Saturday, February 19, 2011

महाबुज्रुक !


शिव प्रकाश

महान् ठान्छ आफूलाई होच्याएर अरूलाई
महावाणी  मान्छ बोली कोच्याएर अरूलाई ।।

घमण्डको चुली चढी अग्लो देख्छ आफूलाई
भावनाको छाती टेक्छ, छ्याएर अरूलाई ।।

खुट्टा  सधैं   खोच्याउनु  लंगडाको  देशमा
हिडोस् भन्छ सग्ला खुट्टा खोच्याएर अरूलाई ।।

जुम्रा देख्छ  सधैं -सधै अरूका  ती आङमा
भैंसी बोकी हिड्छ साथी, कोट्याएर अरूलाई ।।

नुहेको वृक्ष  सधैं फलफूलले  भारी भई
फू ठूलो ठान्छ विद्वान् लोप्र्याएर अरूलाई ।।

ठूलो  बन्न  सजिलो छ  बनिहेर   असल
हुन्न लामो रेखा तिम्रो छोट्याएर अरूलाई ।।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !