Friday, November 12, 2010

कामाग्नि


शिव प्रकाश

धेरै कुराहरु मेरो जीवनमा मध्यरातमा भए, त्यसैले मैले तिमीलाई मध्यरात मै फोन गरेकी हुँ । तिमीलाई स्मरण छैन होला त्यो रात पनि मध्यरात नै थियो, जुन रात मैले जीवनमा पहिलो पटक एउटा युद्ध लडेकी थिएँ तिमीलाई युद्ध नायक बनाएर, तिमीसँगै !मैले झट्टै ठम्याउन सकिन यो नारी स्वर कसको थियो !
मलाई यो मध्यरातले एक्कासी २० वर्ष अधिको त्यो मध्यरातमा पुर्यायो । लालटिनको मधुरो उज्यालोभित्र इन्द्रावतीको धपधपी बलेको यौवन, अनि मध्य कात्तिकतिरको रिमरिमे चिसोलाई पगाल्ने त्यो यौवनको राप ! त्यो रात- म बलेको रात, म पग्लिएको रात, म बगेको रात ! त्यो रातको मातमा म हराएको रात ! मेरो पौरुषत्वलाई छताछुल्ल बनाएको रात ! दुई चट्टानहरु ठोकिएको रात ! दुई किनारहरु जोडिएको रात ! धरती र आकाशको मिलन भएको रात ! सधैं रातैरात मात्र रहिरहोस् जस्तो लागेको रात !
Æइन्द्रावती तिमीले रक्सी पिएकी छौ  मैले अलि ठूलो स्वरमा सोधेँ ।
हो, शाम्भव ! मैले पिएकी छु र आजैदेखि पिउन थालेकी हुँ । मलाई थाह छ तिमीले जीवनमा धेरै रक्सी पियौ । त्यसको कारण म थिएँ । वास्तवमा तिमीले रक्सी पिएको हैन, मलाई पिइरहेका थियौ । आज म रक्सी पिउँदै छु अर्थात अहिले म तिमीलाई पिउँदै छु । तिमीले रक्सी पिउन छोडीसकेका छौ । म बिना पनि तिमी जिउन थालिसकेका छौं । तिम्रो स्मरणमा कताकति सल्बलाइरहेकी, तिम्रो हृदयमा कताकति डुलिरहेकी मलाई तिमीले रक्सीसँगै तिलान्जली दियौ । तिमीले छोड्यौ मैले अँगाले । तिमी र रक्सी दुबैलाई ! थाह छैन कहिलेसम्म पिउँछु । तर नमरेसम्म पिइरहन्छु । अब मेरो जिउने आधार यही हुनेछ । रक्सी अर्थात तिमी !  तिमी अर्थात रक्सी ! हामी नारीले रक्सी पिउनु हुदैन तर पुरुषले जे पनि गर्न हुने । अनि हामीले जे पनि सहनु पर्ने ! अब म सहन्न । अहिले हरेक प्यालामा म तिम्रो छायाँ देख्दैछु । म त्यो छायाँसँग फेरि माया साट्दै छु ।
शाम्भव, आज तिमी केही नबोल मलाई बोल्न देउ । मैले हुन्छ भने ।
शाम्भव, प्रेमका प्रकार र परिभाषाहरु अनेक हुँदा रहेछन् । प्रेम अमर हुन्छ भन्थे, मलाई त्यो सत्य लाग्न थालेको छ । अब म मेरो प्रेम हुर्काउने छु, सधै जीवित राख्ने छु र अमर बनाउने छु । धरहराको टुप्पोमा चढेर चिच्याउने छु र दुनियाँलाई सुनाउने छु- मेरो प्रेमी शाम्भव हो, मेरो प्रेम अमर छ । प्रेम आत्मा हो, कहिल्यै मर्दैन !
शाम्भव प्रेमका बुझाइ र भोगाइहरु अनेक हुँदा रहेछन् । तिमीसँग मैले धेरै प्रेम गरेँ, मेरो बिहे अघि । तर त्यो प्रेम मेरो बुझाइको प्रेम थिएन, भोगाइको प्रेम मात्र थियो । तिमीले प्रेम सम्झियौ, मैले खेल सम्झिएँ । म भित्रको दम्भी सँस्कार मेरो प्रेममा पनि अवतरित भएको थियो । हामी गाउँका बोलबाला र हुनेखाने बाबुसाहेका सन्तानहरुले जे गर्दा पनि हुन्थ्यो, मैले त्यही गरेँ । प्रेम गरे पनि हुन्थ्यो, नगरे पनि हुन्थ्यो । तर मर्न बाहेक आफूलाई गर्न मन लागेको कुरा जे गर्दा पनि हुन्थ्यो । मैले प्रेमलाई बुझिन, भोगे मात्र । अब म बाबुसाहेबकी छोरी राजकुमारी इन्द्रावती हैन, तिम्री प्रेमीका इन्द्रावती भएकी छु ! रघुबीरकी स्वास्नी हैन, म मात्र एक नारी भएकी छु । मान्छे नारी !
तिमी ठान्दो हौ, मैले तिमीलाई धोका दिएँ ! तर मैले तिमीलाई मात्र धोका दिइन, रघुवीर र म आफैलाई झन ठूलो धोका दिएँ । जुन रात मेरो शिरमा सिंदुररुपी तरबार चल्यो, त्यहाँदेखि म तिमीलाई साच्चै प्रेम गर्न थाले । मभित्र अपराध बोधको बोधिवृक्ष त्यतिबेला मात्र पलायो, जतिबेला मेरो सिउँदो चिर्न रघुबीरले हात उठायो । मैल चारैतिर आँखा डुलाएँ तर तिमी थिएनौ । रघुबीरमा मैले यमराजको रुप देखे । उ मेरा अगाडि बज्र लिएर उभ्भिएको थियो, मेरो सिउँदो चिरेर जीवन उत्सव मनाउन । म टोलाएँ म लोलाएँ गरुडका सन्मुख परेको सर्प जस्तो भएँ म । जतिबेला तिमी आयौ, उसले मेरो अभागी टाउको रातम्मे बनाइसकेको थियो । तिमी त्यहाँ भै दिएको भए मण्डपका ती अवैध रेखा-रेखीहरुलाई सायद म कुल्चेर हिड्ने थिएँ होला !
तिमी बाहुनको छोरा हुनु म बाबुसाहेबकी छोरी हुनको सजाय पहिला मैले तिमीलाई दिएँ र पछि आफैंलाई । मेरा बुबामुमालाई क्षेत्रीको छोरो चाहिएको थियो । त्यो चाहनाभित्र मेरो पनि अभिमानी फरमान थियो- काजीको छोरो ! मैले मेरो अभिमानलाई स्वभिमान बनाएँ । मैले ठाने शाम्भव मेरो जीवनसाथी हुन सक्दैन । म बाबुसाहेबकी छोरी उ बाहुनको छोरो, असम्भव ! शाम्भव मात्र साधन हो साध्य हैन । भोकको भोग र भोजन मात्र हो । बत्तीको रापमा पग्लने मैन बत्तीमात्र हो । केही क्षण बल्छ आफैं निभ्छ । प्रणय खेल हो, तर प्रेम गरेको छैन । हरेक खेल जीवनको समय र अवस्था अनुसार खेलिन्छ । तिमीसँगका यौवनका खेलहरुलाई पुतलीको खेल सम्झिए । त्यो प्रेमिल स्पर्श र आर्वनतलाई दुई आत्माको मेल भनेर स्वीकार्न सकिन । त्यो खेलमा तिमी आफू हारेर मलाई जितायौ तर अहिले म झन् ठूलो पराजय भोग्दै छु । मभित्रका पीडाका पोका आज तिमी सामू खोल्दैछु । थकानका थाँतीहरु विसाउँदै छु । अब म निराशताका यी नियात्राहरुलाई निमिट्यान्न पार्न चाहन्छु । निरस्त यो बाँकी जीवनलाई निफन्न चाहन्छु । निस्पृह-निस्पन्दित बाँचेकी यो इन्द्रावती आज आफू भित्रका निसासिएका श्वासहरुलाई खोल्न चाहन्छे । मुटुभित्र भासिएका किलाहरुलाई उखेल्न चाहन्छे । आफूलाई निखार्न चाहन्छे र निखन्न चाहन्छे ।
बिहेको त्यो मध्यरातमा मैले मेरो शरीरमाथि उसले चाहेको बेला आक्रमण गर्ने अख्तियारनामामा हस्ताक्षर गरेर रघुवीरलाई दिइसकेकी थिएँ । साक्षीकिनारामा बसेका मेरा बुआमुआँ हाँसिरहेका थिए । म भित्रभित्रै जलिरहेकी थिएँ । मेरो पीडाको आगो सबै तापिरहेका थिए । रघुबीरकी स्वास्नी भएर गएको रात म युद्ध हारेको सिपाही जस्तो भएकी थिएँ । त्यो रातमा उसले पनि मध्यरातको साइत निकाल्यो । मेरो शरीरले उसको अधिकारसँग आत्मसमर्पण गरिसकेको थियो । उसको स्पर्श मलाई काँडाको घोचाई जस्तो भयो । उसले थिच्दा मलाई सिङ्गै पहाडले थिचेको जस्तो भयो । उ रक्सीले मातेको थियो । निशब्द मैले मेरो शरीरलाई मनबाट बाहिर निकालेर ओछ्याई दिएँ । मेरो मन मात्र मसँग छ, शरीर छैन । शरीर उसको अधिनमा छ । म फेरी गरुढको छायाँ परेको सर्प जस्तो भएकी छु । मौन छु । आँखा चिम्लेकी छु । त्यो रात मैले धेरै पटक आँखा चिम्लिए । म निदाउन सकिन । उसले आफ्नो अधिकारको प्रयोग बारम्बार गरिरह्यो । म आँखा चिम्लिरहेँ । आँखा खोल्दा उसको अनुहारमा भोकाएको बाघको अनुहार देख्थे । म फेरि आँखा चिम्लन्थे । उ सायद माया गर्थ्यो, तर मलाई चिथोरेको अनुभूत हुन्थ्यो । मैले सहनु र स्वीकार्नु भन्दा अरु केही थिएन । बिहे पछि उ सधैं मेरो लोग्ने हो तर कहिले भएन । उ लोग्ने देखियो तर भेटिएन । मैले आफूलाई खुशी बनाउन बारम्बार प्रयत्न गरे । तिमीलाई निकालेर फ्याक्न खोजे, तिमी आत्मा भएर बस्यौ । झन् गाडिँदै भित्रभित्रै झाँगिदै आयौ । मभित्र तिमी नै तिमी भयौ, तिमी नै तिमी हुन थाल्यौ ।
रक्सीको मातमा सल्किएको यौनाग्नी हरेक रात रघुबीर निभाउन चाहन्थ्यो । म निश्चल पोखरी बनिदिन्थे । उ डुबुल्की मारिरहन्थ्यो । उ मेरो शरीरको स्वामी हो । बुआमुआँको इच्छा र मेरो अहंकारको सहमतिमा उसले मेरो शरीर किनिसकेको थियो । मेरो शरीरलाई जुनसुकै आकारमा ढाल्न सक्थ्यो । उ मलाई तन्काउथ्यो, खुम्च्याउथ्यो, उल्टाउथ्यो, पल्टाउथ्यो, बटार्थ्यो, लथार्थ्यो । उसले थिच्दा आफूलाई हलुङ्गो बनाउन म तिमीलाई उसमा प्रतिस्थपन गर्थे । मेरा स्मृतिमा पत्रैपत्र बनेर बसेका तिम्रा बिम्वहरु असको अनुहार लेपन गर्थे । अनि आँखा चिम्लेर मनका आँखाले हेर्थे । मस्तिष्कमा तिमीलाई राखेर तृप्त हुन खोज्थे ! तिम्रो आकृतिको खोल ओढाएर रघुबीरको शरीरलाई तिम्रो शरीर ठानेर सुम्सुम्याउँथे । तिमीलाई ममा विलिन गराएको ठान्थे । आफूलाई बीस वर्ष अघिको औंसीको त्यही पहिलो रातमा पुर्याउथे । दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैठौं, सातौं, गर्दै विगतका तिमीसँगका ती अनगिन्ति रातहरुलाई सम्झन्थे । हात्तिसारको चौरका कुना कुना सम्झन्थे हाटखोलका सुनसान टहराहरु सम्झन्थे । मेरो कोठाका तिनै तकिया र दोलाईहरुलाई सम्झन्थे । मुटुका ढुकढुकीहरु सम्झिन्थे । रघुबीरको पलङलाई मेरो आफ्नै कोठाको खटिया सम्झन्थे । हात्तीसारको चौरको नाच हेर्दा तिम्रो हातलाई तानेर छातिभित्र लुकाएको सम्झन्थे । उसका हातलाई तिम्रा हात सम्झन्छे ।
त्यो रात नाच हेर्दा हेर्दै एकाएक मभित्र कामाग्नी सल्कियो । म भित्रभित्रै जल्न थाले, भत्भती पोल्न थाल्यो । छट्पटी र डाह हुन थाल्यो । तिम्रा हातले मेरा यौवनपुञ्जहरुलाई चलायमान गराउँदा भित्रभित्रै भेल बनेर उर्लिसकेकी थिएँ । म बग्न चाहन्थे । निर्वाध बग्न चाहन्थे । मैले आफूलाई रोक्न सकिन । ज्वरो आएको बहाना गरि घर पुर्याइदिन तिमीलाई अनुरोध गरेँ । नाचमा बालेको मइन्टोलको उज्यालोबाट टाढिने बित्तिकै मैले तिमीलाई अँगालोमा कसेको सम्झिन्थे । तिम्रा ओठसँग मेरा ओठले पहिलोपटक भेटेको सम्झिन्थे । हामी नागबेली तला जस्तै लतारिदै छिटोछिटो गरी घर पुगेर दैलो लाएको सम्झिन्थे । कोठाको लालटिनको मधुरो उज्योलो सम्झिन्थे । मुटुको ढुकढुकी बढेको सम्झन्थे । शरीर बारम्बार रोमाञ्चक र तरंगित भएको सम्झन्थे । म सम्पूर्ण रुपले धपधपी बलेको सम्झन्थे । अनि तिमीलाई तिमीबाट खोसेर मभित्र लुकाएको सम्झिन्थे । प्यास मेटाउन मैले तिमीलाई तनतनी पिएको सम्झिन्थे । मभित्रको आगो निभाउन मैले तिमीलाई खलखली खन्याउको सम्झिन्थे । मभित्र उर्लेको भेललाई झन उराल्दै सलसली बगाएको सम्झिन्थे । सम्झनाका पत्रमाथि पत्र तहमाथि तह थप्दै लगेँ । तिम्रा सम्झनाका यिनै पत्रका परिधान ओढाउँदै हरेक पटक रघुबीरलाई म तिमी बनाउथेँ । तिमी भएको ठान्थे र आफुलाई उसँगै बगाएर केही हलुको बनाउथेँ । मन-मस्तिष्का यी दृष्य-परिदृष्यहरु छ्याप्पै छाप्पिएर बसेका थिए । रघुबीर र म लोग्नेस्वास्नीबीचका ती निराशिला खेलमा हरेक पटक, पटक-पटक यिनै तस्वीरहरुलाई पल्टाउथेँ । त्यो पल, त्यो क्षण, अनि त्यो तिम्रो बलिष्ठ व्यवहार र वातावरण ! यो छातीभित्र शिलालेख भएर बसेका आखेलहरु सम्झन्थे ।
म बिभाजित भै सकेकी थिएँ । शरीर र मन यी दुई मेरा अलग अस्तित्व भइसकेका थिए । यी दुबै अस्तित्वलाई जोगाउने क्षमता मसँग थिएन । मैले एउटालाई मार्नु र अर्कोलाई बचाउनु थियो । मैले मनलाई बचाएँ शरीरलाई मारेँ । शरीर रघुबीरलाई सुम्पिए मन तिमीलाई चढाएँ । एक नारी अवयव दुई लोग्ने स्वीर्कान वाध्य भयो ! शरीरको लोग्ने रघुबीर र हृदयको लोग्ने शाम्भव ! अहंकारको आवरणले ढाकिएर चट्टान बनेको मेरो कठोर हृदय कहिल्यै तिम्रो हुन सकेको थिएन । अब त्यो चट्टानरुपी हृदय फुटेर चकानाचुर भै सकेको थियो । त्यसले कोमलताको आकार लिएर त्यसभित्र तिमीलाई फक्राइ सकेको थियो । तर ती चट्टानका टुक्राहरु हृदयभित्रै अर्को ठाउँमा जम्मा भएर बसेका थिए, रघुबीरका लागि । उप्रति कठोर हुदै गए । दिन वित्दै गयो, त्यो चट्टानको आकार फैलदै गयो । जतिजति उ लोग्ने हुनुको वैयक्तिक विषेशाधिकार ममाथि लाद्न थाल्यो तिमीप्रतिको मेरो तृष्णा र उप्रतिको वितषृणाको उतिउति बढ्दै जान्थ्यो । मैले रघुबीरसँग न कहिल्यै सन्तुष्टि अनुभूत गरे न कहिल्यै आफूभित्र खुशी सिंचित गरे । उसले जे भन्यो त्यही मात्र गरेँ, गरिरहेँ । समयचक्रले ठीक विपरित दिशामा घुमायो मलाई । हिजो मैले तिमीलाई साधन बनाए आज म उसको साधन भएँ । उसको भोकको भोग र भोजन मात्र भएँ । उ भोकाइरहन्थ्यो, मरो शरीरले उसलाई तृप्त गराइरहन्थ्यो । भोक र भोजनको शिलशिला मेरो जीवनमा निरन्तर बीस वर्षसम्म चल्यो । उ हरेक दिन भोको हुन्थ्यो । उसलाई पहिले रक्सी अनि मेरो शरीरको भोक लाग्थ्यो । एउटा नौजवान सिपाहीले जस्तो साहसी खेल खेल्थे म तिमीसँग । बहादुर शिकारीका रुपमा प्रस्तुत हुन्थे । तर रघुबीरले मेरो त्यो साहसको अनुभूत सायद कहिल्यै गरेन । हुन सक्छ उसलाई जरुरत पनि थिएन । उ मेरो लाचार शरीरसँग उसको पौरुषता पोखिरहन्थ्यो । तिमीसँग यौवनका ती रंगीन खेलहरु खेल्दा कहिल्यै तिम्रो हुन नसकेको मेरो मन अब तिम्रो मात्र भइसकेको थियो । लोग्नेसँग झेल्दाका ती मल्लयुद्धरुपी शारीरिक खेलमा जति सामेल हुनु परे पनि मेरो मन कहिल्यै उसको हुन सकेन । मनले मनको दुरी कहिल्यै घटाएन । शरीरले जतिसुकै खुम्चिनु तन्किनु परे पनि मन जहीँको त्यहीँ जमेर बस्यो । हिउँको डल्लो जस्तो भयो, उसका लागि । शरीरको तातो उसले लिए पनि मनको न्यानो कहिल्यै पाएन । उसले मलाई जितेको थियो तर मभित्रको मलाई कहिल्यै जित्न सकेन । दोषी रघुबीर होइन । उसालाई स्वास्नी चाहिएको थियो, उसले पायो । तर मलाई मान्छे चाहिएको थियो, मैले मान्छेसँग लोग्ने साटे । मैले लोग्ने पाएँ मान्छे पाइन । उ निर्दोष छ । उ निर्दोष लोग्ने हो । म हूँ, दोषी स्वास्नी र पापिनी प्रेमिका ।
हो प्रेम र बिवाह अलग विषय हुन् । मान्छेले कि बिवाह गर्छ, कि प्रेम गर्छ । तर मैले जीवनमा न प्रेम गरे, न बिवाह गरेँ । न बिवाह गरेर प्रेम गर्न सकेँ, न प्रेम गरेर बिवाह गर्न सकेँ । प्रेम वा बिवाह दुई मध्ये एक हुनलाई शरीर र मन पनि एकै हुनु पर्दो रहेछ । मैले मेरो शरीर र मन कहिल्यै एकसाथ डोर्याउन सकिन । हिजो शरीरमात्र तिम्रो बनाए मन बनाउन सकिन । आज मन तिम्रो बनाए शरीर बनाउन सकिन । म आफ्नै लागि आफैं बिडम्वना भएँ ।
शाम्भव, रघुबीरलाई जुन सँस्कारले मेरो खाली सिउँदो चिरेर सिँदुर भर्ने अधिकार दिएको थियाे त्यही सँस्कारले मेरो त्यो सिँदुर पुछिसकेको छ । अब म सँस्कारको सिँदुर हैन तिम्रो नाउँको सिँदुर लाएर मरिसकेको यो बाँकी जीवन बिताउने छु । हो शाम्भव तिमी मेरो हुन सक्दैनौ तर म तिम्री भएर बस्नेछु ।
इन्द्रावती इन्द्रले बर्षाएका घनघोर बर्षा जस्तै वर्सिरहेकी छे । म एकहोरो सुनिरहेको छु । म कताकता अलमलमा परे र सोधेँ- रघुबीर खै त ?
मैले उसलाई हिजो बिदा गरेँ । उसको पैतालिसौं पुण्यतिथि हिजो थियो । यो अप्रत्यासित र अपत्यारिलो जवाफ सुनेर मेरो आँङ् सिरिङ् भयो । श्वास-प्रश्वास एकछिन अवरुद्ध भए जस्तो भयो । एकछिन निशब्द भएँ । मैले समवेदना र सहानुभूतिका केही शब्दहरु अर्पण गर्न चाहेँ तर उसले सुन्न चाहिन । आफूलाई सहज बनाउँदै सोधेँ - तिम्रो छोरो खोइ त ?
उ मनको भक्कानो फुटाउँदै क्वाँक्वाँ रुदै भन्न थाली उ मेरो मात्र छोरो होइन तिम्रो पनि हो । तिमी र म दुबैको । हो शाम्भव ! सत्य यही हो । तर दुनियाँले उसलाई रघुबीर बस्नेतको छोरो सौगात बस्नेत भनेर चिन्छ । अन्धकारमा छ दुनियाँ । दुनियाँलाई सत्य के थाह ? धेरै सत्यहरु यसरी नै दागिएर बसेका छन् यो समाजमा ! मेरो बिहे भन्दा एक महिना अघि नै मैले मेरो कोखमा तिम्रो प्रेमको सौगातलाई स्वागत गरिसकेकी थिएँ । त्यसैले मैले उसलाई सौगत नाउँ दिएँ । मैले यो अपराध लुकाउन पनि रघुबीरलाई लोग्ने स्वीकारेकी थिएँ ।
म छाँगाबाट खसे जस्तो भएँ । जीवनले अब कुन मोड लिने हो ? सोच्नै नसक्ने भएँ ।

नोभेम्बर २, २०१० बोस्टन, अमेरिका ।
(रचना)

1 comment:

  1. कामाग्नी हो कि प्रेमाग्नी ? अन्तिम अन्तराहरुले नि:शब्द बनाए |

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !