Wednesday, July 21, 2010

ठूलो मान्छे !

शिव प्रकाश


देख्दा उस्तै छ
मान्छे जस्तै
बोल्दा फरक छ,
भाषा बोल्दैन मान्छेको
अहंकार डर्काछ,
हिंस्रक सिंह जस्तै
ठूलो मान्छे !
विचार विहिन शून्यले थिचिएको
भारी टाउकोमा
अभिमानको भीमकाय मुकुट,
अनुहारमा खोपिएका
दृष्टिहिन आँखाले
सगरमाथा होचो देख्छ
देख्दैन मान्छे,
टेक्दै हिड्छ मान्छेका टाउका
छातीभित्र चिसो मुटु,
अहंकारको ओसले ढुस्सिएको मस्तिष्क,
संवेदना शून्य हाडमासुको मूर्ति
स्वरुपमा जनावर हैन
स्वभावमा मान्छॆ छैन
ठूलो माछोको प्रतिरुप,
मान्छेको स्वरुपमा
उस्तै छ ठूलो मान्छे
ठूलो माछो जस्तै !
देख्छ आफूलाई महान्,
दृष्टिहिन आँखाले
भित्र अब्राहम, टाल्सटाय हैन
इदी अमिनको बास छ
ठूलो मान्छे,
ठूलो हुन जान्दछ
असल हुन जान्दैन
असल मान्छे ठूलो हुन जान्दैन ।

बोस्टन, अमेरिका । जुलाई 21, 2010
(अश्रृंगार कविता अभियान.....)

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !