Tuesday, September 1, 2009

मान्छेभित्रको शोचन सौन्दर्य

शिव प्रकाश

म उनीहरुलाई मित्र नै भन्छु र धन्यवाद दिन्छु । ति केही मित्रहरुले मलाई केही लेख्न वाध्य गराइरहेका छन् । यो “वाध्य” शब्दप्रति पनि सकारात्क दृष्टिकोण राख्न सकिन्छ - यो वाध्यता हैन “प्रेरणा” पनि हो । वास्तवमा सोच्न “वाध्य” गराएर सोचेर केही लेख्ने “प्रेरणा” पनि उनीहरुबाटै प्राप्त भैरहेको छ र लेखिरहेको छु - यसपटक पनि मान्छेकै वारेमा
मैले उनीहरुलाई शत्रु ठाने भने मेरो मष्तिष्कबाट दुष्टता उब्जिन सक्छ । त्यसैले मित्रतपूर्ण शोचन सौन्दर्यले मष्तिष्कलाई सिंचित गरेर लेख्ने प्रयत्न गर्दै छु, मित्रहरुलाई आँखामा राखेर, मित्रहरूकै लागि !
सौन्दर्य हेर्ने मान्छेको आँखामा भरपर्ने कुरा हो - शेक्सपियर भन्छन् । सायद उनको यो भनाइ मान्छेको बाहिरी सौन्दर्यसँगमात्र सिमित छ, भित्री हैन । मेरो विचारमा शोचन सौन्दर्य हेर्ने आँखाले हैन, आत्माले हेरर मष्तिष्कले ठम्याउने हो ! आत्माले के देख्छ र मष्तिष्कले के भन्छ ?
राम्रा-नराम्रा मान्छे शिशुहरुले पनि छुट्याउँछन् रे ! बृटिस जीवविज्ञ एलन स्ल्यटरले यसमा करीव चार वर्षसम्म अनुसन्धान गरेर यो निष्कर्श निकालेका हुन् । नराम्रा मान्छेलाई शिशुहरुका अवोध आँखाले हेरिरहन सक्दैन् । राम्रा मान्छेप्रति उनीहरुका आँखा निकै लामो समयसम्म एकहोरिरहन सक्छन् । तर उनीहरुको अवचेतन मष्तिष्कले शोचन सौन्दर्यलाई आक्न सक्दैन । सौन्दर्यता सबै प्रकारले आकर्षक हुन्छ, मनमोहक हुन्छ, मनविनोदक हुन्छ । मानवीय सुन्दरताभित्र शोचन सौन्दर्यता भयो भने मान्छे साच्चै मान्छे हुन्छ । नत्र मान्छेरुपको शोचन सौन्दर्यविहिन विभत्स-कुरुप मान्छे भै रहेको हुन्छ, मान्छे ! शोचन सौन्दर्यताले सधैं मान्छेको दृष्ठिकोणलाई प्रतिविम्वित गरिरहेको हुन्छ । वास्तवमा शोचन सौन्दर्यता नभएको मान्छे नै मान्छेको रुपमा मान्छेकै शत्रु हो । शोचन सौन्दर्यता नहुनु भनेको मानव दुष्टता, हो दूर्जनता हो । दुष्टता र दूर्जनता भन्दा विभत्स र कुरुप अर्को कुनै मानवीय रुप छैन ।
दुष्ट मानसिकताको मष्तिष्क भनेको स्यालको गुफा हो - जहाँ सर्वोत्तम बस्तु भनेको गधाको पुच्छरमात्र भेटिन्छ । धेरै स्यालहरु मिलेर धेरै ठूलो शिकार गरे भने गधासम्मको गर्न सक्छन् त्यो भन्दा ठूलो सक्दैनन् । त्यसैले त्यहाँको सर्वोत्तम बस्तु भनेको गधाको पुच्छरको टुक्रामात्र हो र त्यहाँ त्यति मात्र भेटिन्छ ।
पौराणिक दर्शनका मिथक पुरुष चाणक्यले भनेका छन् -
दूर्जनस्य च सर्पस्य वरं सर्पो न दूर्जनः ।
सर्पो दंशति काले तु दूर्जनस्तु पदे पदे ।।
दूर्जन सर्पमा बरु सर्प नै ठीक हुन्छ । सर्पले काल आएपछि मात्र टोक्छ तर दूर्जनले त पाइला पाइलामा डस्ने गर्छ ।
मूर्खले विद्वानसँग, व्यभिचारिणीले कुलिन नारीसँग र चोरले चन्द्रमासँग द्वेश र डाहा गरे जस्तो हुन्छ, दुर्जन र दुष्टहरुको शोचन विभत्सता - मान्छेप्रति । शोचन सौन्दर्य हुन नसक्दा मान्छे आफूभित्र आफैं जलेर मरिरहेको हुन्छ । आफैंभित्रको डाहाले आफैं भित्रभित्रै खरानी भै रहेको हुन्छ । हाम्रा वरिपरी यसरी आफैं खरानी हुनेहरुको कमी छैन । मैले भरखरै पनि यी कुराहरुको अनुभूत गरेँ ।
एकप्रकारका मान्छेहरु हुन्छन् - जो हरेक कुरामा दुष्ट दृष्टिकोण र दूर्जन सोच मात्र राख्छन् । विष भरिएको घडाको मुखमा अमृत राखेजस्तो कुरुप शोचन सौन्दर्यले तिनको मष्तिष्क टिलपिल हुन्छ । तर तिनैका मुखबाट महान्वाणीहरु छुट्छन् । अरुले गरेका हरेक कामकुराप्रति नखाएरै, नसुतेरै भए पनि नकारात्मक टीकाटिप्पणी गरेर कहिल्यै नथाक्ने अजीव प्राणी हो - शोचन सौन्दर्यविहिन मान्छे ! जसमा न केही गर्ने सामर्थ्य हुन्छ, न केही गर्न चाहन्छ र केही गर्नु परेमा त्यसालाई त्यो कमिलालाई पिसाबको पहिरो जस्तो हुन्छ ।
मेरा केही अनुभवहरुले भन्छ - जो केही गर्दैन, उसैलाई सबैमा भाग चाहिन्छ । जो केही गर्न चाहदैन, उही सबैतिर देखिन चाहन्छ । जो केही गर्नु पर्ने भएमा अनेक बहाना र अत्तो थाप्छ उही सबै आफूले गरेको ठान्छ । जो केही गर्न सक्दैन उही सबै गर्छु भन्छ - हुट्टिट्याउँले सगर थाम्छु भने जस्तो । जसले केही गरेको हुदैन, उसले अरुलाई दोषमात्र दिइरहेको हुन्छ । अरुको खुटमात्र खोजिरहेको हुन्छ । हरेक ठाउँमा अरुको गल्तीमात्र खोजिरहेको हुन्छ, खोतलिरहेको हुन्छ । उही चोरका शत्रु चन्द्रमा जस्तो केही गर्ने चाहीँ केही नगर्नेको घोर शत्रु भइरहेको हुन्छ । तर उ आफू कहिल्यै सोच्दैन - म जति भनिरहेको छु र जति अरुको दोष देखाइरहेको छु त्यसको एक चौथाइ पनि गर्न सक्छु कि सक्दिन र म आफू कति दोषि छु ?
साह्रै साजिलो हुन्छ दोष देखाउन र टीकाटिप्पणी गर्न । तर त्यतिकै गाह्रो हुन्छ जुनसुकै काम गरेर देखाउन । जुत्ता लाउनेलाई थाह हुन्छ - जुत्ताले खुट्टा कहानेर खान्छ भनेर ! भारी बोक्नेलाई थाह हुन्छ - आफूले बोकेको भारी कत्तिको गहुङ्गो छ भनेर ! कुनै पनि काम गर्नेलाई थाह हुन्छ - कामको साह्रो गाह्रो कहाँ छ भनेर !
अर्को एकथरी मान्छे छन् - राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने साहस ति मान्छेमा छैन । एकथरीका मान्छेहरु रिसाउला वा खुशी होला भनेर नराम्रोलाई पनि सधैं राम्रो भनिरहेका हुन्छन् । विकृत शोचनको पीत्त थैली भरिएका अर्कोथरीका मान्छेहरु राम्रोलाई पनि सधैं नराम्रोमात्र भनिरहेका हुन्छन् । खुटमात्र खोतलिरहेका हुन्छन् ।
सौन्दर्य शोचन चेतनाविहिनहरुको यो विचित्र मानवीय स्वभाव हो । बत्तीले अन्धकारलाई खान्छ तर त्यही बत्तीले कालो अँगार जस्तो गाजल आफैं पैदा गरिरहेको हुन्छ । मान्छे आफूले जे जस्तो गरिरेहेको हुन्छ त्यसको परिणाम आफैंले आफ्नै कार्यसँगै देखाइरहेको हुन्छ । अनि त्यसको प्रतिफल पनि आफैले भोगिरहेको हुन्छ ।
डाहा, पीडा, छट्पटी र जलन मान्छभित्रको कुरुप सौन्दर्यतका प्रतिबिम्वहरु हुन् । मरिच आफ्नै पिरोले चाउरिए जस्तो चाउरिएर बस्छन - मानव जगतका मरिच प्रवृत्तिहरु - असौन्दर्य शोचनप्रवृत मानव आकृतिहरु ! यो मैले धेरै देखेको छु ।
शोचन सौन्दर्यपूर्ण हनु भनेको भनेको विचार सुन्दरता र सोचमा स्वच्छता हुनु हो । राम्रो नराम्रो छुट्याउन सक्नु हो ।
समाजमा मान्छेको उपस्थिति विभिन्न रुपमा भएको हुन्छ । देवताको स्वरुपमा पनि मान्छे नै हुन्छ । साधुको भेषमा पनि मान्छे नै हुन्छ । चोरको रुपमा पनि मान्छे नै हुन्छ । चाण्डालको स्वरुपमा पनि मान्छे नै हुन्छ । गोरु, गधा, कुकुरको रुपमा पनि मान्छे नै हुन्छ । बाघ, भालू, सिंह, ब्वाँसा, स्यालको रुपमा पनि मान्छे नै हुन्छ ।
समाजमा सबैभन्दा उपल्लो दर्जा पनि मान्छे कै छ र निचतम् दर्जा पनि मान्छे कै छ । मान्छेभित्रको आफ्नै शोचन शैली र शक्तिद्वारा नै मान्छेले आफ्नो स्थान समाजमा आफैंले स्थापित गर्ने हो । शोचन सौन्दर्यता र कुरुपतामा भर पर्ने कुरा हुन् यी सबै !

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !