Friday, January 28, 2011

अपवाद

शिव प्रकाश

कहिले काहीँ उ नआओस् भन्ने लाग्थ्यो । तर एकछिन मात्र ढिलो भई भने अहिलेसम्म किन आइन ? आज किन ढिलो गरी ? कि आज आउँदिन ? के भो ? आदि इत्यादी मनमा जाग्थ्यो । किनारामा परेको माछा जस्तो छट्पटिन्थ्यो एकै छिनमा, यो मन ।  
सोच्दा सोच्दै उ टुप्लुक्क आइपुगी, करीव पाँच मिनेट ढिलो । त्यो पाँच मिनेट मलाई पाँच घण्टा जस्तो लागिसेको थियो । करीव दुई वर्ष भै सकेको छ, उ नआएको कुनै दिन छैन । छुट्टिको दिनको हामीलाई अलिकति समस्या थियो । उसको छुट्टिको दिन म काममा हुन्थे तर पनि उ मेरो काममै आउँथी । अनि मेरो छुट्टिको दिन उ काममा हुन्थी तर म उसको काममा जान मिल्दैनथ्यो । त्यसैले उसले प्राय: मलाई साँझ घरमै बोलाउथी वा हामी कतै रेष्टुरेन्टमा जान्थ्यौ । मलाई रक्सी नभइ नहुने उ रक्सी छुदै नछुने ! यस कुरामा हामीमा ठुलो अन्तर थियो तर उ मेरो चाहनालाई सम्मान गर्थी म उसको इच्छालाई आदर गर्थे । सम्मान र आदर नै हामी बीच सम्झौताको सद्भावपूर्ण आधार थियो ।
आँउदा आउँदै उसले भनी- "सरी, प्रकाश म अलिकति ढिलो भएँ ।"  
मैले सोचेँ- 'मलाई जस्तो हुन्छ यसलाई पनि उस्तै हुँदो रैछ । आफू ढिलो भएको यसलाई पनि थाह रैछ । मेरो काम उसको कामबाट घर फर्कने बाटोमा पर्छ ।' दुई वर्षदेखि उसले यो बाटो बिराएकी छैन । सोधेँ- भन् कसरी ढिलो भयो त ?  
- कहिले काहीँ यस्तो हुन्छ जीवनमा ! जसरी तिमी ढिलो गरि भेट भयौ ।  
उसका उत्तरहरु सधै सटिक, व्यङ्ग्यात्मक र अर्थपूर्ण हुने गर्थे । मलाई थाह, छ उ नर्स हो । तर उसका धेरै कुराहरु किन फिलोसफिक हुन्छन् ? म यो प्रश्नको भूमरीभित्र सधैं रुमल्लिरहेको थिएँ । सोचेँ, आज म सोध्छु- 'क्यारोलिन, तिमीले नर्सिङ् पढेको हो कि फिलोसफी ?'
'आज एकाएक यो प्रश्न किन ?' भन्दै उसले उत्तर दिई- 'दुबै' !  
ओ के, मात्र भने मैले । उसले थपी- 'प्रकाश, मेरो जीवनलाई धेरै विषयवस्तु र वासनाले मोड्न, घुमाउन खोज्छन् तर म तिनलाई आफूतिर घुमाउन चाहन्छु । म तिनको ओरिपरी घुम्न चाहन्न । कहिले काहीँ म कन्फ्युज हुन्छु- म घुमेको हो कि ती घुमेका हुन् ? तर म फेरि विश्वस्त हुन्छु, म हैन ती घुमेका हुन् । यति हुदाँ हुदै पनि एउटा अपवाद मेरो अगाडि छ ।'
मैले उसका कुरा केही बुझ्न सकिन । एकहोरो सुनिरहे र भनेँ- 'बुझिन !' 
नजिकै आई र हग गर्दै भनि- 'सरी, आज मैले हग गर्न पनि बिर्सिएँ । यो अपवाद मभित्र अल्झिएदेखि केही न केही बिर्सन थालेको छु । म त्यसको ओरिपरी घुम्न थालेको जस्तो लागिरहेछ ।' एकै शासमा भनि उसले ।  
मैले फेरी भनेँ 'मैले केही बुझिन । मेरा लागि तिम्रा कुरा अन्धाले हात्ती छामे जस्तो भयो ।  के के ? कस्तो कस्तो ? कता कता ?'
'छोड यो सब कुरा, म सोमबार बताउँछु तिमीलाई । अनि सबै त्यसैदिन बुझ्छौ'- उसले टुङ्ग्याउन खोजी ।
"सोमबार ! किन सोमबार ? आज भरखर मंगलबार हुदैछ । एक हप्ता किन कुर्ने यति सानो कुराको लागि । यो एक हप्ता मेरो लागि एक वर्ष हुन सक्छ"- मैले कुरा सिध्याउनै नपाइ उसले थपि- "यो सानो कुरा हैन ।"
'के हो त त्यो त्यति ठूलो कुरा ?' मैले फेरी जिज्ञासा पोखेँ ।
'त्यो पनि म सोमबार नै बताउँछु ।' कुरा मोडी र भन्न थाली 'प्रकाश, म ठान्थे म कमजोर हुदैछु । तर तिमीलाई झन् कमजोर देख्दै छु ।'
'मैले फेरि कुरा बुझिनँ । क्यारोलिन आखिर तिमी भन्न के चाहन्छौ ? सोमबारको चक्रव्युहुमा मलाई किन फसाइरहेकी छौ ? के हो सोमबार तिम्रो जन्मदिन ? मेरो जन्मदिन ? किन सोमबार ? केका लागि सोमबार ?'
उसले फेरि त्यही भनि- 'यी सबै म सोमबार नै बताउँछु । '
'मलाई अहिल्यै तिमीले यति छट्पटी दिई सक्यौ । सोच त अब सोमबारसम्ममा यो कति थपिन्छ ? प्लिज किन सोमबार ?'
'ओ माइ डियर, र्य ! म तिमीलाई केही कुरा सिकाउँदै छु प्रकाश ।
'तिमी अब मलाई नर्सिंग वा फिलोसफी के सिकाउँछौ ? सायद त्यो पनि सोमबार नै होला हैन ?'
'हो त्यो पनि सोमबार !' खित्का छोडी ।
आखिर सोमबार के हो ? मेरा लागि उसका कुराहरु झन् झन् अस्पष्ट हुदै गए कुहिरोको काग जस्तो । जटिल हुदै गए अलमल गोत्र आमा एक बाउ सत्र जस्तो !
'सुन ! सधै झैं तिम्रो छुट्टी सोमबार हो हैन त ? यसपाली मैले पनि सोमबार छुट्टी लिएकी छु ।' मुसुक्क हाँस्दै भनि ।
मैले लामो शास फेर्दै भने- 'धन्य भगवान् ! धन्य क्यारोलिन ! यति सुन्न यत्रो छटपटी खप्नु पर्ने ।'
'सी यू' भन्दै हग गरेर विदा भई । रातको नौ बजिसकेको छ ।
बीचका दिनहरु सामान्य रुपले बिते । सधैं झैं क्यारोलिन मैले काम गर्ने डेडह्याममा आइरही । उ वेष्टरक्सबरीमा काम गर्छे नरउडमा बस्छे । दुई टाउनको बीचमा पर्छ डेडह्याम । सामान्यतया: साँझ सात बजे उ आइपुग्थी तर आइबार उ आइन । साढेसात भइसक्यो आइन । म हरेक पल स्टोरको सिसाबाट बाहिर चिहाउँछु उसलाई देख्दिन । हरेक दुई दुई मिनेटमा बाहिर निस्कन्छु, उसको गाडी कतै देख्दिन । मभित्र पीडाका पहाडहरु चुलिन थालेका छन् । छट्पटीका छाँगाहरु खस्न थालिसकेका छन् । किन आइन ? के भो ? भोली सोमबार ! उ आइन भने भोली के हुन्छ ? काममा मन छैन । वनको बाघले नखाए नि मनको बाघले निलिसकेको छ मलाई । खैरेनीहरुको विश्वास हुदैन भन्थे यस्तै रहेछ- सोच्दैछु, हेर्देछु, भित्रबाहिर गर्दैछु । तर आशाको झिनो त्यान्द्रो भने चुडिएको छैन । उ आउँछे भन्ने विश्वास कताकता मभित्र धिपधिप बाँचेको छ । सोचेँ- फोन गर्छु । फेरी सोचेँ- गर्दिन । गर्छु, गर्दिनमा एकछिन रुमलिएँ । आखिर उसले जे बहाना पनि बनाउन सक्छे । स्त्री र राजकुलको विश्वास नगर्नु भन्थे यही रहेछ | भो गर्दिन भन्दै चित्त बुझाएँ । मनमा शंका उपशंकाका अनेक भँगालाहरु फुट्न थाले । दश बजे पसल बन्द गरेर निस्कदा ढोकामा देखिई उ । म चुपचाप उसलाई हेरिरहें  
"मलाई थाह छ तिमी रिसाएका छौ । सरी प्रकाश, मैले तिमीलाई भन्न बिर्सिएँछु त्यतिका लागि मात्र आएकी । भोली सोमबार। !" भन्दाभन्दै अकस्मात  रोक्किई ।  
अझै म चुपचाप हेरिमात्र रहेको छु । मनमनै सोचेँ- यसको भोलीको अर्थ पक्कै म भोली भ्याउँदिन भन्ने हो । यो मसँग कुनै गेम खेल्न खोजिरहेकी छे । तर हैन, यसले मलाई धेरै कुरामा सहयोग गरेकी छे । यो भवसागरमा तैरन मलाई धेरै सिकाएकी छे, धेरै पटक मेरा हात समाएकी छे । तै पनि मुख फोरेँ- "मलाई थाहा , तिमी के भन्न खोजिरहेकी छौ | सरी म भोली नभ्याउने भए भन्न खोजेको हैन त ?"  
मन्द मुस्कान उदायो उसका ओठमा । आँखा मतिर एककोहोरिए । मलाइँ अँगालोमा बन्धक बनाई । सुन्तलाका केस्रा जस्ता चिल्ला र कोमल ओठका चुम्बनहरु मेरो खस्रो निधारमा बर्सन थाले । उसको बोली फुट्यो- "भोली सोमबार म तिमीलाई सबै बताउँछु ।"
"फेरी भोली सोमबार ! आखिर तिम्रो के साइनो छ त्यो भोलीको सोमबारसँग ?"  
"अरु म केही भन्दिन, भोली बिहान एघार बजे तयार भएर बस्नु म तिमीलाई लिन आउँछु । शुभरात्री" भन्दै हात हल्लाएर हिँडी । उसको गाडी हुइँकियो । म एक तमासले हेरिरहेँ । भोली भनेको सोमबार अथवा सोमबार भनेको भोली । एघार बजे, सोच्दै डेरातिर लागेँ । तर्कना, वितर्कना र तिर्सनाहरु स्वयं निदाउँदै-बिउँझिदैबिउँझिदै-निदाउँदै गर्दागर्दै रात वित्यो । रात आफै अनिदो जस्तै रह्यो, आफूलाई निद्रा पटक्कै परेन । उसले भोली भनी तर भोली कहाँ जाने होला ! कुनै क्यासिनो, कुनै होटल, कुनै नयाँ शहर, कुनै पार्क ? मभित्र खुल्दुलीका खहरे उर्लदै सुक्दै गरिरहे ।
टलक्क टल्किएको कालो गाडी मेरो सामुन्ने रोकियो । कालो सिसाले गर्दा भित्री भाग अँध्यारो जस्तो देखिने त्यो गाडीको सिसा बिस्तारै खुल्यो । मैले सोचेको थिइन यो गाडीमा क्यारोलिन छे भनेर । मुसुक्क मुस्कुराउँदै स्नेहको सांकेतिक भाषा ओठबाट चुम्बनको आवाज निकाली । "मैले आजसम्म तिम्रो यो गाडि देखेको थिइन नि" गाडीभित्र पस्दै मैले सोधेँ ।  
"म यो गाडी स्पेशल ओकेजनमा मात्र चलाउँछु । कस्तो लाग्यो यो गाडी, म जस्तै छ हैन ?"  
"हैन, छैन ।" मेरो छोटो जवाफ सँगै उसले आफ्ना आश्चर्यवोधक आँखाहरु मतिर घुमाउँदै सोधी - "किन ?"
किन कि तिमी गोरी छौ, यो गाडी कालो छ । अनि तिमी मान्छे हौ, यो पदार्थ हो । तिमी चेतना हौ, यो जड हो । तिमी आफै चल्छौ तर यसलाई चलाउनु पर्छ ।"  
"ओ, पूर्वीय दर्शन ! प्रकाशजब म तिमीलाई पढ्न थालेँ त्यसपछि म पूर्वीय दर्शन, हिन्दुज्म र वुद्धिज्मको बारेमा पनि पढ्न थालेँ । योगा पनि सिकेँ र अहिले पनि गरिरहेकी छु ।" उ भनिरहेकी छे । हाइडपार्क हुदै गाडी अघि बढिरहेको छ । उसको एक हात स्टेरिङ छ भने एक हातले मेरो हातलाई साथ दिएको छ । मैले सोधेँ- "क्यारोलिन, हामी कहाँ जादै छौ ?"  
उसको उत्तर थियो - "एक छिनमा थाहा हुन्छ ।"
हिजोसम्म सोमबार र आज एकछिन् पछि । अब म आफै कुहिरोमा हराएको काग जस्तो भएको छु । एक हप्ता अघिदेखीको सोमबार ! सबै कुरा अड्किएको सोमबारमा ! आज सोमबार हो तर के, कहाँ, किन ? मलाई केही थाहा छैन । हिजो सम्म उ भोली सोमबार भन्दै थिइ अहिले एक छिन् भन्न थालेकी छे । आखिर रहस्य के हो ? यसले मलाई कहाँ किन लैजादै छे ?   
"द्वन्दले तिमीहरुलाई कति नाजुक बनायो हगि ? तर हामी सधैं राम्रोप्रति आशावादी हुनु पर्छ । तिम्रो देशका धेरै मान्छे विदेश पलायन हुनुको कारण पनि द्वन्द हिँसाहत्या, आतंक अस्थिरता र व्याप्त भ्रष्टाचार रहेछ ।" मेरो देशको बारेमा बुझेका यथार्थ उ बताइरहेकी छे । उसले भनेका यी तीता सत्यहरुप्रति सहमतिको टाउको हल्लाउँदै आज जहाँ लान्छे त्यहाँ जाने भनेर पूर्णरुपले आफूलाई तयार गरिसकेको छु । गाडी अगाडि बढ्दा बढ्दै अचानक सिमेटरी तिर मोडियो । बोस्टन क्षेत्रकै सबैभन्दा ठूलो मानिने सिमेटरी ओरिपरी उसले गाडी एक फन्को घुमाई । मन एकाएक झसङ्ग भयो किन यहाँ भनेर ! लोग्ने मान्छलॆ आँटे वर्षदिन स्वास्नी मान्छे आँटे एकैछिन् भने जस्तो भयो ।
"क्यारोलिन, हामी यो चिहानको जंगलमा किन आएका ? हुन त तिमीले सायद उही उत्तर दिन्छौ एकछिन् पछि !" मेरो चकित भावप्रति उ खित्का छोडेर हाँसी । कस्सेर मेरा हात समाई र भनि -"तिमी मेरो मनको कुरा बुझ्न थाल्यौ ।"
अलि अग्लो ठाउँमा ठूलो रुखको छहारीमा गाडी रोकियो । उसले पहिरेको हल्का पहेंलो पारदर्शी सर्ट भित्रबाट धेरै कौतुहलताहरु चिहाइरहेको आभाष मलाई पटकपटक भइरहेको थियो । अनि टमक्क कस्सिएको मिडी गाडी चलाउँदा चलाउँदै घुँडाभन्दा अलि माथि सरेको थियो । त्यो मिडीको अवोध सराईले मेरा आँखालाई लोभ्याइरहेका थिए । उसले गाडीबाट कपडाको थैलो निकालेर फुक्न थाली । फुक्दा फुक्दै त्यसले म्याट्रेसको रुप लियो । अर्को सानो थैलो निकाली त्यसरी नै फुकी । त्यसले सिरानेको रुप लियो ।  
जूनको महिना । न जाडो न गर्मी । झपक्क हरियालीको यौवन ओढेका रुखहरु सबै वयस्क र मादक देखिन्छन् । विहानको एघार बजेको छ । मुर्दाहरुको वस्ती, त्यो निर्जन सिमेटरीमा दुई प्राणी क्यारोलिन र म मात्र छौं । शान्त छ, शितल छ, सुरम्य छ वातावरण । चराचुरुङ्गीका चिरचिर आवाज कताकति सुनिन्छ । करीव एक माइलसम्म त्यहाँ कुनै वस्ती छैन । उ म्याट्रेसमा पल्टदै लामो सास फेर्न थाली । तर मभित्र भने कताकता अलिकति त्रास अनि त्राससँगै अलिकति आतुरता र धेरै उत्सुकताहरु सल्बलाउन थालेका छन् । म उसका हरेक शाश्वत अभिनयहरुलाई चुपचाप साथ दिइरहेको छु ।  
प्रकाश, जीवनको अन्तिम सत्यलाई हामीले यहीँ समापन गर्नु छ । त्यसैले पहिलो सत्यलाई पनि म यही उद्घाटन गर्न चाहन्छु र विघटन पनि !" केही बेरको मौनता पछि उसले मुख खोली । मैले फेरी भने- "फेरी पनि मैले केही बुझिन ! के त्यो पहिलो सत्य ?" उसले फेरी पनि त्यही भनि एकछिन् पछि थाह हुन्छ ! म फेरी भमरीमा परेको माछा जस्तो भएँ । आखिर के हो त ? हिजोसम्म सोमबार, सोमबार । आज फेरी हरेक कुरामा एकछिन्, एकछिन् र एकछिन् खाली एकछिन् ! एकछिन् पछि के ? धेरै भइसके एकछिनहरु  
उ सामुन्ने आई र भनि- "म मेरो मानसपलटलाई खोतल्छु । मैले भनेको थिएँ नि एउटा अपवाद ! त्यो अपवाद तिमी नै हौ । मैले आजसम्म कुनै मान्छेलाई यति नजिको ठानेको थिइन । तर तिमी अपवाद भयौ । किन ठानें सुन- जुन दिन पहिलो पटक तिमी काम गर्ने पसलमा आएक थिएँ, कसैलाई तिमीले एउटा चिठ्ठा फिर्ता दिँदै त्यो मान्छेलाई भन्यौ- हिजो तिमीले यो चिठ्ठा यही बिर्सियौ लैजाउ भनेर । अर्को दिन त्यही मान्छे त्यही चिठ्ठामा दशहजार डलर जितें भन्दै तिमीसँग खुशी बाड्न आउँदा पनि म त्यही थिएँ । तेस्रो दिन त्यसले तिमीलाई चौधसय डलर टिप दिँदा पनि म त्यही थिएँ । आखिर त्यो तिम्रो इमान्दारीको फल थियो नि । तिमीले बेइमान गरेको भए त्यो सबै पैसा तिम्रै हुन्थ्यो । दश हजार डलर धेरै ठूलो मानिन्छ यहाँ । तर तिमीले त्यो गरेनौ । तिमीलाई मैले अपवादकै रुपमा लिएँ । राम्रो मन भएको एउटा राम्रो मान्छेलाई एउटा राम्रो मित्र बनाउन सकिन्छ भन्ने लाग्यो । त्यसपछि मेरो कामपछिको फुर्सदको समय तिमीसँग पसलमा गएर विताउन थालें ।"
म सुनिरहेको छु । मेरो आँखा मात्र बोलिरहेको थिएँ उसका आँखासँग । उ भनिरहेकी छे आफूले अनुभूत गरेका कुराहरु ।  
"अनि मैले तिमीलाई एक महिना अघि एउटा परीक्षा लिएकी थिएँ | त्यसमा पनि तिमी पास भयौ । म त्यसदिन निक्कै खुशी भएकी थिएँ । सायद तिमीले त्यो हेक्का राखेनौ । म रक्सी, वाईन, वियर केही पिउँदिन न त सिगरेट नै । तर तिमीलाई मैले घरमा रक्सी पिउन बोलाएँ । तिमीले निक्कै पियौ त्यसदिन । तिमी घर जान सकेनौ | मैले तिमीलाई घर छोडेर आएँ । यौवनका तिम्रा ती मादक आवाजहरु त्यस रात म कताकता सुनिरहेकी थिएँ । तिम्रो अनुहारमा झल्केका चाहनाका चित्रहरु म देखिरहेकी थिएँ । तर तिमीले सौम्यता र शालिनताको परिधानलाई च्यातेनौ । धेरै मान्छे रक्सी खाए पछि रक्सी जस्तै दूर्गन्धित हुन्छन् । मैले यहिंको एउटा केटालाई केही वर्ष अघि मन पराएको थिएँ । उसले डेटिङमा बोलायो । रेष्टुरेन्टमा लिएर गयो । बेस्सरी रक्सी पियो र मलाई पनि कर गर्यो । मैले पिउन मानिनं । अनि मलाई आज मेरै कोठामा सुत्न हिँड भनेर अति जोड गर्न थाल्यो । म त्यही रात उसँग ब्रेक गरेर हिँडे । त्यसपछि मसँगै र्सिङ पढ्नेसँग मेरो हलुका अफियर सुरु भएको थियो | तर उसमा मनको भन्दा शरीरको माया बढी झल्किन थाल्यो । उसको यौनतृष्णामा मैले जनावरको गन्ध पाएँ । मैले उसलाई मेरो शरीर सुम्पन सकिन । मैले आफूलाई जनावर जस्तो बनाउन चाहिँन । मभित्र उ प्रति विश्वास जागेन ।  हुन त अमेरिका सेक्स फ्री कन्ट्री भनेर चर्चित छ | तर त्यसको अर्थ त्यो होइन । यी धेरै कुराहरु नबुझेर नै यहाँ डिभोर्सको दर साठी प्रतिशत भन्दा बढी छ । यहाँ प्रेममा आत्मियता र सेक्समा सम्मान छैन । तर पूर्विय सभ्यता त्यो भन्दा फरक रहेछ । प्रेममा इमान्दारिता नै पूर्वीय सभ्यताको सँस्कार रहेछ । नैतिक मूल्य र मान्यताको जग बलियो रहेछ । म तिमीलाई पढ्न इन्टरनेटमा यी सबै पढिरहेकी थिएँ । नेपालीहरु गरीव भएर पनि धनी छन् । हामी धनी भएर पनि कंगाल छौ । मैले गुर्खा आर्मीका बारेमा पनि अध्ययन गरेँ । बहादुरी, इमान्दारिता र निश्छलता उनीहरुको विषेशता मानिदो रहेछ । हेर तिम्रा कारणले मैले कति धेरै कुरा जाने र जान्ने मौका पाएँ । अनि अरु बढी जान्ने उत्सुकता अझै मभित्र कति जागिरहेछ |" भन्दा भन्दै उसले व्यागबाट एक पाना कागज निकाली । त्यसमा लेखिएको थियो- 'मेरो पेटमा भएको बच्चाको पालन पोषण म आफै गर्ने छु र भविष्यमा तिमीले पनि दावी गर्न पाउने छैनौ | जवसम्म म तिमीलाई सुम्पन चाहन्न ।' वकिलले तयार गरेको यो पत्र पढेर म झन् विलखबन्दमा परे ! के हो यो रहस्य ? हातमा पत्र लिएर एकतमासले उसको अनुहार हेर्न थालेँ ।
"सायद तिमी त्यही भन्छौ 'मैले केही बुझिनहैन प्रकाश ?" उ बोली ।
"सायद तिमी पनि त्यही भन्छौ 'एकछिन पछि थाहा हुन्छ' हैन क्यारोलिन ?' मैले भनें । थोरै मलिनता र थोरै मुस्कान मिश्रित उसको अनुहारलाई मेरो मष्तिष्कले पढ्न खोजिरहेछ । तीन त्रिलोक, चौध भूवनको यात्राभन्दा कठिन भइरहेछ क्यारोलिनसँगको आजको यो छोटो यात्रा मलाई ।  
"तर हामीबीच कहिल्यै यस्तो भएको छैन । तिमीले कसरी मेरो नाउँमा वकिलको पत्र बनाएर ल्यायौ ? तिमीले भन्न र गर्न खोजेको के हो ? म अलि रिसाए जस्तो भएँ । मनमनै सोचें-स्त्रीको चरित्र र पुरुषको भाग्य दैवलाई नि थाह हुदैन भन्छन् कतै यस्तै त होइन !
"प्रकाश यहाँ मान्छे धेरै छन् । मलाई ती मान्छेजस्ता देखिने मान्छे हैन एउटा सगरमाथा  र एउटा बुद्ध चाहिएको छ । एउटा गुर्खा र पूर्वीय सभ्यताको एउटा विरुवा चाहिएको छ । सगरमाथा जस्तो उच्च भावना र वुद्धको जस्तो विशाल विचार अनि गुर्खा सैनिक जस्तो साहस र पूर्वीय सभ्यताको जस्तो पहिचान चाहिएको छ । आज म तिमीबाट त्यो धारण गर्न चाहन्छु । पूर्वीय सभ्यताका हिन्दु ग्रन्थमा पनि महादानको चर्चा गरिएको रहेछ । आज म त्यही महादानका लागि एक प्रार्थीपात्र भएको छु । सम्झ, मेरा लागि यो महादान हुने छ । धरतीको सुन्दरता भनेको हराभरा हो, बाँझो धरती कति नराम्रो हुन्छ ? म बाँझो धरती भएर बस्न चाहन्न । के मित्रताको चिनो सम्झेर तिमी मलाई महादान दिन सक्छौ ? तर बदलामा म तिमीलाई केही दिन सक्दिन । सायद मैले सपनाको कुरा विपनामा खोजेँ !"
म एकछिन् टोलाएँ । एक मनले परत्रको मृगतृष्णामा वरत्र विगार्नु ठीक हुदैन भन्ने लाग्यो तर लोग्ने मान्छेको मन र आगो छेउको मैनमा फरक नै के छ र ! अनि उसका तर्कहरू जायज पनि लागे ।
'तर यो खुला आकास मुनि ………
मेरो वाक्य पुरा नहुदै उसले भनि- 'मनमा भए वनमा पनि हुन्छ । अनि तिमीहरुले विवाहमा अग्नी साक्षी राखे जस्तै म यो उज्यालोलाई साक्षी राख्छु । ब्रमाण्डलाई देखाउँछु यो सत्य हो । तर यहाँ मान्छे कोही आउँदैन । हामी दुई मात्र हुने छौ बाँकी केही समय !'
मैले त्यति नजिकबाट त्यति श्वेत, त्यति स्निग्ध, त्यति कोमल र त्यति आकर्षक अंगहरु देखेको थिइन । लामो उच्छवास लिदै भनें- "क्यारोलिन, अरु केही बाँकी छ कि ? एकछिन पछि, अझै ! मेरो व्यङ्ग्यप्रति मुस्कुराउँदै जवाफ दिई- "सबै 'एकछिनहरुअब सकिए । धन्यवाद प्रकाश ! यही हो सत्यको उदघाटन र विघटन पनि । आजको अनुभव नै मेरो जीवनको पहिलो हो र अन्तिम पनि ! तर हामी सधै असल मित्र रहने छौं ! मैले तिमीलाई मेरो जीवनको अपवाद ठानें सायद तिमी पनि मलाई यस्तै ठान्छौ होला । तिम्रो पारिवारिक जीवनको म सधैं कामना गर्छु । अब जाऔ हिड" भन्दै गाडीको साँचो मेरो हातमा दिई ।  
सोधेँ- मलाई किन ?
'तिम्रो इमान्दारिताको फल । मैले पनि आज चिठ्ठा पारेँ । जुनीजुनीसम्मलाई पुग्ने चिठ्ठा ! जीवनलाई सिँगार्ने चिठ्ठा, त्यसैले !'
जनवरी २६, २०११।

3 comments:

  1. पढ्न सुरु गरे अन्त्य भएको पत्तै भएन असाधै मन पर्‍यो हार्दिक धन्यवाद ...

    ReplyDelete
  2. अपवादका लागि धन्यवाद सुमनजी । छोटो र सटिक प्रतिकृयाका लागि साधुवाद ।

    ReplyDelete
  3. कथा यस्तो होस् न जति पढो त्यति उत्सुकता ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !