Friday, December 24, 2010

भैरवी - दुई


शिव प्रकाश

भैरवी (दुई)
शिव प्रकाश
औंसीको मध्यरात ! निसवाफ अँध्यारो छ । कताकति झ्यालबाट टुकीको उज्यालो चियाइरहेछ । उनका पाइला एकनास अगाडि बढिरहेछन् । मनमा अनेक तर्कना वितर्कना दौडिरेहछन् ।
मालिक्नी Û ठूली काजिनी बखतेसँग लागेको थो रे ! तो थाहा पाएछ काजीले तब त बखतेलाई मारेर लोहन्द्रा खोलामा बगाइ दिए । तब तेसलाई छोपछोप पारिहालो । तब त फेरि तीन मैना पछि ठूली काजिनीको पनि हालत उही करे । ठूली काजिनीलाई पैनीडील छ नि, तित्रीगाछीमा झुण्डाएर मारिए दियो । थानेदारलाई पैसा खुवायो अनि सबै मिलाई हालो । सर्जिमिन करायो, अनि भनो कि झुण्डिएर आफै मरो । बहुत अतिचार करो मालिक्नी ! हामी गरीवगुरुवा बोल्ने कुरै आएन । फेरि हाम्रो कुरो न थानेदारले सुन्छ, न अरूले ! हामी जनबनी करेर खाने मान्छीको उजुरी कहाँ लाग्छ र !टुलनी मुसर्नीका कुरा निरन्तर दोहरिन थाले कजिनीका मस्तिष्कमा ।
यो सप्पैको सहजोगी त्यै राजे हो । राजे भनेको तो राजिन्रे बाँतर छ नि उही हो मालिक्नी ! अहिले नेता जे भको छ नि तो जानमारा ! डेढ दुई वरख हराए थो । हामीले ठानेको कसैले मारेर फेकिदियो होला तेल्लाई उल्टा तो त नेता भएर फेरि आएछ । छपामार कि के भएर हराएको अरे ! बाहिर बाहिर जे बोले पनि राजिन्रे मान्छी हो वही काजीकै । कजिनीका मस्तिष्कमा पटकपटक ओहोरदोहोर गर्छन् टुलनीका यी बोलीहरु ।
अब कजिनीका जीवनका भँगालाहरु फुटेर चारदिशा बहन थालेका छन् । जलबीरे ! हत्या ! समर्पण ! आत्महत्या ! अहिले उनको सम्पूपर्ण चेतनामा यिनैमा घुमेको छ । के गरौं ? के नगरौं ? कसरी गरौं ? कसरी केही नगरौं ? किन केही नगरौं ? म न हत्या, न समर्पण, न आत्महत्या गर्छु । सबैभन्दा पहिले जलबीरेलाई खोज्छु । पन्ध्र वर्षदेखि म यो जीवनलाई एकांकी बनाएर बसेकी छु । जीवनका रंगहरु उडाएर एक्लै बाँचेकी छु । यौवनका प्वाखहरु उखेलेर कुजिँएर बसेकी छु, काजीको पिँजडाभित्र । मैले भाग्यलाई दोष दिएँ भने बाँकी जीवन पनि भाग्यलाई दोष दिएर नै विताउनु पर्ने छ । हामी आईमाईले किन भाग्यालाई मात्र दोष दिने आखिर म बाच्नुको अर्थ अहिले पनि छैन । छट्पटीका शूलमा उनिएर पीडाको रापमा जलेर बाँच्नु भन्दा जीवनका रंगहरुलाई अनुभूत गरेर मर्नुको अर्थ बढी हुन्छ । एक पटकको यो जिन्दगीलाई म अब वरबाद गर्दिन । मेरा चाहनालाई खडेरी लाएर सुकाउने यो समाजलाई अब म आफू जलेर आगो ताप्न दिन्न । म यो समाजलाई भत्काएर अघि बढ्छु । अकलन्दलार्इ इसारा, मूर्खलार्इ फट्कारा !
मनमा अठोटको बलियो गज उभिइसकेको छ । कजिनीका पाइलाले बाटो र आँखाले जलबीरेको खोजीरहेछन् । सोच्दै जान्छे र एउटा निष्कर्षमा पुग्छे- यदि जलबीरेले बखतेको नियति भोग्नु परेको रहेछ भने त्यो पापी काजीलाई अब म आफैं दण्डित गर्छु । अनि त्यो दण्डको सजाय उसले त्यही नियति भोग्नु पर्ने छ जुन नियतिको शिकार अरुलाई बनायो, हत्या ! हुन सक्छ समाजले यसलाई पाप मान्ने छ, अनि अपराध पनि ! यही कर्तुत काजीले गर्दा अपराध भएन मैले गर्दा किन हुने यो पाप पनि हुने छैन र अपराध पनि ! पापको विनास नै धर्मको रक्षा हो । म त्यही गर्छु ।
त्यो निशाचर रातमा उसका पाइला अझ तिब्र गतिमा अघि बढ्छन् । सुनसान छ सितुमारी शश्मसान जस्तो अँध्यारोभित्र डुबेको छ पुरै गाउँ । विस्तारै धन्धोराको ढोका ढक्ढक्याउँछे तर चालचुल केही छैन ! लाग्छ चीरनिद्रामा छे उ । केहीबेर निरन्तर ढकढक्याइरहन्छे अझै केही चालचुल छैन ! अलि जोडले ढोकामा मुठी बजार्न थाल्छे फेरि पनि उस्तै छ, केही छैन ! कोही बोल्दैन ! कोही बिउँझिएको वा हलचल गरेको केही आवाज छैन ! बेजोडसाथ मुठी बजार्दै ढोका ढकढक्याउँछे र चिच्याउँछे- धन्धोरा ! कोही बोल्दैन मानौ मुर्दाघर हो, त्यो !
कजिनी भयभीत हुन्छे । के भयो होला किन कोही बोल्दैन ! मनमा अनेक शंका उपशंकाको बाढी बग्न थाल्छ ।
कजिनीको चिच्यावट र ढोकाको आवाजले सँगैकी छिमेकी बूढी मान्छेलाई विउँझाउँछ ।
को हो हँ एति राती ! हातमा टुकी लिएर बूढीमान्छे बाहिर निस्कन्छिन् ।
म काजीटोलबाट आएकी धन्धोरालाई खोजको ।
बुढीमान्छे बत्तिको मघुरो उज्यालोको साहारामा अघि बढ्छिन् । ए कजिनी साप् ! के भो र यो मध्ये रातमा धन्धोरालाई खोज्दै आउनु भको ? अगि मध्ये साँझमा मुखिया पनि आका थे।
धन्य भगवान ! जलबीरलाई केही भएको रहेछन । अलिकति खुशीको अनुभूति हुन्छ । सन्तोषको शास फेर्छे कजिनी । तर यी दुबै कहाँ गए त ! सोच्छेआखिर जलबीरे धन्धोराको भै सक्यो म फेरिकिनके…? एककोहोरिन्छे । मनोवादमा अल्झिन्छे कजिनी ।
बुढीमान्छे मौनतालाई भंग गर्दै भन्छिन्- किन क्यै नबोल्नु भको ?
क्यै हैन, अँ अनि के भो त कहाँ गए त धन्धोरा र मुखिया ? कजिनी हतारिदै सोध्छे ।
के हुनु नि, न्याउरो मुख लाएर हिजै बेलेकी याँबाट हिड्यो बिचरो मुखिया ! सधैं धन्धोरा भनेर मरिहत्ते गर्थो । तर त्यो नखरमाउलीले त उता लालभित्ती तिरको एउटा धनी केटो पाइछे अस्तिकै दिन पोइल गई !
कजिनी दोस्रो गन्तब्य तिर लागि । कोरियाडाँगी निक्कै टाढा छ । रातले अब विहानीको आगमनलाई संकेत दिन थालिसकेको छ । उसका पाइला कोरियाडाँगीतिर बढ्छन् । धन्धोराले ठीक-बेठीक के गरि काजिनीभित्र प्रश्नहरु उब्जिन थाल्छन् । मन अनेक कुराले मडारेको छ । मजधारमा अड्किएको नौवा जस्तो भएकी छे कजिनी ! तर्कना र तिर्सनाको भदौरे भेलहरु मनमा बगेका छन् ।
आखिर धन्धोराले जे गरि ठीक गरि । जो सँग प्रेम हुन्छ, त्यहीसँग बिहे हुने भए म किन अपवाद भए ? अनि जो सँग बिहे हुन्छ, त्यो सँग प्रेम हुने भए म काजीलाई किन प्रेम गर्दिन र उसले पनि मलाई किन गर्दैन ? प्रेम र विवाह दुई विल्कुल फरक कुरा हुन् । विवाह प्राविधिक कुरा हो भने प्रेम भावनात्मक कुरा हो, निर्माण र रचना जस्तै ! अनि मान्छेले जे गर्छ आफ्नो खुशी र सन्तुष्टीको लागि गर्छ । त्यसैले त मान्छेले मान्छेको हत्या गर्छ केवल आफ्नो खुशी र सन्तुष्टीको लागि ! धन्धोरा जे गर्दा खुशी हुन्थी त्यसले त्यही गरि । आज म पनि आफ्नो खुशीकै लागि यो सबै गरिरहेकी छु अनि धन्धोराले प्रेम नगरेकी पनि त हुन सक्छे । प्रेम अन्धो, एककोहोरो, एकपक्षीय र एकाङ्की पनि त हुन्छ । जलबीरे प्रतिको मेरो प्रेम र धन्धोराप्रतिको जलबीरेको प्रेम सायद यस्तै हो ! यसमा धन्धोराको के दोष ? अब मेरा पनि आँखा खुले ती बिचरा मुखिया दाइको पनि के दोष ? अचानोको पीर अचानोलार्इ नै थाह हुन्छ ।
कताकति आकाश उघ्रिए जस्तो छ । कुखुराको डाक सुनिन थालेको छ । बिना थकान, बिना रुकावट उनका पाइला एककोहोरो अघि बढिरेहेका छन् । सधैं राती हिडडुल गर्न डराउने कजिनीलाई आज भूत, प्रेत, पिचाश, चोर, डाकाको केहीको डर छैन । मन-मस्तिष्कमा उर्लेका उद्वेग र साहसले अरु कुनै कुरालाई स्थान दिएको छैन ।
ए दाइ कान्छा मगरको घर कता पर्छ ? बस्तुभाउलाई बिहानको घाँसखोले गरिरहेका एक गाउँलेलाई सोध्छे ।
ए यै गाउँको पुछारको घर हो, किन खोज्नु भको हो ? एति विहानै कसैलाई बिसन्चो भएर झारफूक गराउनु परो कि ? घरमा कोही छैनन् जस्तो छ ।
कहाँ गए त ?
मगर कान्छाकी आमा साह्रै दुखेको खबर आएर हिजै पो गए जस्तो छ पारी डाँगीहाट तिर !
हैन, म त उनको भानिज मुखियालाई खोज्न आएकी । कजिनीका पाइला त्यतैतिर लम्किन्छन् । झिसमिस बिहान भै सकेको छ ।
मुखिया दाइ ! मुखिया दाइ ! कजिनीका आवाजले मुखिया झसङ्ग बिउँझिन्छ । अत्तालिदैं ढोका खोल्छ । भित्र छिर्न नपाउँदै कजिनी एकाएक मुखियालाई छाँदो हाल्छे तर केही बोल्दिन ! आफ्नी मालिक्नीको मौनता र भयावह मुद्रासँग मुखिया डराउँछ । ठान्छ- सायद ठुलै विग्रह भयो ! मुखिया मुख खोल्छ- मालिक्नी किन यसो गर्नु भको ? म तपाइँको घरको हली हैन ? अनि के भो किन एति ब्यानै ? एक शासमा सोध्छ ।
कजिनी नजिकैको मुढामा बस्छे । आँखाका सम्पूर्ण भाव जलबीरेमा पोख्छे अनि एक तमासले हेरिरहन्छे । उ सधैं झै निहुरमुन्टी लाउँछ । दुबै निशब्द छन् । निक्कैबेर मौनतामात्र मडारिन्छ दुबैका ओरिपरी । लामो मौनतालाई चिर्दै जलबीरेको हात समाउछे कजिनी । मुखिया रातो, पिरो, निलो हुन थाल्छ । केही बोल्दैन ।
यी हातले मेरालागि धेरै गरेको छ अब एउटा काम गरिदेऊ मुखिया दाइ ! जलबीरे कजिनीको भाषा बुझ्दैन चुपचाप बस्छ । कजिनी फेरी बोल्छे- म धन्धोराको घरमा गएर आएकी । मलाई सबै थाह छ । पराय खुशीमा मान्छे कतिदिन बाँच्न सक्छ ? धन्धोराले आफ्नो खुशीको लागि जे गरि ठीक गरि । सक्छौ भने तिमी मलाई अब बाँकी जीवनका लागि खुशी देऊ ।उ फेरि पनि केही बोल्दैन ।
तिमी किन नबोलेको ?
मैले क्यै बुझे पो क्यै बोल्नु, बुझिन । पढेलेखेको छैन के बुझ्नु !
तर पहिले यसको जवाफ मालई देऊ- भन तिमी किन एक्कासी हिडेको मलाई केही नभनी ? त्यसरी हिड्ने के थियो त्यस्तो कारण ?
मलाई मालिकले धेरै गाली गर्नु भो । तपाइँ गाई लिएर गको दिन म पनि अलि ढिलो आएँ । पैनीको पानी मार्लान भनॆर रुङेर बसे । अनि त अनेक शंखा गर्नु भो । केरकार गर्नु भो । तँ भातमाराको भात अब यो घरमा सकियो । अहिले निक्लिहाल । नत्र तेरो पनि हालत उही होला भन्नु भो । कुरा त बुझिन तर डर लागो । दश वर्ख काम गरेको घर छोड्दा भक्कानो त फुटेको थो तर के गर्नु अर्काको घर भनेको अर्काकै हो ! म टुहुराको कहाँ, को पो छ र ! अनि त्यै धन्धोराको घरमा गएँ । त्यसले पनि म गरीपलाई पत्याइन । अनि यिनै मामाको घरमा आए …… बोल्दा बोल्दै अड्कियो जलबीरे ।
कजिनीका कोमल मुलायम अनि गोरा, बाटुला ती सुँडोल हातका स्पर्शले जलबीरे सपेराको वीनले लठ्याएको साप जस्तो भै सकेको छ । जलबीरेका कुरा सुन्दा कजिनीका आँखा आँसुले टलपल भै सकेका छन् ।
धन्य भगवान् ! तिमीलाई केही भएको रहेछन …! बोल्दाबोल्दै कजिनी पनि एकाएक रोकिइ । चुपचाप जलबीरे चुपचाप नै रह्यो । धेरै बेर पछि जलबीरेले कजिनीका आँखामा आँखा जुधायो र भन्यो- मालिक्नी !
मलाई मालिक्नी नभन ! कजिनीका हात विस्तारै जलबीरेका पाखुरा हुदै छातीतिर बढ्नथाले । सपनामा सयौ पटक सुम्सुम्याएको जलबीरेको पहरा जस्तो छातीसँग खेल्न थाले उनका आतुर हातहरु । बिस्तारै बिस्तारै चलेका हातको घर्षण क्रमश बढ्न थाल्यो । फेरि आँखा चिम्लियो जलबीरेले । कजिनीले पनि आँखा चिम्लेर जलबीरेलाई अँगालोमा कसी । चुपचाप जलबीरे चुपचाप नै छ । निशब्द छे कजिनी पनि । श्वास-प्रश्वास दुबैको बढेको छ । एक मुटुले अर्को मुटुको ढुकढुकी सुन्न थालेको छ । दुबैका अङ्गअङ्ग तरङ्गीत भै सकेका छन् । रोमरोममा रोमान्चकताको अनुभूति भै सकेको छ । मनको व्यग्रता र वर्षौदेखिको वेगलाई कजिनी थाम्न सक्दिन । एक एक गरेर भत्किदै छन् कजिनीका वासनाका वाँधहरु ।
म ईश्वर हैन, मान्छे हुँ । म पानी हैन, प्राण हुँ । निराकार भएर बस्न सक्दिन । काजी जस्ताको आकारमा आफ्नो आकार विलिन गरेर बाँकी जीवनलाई अब म निर्जीव बनाउँदिन । म मेरो जीवनलाई साकार बनाउँछु । मेरो खुशीहरुलाई काजीबाट बन्धकमुक्त बनाउँछु । म बस्तु हैन, जीवन हुँ । अब पनि निराधार भएर बस्न सक्दिन । जीवनका धारिला र रापिला धारहरुलाई आज म अनुभूत गर्न चाहन्छु । आफ्नै आधार आफैं उठाउन चाहन्छु । आज म छताछुल्ल बग्न चाहन्छु । आज म जीवनको तस्वीर हेर्न चाहन्छु । न उनिउको फूल फुलोस्, न कुकुरको सिङ पलास्काजी यस्तै हो । जलबीरेका छातीमा टाँसिएकी कजिनी मनमा अनेक कल्पिन्छे ।
जलबीरेले लाएको मक्किसकेको मैलो गन्जी एकाएक ध्वारध्वारी च्यातेर फ्याक्छे । उसको नाङ्गो छातीमाथि लुडिबुडी गर्न थाल्छे । सम्पूर्ण शरीर सुमसुम्याउँछे, मसार्छे । जीवनभरका सम्पूर्ण उकुसमुकुसहरुलाई विसाउन चाहन्छे जलबीरेमाथि । आफ्ना छातीका विमुग्ध वैभवहरु जलबीरेका छातीमा ठोक्काउँछे थिच्छे, किच्छे, मिच्छे, रगेट्छे । आज सम्पूर्ण विक्षिप्तताहरुलाई विलिन गर्न चाहन्छे । स्पर्श र घर्षणले दुबै तरङ्गीत भएका छन् ।
आज म भत्किन चाहन्छु ! एकाएक बोल्छे र नजिकैको ढुस्सा तानेर दुबै शरीरलाई ढाक्छे । गलामा झुण्डिएको पोतेको लुङ चुँडालेर फ्याक्छे ।
मालिक्नी म तपाइँको घरको नोकर ! धेरै बेर पछि आँखा खोल्छ र त्रसित भावमा बोल्छ जलबीरे ।
तिमी अब नोकर हैन, मैले काजीलाई त्यागीसकेको छु । अब तिमी मेरो लोग्ने … ! उ फेरी चुपचाप हुन्छ आँखा चिम्लन्छ । जलबीरे भित्रका आवेगहरु प्रक्षेपित हुन थाल्छन् । कम्पनले धरती नै काँप्ला जस्तो हुन्छ । चुपचाप चुपचाप मै जलबीरे सम्पूर्ण पुरुषत्व कजिनीमाथि पोख्छ । विर्सजित हुन्छ जलबीरे, निसृत हुन्छे कजिनी पनि ! आकास र पातालको मिलन हुन्छ । दुबैको जीवनमा नयाँ सुरुवात हुन्छ ।
कजिनी लामो र गहिरो उच्छवास छोड्छे । आँखा खोल्छे- शरीर हलुङ्गो अनि मन चंगा भए जस्तो हुन्छ ।
काजी र मेरो सम्बन्ध काग र बेलको जस्तो थियो । म विवाहित भएर पनि आजसम्म कुमारी नै थिएँ । मेरो कुमारित्वको मालिक कुमार तिमी नै हौ । आजदेखि म मुखिया मात्र भन्छु है । भुइँमा विछ्याएको झल्ला एकातिर शरीर एकातिर छ । जीउलाई असरल्ल झल्लामा एकछिन यसै छोडिदिन्छे । फेरि लामो शास तान्छे, कजिनी ।
मालिक्नी ! म पनि कुमार नै थिएँ । धेरैबेर पछि जबलीरे बोल्छ । अनि थप्छ- तर म तपाइँलाई सधैं मालिक्नी नै भन्छु है । कजिनी मात्र मुसुक्क मुस्कुराउँछे र भन्छे- हिड, म तिमीलाई लिन आएकी !
आश्चार्यचकित हुदै जलबीरे सोध्छ- कहाँ ?
जहाँ म लान्छु त्यही, अथवा जहाँ म जान्छु त्यही ! अब मलाई यो समाजको नर्कटरुपी बारले छेक्न सक्दैन । नारीको भद्रा रुप यो समाजले देखेको छ तर भैरवी स्वरुप देखेको छैन । विक्रान्त विराट स्वरुप देखेको छैन । सहनशीलता देखेको छ तर शक्ति र साहस देखेको छैन । आज म यो समाजलाई त्यही देखाउँछु हिड !
जलबीरे कजिनीका कुरा बुझ्दैन सहमतिको टाउको हल्लाउँदै कजिनीका पछि लाग्छ । अनेक शङ्का, भय र त्रासले जलबीरेको मन मडारिएको छ । कजिनीका पाइला काजीटोलतिरै बढिरहेछन् । अब के होला ! मुख अँध्यारो लाएको छ जलबीरेले । जतिजति कजिनीको घर नजिक आउँछ उतिउति जलबीरेको मनमा ढ्ङ्ग्रो ठोकिदै जान्छ ।
कजिनीको समाज एउटा चक्रव्युहूँ जस्तो भएर उभिएको छ, आँगनमा । कजिनीको आगमनप्रतिको उनीहरुको हेराईमा लाग्छ सबैको आँखामा आश्चार्यसूचक र प्रश्नवाचक चिन्हको चित्रण छ । एक हुल मान्छेको चक्रव्युहूँलाई चिर्दै कजिनी नजिकै जान्छे । एकनासले हेर्छे, हेरिरहन्छे । वरिपरी उभिएका सबैका आँखामा आँखा जुधाउँछे कोही, केही बोल्दैन । मौन छे कजिनी पनि । फेरि भुईँतिर हेर्छे एकतमासले, हेरिहन्छे । दुई हात जोडेर वन्दित भावमा आकाशतिर मुन्टो फर्काएर मनमनै भन्छे- जे गरे ईश्वरले ठीक गरे । ईश्वरले अन्याय गर्दैनन् भनेको ठीकै रहेछ, धन्य ईश्वर !’  
आखिर नारी र फूल सृष्टिको सबैभन्दा सुन्दर रचना हो । जतिसुकै आक्रान्त भए पनि उत्सर्ग र त्यागकी प्रतिरूप हो, नारी ! प्रेम र तपस्याकी खानी हो, नारी ! उनका आँखाबाट ढिक्का ढिक्का आँसु खसिरहेका थिए ।
उही रात हृदयघात भएर प्राणपखेरु उडेको गज्जे काजीको भुईँमा लडाएको शरीरलाई फरि एक पटक हर्दै अँजुली जोडेर मनमनै भन्छे - अलबिदा काजी !
अहिले त्यही गाउँमा जलबीरेलाई सबैले मुखिया साहेब भन्छन् ।
डिसेम्बर २४, २०१० । 
(अभिव्यक्ति)

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !