइ थियो, यता पनि उता पनि ! सिङ्कमा भाडा पखालिरहेका मित्र विष्णु कार्कीले काम गर्दा सानो हुइन्छ भन्ने नेपाली वडप्पनलाई लल्कारीरहेका थिए । निर्मला, राधिका र जेनी खाना बाड्मा व्यस्त थिए । सान र अर्का एक मित्र त्यो रमाइलो क्षणका तस्वीरहरु क्यमेरामा कैद गर्न तछाड्मछाड् गर्दै थिए । मानौ त्यहाँ दुःखी र उदास कोही थिएन, भलै त्यो क्षणिक नै किन नहोस् । खुशी र उमगंको सीमा थिएन ।
आउँदा तिजहरुले पनि वोस्टनलाई एकदिन भए पनि राताम्ये बनाओस् । अनि त्यो रहर, त्यो उत्सुकता, त्यो उमंग, त्यो खुशी र त्यो भावनात्मक एकता सधै-सधैं आइरहोस । छाइरहोस् । बाँचिरहोस् !
ओसिन देख्दैमा हिस्सी परेकी मात्र हैन मेघावी ज
स्ती पनि लागेको थियो । मेरो अनुमान सही भएछ । आज बिहानै ध्रुवको फोन आयो कामको व्यस्तताले फोन उठाउन सकिन । पछि सन्देश सुने - "हिजो साँझ भएको म्यासेच्युसेट्स स्टेट जुनियर व्युटी प्याजेन्टमा ओसिना प्रथम भइन ।" छाती गर्विलो भो, नेपाली छोरीले यो दशदेश दूरमा सबैलाई उछिनेर पहिलो स्थान ल्याएकोमा ! सानी ओसिनलाई मेरो पनि वधाई !
२४ अगष्ट २००९ । बोस्टन, अमेरिका ।

2 comments:

  1. तीजको लहर भित्र खुलेको यो मनोहर रंगिन टासोको लागि धन्यवाद ... जसले हामि जहाँ पुगेपनि नेपाली संस्कृति प्रतिको प्रेम उजागर गर्छन ।

    ReplyDelete
  2. रमाईलो भएछ थाह भयो। र आोशिनलाई मेरो पनि बधाई छ र धेरै धेरै शुभकामना पनि

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !