Tuesday, November 16, 2010

डाक्टर साप्को मुटुनेरीको सिस्नेरी


शिव प्रकाश

फूल किन फूल्छ भनेर कविकै शब्दमा कविले उत्तर खोजे झैं म कविता किन लेख्छु भनेर आफैंसंग उनले अर्को उत्तर पनि खोजेका छन् । यसमा उनले धेरै उत्तरहरु निकालेता पनि आफूमा कवित्वको कमि भएकोले कविता लेख्ने गरेको निष्कर्षलाइ उनले स्वीकारेका छन् । कवि शिव गौतम यस्तै दार्शनिक भावानुभूति बोकेर कविता लेख्ने गर्छन् । अनि मुटुनेरीको सिस्नेरी कविता संग्रह लिएर सुटुक्क पाठक समक्ष आउछन् ।
कथा, लेख, निबन्ध तथा खोज-अनुसन्धानका विषयमा समय समयमा कलम चलाउने उनी साहित्य भूमिको मूलतः कविता विधामा नै नाच्न खेल्न रमाउँछन् । पेशाले तथ्याङ्क र साङ्ख्यिकीका डाक्टर (पीएचडी) भएता पनि भावले उनी एक कुशल कवि देखिन्छन् । स्वेदेशमा त्रिविविको प्राध्यापनदेखि लिएर विदेशका बिभिन्न प्रतिष्ठित विश्व विद्यालयहरुमा अध्ययन र अध्यापन गर्दे गराउँदै हाल अमेरिकाको विख्यात हार्भर्ट विश्वविद्यालयको स्वास्थ्य विज्ञान स्कूल बोष्टनमा प्राध्यापनरत कवि गौतमले आफू घरदेशबाट टाढाटाढा धेरै टाढा परदेशमा रहदाँ पनि स्वदेशलाई कहिल्यै बिसे्रका छैनन् र बिस्रन पनि सक्दैनन् । परदेशमा रहँदा पनि उनले मातृभूमिलाई बोकेका छन् । राष्ट्रियतालाई हृदयमा राखेका छन् । नेपालीपनले अविचलित ओतप्रोत छन् र सगरमाथालाई अझै चुल्याएका छन् । यी भावनाहरुलाई नेपालै बोकेर कवितामा कवि यसरी ब्यक्त गर्छन् ।
जहाँ म टेक्छु त्यो नेपाल बन्छ
म जुन हिउचुली हेर्छु त्यो हिमाल हुन्छ
म परशेमा भए पनि
मेरो देश पर छैन
जहाँ म जान्छु
नेपाल बोकेरै जान्छु ।
भोजपुर जिल्लाको सिस्नेरीमा जन्मिएका कवि आफ्नो जन्मथलोसंगको अटुट सम्बन्ध सधैं अटुट रहने स्पष्ट छनक दिदैं मुटुनेरीको सिस्नेरीमा उनी मातृत्व र भातृत्वप्रतिको स्नेहलाई फेरि यसरी ब्यक्त गर्छन् -
म जतिसुकै बुढो भए पनि
सिस्नेरी !
म भित्रको सम्झना सधैं तन्नेरी
तिमीसंगको दूरी जतिसुकै बढेपिन
सिस्नेरी !
तिमी सधैं मेरो मुटुनेरी ।
संग्रहमा कवि गौतमले समाजका आवेश-परिवेश, विकृति-विसंगति र वास्तविकताहरु साथै ब्यक्तिका वैयत्तिक आवेगहरुलाई संयोजित ढंगले प्रस्तुत गरेका छन् । उनका कविताहरुमा प्रयुक्त अनुप्राशले भरपुर मिठास भरेको छ भने भाव र भङ्गी अनुसार कविको भावना बगेको छ । मूलतः ग्रामीण नेपाली महिलाहरुको दुःख, पीडा, अभाव र कुण्ठाका कथा-ब्यथाहरुलाई पनि उनले आफ्ना कविताहरुका उनेका छन् । हाँसो र रोदन, नेपालै बोकेर र एउटा सम्बन्ध संग्रह भित्रका उत्कृष्ट कवितामा पर्छन् भने राममान र एउटा विरङ्गनाको जीवन कथा यथार्थपरक कविता पर्छन् । जसले धेरैको हृदयलाई छुन सक्छ । दिलमायाको पिरतिमा देश विथोलिएको भए पनि देशप्रति आफ्नो प्रेम अटुट रहेको स्पष्ट धारण कविले ब्यक्त गरेका छन् ।
शिष्ट भाषा र सुक्ष्म ब्यङ्ग्यद्वारा हाम्रो समाजलाई सचेत गराउँदै संग्रहमा ठाउँठाउँमा ठट्टा रमाइलोलाई पनि संयोजन गरेर आफ्ना कविताहरुलाई अझ मीठासपूर्ण बनाउन कवि शिव गौतम खप्पिस देखिन्छन् ।
मान्छे मान्छेबीच हुने घात-प्रतिघात, अविश्वास, कलहकचिङ्गल र मान्छे भएर पनि देखाइने कुमान्छेको दुष्प्रवृतिलाई कविताका माध्यमबाट उनले उदाङ्गो पारेका छन् । यिनका अलावा उनको कविता संग्रह पढ्दा कवि प्रकृतिसंग अति प्रभावित भएको भान पनि हुन्छ । प्रकृतिको अनुपम् उपहार फूलसंग कवि धेरै नजिक छन् । कवितामा उनी फूलसंग खेलेका छन् । हाँसेका छन् । रमेका छन् । अनि ढुङ्गाभित्र पनि मन हुन्छ भन्दै पहराको छातीमा फूल फूलाउँदै कवि गौतम कवितामा यसरी वहन्छन् -
पहरा भनेर मात्रै कहाँ हुन्छ र
उसको छातिमा पनि कतै एउटा
कोमल भाग हुन सक्छ
जहाँ गएर एउटा फूल
फूलेको हुन सक्छ ।
यस संग्रहमा भावुकता कताकता कवि र कविताको विषेशता नै देखिन्छ । हुन त भावुकता बिना कविताको सिर्जना पनि हुन सक्दैन । कविको छवि पनि त्यसैमा झल्किएको हुन्छ । यसले कवि गौतमलाई पूर्णरुपले प्रभावित गरेको पाइन्छ । अनि भाषाको सरलता संग्रहको अर्को बिषेशता मानिएको छ ।
सपनाका रंगहरु पछि साझा प्रकाशनद्वारा प्रकाशित ५१ कविताहरुको संग्रह मुटुनेरीको सिस्नेरी यथार्थमा पठनीय छ संग्रहनीय छ । यो संग्रहले पनि नेपाली साहित्य जगतमा ठूलो गुन लागाएको कुरामा दुईमत पक्कै छैन भन्दा सायद फरक नपर्ला । कविको साहित्य यात्रा निरन्तर रहिरहोस् । 

Friday, December 08, 2006

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !