Sunday, December 11, 2011

मेरो देशको कथा

शिव प्रकाश
उद्घोषकले भने, “आज यहाँ यस्तो वक्ता आउँदै हुनुहुन्छ, जो आफ्नो परिचय दिन चाहनुहुन्न । एक बेनाम वक्ता !
सबैका आँखा हलको कुनाकुइनेटासम्म पुग्छन् । पछाडिबाट एउटा मान्छे मञ्चतिर आइरहेको छ । धन्यवादभन्दै माइक समाउँछ ऊ ।
प्रेमका कथाहरू धेरै लेखिए, अब देशका कथा लेखिनुपर्छ । देशले नयाँ कथा खोजेको छ,” फरक मूडमा बोल्दैछ आज ऊ । 
तिम्रो एउटा बोलीले संसार परिवर्तन गर्न सक्छ । एउटा विचारले यो संसारलाई सुन्दर बनाउन सक्छ । हामी ईश्वरलाई गाली गर्छौ । आँखा चिम्लियो, निदायो ईश्वर भन्छौ तर ऊ निदाएको हैन, डराएको हो ! वीभत्स यो संसार हेर्न नसकेर ।
आफैले वीभत्स बनाएको यो संसार हेरेर मान्छे रमाइरहेका छ । ईश्वर हेर्न डराइरहेछ ।
बोल्दाबोल्दै एकछिन् रोकिन्छ । गाइँगुइँमा शून्यता भरिन्छ । सबै शून्यजस्तो लाग्छ । 
तीतो पीडालाई मीठो पेडा बनाएर मान्छेले मान्छेलाई न्यूरोडको गुदपाक जस्तै गरी खुवाइरहेछ । मान्छे युगांैदेखि निरन्तर खाइरहेछ ।” 
एकछिन रोकिन्छ । अरुका आँखामा पालैपालो आफ्ना आँखा बिसाउँछ ।
मान्छे आज व्ल्याकबोर्डमा लेखिने अक्षर भएको छ, लेखिँदैछ मेटिँदैछ । सिद्धान्तका दोकानमा मान्छे कुडाकर्कटको भाउमा बिकेको छ । आफूले आफैंलाई कुडाकर्कट बनाएको छ मान्छेले । मान्छेको क्रेता र विक्रेता मान्छे नै भएको छ ! सस्तोमा किनेर महँगोमा बेचेको छ मान्छेले मान्छेलाई ! शहरका ठाउँठाउँमा यस्ता गल्ला भण्डार खोलिएका छन् । त्यही मेसोमा मान्छेले ईश्वरलाई समेत बेच्न थालेको छ । त्यसैले ईश्वर झन् डराएको छ ।

छोटो मौनतापछि ऊ फेरि निरन्तर प्रवाहित हुन्छ । बिस्तारै अरुका आँखा उतिर तानिन थाल्छन् । 
एउटा मान्छे महासागरको एक्लो माझी नै किन नहोस् ? ‘आकाशमा जस्तै हृदयमा जून झुल्काउने प्रयत्नमा छ ।” 
बोल्दाबोल्दै छोटो विश्राम लिन्छ । उसले भनेको त्यो को हो ? सायद उसलाई मात्र थाह छ । सबैका आँखामा त्यो नाच्न थाल्छ ।
सबैले अनुमान गर्छन्अरुले झैं उसले पनि आज कविता नाउँको एउटा गीता सुनाउँछ । अजिंगरको थुप्रोजस्तो, शब्द थोपरिएको टाउको न पुच्छरको कविता । जसरी अरुले सुनाए । अनि किताबको प्रशस्ति गाउँछ, जसरी अरुले गाए, उग्राए । 
तर, ऊ आज एक्कासी फरक रुपमा प्रस्तुत भएको छ । न आज उसले अरुका कवितामा अनुहार अनुरुप ताली बजायो न वाह वाहनै ग¥यो । न आफूले कविता नै सुनायो । कविलेखक भनाउँदा केहीको कुरुपतासँग ऊ परिचित छ ।
सन्दर्भ छ एक किताव विमोचन तथा कविता वाचनको । 
ऊ त्यस्तो प्रखर वक्ता पनि होइन तर सबैको ध्यान क्रमशः केन्द्रित गर्दैछ । किताबकी लेखिकाका सशंकित आँखा बाहेक अरु धेरै आँखाहरु उतिर एकोहोरिएका छन् । उसले किताबका बारेमा केही बोलेन । मात्र भन्यो, “यो किताबका बारेमा धेरैले धेरै कुरा बोलिसक्नु भएको छ । संसारमा अरु धेरै किताव लेखिन बाँकी छन् । प्रेमका कथा धेरै लेखिए, अब देशका कथा लेखिनु पर्छ ।” 
लेखिकाको अनुहारमा पीडाको विम्ब छाउँछ । 
एक नजर लेखिकातिर दौडाउँछ र ऊ फेरि बोल्न थाल्छ । उसको आवाज अलि चर्किन्छ– “आज मैले मेरो परिचय खोज्नु छ । म को हुँ ?”

मेरो नाउँ के हो ? थर के हो ? जात के हो ? यी सब गौण हुन् ।” 
मेरो नाउँ शिव, शंकर, राम, श्याम, हरि, कृष्ण, कृपा, कुञ्ज, कुमार, बहादुर, प्रकाश, प्रसाद, नाथ, लाल जे होस् !
मेरो थर पौड्याल, पनेरु, पोख्रेल, पन्त, खनाल, खाती, खामी, रेग्मी, कामी, राई, कार्की, धामी, सत्याल, सार्की, मगर, महर्जन, विष्ट, श्रेष्ठ, कटुवाल, भेटुवाल, लिम्बु, किलम्बु, किराँत, चमार, मुसहर, बाँतर, सतार, धामी, धिमाल, थारु, खवास, चौधरी, मिश्र, मण्डल, मुसहर, महतो, हजाम, पण्डित, बनिया, खनिया, कैनी, कुमाल, कुर्मी, यादव, योगी, ओझा, अहिर, आलम, खान आदिइत्यादि जे होस् !
फेरि छोटो विश्राम लिन्छ, लामो सास फेर्छ । केही श्रोतामा भूसको आगो जस्तै भित्रभित्रै चलेको गाइँगुइँ शान्त हुन्छ । कसैलाई थाह छैनयसले के भनिरहेको छ ? कतिले पागलको संज्ञा पनि दिन थालेका छन् । 
मेरो जात बाहुन, क्षेत्री, वैश्य वा शूद्र जे होस् !एक घुट्को पानी पिउँछ र फेरि बोल्न थाल्छ ।
म कसको छोरो, कसको बाउ, कसको दाजु, कसको भाइ, कसको भतिजो, कसको काका, कसको मामा, कसको सालो, कसको भिनाजु, कसको लोग्ने, कसको प्रेमी आदिइत्यादि जे हुँ !” 
बोल्दाबोल्दै मान्छेको ध्यान झन् खिच्न थालेको छ । केही बेर अघि रिसाएका आँखाहरु अहिले उत्सुक हुदैछन् । यसले के भन्न खोजेको ?’ मनमनै प्रश्न गरिरहेछन् ! विमोचन सभाको मञ्चमा माला लगाएर बसेकी लेखिकाको अनुहारलाई खग्रासको बिम्बले पूरै ढाकिसकेको छ । वक्ताले किताबका बारेमा अझै केही बोलेको छैन । लेखिकाको विरुदावली पटक्कै गाएको छैन । सायद उनको मनमा लागेको छयसले मेरो अपमान गरिरहेछ । आगो बर्साउँला झै गरी रिसाएका लेखिकाका आँखा उतिर बेलाबेला प्रक्षेपित भइरहेछन् ।
म जुनसुकै नामनामेसी, जातजाति, भाषाभाषी, थरथरान, रस्तीबस्ती वा सम्प्रदायको मान्छे किन न हूँ ? म कहीँको कोही हूँ वा म जहाँको जो सुकै हूँ ! म हिन्दु, वौद्ध, मुसलमान, इसाई, यहूदी वा अरु जे हुँ !
उ एकनास बोलिरहेको छ । निशान्त छ हल अहिले । 
म जहाँ रहूँ ! घरदेशमा रहूँ कि परदेशमा रहूँ ? कसैसँग कुनै साइनोमा बाँधिएर धरतीमा रहुँ कि पातालामा रहूँ ? स्वतन्त्र रहूँ कि परतन्त्र रहूँ ? बाँचेर मरिरहूँ कि मरेर बाँचिरहूँ ?” 
धेरै मान्छे मुखामुख गर्न थाल्छन्यसले के भन्न खोजिरहेछ ? केही मुखहरु कानसँग जोडिएर खासखुस र गानगुन गर्न थाल्छन्, “यो साँच्चै पागल भयो कि क्या हो ?” 
मैले आजसम्म आफूलाई नै चिन्न सकेको छैन, म तपाइँलाई कसरी चिनुँ ?” उसका नजर ती लेखिकातिर जान्छन् । लेखिकाका नजरमा बारुला नाचेको देखिन्छचिलुँला जस्तो गरी । 
ऊ निरन्तर बोलिरहेछ । खासखुस गर्ने मुखहरु क्रमशः बन्द हुँदैछन् । सबैका आँखा, ध्यान उसैपट्टि तानिएका छन् । 
प्रश्नैप्रश्नको भीडमा धेरै दिन हराएको थिएँ तर आज मैले सबै प्रश्नको एउटै उत्तर पाएको छुएकलव्य जस्तो नितान्त एक्लो छ त्यो उत्तर ।
फेरि एक घुट्को पानी घुटुक्क पिउँछ र भन्छ यी सबै प्रश्नको त्यो एक्लो उत्तर होम नेपाली ! सबैभन्दा पहिले म नेपाली  र मेरो पहिलो परिचयनेपाली !” 
करतल ध्वनिका साथ बजेको तालीको आवाजभित्र उसको आवाज हराउँछ । दीर्घामा बसेका सबै मुखामुख गर्छन् । सबैका दुबै हात फुक्छन् तर लेखिकाका भने दुबै मुठी कसिन्छन् ।
मभित्रका अनेकताभित्रको एकता होनेपाली । म भित्रका अथाह अन्तरभिन्नता भित्रको एकरुपता होनेपाली !”  फेरि ताली बज्न थाल्छ । ऊ अझ जोस्सिन्छ । 

कहिल्यै मरेर नजाने र कसैले हरेर लान नसक्ने मेरो परिचय होनेपाली ! मरेर पनि बाँच्नेनेपाली ! दुःखमा पनि हाँस्नेनेपाली ! मेरो मन नेपाली ! मेरो तन नेपाली ! मेरा पन नेपाली ! मेरो जीवन नेपाली ! मेरो अस्तित्वनेपाली ! मेरो अस्मितानेपाली ! मेरो आस्थानेपाली ! मेरो विश्वासनेपाली  ! त्यसैले मेरो पहिलो परिचय होनेपाली !” 
नेपालको छोरोनेपाली । नेपालको छोरीनेपाली !
त्यसैले म भन्छु– 
नेपाली हूँ म, नेपालको माटो छातीमा सजाउँछु
पूर्खाले पुजेको माटोको टीका, निधारमा लगाउँछु ।
म स्वदेशमा रहूँ वा दशदेश दूर परदेशमा । मेरो पहिलो नाउँ होनेपाली । मेरो थर होनेपाली । मेरो जात होनेपाली । मेरो भाषा होनेपाली । मेरो भावना होनेपाली । मेरो विश्वास होनेपाली । मेरो विचार होनेपाली ।  नेपाली भएर जन्मिएको नेपाली र नेपाली भएरै मर्ने नेपाली । ” 
मेरो पहिलो परिचय बनेको यो मेरो नाउँ मलाई कसैले दिएको हैन । यो कसैबाट उपहार, उपाधि, उपमा र विशेषणका रुपमा पाएको पनि हैन । कसैले गुताइदिएको पगरी पनि हैन । त्यसैले यसमा कसैको अधिकार छैन । नाउँका लागि मलाई दिइएको नाउँ जे भए पनि जन्मदै पाएको मेरो जन्मसिद्ध नाउँ होनेपाली !
म नेपाली माटोको सन्ताननेपाली ! नेपाली भएर नेपाल आमाको कोखबाट जन्मिएको नेपाली । नेपाली भएरै नेपाल आमाको काखमा हुर्किएको नेपाली । जहाँ रहे पनि हूँ भने म सबैभन्दा पहिले नेपाली हूँ । छु भने सबैभन्दा पहिले नेपाली नै हुनेछु । रहे भने सबैभन्दा पहिला नेपाली भएरै रहनेछु ।” 
म जसको छोरा भएपनि नेपालीको छोरा । जसको बाबु भएपनि नेपालीको बाबु । नाम नामेसीमा सबैभन्दा पहिले म नेपाली नामको हँु । जातजातिमा सबैभन्दा पहिले नेपाली जातिको हुँ । 
धाराप्रवाह बोलिरेहको छ ऊ । मन्त्रमुग्ध भएर एउटै मेसोमा उतिरै तानिएका छन् सबै आँखा र कानहरु ।

छत्तीस वर्णभन्दा अगाडि आज एक वर्ण थपिएको छ । त्यही पहिलो वर्ण होनेपाली । नातासम्बन्धमा मसँगको सबैभन्दा पहिलो नाता होनेपाली । हुन सक्छु त्यसपछि म कसैको दाजु, भाइ, काका, भतिजो, मामा, ज्वाइँ, सालो, भिनाजु, लोग्ने वा प्रेमी हुँला ! आज म आफू नेपाली भएर नै सबैलाई सबैभन्दा पहिला नेपाली भनेर चिन्दैछु ।
तपाइँहरुको जन्मपछिको नाउँ मलाई थाह छैन तर जन्मदाको थाह छ, त्यो होनेपाली । 
बोल्दाबोल्दै एकछिन रोकिन्छ सबै आँखामा आफ्ना आँखा डुलाउँछ । हलमा स्तब्धता छाउँछ एकछिन् । सानो विश्रामपछि अलि ठूलो स्वरमा बोल्छ– “सबैले भनिदिनुस् नेपाली हूँ म ।” 
समवेत स्वरसँगै ताली बज्छन् । ताली क्रमशः बढ्दै जान्छ । अब सबैको ध्यानको केन्द्रविन्दु बनेको छ ऊ । लेखिकाका आँखामा अझै बारुला नाचिरहेका छन् । अनुहारलाई खग्रासले ढाकिसकेको छ । मुठी झन् कसिएका छन् । ओठभित्र माथिल्ला र तल्ला दाँत पौठेजोरी खेल्दैछन् ।
तराईदेखि हिमालसम्म, मेचीको वल्लो किनारादेखि महाकालीको पल्लो किनारासम्म अनि देशदेशावरमा छरिएर रहेका नेपाल आमाका सन्तानदरसन्तानसँग मेरो एउटै नाता छ, एउटै साइनो छ, त्यो होम नेपाली र हामी नेपाली । हामी नेपालीका वन्धुवान्धव सबै नेपाली !
तराइँमा धोतीकुर्ता लाए पनि म सबैभन्दा पहिले नेपाली हूँ । 
पहाडमा डोको नाम्लो बोके पनि म सबैभन्दा पहिले नेपाली हूँ । 
हिमालमा चौंरी चराएर हिडे पनि म सबैभन्दा पहिले नेपाली हूँ ।
त्यसैले फेरि पनि भन्छु नेपाली हुँ म । ईश्वरसँग प्रार्थना गर्छुआफूलाई सधैं नेपाली भनिरहूँ, मेरो पहिलो परिचय सधैं नेपाली बनाइरहूँ । नेपाली भनाइरहूँ । नेपाली देखाइरहूँ । शिरमा सधैं सगरमाथा बोकीरहूँ । मुटुमा मेचीकाली सधैं बगाइरहूँ । म जस्तै सबै नेपाली हरू, मनहरू, मननहरू, मतहरू, मनपेटहरू, मनसाहरू, मनोभावहरु मन्थनहरु र मगजहरु सवैभन्दा पहिले नेपाली हुन् र सधैैं नेपाली नै भइरहुन् । सबै नेपाली हरुले आफ्नो पहिलो परिचय नेपाली नै बनाइरहुन् ।

मान्छेले आज मान्छेसँगको नाता सबैभन्दा बलियो बनाउनु छ तर त्यही सबैभन्दा कमजोर हुदैछ । मान्छे आफ्नै कारणले आज आफै संकटमा परेको छ । अब मान्छेले आफूभित्र आफूलाई नयाँ आकारमा निर्माण गर्नु छ । नयाँ विम्बमा खोज्नु छ । नयाँ परिभाषामा परिभाषित गर्नु छ । पहिले आफ्नै आँखा खोल्नु छ र आफूलाई हेर्नु छ । आफूलाई हेर्ने त्यही आँखाले अरुलाई पनि हेर्नुु छ ।
अ मेन मस्ट वी ह्युमेन ! मान्छे भएर एकचोटि आफूलाई हेरौं र नेपालीभएर एकपटक सोचौं त ..... कति सुन्दर देखिनेछ नेपाल र कति खुसी देखिनेछन् नेपाली ?” 
बोल्दाबोल्दै सभामा बीचबाट एउटा आवाज निस्किन्छ– “पेट्रियोटिक इन्लाइटमेन्ट ! ईट इज पेट्रियोटिक इन्लाइटमेन्ट ! कुँजिएर बसेका बाँकी हातले पनि ताली पिट्न थाले तर लेखिकाका मुठ्ठी झन् कस्सिए ।
वक्ताका आँखाबाट खुसीका मेचीमहाकाली बग्न थाले ।
लेखिकाको अनुहार उस्तै छ खग्रासले खाएको चन्द्रमा जस्तो । उनी उठेर पाइखानातिर लागिन् । 
उसले अनौठो मानेन । उनले आफूबाहेक अरुलाई राम्रो र असल भनेको कहिल्यै सुनेकै थिएन । आत्मप्रशंसामा रमाउनेले सधैं प्रशंसामात्र खोज्छ तर आज उनले त्यो पाइनन् । अरुको मुखबाट आफ्नो प्रशंसाको एक शब्द पनि नसुनेको उनको जीवनमा यो पहिलो दिन थियो । 
अमेरिकामा बसेको भए पनि विमोचन समारोहमा नेपाली ट्याममा आइपुगेका एक महाशयले सोध्दै भने– “तपाइँको नाउँ के रे ? विचारहरु त प्राणवान् छन् नि !” 
संयोग, उसले पनि आफ्नो नाउँ शिव प्रकाशनै बतायो । उद्घोषले थपे– “नेपाली शिव प्रकाश !

नोभेम्बर ३०, २०११ । हालः बोस्टन, अमेरिका । sprakashp9@gmail.com

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !