Tuesday, August 16, 2011

देशको परिभाषा

शिव प्रकाश
देश ,
सीमानामा मात्र हैन
भावनामा पनि हुन्छ
जसको मनमा दुःख्छ देश
उसकै मनमा रुन्छ ।
देशको परिभाषा
अब तिमीसँग मात्र छैन
तिमीले टेकेको
त्यो माटो मात्र देश हैन
देश छातीभित्र हुन्छ
खोजी हेर मुटु नेर
देश त्यही नेर भेटिन्छ ।
देश, देशमा मात्र हैन
देशावर पनि हुन्छ
देशान्तरमा पनि हुन्छ
दशदेश दूर यो परदेशमा पनि हुन्छ
जसको छातीभित्र देश हुन्छ
हो, उसकै मनमा देश रुन्छ ।
जसको मनमा देश रून्छ,
बसेको हुन्छ उही
आफ्ना दुःख-पीडा सबै लुकाई
एउटै मन्त्र सधैं जपी
जननी त्यो जन्मभूमि
स्वगादपि गरियसी !
हो, देशको परिभाषा
अब तिमीसँग मात्र छैन
तिमीले टेकेको माटो मात्र देश हैन ।

अगष्ट १६, २०११ बोस्टन, अमेरिका
(२०६८ कात्तिक १९ गते शनिवार, गोरखापत्र)

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !