Thursday, November 18, 2010

भ्रमपीडा !


शिव प्रकाश
उ आज आफ्नै कथा लेखिरहेछ । अरुका कथाव्यथा लेख्दालेख्दै थाकेका हातले आफ्नो कथा लेख्न उसलाई मरुभूमिको पैदल यात्रा जस्तो भएको छ । उसको मस्तिष्कमा तिक्तता र मनमा रिक्तता छाइसकेको छ । मन, मस्तिष्क दुबै एक प्रकारले मरुभूमि जस्तै भएको छ । उ बाँचेको छ, हारेर ! उ हाँसेको छ, रोएर !
उ मान्छेभित्र मान्छे निरन्तर खोजिरहेछ ।
उ सबैलाई मान्छे देख्छ तर कसैलाई मान्छे भेट्दैन । उ सोच्छ- यो मेरो दृष्टि भ्रम हो !
उ मान्छे पढ्छ तर मान्छे बुझ्दैन । उ सोच्छ- यो मेरो अज्ञानता हो !
उ मान्छे बोल्छ तर मान्छे, मान्छे बोल्दैन । उ सोच्छ- यो मेरो मुर्खता हो !
उ मान्छेलाई सबैभन्दा ठूलो मित्रु ठान्छ तर मान्छेलाई नै सबैभन्दा ठूलो शत्रु देख्छ । उ ठान्छ- यो मेरो पुर्वाग्रह हो !
उ मान्छेलाई सबैभन्दा नजिकको ठान्छ तर मान्छेसँग नै सबै भन्दा बढी त्रसित छ । उ सोच्छ- यो मेरो कायरता हो !
मान्छे, मान्छेको यो संसारमा न त उ मान्छे भेट्छ, न त उ मान्छे देख्छ, न त उ मान्छे बुझ्न सक्छ, न त उ मान्छे बोलेको सुन्छ !
अब उ आफूसँग आफैं सशंकित हुन्छ – मान्छे के हो, जड हो कि चेतना ? अस्तित्व हो कि शून्य ?
म के हुँ ?”
उसको विचारमा संसार उल्टो हुदैछ । त्यसैले उ उल्टो विचारलाई सुल्टो ठान्न थालेको छ, सुल्टोलाई उल्टो । उ सुल्टोभित्र उल्टो र उल्टोभित्र सुल्टो देखिरहेछ, सुनिरहेछ, पढिरहेछ, बुझिरहेछ । उ उल्टो देशमा सुल्टो मान्छे् भएर बाँचेको छ ।
उसको मस्तिष्कमा उल्काका भुल्काहरु फुल्न थाल्छन् ।
मेरो मस्तिष्क घुमेको हो कि यो संसार उल्टो घुमेको हो । यहाँ पक्कै केही घुमिरहेको छ । मेरो वरिपरि केही घुमिरहेको छ अथवा अरु कुनै बस्तुका वरिपरी म घुमिरहेको छु ! यस्तै सोचाइमा उ निमग्न छ ।
आकाशलाई धरती देख्न थालेको छ, धरतीलाई आकाश ! उ सोच्छ- यो पनि भ्रम हो । म भ्रमको उपज हुँ वा म भित्रको उपज भ्रम हो”  उ वास्तविकता खोज्न थाल्छ ।
यो धरती बिब्ल्याँटो देख्छ । धरतीका मान्छे यस्ता थिएनन् मान्छे जस्ता थिए । सुल्टो धरतीका मान्छे सुल्टा थिए । मान्छे किन उल्टा हुदैछन्
के यी मान्छे मान्छेका नयाँ अवतार हुन् ? आफैलाई प्रश्न गर्छ । उ शास्त्र सम्झन्छ- शास्त्रले मान्छेको पूनर्जन्म स्वीकारेको छ, अवतार स्वीकारेको छैन । मान्छे ईश्वर हैन । ईश्वरको अवतार मान्छे हैन । यदि मान्छे आफू ईश्वर भएको घोषणा गर्छ भने त्यो मान्छे मरिसकेको छ, अर्को जन्मन बाँकी छ ! अर्थात ईश्वर फेरि जन्मेका छैनन् !
उ मान्छेलाई विज्ञान र नांगो आधुनिकतासँग जोड्छ । रिमिक्स, रसायन र अणुपरमाणुसँग जोड्छ । बारुद, बन्दुक र गन्धकहरुसँग जॊड्छ ।
बन्दुका आँखा मान्छेका जस्ता देख्छ । बमका अनुहार मान्छेसँग मिलेको देख्छ । बारुद र गन्धकका गन्धहरु मान्छेको सास जस्तो लाग्छ । रसायनमा मान्छेको रंग देख्छ । अणुपरमाणुमा मान्छेको अंश पाउँछ । सम्पूर्ण मान्छे रिमिक्स जस्तो लाग्छ । आधुनिक मान्छे !
उसले एउटा आधुनिक निष्कर्ष निकाल्छ- त्यसलाई उ उत्तरआधुनिक निष्कर्ष भन्छ । उत्तरआधुनिकाताको अर्थ खोज्छ- पाउँदैन, परिभाषा खोज्छ- पाउँदैन । कहीँ कतै पाउँदैन ।
सबै कुरामा उत्तर आधुनिकता छ तर कहीँ, कतै, केही छैन ।
अर्को निष्कर्षमा पुग्छ- उत्तर आधुनिकता हावाले हावासँग बहस गरेको विषय हो । यो बेहोसीहरुको बहस हो । दिशा विहिन बहस हो !
उ डराउँछ- æम यो संसार विरुद्ध जादैछु । संसार उत्तरआधुनिक भै सकेको छ । यो संसार विरुद्ध एक्लो म कसरी लड्न सक्छु ?  तर हार्न सजिलो छ ।Æ  उसमा साहस आउँछ ।
उ उत्तर आधुनिक साहित्य खोतल्न थाल्छ । कविताहरु पढ्छ – æशरीरमाथि शरीर थुपारेर आफ्नै शरीरको भारले थिचिएर हलचलहिन भएर बसेको अजिंगर जस्तो लाग्छन् कविताहरु । शब्दमाथि शब्द थुपारेर शीर पुच्छर हराएको शब्दको थुप्रो !  शब्दको बोझले थिचिएर निस्सासिएका कविताहरुप्रति सहानुभूति व्यक्त गर्छ !
कथाहरु पढ्छ - यस्तै कथाहरु भेट्छ उसका जस्तै ! उ सोच्छ- उत्तर आधुनिकता सबैमाथि चढिसेको छ । संसार, समाज, मान्छे, बिषय, बस्तु सबै उत्तर आधुनिक !
उसको अन्तिम निष्कर्ष छ- उत्तर आधुनिकताभित्र सबै कुरा छ तर केही छैन ।
सबै उल्टो भैसकेको छ, पृथ्वी आकाश जस्तो आकाश पृथ्वी जस्तो शून्य ! उल्टो-बिब्ल्याँटो !
रुप बिगारेर कुरुप बनाउनु, स्वरुप बिगारेर बिरुप बनाउनु उत्तरआधुनिकताको विशेषता ठान्छ- समकालीन मान्छेहरु जस्तै । मान्छे रहित मान्छे जस्तै । मान्छेभित्र मान्छे नभएका मान्छे जस्तै । मान्छे जस्ता देखिने मान्छे जस्तै !
उत्तरआधुनिकताको संयोजन हो मान्छे, विनियोजन हो मान्छे ! मान्छे मान्छेको नयाँ अवतार हैन- नयाँ संस्करण मात्र हो अहिलेको मान्छे ! उत्तर आधुनिक मान्छे ! यस्तै ठान्छ ।
फेरी भ्रममा डुब्छ । सोच्छ- तर पनि मान्छे मान्छे हो । मान्छेभित्र मान्छे हुनु पर्ने किन छैन ? मान्छे किन खोक्रो छ ?  के मान्छे मान्छेको बोक्रो मात्र हो ? मान्छेमा जीवन छ, तर जीवत्व किन छैन ? जिन्दगी छ, तर जीवनक्रम किन छैन ? जिजीविषा छ, तर जिज्ञासा किन छैन ?
मान्छे खोजीको नियात्रा पनि जीवनको एउटा लडाइँ हो । आफू यो लडाइँमा पनि हारेको स्वीकार्छ । मान्छेलाई मान्छे देख्न नसक्नु पनि आफैमा एउटा हार हो !
उसलाई थाह छ कुनै पनि युद्ध जित्न सजिलो छैन । तर हार्ने युद्ध नै सबैभन्दा सजिलै जितिने युद्ध हो । उ पराजयलाई विजय ठान्छ । तर जित पनि एउटा भ्रम हो ! हो, हैन ? हैन, हो ?  उसलाई जितप्रति सधैं भ्रम छ ।
हारप्रति विश्वास छ, त्यसैले उ हार स्विाकार्छ ।
यो संसार अब मान्छेको संसार हैन । अब यहाँ मान्छेको गाउँ छैन, वस्ती छैन, शहर छैन । मान्छेको जंगल मात्र छ ।
मान्छे बिनाको मान्छेको उपस्थिति मान्छेको जंगल हो ।
उ गभ्मीर भएर सोच्छ- यहाँ पक्कै भ्रम छ । मान्छे, मान्छे जस्तो देखिएर  बाँच्न चाहन्छ तर मान्छे भएर बाँच्न चाहदैन ! यो भ्रम हो ! उत्तरआधुनिक भ्रम ! भ्रमपीडाको शिकार भएर बाँचेका छन् मान्छेको जंगलमा मान्छे !
उसले आफूलाई खोज्छ- त्यही जंगलमा भेट्छ ! आफैंलाई प्रश्न गर्छ- के म पनि मान्छे हुँ ?
मैले सोघेँ - तेरो नाउँ के हो ? 
उसले बतायो - मान्छे । तँ जस्तै मान्छे, भ्रमपीडामा बाँचेको मान्छे ।



बोस्टन, अमेरिका । नोभेम्बर १७, २०१० ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !