Tuesday, September 22, 2009

खै के दिउँ तिमीलाई शुभकामना

शिव प्रकाश

समवेदना मात्र छ हृदयभरी
खै के दिउँ तिमीलार्इ शुभकामना !

मुर्झाएका छन् मखमली
फूल्न छोडेका छन् सयपत्री
झूल्न छोडेका छन् लिङ्गेपिङ्
माटो अझै भिजेको छ
मान्छेको रगतले
फूलुन् कसरी सयपत्री र मखमली
रगतको आहलमा ?
शून्य छ गाउँ
छैनन् साइँला र माइला
मुग्लान पसेको छन्
तन्नेरी बाहूबलहरु
झूलुन् कसरी लिङ्गे पिङ्
रित्ता ति गाउँमा ?
उड्दैनन् चंगा
ति खुला आकाशमा
अन्धाअपाङ्ग लुलालङ्गडा छन्
अबोध ति लालाबाला
निष्तब्ध छ गाउँ
स्तब्ध छ मान्छेको मन
खै कहाँबाट आओस्
दशैंको रमझम र चाहना
समवेदना मात्र छ, हृदयभरी
खै के दिउँ तिमीलाई शुभकामना !

सुनिन छोडेको छ
कोइलीको आवाज वनपाखामा
जून सधैं रोए जस्तो छ
घाम सधैं रिसाए जस्तो छ
बिहानी सधैं निस्सासिए जस्तो छ
कमेराले घर पोतिन छोडेको छ
गाउँमा छैनन् साइली माइली
विवशताले विवश बनाएको छ
ठूली र सानीलाई पनि
आफू हैन अरु नै भएका छन्
आफ्नै शरीरका धनी
दशैं आउँछ
सम्झेर ल्याउँदा
छछल्किन्छ गहभरी आँशु,
कसले पोत्ने सिनित्त
ति गाह्राभित्ता र चुलाचम्कना ?
समवेदना मात्र छ, हृयदभरी
खै के दिउँ तिमीलाई शुभकामना !

२००९ दशैं, बोस्टन अमेरिका ।

2 comments:

  1. शिव प्रकाशजी र यो ब्लगका समस्त पाठकहरुमा दशैं-२०६६ को हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete
  2. यि मुटुभरीका बेदना सहेरै भएपनी एकपट्क भन्नै मन पराए..

    विजया दशमीको हार्दिक मंगलमय शुभकामना । यो बडा दशै सँगै तपाइको जीवन सुख शान्ती र सम्बृद्धिले झलमल्ल होस ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !