Sunday, November 14, 2010

स्मृतिमा भीमू


शिव प्रकाश
प्रेमको अनुपम उपमा छ । अगाध प्रेम छ, स्नेह छ, श्रद्धा छ- एक आपसमा ! जन्मको नाता भन्दा पनि कर्मको नाता बलियो हुन सक्छ भन्ने एउटा प्रमाण छ । मान्छे जन्मसंगै एउटा परिधि र परिवेशभित्र बाँधिको हुन्छ तर कर्मको नाताभित्र मान्छेले आफूलाई मान्छे हुनुको यथार्थताभित्र परिभाषित गरेको हुन्छ ।  
भारतीले भीमूसंगको नातालाई यसरी नै परिभाषित गरेकी छिन् अनि कर्मको नाता परिभाषित गर्ने क्रममा शिव गौतम पनि एक अभिन्न्न पात्र भएका आएका छन् उनको जीवन जीवनसँगै स्मृतिमा भीमू उपन्यासमा पनि ! जुन पात्र, पात्र मात्र नभएर प्रकारान्तरमा जीवनसाथी बनेका छन् उपन्यासकार भारती गौतमको !
जिन्दगी यो जिन्दगी हो, भोग्ने क्रममा धेरै भोगाइहरु भोग्नु पर्छ अनि धेरै आरोह अवरोहहरु पार गर्नु । यस्तै आरोह-अवरोहका उकाली- ओरालीहरु पार गर्दै र एक दुखान्त साहित्यिक दस्तावेज लिएर नेपाली साहित्य पाठकहरु माझ उपस्थित भएकी छिन् भारती ।
डायस्पोरा नेपाली साहित्यमा चिनिएकी भारतीले 'बहिनीमित्र' भीमूलाई स्मृतिको केन्द्र र मनको गहिराई राखेर भीमू आफ्नो कोही नभए पनि सबैथोक भएको, सबैथोक भन्दा पनि तीन दशकको प्रगाढ मित्रता र भावनात्मक सम्बन्धको अनुपम् उपमाको रुपमाको रुपमा रहेकी भीमूको स्मृतिलाई शब्दचित्र उतारेकी छिन । नेपाली उपन्यासमा अलि भिन्नै खालको लाग्ने यो कृति सरसर्ति हेर्दा वास्तवमै वियोगान्त संस्मरणात्मक आलेख जस्तो देखिएता पनि यसमा त्यो भन्दा अरु धेरै विषयवस्तुहरु पाउन सकिन्छ । उपन्यासले जीवनका साना तर गहकिला विषयबस्तुलाई समेट्दै शाश्वत सत्य र यथार्थलाई अनुक्रमिक रुपले बोध गरेको छ । अनि अन्तिम सत्यलाई स्वीकार्नु पर्दाको पीडाबोध त्यतिकै कारुणीक र दारूणीक छ ।
बिभिन्न तेह्र उपशिर्षकमा विभाजित कृतिभित्र भिमूको संस्मरण मात्र नभएर लेखिकाको जीवन कथा र कथाभित्र बल्झिएका व्यथाहरु पनि छन् । जीवन र जगतप्रतिका वैयक्तिक भावना र भोगाईहरु पनि छन् । जीवनको महत्वपूर्ण खण्ड यौवनावस्थाका उर्लदा भेल र श्रृंगारिक सपनाका उल्का र झूल्काभित्र रुमलिएको कालखण्डको संयमित, मर्यादित र शालिन संयोजन तथा समाधान छ । तीजबाट सुरु भएको उपन्यासमा लेखिकाले घरदेश छोडेर परदेश जानु परेको कथाभित्र भीमूसंगको साक्षात्कारदेखि तीस वर्षको मित्रताका घटना-परिघटना हुदै त्यो निर्दयी बिहानले आफूबाट भूमिलाई सदाका लागि छुटाएर लगेको दारुणीक र मार्मिक शब्दचित्र छन् । मित्र वियोगको र वियोग विदित् पीडाको अनुकरणीय वर्णन अनि मित्रताका रमाइला क्षणका सम्वादहरु लेखिकाको स्मरणमा जस्ताको तस्तै रहनु र ती स्मरणका तह र तरेलीहरुलाई दुरुस्तै उतार्न सक्नु यो उपन्यासको विषेशता नै मानिन्छ । समग्रमा उपन्यास संवेदना र वियोगप्रधान भए पनि चौथो उपशिर्षकले पाठकमा अलि भिन्नै खालको उत्सुकता जगाउँछ । 

"बाका र मेरा आँखा जुधे । मेरा आँखा अगाडिका सारा दृष्यहरु घुम्न लागे । मैले टेकेको जमीन भासिन थाल्यो । गरुड देख्दा सर्प लठ्ठिए जस्तो हो वा पुलिस देख्दा अपराधी लठ्ठिए जस्तो मेरा आँखा लठ्ठिए खुलेको खुल्यै भए । मेरो सास त्यहीँ रोकियो । मेरो अनुहार सरमले, ग्लानीले र हिनताबोधले रातियो ।"
भीमूलाई भेट्ने निहुँले शिवजी छात्रावासमा आउनु तर भीमू नहुनु ! एक आदर्शवान छोरी भएर बा आमाको इच्छा विपरित आफुले कुनै निर्णय नगर्ने दृढतामा आफू बस्नु ! तर भित्रभित्रै शिवजीप्रतिको आकर्षणको चुली चुलिदै जानु । बा, आमाको मन अनि बा, आमा प्रतिको श्रद्धा र बा, आमाको आफूप्रतिको विश्वास चुली त्यो भन्दा ठूलो र अग्लो सगरमाथाको रुपमा आफुभित्र रहनु । बा आमाले शिवजीलाई भित्रैबाट नचाहनु अनि धनकुटादेखि छोरी भेट्न आएका बा, आमाले उही छोरीलाई शिवजीसँगै भेट्नु  ……!  यहाँ नेर उपन्यास अनौठो संयोग लिएर अघि बढेको छ । यो दुविधा र अन्र्तद्वन्दको कथाले उपन्यासलाई कताकता रोमान्टिक पनि बनाएको छ ।
' मित्र त्यो हो जसलाई विश्वास गर्न सकिन्छ ।' किर्तिपुरको छात्रावासमा अचानक भेट भएकी भिमूसंगको सामान्य परिचयबाट सुरु भएको सम्बन्ध गाँजिदै गएर क्रमशः बटबृक्षको रुपमा परिणत हुन्छ अनि भारती र भीमू एक आत्माका दुई शरीर जस्ता हुन पुग्छन् । अथवा दुई शरीरका एक आत्मा ! मानवीय जीवनमा लोग्नेका लागि स्वास्नी अथवा स्वास्नीका लागि लोग्ने, प्रेमीका लागि प्रेमीका अथवा प्रेमीका लागि प्रेमी, साना छोराछोरीका लागि आमा नै सबैभन्दा नजिकको र विश्वासिलो साथी मानिन्छन् । यही विश्वासको परिधिभित्र नै एक आपसमा उनीहरुले सबै कुरा बताउन, बाँडन र आफूभित्रका भावनाहरु विसाउन सक्छन् । तर भारती र भीमूको सम्बन्धले यो परिधिलाई तोडेको छ । यी सबैभन्दा पनि उनीहरुबीच वढी विश्वास, आत्मीयता र श्रद्धा छ । आखिर उनीहरु साथीमात्र हुन् ''दिदीसाथी र बहिनीसाथी'' ! मित्रताको असल परिभाषा यो यथार्थपरक उपन्यासले दिएको छ । भारतीको जीवनमा उदाएका शिव भन्दा पनि कहिले काहिँ भीमू विश्वासिली भएकी छिन् । कताकता लोग्ने अर्थात प्रेमीलाई पनि डाह लाग्ने खालको विश्वासको बटबृक्ष मुनी एकले अर्कालाई खुला पुस्तक बनाएर पढेका छन् यी दुई पात्रले । 
जम्माजम्मी तीन पात्रकै सेरोफेरोमा घुमेको उपन्यासमा लेखिका स्वयं र भीमू नै मुख्यपात्र रहेका छन् भने लेखिकाले शिवजी भनेर सम्बोधन गरेको पात्र आंशिक पात्रका रुपमा रहेका छन् । तर उपन्यास एउता यस्तो परिवेशबाट गुजि्रएको छ - आंशिक पात्रका रुपमा रहेका शिवजी यथार्थमा भारतीको जीवनपूर्णाङ्कीको पूर्ण पात्र भएका छन् भने मुख्यपात्र भीमू लेखिकाका लागि सम्पर्णको पनि पूर्ण थिइन् उनी जीवनको एकाङ्की भएर अल्पायुमा यो संसारबाट बिदा भएकी छिन् ।
जीवन संङ्घर्षका सम्पूर्ण युद्धहरु डटेर लड्ने र हार भन्ने शब्दलाई सधैं नकार्ने भीमू अन्ततः जीवन र मृत्युको लडाईमा पराजित हुन्छिन् । मानिसका जीवनमा अकल्पनीय घटनाहरु हुन्छन् प्रकारान्तरमा त्यसलाई स्वीकार्नै पर्ने हुन्छ ।
विरेचन साहित्यको प्रभावमा अघि बढेको उपन्यास भित्र लेखिकाले जीवनका स-साना कुराहरुलाई कुँदेर सरल र सहज भाषा- शैलीमा सम्पूर्ण यथार्थ र वास्तविकतालाई आत्मसात गर्दै मानवीय जीवनलाई आदर्शमुखी, अनुशासित र मान्छेमान्छे बीचको सम्बन्धलाई मर्यादित बनाउन खोजेकी छिन् । मान्छे उमेरले ठूलो वा सानो होस्, विद्धता र व्यवहारले मान्छे, मान्छेका लागि सम्मानित हुन्छ भन्ने सन्देश उमेरमा आफूभन्दा कान्छी भीमूप्रति लेखिकाले गरेको सम्मानित मानविय सोचाइले दिएको छ ।
समग्रमा ''स्मृतिमा भीमू'' साथीका रुपमा मानिएकी बहिनी वा बहिनीका रुपमा मानिएकी साथी जे भए पनि भारती र भीमू आत्मीयताको कथा हो । 'बहिनीमित्र' भीमूको स्मरण लेखिकाको जीवनमा सधैं जीवन्त रहने देखिन्छ ।

नोभेम्बर ०२ २०१० 

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !