Sunday, April 24, 2011

अस्मिता


शिव प्रकाश

जीवनको सरल रेखालाई समयले एकाएक बङ्ग्याइदियो ! आज म मेरा मनका भित्ताहरुलाई चिर्छु र उदाङ्गो बनाउँछु आफूलाई । एउटा वसन्त मरिसक्यो ! थाह छैन, अर्को आउँछ कि आउँदैन ? बरु अब मेरो जीवनमा कुनै वसन्तहरु नआउन् !
सोचेँ, सोचेँ, धेरै सोचेँ ! फेरि सोचेँआज म किन यसरी सोचिरहेकी छु, आवश्यकता भन्दा बाहिर ? आजको यो रात निद्राको रात भएन, छट्पटीको रात भयो । मेरा लागि कुनै रातहरु यस्ता भएका थिएनन् । कि यो रात आफै छट्पटाएको हो ? नत्र यसरी म कहिल्यै छट्पटाएकी थिइन ।
फेरि सोच्छुभोलि सबै कुरा भन्छु तर भोलि कहिले हुन्छ ? किन यो रात झन् झन् लम्बिदै छ ? मनोवादका भँगालामा किन रुमलिरहेकी छु, ? म छट्पटीको आहालमा डुब्दैछु । सायद छोरी हुनुको सजाय हो यो मलाई ? झन् झन् प्रशव बन्दै एउटा पीडापीण्ड मभित्र हुर्किरहेको छ तर यसको आयतनलाई अब फैलन दिन्न । भोलि सबै कुरा बाआमासँग भन्छु ! भन्छु ! भन्छु !! भन्छु !!! निस्कर्ष निकाल्छुमैले नभनी हुदैन ।
तर किन भन्नु ? कसले बुझ्छ मेरो कुरा ? फेरि कसले पत्याउँछ मेरो विवशता ? मलाई किन कोही चाहियो र कसैलाई यो सबै बताउनु ? के छैन मसँग ? केको कमी छ मलाई ? आई टिको डिग्री छ, जागिर छ,पैसा छ, सुख छ, सुविधा छ, अनि त्यसमाथि अमेरिकाको बसाइ । सबै छ । अरु के चाहियो ? तर पनि आज किन सबै भएर पनि केही नभए जस्तो लागिरहेको छ । किन आफूलाई नितान्त रित्तो, खाली र तन्नम जस्तो  भेटिरहेकी छु ? एक्लो पाएकी छु ।
जे होस् मभित्र जे छ,   ! म त्यसलाई मभित्रै राख्छु । तर नभनेर पनि कति गुम्स्याउने ? चिप्लेकिराका सिङ् जस्ता यी गुम्स्यावटहरु घरी बाहिर घरी भित्र गरिरहेछन् । अझै कति गुम्साउनु यी उकुसमुकहरुलाई ?
हरेक पटक ठान्छु, अर्को पटक भन्छु तर हेरक अर्को पटकहरु फेरि अर्कोपटकमा सरिरहेका छन् । जे होस् यसपटक म अवश्यै भन्छु । तर अरु त अरु बाआमाले पनि सायद मेरो विश्वास गर्नु हुन्नहोला ! उहाँहरु पनि यही समाजको परिवार हो । म उहाँहरुको नजरमा पनि सायद दोषी भै सकेकी छु ।
हो, मेरो कोही साथी छैन तर म आफै मेरो साथी हुँ । मलाई यहाँसम्म ल्याउन मैले नै मलाई सहयोग गरेकी हुँ । मलाई अरु कोही किन चाहियो ? आखिर मान्छे सबै वसन्त जस्तै हुन् । उ, उसका लागि बाँचेको छ तर मेरा लागि मरिसक्यो । त्यो चिसो मुर्दालाई अब म किन व्युँत्याउँछु ? अझ चिसिन दिन्छु ।
यो रात छिटो कटिदिए हुन्थ्यो । हरेक शनिबार जस्तै भोलि पनि बाआमाको फोन आउँछ । आज सात वर्ष भएछ म अमेरिका आएकी पनि । यी सात र्वषमा कयौ रातहरु विते तर कुनै रातहरु यस्ता लामा भएका थिएनन् । कुनै रातले मलाई यसरी चिढ्याएका थिएनन्, सताएका थिएनन्, अत्याएका थिएनन् ! विचलित बनाएका थिएनन् ! कामको बोझ पनि त्यतिकै छ, कहिलेकाहीँ खान पनि विर्सिन्छु । अमेरिकाको आर्थिक मन्दिले गर्दा जागिर जोगाउन पनि गाह्रो छ । यो गाह्रोलाई सजिलो बनाउन आवश्यकताभन्दा बढी काममा घोटिनु परेको छ । छट्पटी झन् बढेर आउँछ । ओल्टोकोल्टो फेर्दै निदाउँन खोज्छु, निद्रा लाग्दैन । आफैसँग आफ्नै बातैबातमा रात बित्दैछ ।  रातभर ओरिपरिका भित्ता र पर्खालहरु हेरेर थाकोका आँखा लठ्नि थालेका मात्र छन्, मस्तिष्कमा बाको फोनको आवाजको आभाष भइरहेछ । नभन्दै फोन आयो ।
हलो ! मिसु म बा बोलेको ! ल शुभकामना !
के को शुभकामना, बा ?
वसन्त आएकोमा !
अचानक स्तब्ध भएँ । बा बोलिरहनु भएको छ । म सुनिरहेकी छु । के भनुँ, नभनुँ जस्तो भो । बाले कसरी थाह पाउनु भो वसन्तको बारेमा ? कताकता अलिकति त्रास, अलिकति संकोच अनि अलिकति लज्जाको चुली भित्रभित्रै चुलिन थाल्यो । मनमा शंका उपशंकाहरु हुर्हुती बले पनि मुटु भने चिसो चुह्लो जस्तो भयो ।
बा, वसन्त त मरिसक्यो !
फेरि स्तव्ध भएँ, मेरो मुखबाट एकाएक खुस्कियो । आँखा चिम्लिएँ, टाउको हल्लाएँ । ओहो, मैले के भन्न पुगेछु ! यो त मेरो नितान्त निजी मामला हो, यो कुरा मैले बासँग किन खोले ! बाले के भन्नु भयो होला, के ठान्नु भयो होला भन्ने सोचे तर धन्य बाले बुझ्नु भएनछ ।
के भनेको, मैले कुरा बुझिन ! छोरी, तिम्रो जीवनको पच्चीऔं वसन्त । आज तिम्रो जन्मदिन । ल भाग्यमानी हुनु । हामी बाआमाको शुभार्शिवाद छ ।
म एकाएक छाँगाबाट खसे जस्ती भएँ । म भित्रभित्रै आफैभित्र अल्मलिएँ । लजाएँ, शर्माएँ, एकछिन टोलाएँ ! यसपली मैले मेरो जन्मदिन पनि विर्सिएँ । अब बाँकी के छ ? अनि त्यसै त्यसै झन थाके जस्ती भएँ । साहस बटुल्ने प्रयत्न गरेँ । एकछिन मौन बसेर सोचेँआज म भन्छु, धेरै भइसके मैले भन्छु भनेको । एउटा पीडाको पहाड मभित्र चुलिदै गइरहेको छ । यसलाई आज म भत्काउछु । चिर्छु, फुटाउछु, च्यात्छु अनि फ्याक्छु अर्थात ध्वस्त बनाउछु । बाआमाले पनि धेरै कर गरिसक्नु भयो । धेरै खोजीनीति गरेजस्तो लागेको छ । पक्कै बाआमाभित्र धेरै शंकाउपशंका गाँजिन थालेका छन् । मैले आज पनि भनिन भने मभित्रको आर्तनाद कसैले सुन्दैन । आज म चिच्याउँछु अनि सुनाउँछु ।
उहाँहरुले पनि धेरै पटक भनिसक्नु भएको छ, तिमीसँग एउटा कुरा सोध्नु छ तर बाआमाले पनि सधै टार्दै आउनु भएको छ मैले जस्तै । मैले जे भन्न खोजीरहेकी छु उहाँहरुले पनि सायद त्यही सोध्न खोज्नु भएको होला । उहाँहरुलाई सोध्ने अवसर दिनु भन्दा म आफैं किन नभनुँ ? मभित्र साहसको सानो अंकुरण टुसाउन थाल्छ तर बासँग यस्ता कुरा कसरी गर्नु ? जे भए पनि म त छोरी हुँ, छोरा भएको भए कुरा बेग्लै । फेरि मेरो त्यो साहसको सानो टुसो त्यसै भाँचिन्छ  । म असहाय बन्छु ।
बा, मेरो हाकिमको फोन आयो पछि कुरा गर्छु, सादय केही जरुरी भयो होला ।
मैले बहाना बनाएर फोन राखेँ । फेरि सोच्न थालेँआमालाई भन्छु तर आमासँग पनि यस्ता कुरा कसरी गर्ने ? हरेक छोराछोरीका लागि बा भन्दा आमा धेरै नजिकको साथी हुन्छ तर साथीसँग पनि कतिपय कुराहरु खोल्न सकिदैन । त्यसमाथि आमा ! उहाँले के सोच्नु होला !
ए भिनाजु ! एकाएक मस्तिष्कमा भिनाजु आउनु भो । भिनाजुले बुझ्नु हुन्छ यस्ता कुरा । उहाँ अमेरिका बसेको पनि दश वर्ष भो तर भिजानुलाई पनि कसरी भन्नु ! हैन, हैन, भिनाजु भन्दा पनि दिदीलाई भन्न सजिलो हुन्छ । अहो, जोना दिदी ! ह्युस्टनमा बसेकी दिदीलाई सबै कुरा बताएँ । अनि बल्ल हलुको भयो । पानी परेपछिको आकाश खुले जस्तो खुला र चंगा भयो मन । आफैसँग एकछिन् आफैं रमाए । अब मेरा मनका भित्ताहरु खाली भैसकेका छन् । मलाई हलुका महसुस भएको छ । धेरै गरुङ्गो बोझ बिसाएर लामो सुस्केरा हाल्दाको अनुभूति भयो ।
एकाएक बाको फोन आयो । झस्किए, सोचेँअब के भन्ने होला ! कसरी भन्ने होला ! तिमीले बाआमालाई यी सबै कुरा भन्नै पर्छ, उहाँहरुले यी कुरा थाह पाउनै पर्छ भन्ने जोना दिदीको सुझाव सम्झिए । फेरि साहस बटुले । मरो मन आफैसँगको सम्वादमा भए पनि कान फोनमा छ । बा बोलिरहनु भएको छ, सुनिरहेकी छु ।
छोरी मिसु, आज तिम्रो जन्मदिनको दिन मैले केही दिनु पर्ने हो तर म उल्टो तिमीसँग केही माग्छु । मलाई विश्वास छ तिमीले मेरो विश्वास तोड्दैनौ ।
मैले सोधेँके कुरा हो त्यस्तो बा ? बाले संक्षेपमा बताउनु भयो तर बाको मागलाई मैले सहजै स्विाकार्न सकिन । म विचार गर्छु मात्र भनेँ ।
बाआमाको खुसीका लागि मैले आफूलाई तोड्नु पर्छ । मैले आफूलाई बचाउँनका लागि बाआमालाई भत्काउनु पर्छ । या त लठ्ठी भाँचिन्छ, या त साप मर्छ । फेरि मनमा अनेकानेक कुराले घोच्न थाले । पीडा बल्झिन थाल्यो ।
लठ्ठी नभाँची साप मार्नु छ, तर कसरी ? अनि कसरी बताऊँ यो सबै बाआमालाई ? नबताए म उहाँहरुको नजरमा झन् ठूलो अपराधी ठानिन्छु । म उहाँहरुको नजरमा अपराधी घोषित हुन चाहन्न । हाम्रो समाजमा अझै पनि विवाहपूर्वको सम्बन्धलाई अपराध ठानिन्छ । हुन त यो अपराध पनि हो, यसले कति विकृति पनि ल्याएको छ । कति दुःखद दूर्धटनाहरु पनि घटाएकाको छ  । कतिको जीवन वरवाद पनि पारेको छ । कसरी बुझाउँ यो सब् ? म भित्र उर्लिएको साहसको भेल एकाएक बालुवामा पानी जस्तो भयो । क्षणभरमै म फेरि शक्तिहिन बने । मेरा नौनारी त्यसैत्यसै गलेर आए । वसन्तलाई सम्झिए, उसले भरखरै लेखेको इमेल सम्झिए, अनि अहिले बासँग मलाई माग्न आएको सम्झिदा झन्झन् घृणा लागेर आयो । के म कुनै बस्तु हुँ र मलाई माग्न उ मेरा बाआमासामू गयो ? हिजो मैले माया गरेरको मान्छे, आज उसले मप्रति माया देखाउँदा म भने घृणा गर्न थालेकी छु । आखिर यो सबै समयको खेल हो । हिजो म उसको नजरमा नराम्री थिएँ, काली थिएँ तर आज मेरो डिग्री, कमाई अनि अमेरिका बसाइले उसका आँखा फरक भए । दृष्टि परिवर्तन भयो र उ मलाई अप्सरा देख्न थालेको छ ।  हिजो म प्रेमको भोकी थिएँ, मेरो मनमन्दिरमा उसलाई साजाएर राखेकी थिएँ तर मेरो प्रेमपूजाको थालीमा उसले लत्यायो । आज उ भोकाएको छ, उसलाई प्रेमको भोक हैन, भोगको भोक जागेको छ । अमेरिकामा सेटल हुने सपना देख्न थालेको छ । त्यो सपना देख्दा देख्दै उ छटपटिएर, जलेर मर्ला बरू तर त्यो सपना पुरा हुदैन । त्यो मेरो लागि मरिसक्यो, चिसो मुर्दा भै सक्यो । हुन त उ धन्यवाद पात्र पनि छ । उसैले गर्दा आज म यहाँसम्म आएर आफूलाई उभ्याउन सफल भएँ । उसले मलाई नटुटाएको भए सायद म आफूलाई बनाउने थिइन होला !
सम्पूर्ण साहस बटुल्दै भनेबा, म केही भन्न चाहन्छु तर ........
तर, तर के ? भन ... के कुरा.... ?
सम्पूर्ण साहस बटुल्दा पनि बासँग कुरा गर्ने साहस भने ममा भएन र भनेइमेलमा लेख्छु ।
इमले लेख्न थालेँवसन्तको कुरा नगर्नु होला, उ तपाइँसामू मलाई माग्न मात्र हैन मर्न आए पनि म तयार हुन सक्दिन । हिजो म उसका लागि नराम्री थिएँ, आज कसरी राम्री भएँ ? उ लगनगाँठोमा बाँधिएर मेरो जीवनसाथीको रुपमा बस्न हैन, मेरो लोग्ने मात्र हुन चाहन्छ । त्यही लगनगाँठो समाएर अमेरिका आउने तिर्खाले रन्थनिएको काकाकुल हो उ । तिर्खाएर मर्ने छ । मर्न दिनुस् ।
उसका कुराहरुलाईँ थाँति राख्दै भन्छु मलाई किन कसैले माग्ने ? म दिनका लागि जन्मिएकी थिएँ भने जन्मिने वित्तिकै तपाइँहरुले कसैलाई दिएको भए हुन्थ्यो । तर अहिले मेरो जन्मदाता म आफैं भएकी छु, मेरो पुनर्जन्म मैले आफैंलाई गराएकी छु । क्षमा गर्नु होला, अब त्यो अधिकार म आफैंसँग मात्र सायद सुरक्षित छ । म तपाइँहरुलाई टुटाउन चाहन्न तर मेरो वाध्यता बनेको छ मेरो आत्मनिर्णय, आत्मसम्मान र स्वाभिमान ! अनि म आफूलाई भत्काउन पनि सक्दिन ।
हो तपाइँहरुले भन्नु भयो, मलाई हेर्न अरु पनि आउँदैछन् राम्रा घरानाबाट । मंसीरमा मेरो विहे गरिदिने  सोचाइमा तपाइहरु हुनुहुन्छ । ठीक छ म तयार छु । तर मलाई किन कसैले हेर्ने ? बदलामा मैले किन तिनलाई नहेर्ने ? पुरुषले नै नारीलाई किन हेर्ने, नारीले पुरुषलाई किन नहेर्ने ? के म लाटी, बहिरी, लंगडी, अन्धी छु भनेर हेर्ने ? भए पनि ती मान्छे जस्तै मान्छे हुँ म पनि । त्यसैले तिनका आँखाले मलाई देख्न सक्दैनन् । आँखा देख्ने तर मलाई नदेख्ने अन्धाहरुको भीडमा म आफूलाई देखाउन चाहन्न । अनि मान्छे हेर्ने कि घर हेर्ने, विचार हेर्ने कि अनुहार हेर्ने ? दुविधामा छु, म ! तपाइँहरुको सोचाइ पनि त्यही छ मेरो बारेमा, जुन अरुको छ । तपाईँहरु पनि त्यही मान्छेको जंगलभित्र हुनुहुन्छ । मान्छेले मान्छेको बारेमा जे पनि सोच्न थालेको छ, जे पनि बोल्न थालेको छ र जे पनि गर्न थालेको छ । म कुरालाई लम्ब्याउन चाहन्न । हुन्छ म आउँछु । तपाइँहरु जे भन्नु हुन्छ म त्यो गर्न तयार छु तर म जे भन्छु त्यो गर्न तपाइँहरु र त्यो समाज पनि तयार हुनु पर्छ । विवाह जीवनको पद्धति हो, म त्यो भन्दा बाहिर जान चाहन्न तर त्यो पद्धतिको कठघराभित्र आफूलाई बन्धक बनाउन पनि सक्दिन । बरु फड्को मार्न तयार हुन्छु ।
मलाई थाह छआखिर त्यही भनिरहेछन् सबैले घर छोडेर विदेश बसेकी तरुनी छोरी ..... त्यसमाथि अमेरिका ! अनि त्यहाँको फ्रिडम ! अनि त्यसका पछाडि एउटा ठूलो प्रश्न चिन्ह !  मलाई यो पनि थाह छत्यो प्रश्न चिन्ह मेरो जीवनको परिचय बनेको छ । तर फ्रिडमको अर्थ फ्रि हैन भन्ने कुरा कसैले बुझेका छैनन् । मोज, मस्ति, ब्वाइफ्रेन्ड, वियर, वाइन, ह्विस्की, क्लव, डान्स, बार, रेष्टुरेन्ट ! धेरै मान्छेको धारणा यस्तै छ अमेरिकाको बारेमा । हुन पनि त्यस्तै छ तर त्यस्तो मात्र पनि छैन । यो आफूमा भर पर्ने कुरा हो । अमेरिका गएको कुन मान्छे चोखो हुन्छ र ? प्रश्नमाथि प्रश्न र शंकामाथि शंकाको थाकले थिचिएको छ मान्छे । हो धरैले यस्तै जीवन पनि विताएका छन् तर ती सबैबाट अगल रहेर धेरैले आफूलाई नितान्त आफूमै सिमीत पनि राखेका छन् । तपाइँहरुको सोचाइ पनि यही छ, मेरो छोरी अब यो समाजमा बिक्दिन होला ! अरुले पनि यही सोचेका छन् यस्ती तरुनी त्यतिकै कसरी बसी होली ? आखिर तपाइँहरुले बारम्बर भन्न खोजेको कुरा पनि यही हो । जुन आज मैले नै भने ।
विश्वास नहुन सक्छ । मैले संसारलाई विश्वास दिलाउन जरुरत पनि छैन । हो, धेरै भए केटासाथीहरु तर मेरो कुनै ब्वाइफ्रेन्ड भएन, मैले अहिले सम्म वियर, वाइन, ह्क्सिी केही पिएको त हैन, छोएको पनि छैन । म कुनै बार, डान्स क्लब कतै गएको छैन । मैले मेरो मलाई मभित्रै जिउँदो राखेकी छु । मेरो अटल विश्वासभित्र मेरो कुमारित्व जिउँदो र जग्जगाउँदो छ । मेरो अखण्ड अस्मिता र अस्तित्व मेरो स्वाभिमान र अभिमान भएर मभित्र बसेका छन् । के म यी सबै कुरा संसारलाई सुनाएर आफुलाई विकाऊँ ? मलाइ बेचिनु छैन ।
दुःखका साथ भन्छुएउटा मानव आकृति मेरो मेडिकल परीक्षण पछि बिहे गर्न तयार भएको कुरा पनि आमाका मुखबाट केही अघि सुनेको थिएँ । त्यसलाई हुन्छ भनिदिनु म मेडिकल परीक्षणका लागि पनि तयार छु तर त्यसको मूल्य त्यो मानव आकृतिलाई कति महँगो पर्छ, उसलाई थाह छ कि छैन ? उसको पनि परीक्षण कतैबाट हुन्छ र हुन जरुरी छ भन्ने कुरा त्यसले बुझेको छ कि छैन ? त्यसले आफ्नो कुमारत्वलाई कतिपटक उघेलेको छ ? आत्म साक्षी राखेर भनोस् । रावणले सीताको परीक्षा किन लिने ?
यी कुराहरु समाजले पत्याउदैन । हाम्रो समाज भदौमा आँखा फुटेको गोरु जस्तो छ । तपाइँहरु पनि त्यही आँखा फुटेको समाजको सदस्य हो । यथार्थ यही हो । मभित्रको यो प्रशवपीडालाई आज मेरो आफ्नै साहसको बलले अलिकति भए पनि निकालेकी छु । मैले मर्यादा र अनुशासनको घेरा तोडेको नठान्दिनु होला । यो मेरो विवशता हो ।
मलाइ लोग्ने चाहिएको छैन । हो तपाइँहरुले लोग्ने दिन सक्नु हुन्छ तर मलाई लोग्ने हैन जीवनसाथी चाहिएको छ । म मेरो जीवनसाथी छान्न सक्षम छु जस्तो लागेको छ । यो मेरो आत्मनिर्णय हो ।
मेरा बारेमा तपाइँहरुभित्र गुम्सिएर बसेका सबै जिज्ञासाको एउटै उत्तर हो, मेरो आत्मनिर्णय । यसको सम्मान गर्न सक्नु हुन्छ भने म सबै कुराका लागि तयार छु । हैन भने म जहाँ छु, म त्यही हुने छु । मेरो आत्मनिर्णय, मेरो आत्मसम्मान र मेरो स्वाभिमान नै मेरो जीवन साथी हुनेछ । मेरो जीवन पद्धति हुनेछ । मेरो अस्तित्व सधैं जीवित हरने छ ।
बाको इमेल आयो, त्यसमा लेखिएको थियो–  मिसु, म तिम्रो आत्मसम्मानको सम्मान गर्छु ।

4 comments:

  1. नारी पात्र बनेर लेखको कथाको विषयवस्तु वास्तवमै गम्भीर र नयाँ छ । नारी मनोविज्ञान र एउटी सक्षम युवा नारीको साहस समाज परिवर्तनका लागि वास्तवामा सन्देश हुन सक्छ । राम्रो कथामा पर्छ यो कथा ।
    - सुनिता ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !