शिव प्रकाश

जति सोचे पनि
केही सोच्नै नसकिए जस्तै
गर्दा गर्दै पनि
केही गर्नै नसकिए जस्तै
जति हेरिरहे पनि
कतै केही नखेखिए जस्तै
जति खोजे पनि
कहीँ केही नभेटिए जस्तै
केही नहराए पनि
सधै केही हराए जस्तै
केही नपाउँदा पनि
कति धेरै पाए जस्तै
सधैं पाए पनि
कहिल्यै केही नपाए जस्तै
हुँदा हुँदै पनि
सधैं केही नभए जस्तै
केही नहुँदा पनि
धेरै भए जस्तै
जति हिँडे पनि
गन्तव्य कहिल्ये नभेटिए जस्तै
संसार देख्दा देख्दै पनि
आफैंले आफैंलाई नदेखिए जस्तै
उपस्थिति हुँदा हुँदै पनि
शून्यतामा हराए जस्तै
जीवन छँदा छँदै पनि
जीवन्तता नभए जस्तै
जति लडे पनि
कहिल्यै नजितिने जीवनयुद्ध जस्तै
यस्तै यस्तै रहेछ जिन्दगी
बन्दाकोभीको पत्रै पत्र जस्तै
उक्काउँदै गयो
अन्त्यमा केही नभए जस्तै
अपरिभाषित परिभाषा बोकेको जिन्दगी
जिउँदा जिउँदै पनि
जिन्दगी जिउनै नपाए जस्तै ।
(अश्रृंगार कविता अभियान ……) बोस्टन, अमेरिका ।
2 comments:
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !