Friday, July 9, 2010

नयनकान्ता

शिव प्रकाश 
उसको निष्कर्ष छ - समयले सबैलाई एक पटक समय दिन्छ । उ अहिले सोचिरहन्छ - त्यस दिन नयनकान्ताले हुन्छ भनेकी भए के हुन्थ्यो ? अहिलेको साइनो भन्दा कति फरक हुन्थ्यो होला, नयनकान्तासँगको साइनो र सम्बन्ध ? अनि परिवेश, परिवार र वातावरण ! 
उ सोच्छ - मान्छेमान्छेबीचको साइनो र सम्वन्धलाई समयको धारले फरकफरक स्वरुपमा प्रतिस्थापित गर्दो रहेछ । समयको अनुकुलता हो वा प्रतिकुलता, समयले साथ दिएको वा घात गरेको हो ? उ अझै दुविधामा छ ! अहिले उ हिजोलाई हेर्न र भोलीलाई सोच्न सक्ने भएको छ । तर त्यतिबेला उ न हिजोलाई हेर्न चाहन्थ्यो न भोलिलाई सोच्न सक्थ्यो ! "नयनकान्ताको म नहुनु नै के मलाई समयले समय दिएको हो अथवा म नयनकान्ताको हुने अवसरबाट वन्चित हुनु समयले मप्रति घात गरेको हो ?
"उसको मात्र जीवनको बाटो र पाटो हेर्दा उसलाई लाग्छ - नयनकान्ता नदिए पनि समयले मलाई समय दिएकै हो र त आज म यहाँ आइपुगेँ नत्र… गाउँमै सायद हलो जोत्दै हुन्थे होला ! उ सायद त्यतिबेला सत्र वर्षको हुँदो हो । तर नयनकान्ताको कान्तिमय त्यो जीवनमा आएको मन्दक्षयलाई नियाल्दा समयले उनीप्रति अन्याय गरेको हो ! र त नयनकान्ता उही गाउँमा घाँस, दाउरा गर्दै दुब्लाएर-चाउरिएर उमेर हुदैको शरीरमा बुढ्यौली चढाएर बसेकी छे । आइमाईको भाग्यलाई परिवारको इच्छाले कसरी वशिभूत गराएको हुन्छ ? कसरी नियोजित गरेको हुन्छ ? उसकी नयनकान्ता नै उसको लागि उदाहरण भएकी छे । उ चाहन्थी- सम्पूर्ण लक्ष्मणरेखाहरुलाई पार गरेर शैशवसँगै जीवनयात्रालाई हिडाउन । तर उसले सकिन, बाबुआमाको इच्छाले ठड्याएको त्यो ग्रेटवाल जस्तो भीमकाय लक्ष्मणरेखालाई तोड्न । 
समयले धेरै समय व्यतित गरिसकेको सकेको छ । गाउँघरका खोलानालामा पानी धरै बगिसकेको छ । आज उ नयनकान्तालाई भेट्न जादैंछ - अन्य आफन्तहरुलाई भेट्ने निहु पारेर ! उ कसैलाई भन्न सक्दैन नयनकान्ताको बारेमा  र कसैलाई थाह छैन उ नयनकान्तालाई भेट्दैछ भनेर, आफू वाहेक ! उ आफैंलाई  सोध्छ, आफैंलाई उत्तर दिन्छ ! 
मुजा पेरको अनुहार, दप्सिएको पेटमा खुम्चिएको छाला, घामले डडेका पाखुरा, चरचरी चिरिएका हातका औंला, पट्पटी फुटेका कुर्कुचा, आधाआधी फुलिसकेको असरल्ल कपाल, पुराना खुइलिसकेका पहिरन, सम्पूर्ण हरियाली गुमाइसकेको सुकेको रुख जस्तो सम्पूर्ण आकर्षण गुमाइसकेको रुग्ण शरीर, रुक्ष केश, निरस आँखा, उदास अनुहार, निश्चल भाव, निरपेक्ष हेराइ, निखारमात्र वाँकी एउटा निरकृत मानव आकृति ! शैशवले नयनकान्तालाई वर्षौ पछि देख्यो । उ हेरेको हेरै भयो । हेरिरह्यो हेरिरह्यो - उसले नयनकान्तालाई यति धेरै कहिल्यै हेरेको थिएन । धित मर्ने गरि कहिल्यै हेर्न पाएको थिएन । 
गुराँसका थुँगाजस्तो झपक्क परेको भरभराउँदो यौवनले धपक्क बलेकी नयनकान्ता ! उनको त्यो आभामय चंचल अनुहार ! सलक्क परेका सुडोल हातगोडा, ठूलाठूला गाजलु आँखा, विमुग्ध पार्ने विभोक्ष विभामय वक्षशीलाहरु ! मोतिका दानाजस्ता मिलेका दन्तलहरी, सीमलको भुवा जस्तो कोमल अनि लामो केशराशी ! बाँधिएको अनि चटक्क मिलेको अग्लो शारीरिक वनावट ! उ सम्झन्छ उसकी नयनकान्तालाई र हेरिहन्छ ,एकहोरो हेरिरहन्छ ! परिवन्द, परिवेश र परिस्थितिद्वारा आक्रमित नयनकान्तालाई युद्ध हारेर सम्पूर्ण गुमाइसकेको सिपाही जस्तो निष्प्रभ-निरपेक्ष र निरुपाय देख्छ । 
आफूले स्पर्श पनि नगरी साँचेर राखेको नयनकान्ताको त्यो स्निग्ध शरीर आज कसले यस्तो विरुप, विक्षुप्त र जर्जर बनायो ? शैशव भित्रभित्रै उद्वेलित हुन्छ, आक्रान्त हुन्छ,  दाह्रा किट्छ, मुठ्ठी बटार्छ । उसलाई थाह छ- तर उ निरिह छ ! एउटा साइनोको रस्सीले उसका सम्पूर्ण आवेग, उद्वेग र उमङ्गलाई टनटनी कसेको छ । आँखा चिम्लन्छ, स्तब्ध हुन्छ । निस्तब्ध हुन्छ वातावरण केही क्षण !
उ सम्झन्छ - सधैं सँगै स्कुल गएको-आएको । भेट्दाको मीठो अनुभूति अनि स्कूल छुट्टि भएर केही दिन नभेट्दाको निरसता र कहिलेकाहिँ चाहेर पनि भेट्न नपाउँदाको विवशता ! भेट्दा लजाइलजाई आखाँ जुधाएको ! छुट्टिदाँ झुक्याइझुक्याई फर्कीफर्की हेरेको ! गोठाला जाने निहुँ पारि उनी आउने बाटोमा लुकी लुकी हेरेको । दुबैले भन्न नसकेको तर धेरै कुराहरु भन्न चाहेको ! भित्रभित्रै उकुसमुकुस साँचेर पनि एकअर्कालाई पाएको अनुभूतिमा बाँचेको । बाहिरबाहिर धीर जस्तो तर भित्रभित्रै असिम चाहनालाई बाँधेर दुबै अधीर भएको । केराघारी, पटुवाबारीको बाटो हिड्दै सितुमारी, बेलबारीसम्म गएको । ललियाखोला र लोहन्द्राखोलाहरु तरेको आदि आदि…। 
भारद्वज नाताले दाजु पर्छ तर शैशवको असल मित्र  र सहपाठी पनि । भारद्वजबाट शैशवलाई थाह हुन्छ नयकान्ताको विवाह हुदैछ रे ! उ अन्योलमा पर्छ - सोचन र चेतन शक्ति पनि उसमा पूर्ण छैन ! जीवनका उकालीहरु भरखरमात्र चढ्दै छ । पढाइमा एसएलसी मात्र भरखरै पास गरेको छ । पढ्नु छ, जागिर खानु छ । घरमा दाजुहरु छन् विवाह नगरेका उनीहरुको पालो पर्खनु छ, अनि विवाह गर्नु छ । समय र परिस्थिति पटक्कै अनुकूल छैन । उ सोच्छ, सोच्छ र सोचिरहन्छ ! लगातार सोचिरहन्छ ! निष्कर्षविहिन सोचाइमा डुबिरहन्छ । मनमा मडारिएका मनोबेगहरुसँग जुधिरहन्छ । पिँजडामा थुनिएको वनको पंक्षी जस्तो तड्पिन थाल्छ । 
जति बिर्सु भन्छ उति सम्झन्छ झन्झन् - नयनकान्तालाई  । यसो गरुँ कि उसो गरुँ, के गरुँ के गरुँ ! विलखबन्दमा परेको छ । न उ नयनकान्ताबाट न भाग्न सक्छ, न त्याग्न सक्छ, न नयनकान्तालाई अंगाल्न  नै सक्छ ! समाजको डर, बाबुआमाको डर अनि नातागोताको झन ठूलो डर ! 
मध्यरातमा घरछेउको चौरमा गएर शैशव एल्टै पल्टन्छ । छट्पटिन्छ - किनारमा फालिएको माछा जस्तो  तातो तावामा परेको पंक्षी जस्तो ! सम्पूर्ण आँधिबेरी उभित्र मडारिए जस्तो,  आफूभित्र ठूलो बाढीपहिरो गए जस्तो, सबै कुराको अन्त्य भए जस्तो हुन्छ उसलाई !
निरुपाय शैशवलाई अन्ततः भारद्वजले भन्छ - हिड् म सहयोग गर्छु । मनमा अनेक शङ्का-उपशङ्का भय, त्रास, डर र कौतुहलताले लडिबुडी खेलिरहेका छन् । उ निशब्द हिडिरेहेको छ भारद्वजसँग । उकुसमुकस छ उभित्र ! अगम्य र निशस्त्र हिडिरहेछ - बहुप्रतिक्षित उन्मुक्तिको एउटा लडाईँमा ! जीवन यात्रको सहयात्रीको प्राप्तिमा …… ! उसलाई थाह छैन- नयकान्ताले के गर्छे ? उ अन्योलको गहिरो खाडलमा भासिएको छ । उ सोच्छ- नयनकान्ताले हुन्छ भनि भने के गर्ने ? हुन्न भनी भने के गर्ने ? मध्यधारको नाउँ जस्तो भएको छ उ । नयनकान्ताको स्वीकृति र अस्वीकृति दुबैप्रति उससँग समाधान छैन । समाधानहिन एक भयङ्खर समस्या लिएर उ नयनकान्ता सामु गइरहेछ ।
अनौठो र अपरिचत उसको र भारद्वजको अनुहारलाई गाउँका सबैले नियालिरहेका हुन्छन् । यी सबैलाई बेवास्ता गर्दै उ नयनकान्तको घरतिरको यात्रालाई निरन्तर अगाडि बढाइरहन्छ । चारैतिर आँखा घुमाउँछ तर नयकान्तालाई देख्दैन ! पिसाब फेर्ने निहुँले गोठ-गुवाली, बारीतिर जान्छ, देख्दैन ! पानी पिउने निहुँले कलधारातिर जान्छ, देख्दैन ! भित्ताका फलेकका प्वालबाट भित्र कोठातिर चिहाउँछ, देख्दैन । कुना कुइनेटाँ सबैतिर हेर्छ । चोटा,दलिन-बार्दलीतिर डुल्छ, कतै देख्दैन । उ नसोधि बस्न नसक्ने भएको छ, तर सोध्न पनि सक्र्दैन कसैलाई ! कहिँ छैन नयनकान्ता ! कतै देखिदैन नयनकान्ता ! भारद्वजले मात्र बुझेको छ, शैशवभित्रको शैशव प्रणयपीडा ! 
केही क्षण अघिमात्र नयनकान्ता दाइसँग केही दिनका लागि बाहिर गाइसकेकी हुन्छे । एक गिलास पानी पिएर उ फर्कन्छ । निरुत्तर र निरुपाय शैशवले सोध्छ- भारद्वज अब के गर्ने ? जवाफ विहिन भारद्वज पनि अन्योलग्रस्त मुन्टो मात्र हल्लाउँछ । नयनकान्ता फर्केर आएको खबर उसले अर्को सहपाटी तुलसीबाट पाउँछ । उता नयनकान्ताको विवाहको तयारी भएको खबर पनि उसैले दिन्छ । यता घरतिरको तयारी पनि उसको आँखाले प्रतक्ष देखिरहेको छ । 
अनेक सोच्छ उसले- तर के ठीक के बेठीक छुट्याउन सक्दैन । जे सोच्यो त्यही ठीक, जे सोच्यो त्यही बेठीको अवस्थामा छ उ । सबै ठीक सबै बेठीक ! तुलसी मलाई सहयोग गर "यो चिठी नयनकान्तालाई देउ ।" तुलसी साइकल लिएर हुइँकिन्छ । हुटहुटी र छटपटीका केही क्षणहरु वित्न नपाउँदै तुलसीले नयनकान्ताको मौखिक खबर ल्याउँछ- "अबेला भो, बुबाआमाको इच्छालाई अहिले म कसरी काटूँ !" उसले चिठीमा लेखेको थियो- "म तिमीलाई पर्खेर बसेको छु यतै कहिँ, तुलसीलाई थाह छ ।" 
विवाहको दिन सबै खुशीमा मग्न-निमग्न छन् । अत्तर र नयाँ पहिरनमा सबै सजिदै छन् । जन्ती जाने तयारीमा गाउँघर, नातागोता सबै जुटेका छन् । सबैमा खुशी हाँसो र ठट्ठा चलेको छ । तर उभित्र भने… पहाड भासिए जस्तो अनुभूत भइरहेछ । हिमाल टुक्रिए जस्तो देख्छ । आकास खसे जस्तो लाग्छ । वायुमण्डलमा सम्पूर्ण हावा रित्तिए जस्तो हुन्छ, उकुसमुकस ! निशब्द शैशव विवशताको बारभित्र बाँधिएर टुलुटुलु नियालीमात्र रहन्छ सबैलाई । हेरिरहन्छ बिहेको चटारो र रमिता ! भित्रभित्रै आफूभित्र दन्किएको ज्वालामा जलेर पनि कताकति कसैकसैका लागि खिस्स हाँसिदिन्छ । उसको त्यो पराधिन हाँसोमा कृतिमता मात्र छ ।
दिन ढल्कदै जान्छ, सन्ध्या लाली चढाउँदै वयस्क हुदै आउँछ । आज मेरो सम्पूर्ण वैभव गुम्दै छ- उभित्र कताकता क्रोधका शिखाहरु प्रज्वलित हुदैछन् । मनमुटु हुर्हुरी जले जस्तो हुदैछ । उनको त्यो निर्मल, स्वच्छ, विशद शरीरमा आज कसैले धावा बोल्दैछ । आज कसैले मेरो स्निग्ध प्रेमअस्मिताको अस्तित्व लुट्दै छ । जति जति घाम ढल्किदै जान्छ उति उति उ आफैभित्र स्पन्दित हुन्छ । उभित्र वायु वढ्न थाल्छ, स्नायुहरुमा एकाएक हलचल पैदा हुन थाल्छ । ज्वालामुखी फुटेजस्तो हुन्छ । 
"मेरो सपनाको गगनचुम्बी महल एकाएक भत्किदै छ, आज ।" भयानक आँधिवेरीले उछालेको खरानीको भुमरीमा आफू हराएको अनुभूति हुन थाल्छ, उसलाई । सोच्छ- "म उनको नजरबाट कतै टाढा गइदिउँ कि ! कि यी सबैका सामूबाट नयनकान्तालाई लिएर हिडिदिऊँ !" उ भित्रको क्रोधले अपशकुन सोचहरु जन्माउन थाल्छ- "कि सम्पूर्ण आयाम र अस्तित्वहरु समाप्त गरिदिउँ !" नयनकान्ताप्रतिको प्रेम उभित्र आफैं शत्रु भएर बसको छ  र उ आफू विरुद्ध आफैंसँग हार्ने एउटा युद्ध लडिरेहछ । अन्ततः उ हार्छ आफैंसँग र सर्मपण गर्छ- सबैसामू आफैंलाई साक्षी राखेर ! 
साँझ झमक्क परिसकेको छ । त्यही साँझ नयनकान्ता नवबधू बनेर उसैको घरमा भित्रदै छे……… भाउजूको साइनोमा ! 
मस्तिष्कमा गाडिएका सम्झनाका डोबहरु टेक्दै शैशव अहिले पनि मकैबारी, पटुवाघारी र सल्लाघारीको बाटो हिड्दै छ अनि तिनै सम्झनाका तरेलीहरुमा बग्दै लोहन्द्रा र ललियाखोलाहरु तर्दैछ । 
उ अहिले पनि सोच्छ- त्यस दिन नयनकान्ताले हुन्छ भनेको भए के हुन्थ्यो ? म आज जहाँ छु उ पनि यही हुन्थी ? अथवा उ आज जहाँ छे म पनि त्यही हुन्थे ? मनोवादमा अझै डुवेको छ ! व्यतीत भै सकेका अतित पनि उसका लागि अझै वर्तमान नै भैरहेछन् ! 

बोस्टन अमेरिका । शनिवार, जुलाई 10, 2010
(नवप्रज्ञापन)

2 comments:

  1. उत्कृष्ट कथा, कथामा हुनुपर्ने गुणहरुले भरिपूर्ण छ , कथा !!

    ReplyDelete
  2. शिव प्रकासजी नमस्कार
    तपाइको नयनकान्ता खसखसमा पढेरको थिए सुन्दर र कलात्मक लाग्यो साहित्यमा निकै साधाना नगरि यतिको लेखन सकिदैन । अहिल वेव हेर राम्रो लाग्यो । मेरा पनि केही रचना खसखसमा छ मेरो आफने व्लग पनि छ व्लग एड हो www.shakhadasahitya.blogspot.com हो एकपल्ट हेन अनुरोध गर्दछु । तपाइले धेरै विधामा कलम चलाउनु भएको रहेछ । धेरै धेरै शुभकामना छ । म पनि विनेसाम मा छु ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !