Saturday, July 17, 2010

जलेर आफू....

शिव प्रकाश

न पिउँ भन्छु सम्झेर फेरि, पिउँ झैं लाग्दछ
फाटेको माया देखेर फेरि, सिउँ झैं लाग्दछ ।

न सम्झू भन्छु मरेको दिन, सम्झन्छ यो मन
छातीमा लात्ती सहेर पनि, जिउँ झै लाग्दछ ।

कुल्चाई लाखौं न दुःख्यो भन्छ, न रुन सक्दछ
देउताको रुप, ढुंगाको मन, लिउँ झै लाग्दछ ।

सुखको साथी दुःखको पराई, जात हो मान्छेको
मान्छेको मन जमेको डल्लो, हिउँ झैं लाग्दछ ।

निभाई मधूर विश्वासको दीप, निशामा हराउँदा
जलेर आफू प्रकाश तिम्लाई, दिउँ झै लाग्दछ ।

बोस्टन, अमेरिका । शनिवार, जुलाई 17, 2010

3 comments:

  1. शिव जी ! निकै सुरिलो र मिठो रहेको छ - यो गजल !

    "न पिउँ भन्छु सम्झेर फेरि, पिउँ झैं लाग्दछ
    फाटेको माया देखेर फेरि, सिउँ झैं लाग्दछ ।"

    ReplyDelete
  2. एउटा पूर्ण दमदार गजल मेरो हेराइमा, निकै राम्रो लाग्यो शिव जी मलाई ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !