Thursday, November 24, 2011

विनिर्माण

शिव प्रकाश

उसको अनुहारमा संकोचका धर्साहरु कोरिएको देखेँ । यद्यपि मुस्कानका पातला रेशाहरु त्यही अनुहारमा फहराएका थिए । मभित्र उत्सुकता उकालो चढिरहेको थियो तर उसले कताकता निरपेक्षताको पातलो बादलको पत्र ओढे जस्तो लाग्यो, झट्ट हेर्दा । हुन त त्यो धेरै बेर टिकेन । 
सोचेँ– “यो मेरो अनुमान मात्र हो, अनुभव हैन । हामी धेरै अनुमानकै भरमा सोच्छौं, बुझ्छौं र चल्छौं ।” 
आज चार वर्षपछि म उसलाई भेट्दैछु । जाडोले छोइसकेको काठमाण्डु चिसिदै गए पनि ऊप्रति उब्जिएको प्रेमले उसकै आङको न्यानो सरे जस्तो गरी मनलाई न्यानो बनाएको छ । एउटा वयस्क दिनमा स्फूर्तिसाथ म उसको घरमा पुगेको छु ।
हिजो साँझ फेसबुकमा एक्कासी ‘हेलो’ भन्ने बित्तिकै मेरो मनमस्तिष्कमा ऊ नाच्न थालेकी थिई – एक अविश्रान्त नर्तकी जस्तै । मैले सीधा प्रस्ताव राखेँ, “म तिमीलाई भेट्न चाहन्छु ।” 
“केमा ? स्काइप कि मेलमा, अर्थात तरङ्गमा !” 
“तरङ्ग हैन, यही धरतीमा, अहिले ।” लाग्यो– मेरो मात्र मनमा ऊ बसेकी छैन उसको मनमा पनि म सर्लक्कै बसेको छु । यसरी नै सधैं बसिरहन पाऊँ । मनको पुतली भएर सधैं सधैं ।
तर मेरो उत्तरसँगै मप्रतिको उसको भाव अलि अनुदार र संकुचित जस्तो लाग्यो । हुन त यो नारी स्वभाव र सुलभता पनि हुन सक्छ । कताकता मलाई पनि कुरामा गाँठो फुकाउन अप्ठेरो परे जस्तो भयो तर त्यो अप्ठारोलाई चिर्दै भनें– “अहिले त अलि अबेला भो, भोलि ..।”
“अबेला मतलब ?” ऊ झन् संकोचित र सशङ्कित भए जस्तो लाग्यो !
“मतलब रातको आठ बजिसकेको छ, भोलि कुनै बेला पनि म समय मिलाउन सक्छु ।”
“तिमी कहाँ हो अहिले ?” आश्चर्यको बतासले हल्का हल्लाए जस्तो लाग्यो ।
“घरमा !”
“घरमा मतलब ?” 
“सिनामंगलमा !”
“तिमी काडमाण्डुमा ?” मानौ, ऊभित्र एकाएक आश्चर्यको चैते हुरी चल्यो ! 
“हो, म काडमाण्डुमै । तर मैले सोचेको थिइन तिमीसँग यसरी कुरा हुन्छ भनेर ।” 
“इट इज सरप्राइज फर मी ! ल म घरमै हुन्छु भोलि दिनभर । दिउँसो जतिबेला आए पनि हुन्छ तर आउनुअघि एक कल दिनू ।” उसको मूड चेन्ज भयो– मैले चाहे जस्तै ! हुरी शान्त भए जस्तै शान्त भएँ म पनि । घरको ठेगाना र फोन नम्बर मागेँ, दिई । 
मलाई भोलिको औडाहले दौडाउन थाल्यो । उसलाई भेट्ने तिर्सना काकाकुल बनेर मभित्र फनफनी घुम्न थाल्यो । त्यो चिसो रात त्यसैत्यसै झन् चिसो र झन् लम्बिए जस्तो भयो । हरेक क्षण, हरेक पल तन्किदै गए जस्तो । निद्रासँग पारपाचुके भए जस्तो । ओल्टेकोल्टे फेर्दै रातसँग लडाइँ चल्न थाल्यो । कुनै साथी एकाएक शत्रु भए जस्तै त्यो रात पनि एकाएक मेरो शत्रुवत् रात भइदियो । त्योसँग निरन्तर हारिरहेँ म । प्रत्येक पल हारिरहेँ । मेरो पराजयका लागि अनिशा शिखण्डी बनेर रातभर मेरा आँखामा बसिरही । 
अँध्यारो शहरको बन्दकोठाभित्र अनिशासँगै लुम्लेका उकाली ओरालीमा मन ओहोरदोहोर गर्न थाल्यो । त्यही कोठाभित्रै म पोखरा र लुम्ले सबै घुमे । एक रात बिताएको लुम्लेको कविता गाउँले वर्षौ बिताएको ठाउँ जस्तो भएर मलाई डुलाउन थाल्यो । पोखरादेखि पुनः पोखरासम्मको यात्रालाई जीवनकै सबैभन्दा रमाइलो यात्रा बनाउँदै त्यो सेतो माइक्रोबसले मलाई फेरि दौडाउन थाल्यो । उतै पु¥यायो, उतै घुमायो । रातभर दौडाइरह्यो ।
अँ, पोखरामा ओर्लेर ऊ कता गई, थाह भएन । सोध्ने हिम्मत पनि भएन । मन त्यसैत्यसै अमिलो भएको थियो । त्यतिबेला उसको अनुहारको उदासीभित्र फक्रिएको त्यो मुस्कानको फूलरुपी उपहार मेरै लागि हो जस्तो लागेको थियो ।  मन चञ्चल बनाउने त्यो मुस्कानको झझल्को आइरह्यो । 
आहा, ती उकाली ओराली ! हिड्दा जानेर–नजानेर अनि जानीजानी वा नजाने जस्तो गरी स्पर्शित हुन्थे अङ्गहरु ।  हलुका स्पर्शका ती झड्काहरु रातभर नै मनमा तरंगित भइरहे । कताकता रमाइलो पनि लाग्यो । यो कस्तो तिर्सना ? प्रेमका रुप र परिभाषा पनि अनेक छन् । यो कस्तो प्रेम ? चार वर्ष भइसकेको छ तर न सधैं अनिशालाई सम्झिरहेको छु न त कहिल्यै बिर्सनै सकेको छु – आफैसँग बातैबातमा रात बिताएँ । फेवातालमा दिशाहीन तैरिएको डुङ्गा जस्तै मेरा आँखामा ऊ रातभर तैरिरही । लाग्यो– उनका नयनतालमा पनि म यसरी नै सधैं तैरीरहूँ । आफैलाई सोधेँ– अनिशालाई पनि मलाई जस्तै भएको होला त ?  
+
पाइला अघि बढे । माइतीघरदेखि नखीपटसम्मको माइक्रोबसको ठेलमठेल यात्रा । उफ ! कति सकस ? कति उकुसमुकुस र दिग्दारलाग्दो ? त्यसमाथि उरन्ठेउलो ड्राइभरको भन्जाहा हकाइ । अन्तिम सीटमा बसेको म, माथि सिलिंगमा ठोकाएर ठूलै टुटुल्को उठ्ने गरी उफारेको थियो त्यो ३२२२ नम्बरको माइक्रोबसले ! टुटुल्को देखाउँदै निक्कै रिसाए तर केही अर्थ भएन । 
“यस्तो नाथे त भइरहन्छ । यहाँ मान्छे दिनदहाडै मर्दा त केही हुदैन । अपराधी आफ्नै आँखासामु हुँदा त कसैले केही गर्न सक्तैन । एउटा नाथे टुटुल्को !” उल्टो मलाई मुर्ख बनायो त्यो ड्राइभरले । सोचे– कति सस्तो मान्छेको जिन्दगी ? सम्पूर्ण सास्ती भोग्ने त हाम्रो नियति नै भएको छ । मैले मेरो आक्रान्त मनको पीडालाई त्यसरी नै दबाएँ, जसरी नेपाली जनताले सधैं दबाइरहेका छन् ।
त्यो बीच उसका केही कलहरु मैले मिस गरिसकेको रहेछु । माइक्रोबाट ओर्लिएर फोन गरे । एक घण्टीमै फोन उठ्यो । लाग्यो– मेरै फोनको प्रतीक्षामा थिई । 
“हलो, म आइपुगेँ ।” 
जे सोचेको थिएँ त्योभन्दा फरक थियो घरको परिवेश । सेती गण्डकी जस्तै भित्रभित्रै लुकीलुकी बग्न चाहेका थिए  मेरा अनन्त इच्छा तर फेवाताल जस्तै टिलपिल टिलपिल आफैंभित्र जमेर बस्ने भए । केही मान्छेहरु भित्री कोठाको भित्तामा रंग पोत्दै थिएँ । मलाई मन पर्ने हलुका गुलावी रंग थियो त्यो । मनमनै भने– अनिशाको मनका सबै कोठामा यस्तै गुलावी रंग भएर यसरी नै पोतिएर सधैं बस्न पाए हुन्थ्यो । 
“पानी पिऊँ है”, प्रेममय मुस्ताङे थकाली आतिथ्यले सुवासित आवाजको उत्तरमा मैले ‘हुन्छ’ भनें तर मनमनै “प्रेमको प्यास पानीले मेटाउँदैन” भन्दै पानी पिइदिएँ । 
जीवनका विविध पक्षमा कुराकानी हुन थाल्यो । अनिशाले केही दिन पहिले फेसबुकको च्याटमा आफ्नो जीवनयात्रामा पहिरो गएको रहस्य खोल्न चाहेकी थिई तर मैले त्यो कुरालाई मोडेर अरु नै प्रसङ्गमा कुरा टुङ्ग्याएको थिएँ, यो कुरा भेटेरै गरौला भनेर । आज मैले त्यही जिज्ञासा कोट्याएँ । उनले आफ्नो जीवनमा आएका नाटकीय दृश्यहरु शब्दमा एकएक गरेर खोल्दै–ओकल्दै मलाई देखाउन थाली ।  मूर्तिवत् म एकतमासले बसिरहेको छु । सुनिरहेको छु । हेरिरहेको छु । बेलाबेलामा म उनको अनुहारमा हेर्छु, धमिलो कालीगण्डकी बगिरहेको छ । पढेलेखेकी एक सुशील र भद्र यौवना अनि एक लेखिका– मुस्ताङकी परी अनिशा ! उनको जीवन र व्यक्तित्वको महत्व त्यही कालीगण्डकीको शालिग्राम जस्तो देख्छु । चिन्नेका लागि शालिग्राम नत्र केवल एउटा कालो ढुंगो ।  
“मलाई लोग्नेमान्छेप्रति केवल घृणा छ ।” आफ्ना विदारक व्यथाहरु सुनाउदै छे । उसको कथाले मलाई भित्रभित्रै बेस्कन हुँडलिरहेको छ । मेरा संवेदनालाई चसक्कचसक्क घोचिरहेको छ । लाग्यो– उसको जीवनयात्राले बादरजुङ् भीरको डरलाग्दो यात्रानियति भोगिसकेको छ ।
धेरै सुनिसकेपछि मैले भने– “अनिशा, त्यो लोग्नेमान्छेलाई के थाह प्रेम भनेको ओछ्यानको भेट र सुन्दरता भनेको अनुहारमा पोतिएको लेपन मात्र हैन भनेर ।” उ मुसुक्क मुस्कुराई । अहिले उसको अनुहार ढकमक्क गुराँस फुलेको लुम्लेको पाखो जस्तो भयो । उज्ज्वल– कान्तिमय ! म एकछिन् फेरि त्यहाँ हराएँ ।
“मैले उभित्र आफूलाई धेरै खोजेँ तर भेट्टाउन सकिन । त्यसैले म केवल आफूमात्र छु अहिले । ऊ कुनै दिन मेरो लोग्नेको अर्थ राख्ने एउटा लोग्नेमान्छे थियो । मलाई लोग्नेमान्छे मात्र हैन, लोग्ने पनि चाहिएको थियो ।” उनको अनुहार बेलाबेलामा मुस्ताङका  रुखा र उराठलाग्दा फाँट जस्तो देखिन्थ्यो – एकतमासको टीठलाग्दो । 
सोचेँ– यो कस्तो बाध्यता हो जीवनको ? जीवनदेखि आजित भएर फेरि जीवनकै लागि बाँच्नुपर्ने !
“अनिशा, अब तिमीले आफूलाई ऊभित्र हैन, आफैभित्र खोज । हामी मान्छेमा एउटा ठूलो कमजोरी छ– मान्छे संसार खोज्छ तर आफूलाई खोज्दैन । संसार भेटाउँछ तर आफूलाई भेटाउँदैन । र त मान्छे आफैसँग अपरिचित छ । अनिशा– तिमी अन्तिम प्रश्न आफैंसँग गर, अन्तिम समयसम्म आफूले आफैंलाई खोज । खोज, अनिशा खोज । तिमीले आफूलाई भेट्टाउँछौ, र हरेक प्रश्नको उत्तर पनि आफैबाट पाउँछौ । हो अनिशा, आफूले आफूलाई नै निर्माण गर्ने हो अर्थात विनिर्माण ।” 
“अँ तिमीले मेरो नयाँ उपन्यासको पाण्डुलिपि पढ्ने भनेका थियौ नि । तल कोठामा जाऊँ है ।” प्रसङ्ग एकाएक बदलिायो ।
वयस्क दिन ढल्दैछ । सन्ध्याको घुम्टोभित्र लुक्न खोज्दैछ दिन । हलुका चिसो बढ्न थालेको छ । यो समय आज जहीँको तहीँ टक्क रोकिए कस्तो हुने थियो ? तर समयलाई रोक्ने तागत न अनिशासँग थियो न मसँग । मनमनै गुन्दै म उनको पछि लागेँ । 
असरल्ल कोठा । अर्को कोठामा रङ्ग पोतिरहेका छन् अझै केही मान्छे । हामी दुबै पलङ्को छेउमा बस्यौ । कोठामा छिरेपछि म एकछिन् स्वप्नबगैंचामा डुलेँ– यो कोठामा निक्कैबेर समय बिताउन पाए हुन्थ्यो तर अफसोच... !
“कफी पिऊँ है !” फेरि अर्को सौम्यसुवासित आतिथ्यको अफर आयो । मैले चुपचाप सहमतिको टाउको हल्लाएँ । “अँ यो उपन्यासको पाण्डुलिपि पढ्न सुरु गर्नुभन्दा पहिला एक छिन् कुरा गरौं है ।” मैले हुन्छ मात्र भने । विविध विषयमा कुरा हुन थाल्यो – प्रेम, विवाह, सेक्स, साहित्य आदि । 
“तिमी कथा लेख्छौ तर कथामा के हुनुपर्छ जस्तो लाग्छ ?” अरु विविध विषय र प्रसंगमा उनका धेरै प्रश्न र जिज्ञासाहरु कहिलेकाहीँ बालसुलभ जस्ता हुन्थे तर यो एउटा प्रौढ र कठिन प्रश्न थियो मेरा लागि । 
मलाई लाग्छ– “जीवनलाई डो¥याउने कथानक तत्व नै कथा हो । कथा, मानव मस्तिष्कको सारथि हुनु पर्छ । कथामा श्रृंगार भन्दा विचार र सज्जा भन्दा सन्देश हुनुपर्छ जस्तो पनि लाग्छ । सोच त अनिशा, श्रृंगारले भुलाउँछ मात्र तर विचारले डो¥याउँछ । कथाले मानव मस्तिष्कलाई डो¥याएको हुनुपर्छ भुलाएको हैन । श्रृंगार जहिले पनि अनुहारमा हुन्छ तर विचार मस्तिष्कमा हुन्छ र मनले मनन गर्छ । माकुराका जालमा झिँगा अल्झिए जस्तो अनुहारमा आँखा अल्झिन सक्छन् । त्यो अल्झाइ एकछिन्, केही छिन् वा केही दिनका लागि हुन सक्छ तर जीवनलाई डो¥याउने त मन र मस्तिष्क नै हो । जहाँ विचारको बास हुन्छ ।” 
ऊ एकनासले मेरो अनुहार हेरिरहेकी छे ।
कोठामा कफी आइपुग्यो । हामी दुई गफमा भुलेका छौं । “अब उपन्यासको पाण्डुलिपि पढौं है ।” अनिशाले ल्यापटप अन गरी ।
म उपन्यास पढ्न थाले, अनिशा सँंगै बसेर सुन्न थाली । विस्तारै हाम्रा कुम नजिकिदैं गए । हलुका स्पर्श गर्दै बेलाबेलामा साउती मारे जस्तो गर्न थाले । मन स्पन्दित हुन थाल्यो । तरंगका मसिना छाल सुस्तरी मनको गहिरो तलाउमा फैलदै गए । पढ्दापढ्दै अक्मकिन थाले म । 
“तिमीले लेखेको यो उपन्यास तिमी नै पढ । तिमी सजिलोसँग पढ्न सक्छ्यौ ।”
ऊ उपन्यास पढ्न थाली । पहिलो भागको एकचौथाईमा पुगेर सोधी– “केही बुझ्या,ै केही पात्रहरु ठम्यायौ ?” 
“अहँ, बुझिन ।” 
मेरो मन एउटा गहिरो मौनतातिर डुब्न थालिसकेको थियो । 
अर्को प्याराग्राफ पढी र फेरि सोधी– “केही बुझ्यौ ?” 
“अहँ, बुझिन !” 
आधामा पुरेर सोधी, मैले फेरि पनि केही बुझिन भने । 
ऊ बुझ्यौ भनेर सोधिरहेकी छ, म छैन भनेर उत्तर दिइरहेको छु । ऊ हरेक प्याराग्राफपछि सोध्छे, म हरेक सोधाइपछि बुझिन नै भन्छु । 
पहिलो भाग पूरै सिध्याई र सोधी– “अब त केही बुझ्यौ ?” 
“अहँ, केही बुझिन !” 
हामी एकछिन उपन्यासबाट बाहिरिएर लुम्लेतिर पुग्यौं । स्मरणका ती आला पत्रहरु कोट्याउँदै मैले लुम्लेको त्यो साँझको कुरा गरेँ । कफीको चुस्की लिदै घासाको सल्लाघारी सुस्ताए जस्तो स्वरमा भनी “मैले त्यतिबेला सायद तिम्रो सहरा खोजेकी थिएँ ।” 
म एकछिन् अवाक भएँ । त्यो क्षण.... ! सायद फेरि आउँदैन ।
बेलाबेला बुढीआमा भित्र पस्छिन् र उभिन्छिन् । मलाई भने यहाँ कोही नआइदिए हुन्थ्यो जस्तो लागेको छ । उसलाई पनि त्यस्तै लागेको हुनुपर्छ । ऊ पनि सायद हामीबीचको दूरी फेरि एकपटक हटाउन चाहन्थी । जुनकीरीको बत्ती जस्तो संकेतका ती झलक बेलाबेला आइरहन्थे ।
“अब म अन्तिम भाग पढ्छु है, तिमीले केही बुझ्छौ कि ?” 
अन्तिम भाग हैन, पूरै पढिदिए हुन्थ्यो जस्तो भइरहेछ मलाई । पढ्न थाली । हरेक प्याराग्राफपछि पहिलेकै जस्तो उसको सोधाइ छ– ‘बुझ्यौ’ र मेरो जवाफ छ– ‘अहँ बुझिन ।’  
सायद उसले ठानी – यो बुद्दू रहेछ यसले के साहित्य सिर्जना गर्छ, कसरी कथा लेख्छ ? 
अनिशा निरन्तर पढिरहेकी छ । म सुनिरहेको छु । निक्कै लामो छ अन्तिम भाग । मलाई लागिरहेछ, अझै लम्बियोस् ।
मैले पढ्दा उसका औंला किबोर्डको कर्सर सार्नेमा हुन्थे अनि उसले पढ्दा मेरा । कर्सर चलाउँदा पालो गरिगरी हाम्रा औला लुम्लेमा जस्तै जानी नजानी नजिकिन्थे । बेलाबेलामा चिसो र तातोको अनुभव एकै पटक भए जस्तो हुन्थ्यो मलाई । मतिर ढल्किएकी अनिशाको कुम केही संकेत गरिरहेझैं मलाई छुँदै, पन्छिदै गरिरहेको थियो । साँच्चै जीवनले फेरि सहारा र साथ खोजेको हो भन्ने लागिरहेको थियो । कुम र औंलाले मनको भित्रीतहसम्म स्पर्श गरिरहेका थिए । म अनिशासँग अहिले उसको त्यो बन्दकोठाभित्र फेरि लुम्ले र पोखरा घुम्दैछु । कविता गाउँमा उसको ‘घुम्रिएको केश’ कविता सुन्दा छामेको आफ्नो केश फेरि छाम्दैछु । उसको उपन्यास कसरी बुझ्नु मैले ?
फेरि सोधी– “केही बुझ्यौ ?” मेरो उत्तर उही छ– “अहँ, बुझिन !” 
मनमनै लागेको छ –उसले अझै पढोस्,  अझै बुझाउन खोजोस् । उसलाई थाह छैन, मैले किन बुझिन भनेर !
लगभग जोडिन लागेका हाम्रा गाला बेलाबेलामा लक्ष्मणरेखा पार गर्न खोज्थे । उसको अनुहारमा लालुपातेको रंग चढ्दै गरेको आभाष भइरहेको थियो मलाई । लहलह फक्रिएको उसको केशराशिबाट मतिर लौसिएका रेशाहरू मेरा परेलीमा ठोक्किदै, नाक र गालालाई सुम्सुम्याउँदै थिएँ । म बेलाबेला आँखा चिम्लिन्थे, ध्यानमग्न भएर सुने जस्तो गरेर बसेको छु । केशका ती मुलायम रेशाले मलाई असीम अनुभूतिमा डुवाइरहेका छन् । म आफैंले आफूलाई स्वप्नवागमा डुलाइरहेको छु । स्पर्शसुखको अनुभूति भइरहेको छ । अनिशा पढिरहेकी छ ।  मलाई बुझाउन खोज्छे तर मेरो मनको बुझाइ उसले बुझेकी छैन । 
रंग पोत्नेहरु सायद बिदा भैसकेका छन् । बुढीआमा पनि कतै गइसकिन् । उपन्यासको अन्तिम भाग पनि सकिइसकेको छ । त्यहाँ चकमन्नता मात्र छ । त्यो चकमन्नताभित्र दुई चञ्चल मन ! ऐनामा जस्तै म उनको अनुहारमा स्नेह र ममत्व देखिरहेको छु !
+
“आखिर हामी मित्र मात्र हौ नि, प्रेमीपे्रमिका त होइनौं नि...... ?” उसको प्रश्नले यथार्थताको उद्घाटन गरिदिएको छ । 
“तर प्रेमको सुरुवात पनि मित्रताबाटै हुन्छ नि, हैन र ! फूल फुल्न कोपिला हुनै पर्छ । प्रेमको कोपिला नै मित्रता हैन र ? अनिशा, केही फूलहरु कोपिलाभित्र धेरै दिन बाँधिन्छन् भने केही फूलहरु छिट्टै फक्रिन्छन् । अनि प्रेमको आकार र आधार पनि मित्रताभित्रै बनेको हुन्छ, जसरी कोपिलाभित्र फूलको बन्छ । आखिर मित्रतामा असम्भव नै के छ र..... ?” 
यही सम्भव र असम्भवबीच केही मित्रको फोनको कर्कस आवाजले मलाई त्यहाँबाट छिटो हिड् भन्ने संकेत गरिरहेको छ ।
“अनिशा म जानु पर्छ अब ,” हामी फेरि छतमा गयौं । सुस्ताएको घामले पहाडको कुनाबाट चिहाउन थालिसकेको छ । इँट–ढुंगाको शहरले गोधूली छेके पनि सन्ध्याले लाली ओढेर आकाशलाई रंगाइसकेकोे छ । अनिशा एकहोरो त्यतै नियाल्दै छ, सायद उसले त्यहाँ जीवनको रंग देखिरहेकी छ ! अनिशालाई अँगालोभरि कसूँ जस्तो लाग्छ । दिन ढलिसकेको छ, कसैले केही देख्दैन तर आकाशका आँखा खुल्लै थिए ।
फोनको घण्टी निरन्तर बज्न थाल्यो, मैले बिदा मागेँ । गुँरास फुले जस्तो उसको अनुहारको रङ्ग बदलिएर सालको सुकेको पात जस्तो भयो, फुस्रो । उसकामा मेरा र मेरामा उसका आँखा निक्कैबेर गतिहीन भएर अडिएँ । भावुकता उसका आँखामा बढी थियो कि !
अनिशा एक्कासी मुस्कुराई– “हो, तिम्रो भनाइ ठीक हो । मित्रतामा असम्भव नै के छ र....? अब म आफूलाई पुनः निर्माण गर्छु । विनिर्माण गर्छु । आजदेखि म एक्लो छैन, मेरो सबैभन्दा पहिलो, बलियो, विश्वासिलो र असल साथी म नै भएको छु । त्यसपछि तिमी पनि त छौ नि ।”
म सोच्छु– जीवनसाथी हुन नसके पनि जीवनभरको साथी पक्कै हुन सक्छु तर मप्रतिको उनको बुझाइ ....अझै थाह छैन ! उसैलाई थाह होला ! हुन सक्छ उनको एकाङ्गी जीवन जस्तै यो मेरो एकाङ्गी विचार हो ।
उसलाई भेटेपछि दुख्न छोडेको टुटुल्को छुट्टिएपछि फेरि दुःख्न थाल्यो । माइक्रोबस चढने ठाउँमा गएँ, जहाँ म ओर्लेको थिएँ । उही पहिलेकै ३२२२ नम्बरको माइक्रोबस । उही पहिलेकै सबैभन्दा पछिल्लो सीट । विधाताले मलाई आज पनि त्यस्तै ग¥यो जस्तो प्रायः सधैं गथ्र्यो । 
+
साँझ झमक्क भइसकेको छ । मित्रहरु बानेश्वरको एउटा रेष्टुरेण्टमा पर्खिरहेका थिए । हस्याङ्फस्याङ गर्दै पुगेँ । 
“ए, जैमली कहाँ हराएको यत्रोबेर ?” बलै कविले सोध्यो । 
“विनिर्माणमा !”
“अनि के गरियो त ?” गेडी सम्राटले सोध्यो ।
मुस्कुराउँदै जवाफ दिएँ– “विनिर्माण !”
हाँस्दै दुबैले एकै स्वरमा सोधे– “के हो त्यो भनेको ?” 
मैले पनि हाँस्दै भने– “विनिर्माण भनेको विनिर्माण !”
उनीहरु जोडले हाँसे । निक्कैबेर हाँसे र दुबैले फेरि “ल, विनिर्माण !” भन्दै गिलास ट्वाङ्ग जुधाए । 
ठूल्ठूला प्रश्नसूचक चिन्ह कोरिएका तिनका आँखा मैतिर एकोरिएका थिए ।
नोभेम्बर २३, २०११ । बोस्टन, अमेरिका ।


(असार २०६९ मधुपर्क)

1 comment:

  1. प्राकृतिक प्रकृति माथि मनिसको मान्यता वा सिदान्तले विजय नपाउँदा विनिर्माण निर्माण हुने रहेछ,कथा धेरै धेरै राम्रो छ शिवजि बधाई छ ..

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !