Sunday, January 9, 2011

मित्र

 शिव प्रकाश
'शत्रुको पहिलो रुप साथी हो !' पिउँदा पिउँदै अनायास उसले यो वाक्य निकाली । 
मैले कुरा बुझिन र सोधेँ-  'कसरी ?'
'जब मान्छे तिमीसँग बोल्छ, मान्छेलाई तिमी अलिकति चिन्छौ, थोरै परिचित हुन्छौ । त्यही मान्छे जब तिमीसँग चल्छ, बोलेभन्दा थोरै बढी परिचित हुन्छौ । तिमी क्रमश परिचित हुदै जान्छौ । मान्छेको परिचय विराट छ, अपार छ । आकाशको आयतन भन्दा धेरै फराकिलो पनि छ । पहाडको गल्छीभन्दा धेरै साँधुरो पनि छ । धरतीको धसिँगर भन्दा धेरै मैलो पनि छ । हिमालको उचाइँ र धवल भन्दा धेरै अग्लो र सुकिलो पनि छ । हाँस्दा दाँतमात्र देखिन्छ मान्छेको दाह्रा देखिदैन । त्यसैले मान्छे सुरुमा मुसुक्क हास्छ । चपाउने दाह्राले हो, दाँतले हैन । त्यो लुकाउँछ, देखाउँदैन । मान्छे जति खराब छ त्यति आफूलाई असल देखाउन खोज्छ । हेर मेरो हँसा'
उ मुसुक्क हाँस्छे । उनको हँसाइसँग अभिव्यक्ति पनि मिल्छ ।
'यो, म हाँसेको हैन, मान्छे हाँसेको !' मलाई पनि हाँसो उठ्छ ।
सोच्छु- 'मान्छेलाई यसले भित्री तहसम्म नियालेकी छे । मान्छेको बारेमा गहिरो अनुभव, अनुभूत र आँकलन गरेकी छे ।' मलाई उनका कुरा ठीक लाग्दै गए । उत्सुकता बढ्दै गयो, तर फेरि सोचेँ- 'आज यसले पिएकी छ, जे पनि बोल्छे । तर हैन, पिएको मान्छेले जे पनि बोल्दैन सत्य पनि त बोल्छ । आफूभित्रका उकुसमुकुसहरु यस्तै बेलामा निर्वाध निकाल्छ, मान्छेले । 'अँ भन्दै जाऊ कोलिन..... 'मैले थपेँ । उसले भनि- ' पहिले अलिकति वाइन थप ।'
आज म उसैको घरमा छु । घरमा अरु कोही छैनन्, छुट्टी मनाउन सबै बाहिर गएका छन् । आज उ निर्धक्क कुरा गरिरेहेकी छे । त्यसैले आज उसले कुनै रेष्टुरेन्ट नगएर घरमै बस्ने निधो गरेकी हो, सायद ! रेष्टुरेन्टमा पनि थरीथरीका मान्छे । त्यसमाथि हाम्रो नेपाली समाज ! दुइ जन्तुमात्र सँगै देखे भने कुरा काट्छन् हामी त मान्छे भयौ । कहिल्यै राम्रोसँग कुरा गर्न पाइदैन । त्यसमाथि मेनुको समस्या, नेपाली रेष्टुरेन्ट पनि धेरै महँगा भै सके । सधैं गुनासो गर्थी, । तर पनि उसलाई नेपाली खानेकुरा असाध्यै मन पर्छ । महिनामा हामी एकदुइ पटक रेष्टुरेन्टमा बस्छौ तर धीत मारेर कहिल्यै कुरा गर्न पाएका थिएनौ ।
मैले उनको आदेश शिरोपर गर्दै वाइन थपेँ र भने अनि त्यसपछि मान्छे नि .........?
'अनि त्यही बोलेको, चलेको मान्छे जब तिमीसँग खेल्छ चलेभन्दा धेरै बढी परिचित हुन्छौ, तिमी त्यो मान्छेसँग !'
मैले आफूलाई सम्झे, उसलाई सम्झे । हामी क्रमश अघि बढिरहेछौ । हामी बोल्यौ, थोरै परिचित भयौ । हामी चल्यौ, बोलेभन्दा अलि बढी परिचित भयौ । हुँदाहुँदै हामी खैल्यौ, चलेभन्दा धेरै बढी परिचित भयौ ।  अब के त ? हामी साथी भएका छौ, नङ्मासु भएका छौ । मित्रता भनेको पनि त यही हो ! तर कोलिनको आशय के हो ? मभित्र खुल्दुलीको हुरी चल्न थाल्यो । के म उसँग परिचित छैन, अथवा उ मसँग अझै परिचित छैन ? मनमा उद्वेलित मेरो विचारहरुलाई पन्छाउँदै कोलिनका कुरालाई निरन्तरता दिनु नै सही ठाने ।
'कोलिन अनि त्यसपछि मान्छे ... ?' मेरा जिज्ञासापूर्ण आँखा फेरि उनका आँखामा ठोक्किए ।
वाइनको गिलास रित्याउँदै लामो शास तान्दै भनि- 'तिमीले बोलेको, तिमीले चलेको, तिमीले खेलेको त्यही मान्छे जब तिमी झेल्छौ, झेलेपछिमात्र मान्छेको पूर्ण परिचय पाउँछौ ! त्यो मान्छे, मान्छे हो कि होइन भनेर ? अनि कति फरक पाउँछौ बोलेको र झेलेको मान्छेमा - तिमी आफै अनुभूत गर्न सक्छौ, एउटै मान्छेभित्र कतिवटा मान्छे हुन्छे ?'
'काग !' अनायस मेरो मुखबाट निस्कियो, एकाएक उच्चारित भयो ।
'काग ! कागको प्रसङ्ग यहाँ किन ?' प्रश्न गरी उसले ।
'मैले काग संझिएँ। काग जस्तो मान्छे । तिम्रो दार्शनिक कुरा मैले बुझेँ । बोलेको, चलेको, खेलेको र यी सबै पछि झेलेको मान्छे काग हो, काग !'
'तिमीले मेरो कुरा बुझ्यौ तर ति म्रो कुरा मैले बुझिन' उसले भनी- 'काग र मान्छेमा फरक छ ।'
'हो, फरक छ तर उसको रुप, रङ्, छाला, बेहोरा, अनुहार, व्यवहार सबै कागको जस्तो छ   तिमीले भने जस्तो बोल्दा, भेट्दा, चल्दा, खेल्दासम्मको मान्छेलाई झेल्दा त्यसको पूर्ण परिचय कागको हुन्छ । अर्थात बोल्दा मान्छे जस्तो, भेट्दा बोलेको मान्छे भन्दा अलि फरक, खेल्दा भेटेको मान्छे भन्दा अझ फरक र चल्दा खेलेको मान्छे भन्दा झनै फरक र झेल्दा अर्थात बेहोर्दा मान्छेभन्दा पुरै फरक काग जस्तो !'
'तर त्यसलाई तिमीले कागकै उपमा किन दियौ ?' फेरी प्रश्न गरी ।
'धेरै मान्छेले मान्छेलाई गधा, कुकुर पनि भन्छन् तर मैले त्यो उच्च सम्मान उसलाई दिन सकिन ।'
उसको अनुहारमा चकित भाव उत्रियो 'किन, के भन्न खोजको तिमीले ? गालीमा गधा र कुकुर पनि सम्मानित शब्द हो ?'  यसै पनि वैशको नशाले नशालु बनेका अनि त्यसमाथि वाइनको नशाले झन मदहोसी र बेहोसी बनेका आफ्ना आँखा म तिर घुमाउँदै पुरक प्रश्न गरी कोलिनले ।
'तिमीले मान्छे धेरै पढ्यौ तर यी प्राणीलाई पढ्न सकेकी छैनौ, सायद । तिमी मान्छेको भित्रीतहसम्म पुग्न सक्छौ, मान्छेभित्रको मान्छे देख्न सक्छौ तर भित्र र बाहिर एकै रहेका यी प्राणीका निश्छल स्वाभावलाई किन अनुमान र अनुभूत गर्न सक्दैनौ ? यी त सतह हुन्, यिनमा गहिराइ छैन । सतहको अनुभव किन गर्न सक्दैनौ ? मान्छेमा कुकुरको जस्तो निष्ठा, नैतिकता र इमान्दारिता भै दिएको भए मान्छेलाई सायद मान्छे नभनेर कुकुर भनिथ्यो होला ! त्यसैले सायद तिमीहरु मान्छेभन्दा कुकुरलाई बढी माया गर्छौं ।'
उ खित्का छोडर हाँसी । म भन्दै गएँ- 'स्वामीप्रति सधैं इमान्दार भएर नै गुनीमा कुकुर, वैगुनीमा मान्छेलाई राखिएको हो । विष्टा खान्छ त के भो निष्ठा कहिल्यै खादैन कुकुरले । मान्छेले के खान बाँकी राखेको छ ? अनि गधाको जस्तो सहनशीलता र धैर्यता मान्छेमा भै दिएको भए सायद मान्छेको शत्रु मान्छे हुने थिएन । यो भन्दा बढी उपमाको आवश्यकता नहोला । त्यसैले मैले यी प्राणीको स्थानमा त्यो मान्छेलाई राख्न सकिन र काग भने । कालो बाहुन र गोरो शूद्र, यीदेखि डराउँछन् महारूद्र !' मैले बिट मार्न खोजेँ ।
हो, साच्चै हो तिमीले भनेको कुरा तर कागको अर्थ ? फेरि प्रश्न तेर्स्याइ मप्रति उसले ।
'कागको अर्थ कागको स्वभाव हो, स्वरुप हैन । मान्छे झूठो बोल्छ तर मुख खोल्दै र्सवथा झूठो बोल्नु उसको पहिलो गुण हो । मान्छे धेरै कुरामा आफ्नी स्वास्नीसँग इमान्दार हुन्छ तर सबै कुरा स्वास्नीलाई पनि सरासर ढाट्नु उसको दोस्रो गुण हो । सधैं चुक्ली, चाप्लुसी र छिर्के लाउनु तेस्रो गुण हो । नगरेको काम पनि गरें भन्नु, नदेखकेको कुरा पनि देखें भन्नु, नसुनेको कुरा पनि सुने भन्नु, नजानेको कुरा पनि जानेको छु भन्नु, नभएका कुरा कथुरेर भए जस्तै बनाउनु, अगाडि चिल्लो घसेर ठीक्क पार्नु पछाडि तथानाम् गाली गर्नु, यता हावा भर्नु उता फुस्काउनु, यता उचाल्नु, उता पछार्नु, अर्काको बद्ख्याइँ र बद्नामीमा नै दिन बिताउनु, अर्काको हानी र नोक्सानीमा नै गिदी खर्चिनु, अर्काको दुःखमा रमाउनु खुशीमा पीडित हुनु उसका गुणका श्रृंखला हुन् । आफैमात्र जान्नेसुन्ने, आफैमात्र बुझ्ने, आफैमात्र सबैथोक गर्ने, आफैमात्र सबै धान्ने अनि कागले जस्तो जहिले पनि आफ्नैमात्र नाउँ काड्ने, आफूलाई मात्र सधैं तीन त्रिलोकको जानकार ठान्ने उसको सदावहार कागीय गुण हो । कुरा लायो, कुरै खायो, कुरैले अघायो त्यसमाथि सधैंको झिँगा फूइँ ! यी महान् कुकार्यका लागि मैले उसलाई कागको उपाधी दिएँ ।'
खित्का छोडेर हास्दै उसले सही थपी- 'हो, पंक्षीमा चण्डाल काग, पशुमा चण्डाल स्याल ! यस्तो मान्छे त काग मात्र हैन स्याल पनि हो ।'
कोलिनलाई सम्पूर्ण कथा सुनाएँ । खसी काटेर पनि तिहुन भएन, छोरी दिएर पनि ज्वाइँ भएन भने जस्तो भयो । दुई साना लालबाला लिएर अमेरिका आएको, उसलाई लिन राती दशबजे एयरपोर्ट गएको, घरमा ल्याएर राखेको, काम खोजेको, डेराडण्डा, ओछ्याउनाबिछ्याउना, भाँडाकुडाँसम्म बस्दोबस्त गरेको ।
हुन न त काग बाठो भयो भने विष्टा खान्छ भन्छन् तर निष्ठा पनि खायो यो कागले । बाठो भएर बोस्टनबाट भर्जिनिया गयो । त्यहाँबाट फेरि बोस्टन आउने भयो ।
'तपाइँ बाहेक अरु मेरो को छ ? तपाइँ नआए म यी साना छोराछारी र यत्रो समान लिएर कसरी आउनु' विनित भावमा उसले भनेको अनि एक मित्रको कतर्व्य सम्झेर आफु बोस्टनबाट भर्जिनिया गएर उसलाई दश घण्टा ड्राइभ गरेर फेरि बोस्टन ल्याएकोसम्मको सम्पूर्ण रामकाहानी सुनाएँ ।
तर मेरो मित्रताको गुन उसले काग बनेर तिर्यो अझै तिरिरहेछ । थाह छैन कहिलेसम्म तिर्छ ? मेरो बद्ख्याइँमा उसले आफ्नो कागीय स्वभावलाई निरन्तरता दिइरहेको छ । आखिर गुनले गुन खान्छ, तँलाई म खान्छु नै भयो ।
'अर्थात जुन रुखको फल खायो त्यही रुखको जरा काट्यो, अर्थात जुन थालमा खायो त्यही थालमा विष्टा बिसायो !  तर तिमीले यो सबै उसका लागि किन गर्यौ ?' कोलिनले फेरी वाइन थपी र भनी- 'आज मलाइ मात्न मन लागेको छ । यसै पनि रेड वाइन महिलाहरुका लागि राम्रो ठानिन्छ । र त यसलाई महिलाहरुको पेय पनि भनिन्छ ।'
'तिमी जस्तै उ मेरो असल साथी बनेको थियो । घरदेश छोडेर यो दशदेश दूर परदेशमा बस्दा एउटा असल मित्र र सहयोगी चाहिन्छ भन्ने मलाई सधैं लागि रहेको थियो । गाउँठाउँको साथी नजिकै भए सरसहयोग हुन्छ भन्ने ठाने तर खाएको वरत्र दिएको परत्र नै भो ।'
मैले कुरा टुङ्ग्याउन नपाउँदै उसले भनि- 'तर शत्रु सधैं काखीमुनी बस्छ भन्ने सोचेनौ । हेर, कुनै पनि मान्छे साथी नभई शत्रु हुँदैन । मैले शुरुमै भने शत्रुको पहिलो रुप साथी हो भनेर । मान्छे-मान्छेबीचको सम्बन्ध कहीँ न कहीँ कुनै न कुनै रुपमा भै रहेको हुन्छ । नचाहेर पनि हुन्छ । नसोचेर पनि हुन्छ । नदेखेर पनि हुन्छ । आकाशलाई धरतीले र्स्पर्श गरेको छैन, तर सम्बन्ध कहीँ न कहीँ छ । क्षितिजमा दुबैको मिलन देखिन्छ । नभए नि देखिन्छ । यस्तै हो मान्छे-मान्छेबीचको सम्बन्ध ! नजिक रहेर पनि टाढा रहिन्छ र टाढा रहेर पनि कहिलेकाहीँ नजिक भइन्छ । चोरको शत्रु चन्द्रमा जस्तै असलको शत्रु जहिल्यै खराब हुन्छ ।'
कोलिनले कुरालाई निरन्तरता दिइ- शत्रु र मृत्यु सधै साथ हुन्छ । म भन्दा नजिकका तिम्रा साथी त ती हुन् । जसले तिमीलाई कहिल्यै छोड्दैनन् । म त तिमीलाई भोलि छोड्न सक्छु, तर साथीकै रुपमा ! काग बनेर शत्रुका रुपमा हैन  '
उसले फेरि वाइन थप्दै भनी- 'तिमीले भन्यौ नि, "तिमी जस्तै उ मेरो असल साथी बनेको थियो" भनेर, तर उ र ममा फरक छ । म काग हैन, कोइली हुँ' भन्दै सयवाटको बत्ती निभाई ।
अनि जीरोवाटको टेबुल ल्याम्प बाली र भनी- 'मैले अहिलेसम्म तिमीलाई पर्खे, अब पर्खन्न । त्यो जीरोवाटको अँध्यारोमा हामी हजारवाटमा बल्न थाल्यौ ।'

जनवरी ०६, २०११ बोस्टन, अमेरिका ।

1 comment:

  1. स्वागत योग्य छ

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !