Monday, December 12, 2011

सपनाको घोडा (मीठा जहरहरू)

शिव प्रकाश
हो, अंकल ! धेरै बाबुआमाले धेरै छोराछोरी विदेशीका लागि जन्माए । अनि ती धेरै छोराछोरीले झन् धेरै छोराछोरी विदेशका लागि जन्माउँदैछन् ।मेरो कुरामा अंकल एकछिन् एककोहोरिनु भो र हराउनुभो मेरो अनुहारमा फेरी एकछिन् ।
तपाइँले मेरो मनको कुरा भन्नु भो आलोकबाबु, उनीहरु गएको आज बीस वर्ष भयो ।चियाको सुर्को तान्दै सुस्केरा मिश्रित स्वरमा श्याम अंकल बोल्नु भयो । छेउमा बसेकी उहाँकी धर्मपत्नी अर्थात आन्टी एकटकले भूइँतिर हेरिरहनु भएको छ । लाग्छछोराछोरीका विम्बहरु उहाँका आँखामा नाचिरहेका छन् । अनि सुन्दर खेलौनाका प्रतीकका रुपमा रहेका नातीनातिना तिनै आँखामा खेलिरहेका छन् !
दुबैका आँखामा मनका पीडा टल्पलाए झैं लाग्यो तर अंकल जति आन्टी गम्भीर देखिनु हुन्नथ्यो ।
काठमाण्डुको भीआईपीएरियामा करीव तीन रोपनी जग्गामा उहाँहरुको घर छ । घरमा जम्माजम्मी श्रीमान्, श्रीमती र दुई जना सहयोगी  । केही क्षणका लागि अहिले म एकजान थपिएको छु । घर साच्चीकै घर जस्तो देखिन्छ तर छोराछारी, नातीनातिना अर्थात परिवार बिनाको घर के घर जस्तो पनि लाग्छ ।
कुराको सिलसिलालाई अंकलले अघि बढाउनु भयो । पढ्न गएकी छोरी उतै बसी । लगत्तै पछि पढ्नै भनेर गएका छोरा बुहारी पनि उतै बसे । पढाइ सकेर आउँछु भन्थे तर अब....!अंकलको गला एकछिन अवरुद्ध भयो । फेरि शुष्क स्वरमा भन्नु भयो– “उनीहरुलाई यहाँ नपुग्दो पनि केही थिएन । अहिले पनि छैन । यो घर कहिलेकाही घर जस्तो पनि लाग्दैन । हाम्रा लागि एकप्रकारले बोझ भै सकेको छ । र, पनि जाउँ भने पनि कहाँ जाउँ ..... ? काडमाण्डु पनि अब काठमाण्डु जस्तो रहेन तर जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी... !म यही मर्न चाहन्छु ।
छोराछोरीको विदाइका क्षणहरु शोकमय अनुभूति बनेर अंकलका अनुहारभरी झल्किरहेका थिए । आन्टी भने मिश्रित मुडमा देखिनु हुन्थ्यो । कुनैबेला नदी जस्तो कुनैबेला तलाउ जस्तो ।
अंकल बोलिरहँदा मेरा आँखा झ्यालबाट बाहिर चिहाउन थाले । गेटबाट भित्रछिर्ने वित्तिकै त्यो घरको वातावरणले मलाई तानेको थियो । कताकता मनमा छटपटी जस्तो भयो । वरिपरी घुम्न मन लाग्यो । छतमा जान मन लाग्यो र हेर्न मन लाग्योत्यो निशान्त महलबाट धूलोको कस्मेटिक लेपनमा सिँगारिएका अविश्रान्त कोलाहलपूर्ण शहर काठमाण्डु ! धूँवाको परफ्यूमले सुगन्धित बनेको काठमाण्डु ! डरलाग्दो काडमाण्डु ! भयावह काठमाण्डु ! मैले देखेको त्यो काठमाण्डु हैन, भयामाण्डु भै सकेको काठमाण्डु ! मानवता विहिन इँटा, ढुङ्गा र सीमेन्टको निर्जीव शहर काठमाण्डु !
शरदलाई आगमन गराएर वर्षा भरखरै विदा भएको थियो । म बाथरुम जाने निहुँले छतमा गएँ । उत्तरतिर फर्किए बुद्धका आशातीत आँखा मेरा आश्रित आँखासँग कुरा गर्न थाले जस्तो भयो । स्वयम्भूले आफैतिर हेरे जस्तो लाग्यो । अर्कातिर फर्किए तलेजुका तेजमूखी गजुरहरु गृहदेवताका रुपमा गृह प्रवेश गरिरहेछन् जस्तो लाग्यो । निकैबेर आँखा घुमाए, शहर नियाँले । बल्ल अहिले आफू काठमाण्डुमा भए जस्तो भयो । भयामाण्डुको प्रतीक बनेको त्यो शहर एकै छिनका लागि भए पनि मेरा आँखामा साँच्चिकै काठमाण्डुको विम्ब बनेर छायो । वारीका ओरिपरी आँखा ओछ्याएँ । स्वर्गजस्तो त्यो घरका मान्छे हाँस्न नसके पनि बारीका सयपत्री, मखमली, बेली, चमेली हाँसिरहेछन् । हावाका हलुका स्पर्शले लालुपाते हल्लिरहेछन् । मुख रसाउने स्वाद बोकेर भोगटेका पहेँला दानाहरु त्यो घरतिर हेरिरहेका छन् । बारीभरीका आँप, आरु, अम्बाका बोट श्रृतु अनुरुप आफ्ना वैंशका वैभवफल फलाएर सुम्पन आतुर जस्ता छन् । कसले सिउरिने ती सयपत्री, मखमली, बेली र चमेली अनि लालुपातेहरु ? कसले चाख्ने ती अम्बा, आरु र आँप अनि भोगटेका स्वादहरु ? सायद यी बिरुवा आफैं एक प्रश्न बेनेर फूल्दै, फल्दै, ओइलाउँदै झर्दै गरेका छन् । यस्तै लाग्यो मलाई त्यो क्षण !
बिहानीको किरणले धरतीलाई स्पर्श गर्दा सायद त्यो घरको आँगनलाई सबैभन्दा पहिले चुम्दो हो, अनि दिनभर त्यही विश्राम गर्दो हो ! कति सुन्दर पहारिलो पाखो ! सोचेँम यो घरको छोरो भएको भए यन्त्रवत् बनेर श्रम र घण्टे जिन्दगी बाँच्न अमेरिका जाने थिइन । घडीले मान्छे घुमाउने देशमा, मान्छेको मूल्य भएको तर भावनाको मूल्य पटक्कै नभएको त्यो देशमा अवश्य जाने थिइन ।
अंकल मलाई पछ्याउँदै केही बेरमै छतमा आउनु भो, पछिपछि आन्टी पनि । शान्तमुद्रामा हामीले फेरि एकटकले ओरिपरी हे¥यौ । त्यो शान्तमुद्रालाई भत्काउँदै अंकलले मुख खोल्नु भो अमेरिका त के म यो ठाउँ छोडेर जिउँदै स्वर्ग जा भने पनि जान्न ।अंकलको भावुकताभित्र माटोको महक थियो । मेरा आँखा उनका आँखामा ठोक्किए र केहीबेर रोकिए ।
मनमनै सोचँेयहाँ फूलको सुवास ओरिपरी छ तर घरभित्र छैन । घरभित्रका फूल भनेका त सन्तान हुन् नि । केहीबेर अघि अंकलले भनेको सम्झिएँ– ‘सन्तान बिनाको घर के घर ?’ हुन त सन्तान नभएका होइन् । चन्द्रसूर्य जस्ता छोरी र छोरा छन् तर सन्तान नबसेको घर बाबुआमाका लागि घर नहुदो रहेछ यी जोडीहरुलाई जस्तै भन्ठाने । एकाएक मेरो मन सुदूर भविष्यतिर दौडियोसायद भोली मैले पनि यही नीयति र पीडा भोग्नु पर्ने छ । यसरी नै धैर्यवान बुढो पहाडको प्रतीक भएर बाँच्नु पर्ने छ । म एकछिन आफैंभित्र हराएँ । उनीहरुको अनूहार फेरि एकछिन् नियालेँ । म फर्केर आए पनि उ आउँछ कि आउँदैन ? अमेरिकामा भएको छोरो सम्झिदै आफैलाई प्रश्न गरेँ । सायद यस्तै शून्य र रित्तो हून सक्छ मेरो घर र भविष्य ! अनि सायद यस्तै मूल्य चूकाउनू पर्छ जीवनमा मैले पनि । बुढेसकाल, जतिबेला छोराछोरीको साहारा चाहिन्छ त्यतिबेला म पनि यस्तै एक्लो हुनेछु ! 
आलोकबाबु जाउँ तल कोठामा, केही खाउँ ।आन्टीको आग्रह अनुरुप उहाँहरुका पछिपछि कोठामा छिरेँ । तात्तातो जेरीस्वारी खान थाले ।
यो कस्तो रहर हो बाबू, सबै मान्छे अमेरिका भासिने ?” अंकलको प्रश्नले मभित्र अर्को प्रश्न उब्जायो । के अमेरिका रहर मात्र हो ? हैन । रहर मात्र हैन, वाध्यता पनि हो । हुन सक्छ अंकललाई जीवन थोरै रहर र धेरै वाध्यता हो भन्ने ज्ञान अहिलेसम्म छैन । सामन्यतया सम्पन्नताले रहर बढाउछ र विपन्नताले वाध्यता । संसारमा सम्पन्न भन्दा विपन्न धेरै छन् त्यसैले वाध्यता पनि धेरै छन् । अंकल ती थोरैमा पर्नु हुन्छ र रहर भन्नु हुन्छ । जसरी आफ्ना छोराछोरी रहरको शिकार भए । त्यसैले सायद सबैलाई त्यही देख्नु हुन्छ । म वाध्यताको शिकार भएको हुँ, रहरको हैन । एकछिन् आफैलाई सम्झिएँ र मनोवादमा अल्झिएँ ।
अंकल हाम्रा लागि अमेरिका र युरोप रहर मात्र हैन वाध्यता पनि हो । अनि यो पनि होअमेरिका र युरोप थोरै वाध्यता र धेरै रहर हो । हामी नेपालीको सम्पूर्ण वाध्यताको पीरामिड त खाडीमा उभिएको छ । त्यहाँका उँटहरुसँग मरुभूमिमा हिडिरहेछ दिनरात । भेडाहरुसँग रेगिस्तानमा चरिरहेछ । तातो हावामा पसिना बनेर तर्तरी बगिरहेको छ । आफ्नै देशमा परदेशी भएर गरिवी, अपमान, तिरस्कार, लाचारी र दरिद्रताका आँसु पिएर परदेशिने धेरै छन् । यो संख्या कम होला तर अमेरिकामा पनि छ । आज तिनीहरु ईश्वारलाई धन्य भन्छन् जसले तिनीहरुलाई अमेरिका पुर्यायो ।म एकपटक फेरि आफैलाई सम्झन्छु । आफैंलाई त्यहाँ देख्छु र मनमनै भन्छुधन्य ईश्वर । अपमानको घाउ कति पीडादाक हुन्छ ? मेरो हृदयको घाउमा भरिएको पीडाको पीप अझै निख्रेको छैन तर यो सबै बुझाउन मैले त्यहाँ उचित ठानिन ।
अंकल चुपचाप हुनुहुन्छ । आन्टी उही फरकफरक मुडमा घरी धीर, घरी अधीर !
अंकलले जीवनलाई किन सम्पनातासँग मात्र जोड्नु भो ? मभित्र फेरि प्रश्न उब्जियो तर निराश अंकलालाई प्रतिप्रश्न गर्न मन लागेन । म जवाफ दिइरहेको छु उनीहरुका आँखा भित्तामा अडिएका छन् । लाग्यो, अंकलआन्टीका आँखाका साथी भएका छन् भित्ताका ती निर्जीव तस्वीहरु ।  छोराछोरीका अनुहार अनुदित तिनै तस्वीरका हँसिला मुहार आँखाका साथी भए पनि अहिले पीडा बनेर तिनै आँखामा अल्झिरहेका छन् ।
मनमा केही कुरा सोच्दै रोकिदै म फेरि अघि बढ्छु– “मान्छे अमेरिका भासिने कारण रहर र वाध्यता दुबै हो, अंकल । धेरै उच्च शिक्षाका लागि जान्छन् र पढाइ पुरा गरेर थोरै फर्केर आउँछन्  । कति राम्रो काम र सुखी जीवनका लागि सबैलाई तिलान्जली दिन्छन् उतै भासिन्छन् । कति पढाइ पुरा गर्न नसकेर घर न घाटको भएर अमेरिकामा गुजारा मात्र पनि चलाएर बसिरहेका हुन्छन् । अंकल, अमेरिका यस्तो भास हो जहाँ उपियाँउडुसदेखि हात्तीसम्म भासिन्छ ।
अमेरिकामा त्यस्तो के छ ? जो गयो त्यहीँ हराउँछ ।अनुभूतिशून्य आँखाहरु मतिर तेस्र्याउदै अंकल फेरि मलाई प्रश्न गर्नु हुन्छ । अंकलका अनुहारमा मानसिक वेदनाका धर्साहरु वक्ररेखा बनेर कोरिएका छन् । तिनलाई पढ्न गाह्रो छ ।
अमेरिकामा मीठा जहरहरु धेरै छन्, अंकल । जसले मानिसलाई दीर्धरोगी बनाउँछ र पालैपालो त्यो रोगले मान्छेलाई हमला गर्छ । अनि अमेरिकाको सीमाना काट्न नसक्ने गरि कुज्याएर राख्छ । छोटकरीमा यही हो तर पनि अमेरिका जाने सपनाको घोडामा संसार अझै दौडिरहेको छ । जीवनले सधैं सुन्दर सपनाको काया ओढेको हुन्छ । कतिलाई दूर्भाग्य र दरिद्रताको छायाँले पनि लेखेटिरहेको हुन्छ । यसले पनि मान्छेलाई त्यहाँ विलय गराइ दिन्छ । यथार्थ यही हो अंकल ।
तर तिनीहरुले सबै विर्सिएआमाबाबु, घरपरिवार, आफन्त, देश र माटो ।एउटा बाबुभित्रका उकुसमुकुस पीडाहरु ज्वालामुखी भएर अंकलका बोलीमा निस्किन खोज्छन् । उनी अझै बोल्न खोज्छन तर आन्टी बेलाबेलामा ब्रेकलाउछिन् , भो कति विरक्तिसिएको ?” मातृत्वभन्दा पितृत्व बलियो देख्छु म त्यो घरमा । वात्सल्य बाबुको मनको गहिराई छुन मलाई अति गाह्रो भइरहेको छ ।
एकछिनको मौनता पछि आफ्ना उकुसमुकुसलाई अंकल फेरि पोख्छन्– “छोराछोरी पढेर आउँछन् र देशकै लागि केही गर्छन भन्ने सगरमाथा भन्दा अग्ला हाम्रा सपना अमेरिकाको टुइन टावर जस्तै गरि ढले ।
मेरा आँखा अंकलका आँखामा गएर ठोक्किए । स्तब्ध र निस्तब्ध भए हामी दुबैका आँखा एकछिन् । मलाई हजार काडाँले एकपटक घोचेजस्तो लाग्यो । केही बोल्न सकिन । धेरै पछि एकाएक वाक्य फुट्यो अंकल, अहिले मान्छेमा संवेदनशीलता र भावनात्मकता भन्ने हराएको छ, आशा गरौं त्यो फर्केर आओस् ।अघि मैले जस्तै अब उनी मलाई एकतमासले हेर्न थाले ।
हो, अंकल महिनौ कोखमा वास दिने माता र धरतीमा पहिलो पाइला टेक्न साहस दिने मातृभूमि प्रतिको कतव्र्यबोध भयो भने मान्छे जहाँ बसे पनि भावनाले टाढा हुदैन । आज मान्छे शरीरले हैन भावनाले नजिक हुन जरुरी छ .....।
मेरो वाक्य नसकिदै अंकलले अर्थ खोज्दै भन्नु भो– “अर्थात !
अर्थात, देश सीमानामा मात्र हैन, देश भावनामा पनि हुन्छ । आफुले टेकेको माटो मात्र देश हैन, देश त छातीभित्र हुन्छ । जुन छातीमा देश हुन्छत्यै छातीमा देश दुःख्छ । त्यै छातीमा देश रुन्छ । हो, मलाई यस्तै लाग्छ अंकल ।
अंकलका आँखा रसाउँछन् । आन्टी पनि भावुक बन्नु हुन्छ । अंकलमा विद्वता छ । भद्रता छ । थोरै बोल्ने, धेरै सुन्ने र बुझ्ने । यस्तै स्वभाव मैले अंकलमा पाएको छु । जुन धेरै थोरै मान्छेमा हुन्छ ।
मेरो कुरा उहाँ सुनिरहनु भएको छ ।
क्या वात !भन्दै अंकलले ताली पिट्नु भो । आन्टीले पनि । दुबै मुस्कुराएँ । मलाई लाग्योकति मान्छे बाच्नुका नाउँमा बाँचिरहेछन् अनि कति मान्छे हास्नुका नाउँमा हाँसिरहेछन् । सायद यी जोडी जस्तै ! के यिनीहरु हाँस्नका लागि मात्रै हाँसेका हुन् अहिले ? म आफैंलाई प्रश्न गर्छु । उत्तर मसँग छैन उनीहरुसँगै छ ।
हुन त मातभूमिलाई भकुर्याएर मुग्लानको मजामा रमाउने पनि धेरै छन् । मातृभूमिलाई माया गर्ने पनि केही छन् ।म बीचमा फेरि बोलेँ । अंकल सुनिरहनु भएको छ । उनको अनुहारमा बिगतको फ्ल्यासव्याकको आभाष भइरहेछ ।
कहिले केही कुरा सुन्दै, कहिले बाहिर भित्र गर्दै, कहिले चिया कफी ल्याउने आदेश दिदैं आन्टी ओहोरादोहोरा गरिरहनु भएको छ ।
अंकल फेरि बोल्नु भो । एउटा बाबुभित्रको सघन वात्सल्य छताछुल्ल हुन थाल्यो– “आज बीस वर्ष भयो छोराछोरी गएको अर्थात नआएको ! यिनलाई माता र मातृभूमिको अर्थ के थाह ? कसरी बुझ्छन् यिनले ? बुझ्ने भए आइहाल्थे नि । अब त अनुहार पनि विर्सने बेला भइसक्यो । हामी उल्टीपहरका घाम जस्ता भइसक्यौ ।छोराछोरी स्मृतिबाट हराउँदै गरेको विम्ब उनका आँखाका पानीसँगै छछल्किए । म हेरिरहेको छु सुनिरहेको छु ।
धनले मान्छेलाई कति निर्धन बनाउँदो रहेछ । उनीहरुसँग सबै तर सबै भएर पनि केही नभए जस्तो छ । एउटा सङ्लो खोला जस्तो सलल् बगिरहेको यो जोडीको जीवन अहिले अवरुद्ध हुदै अगाडि बढ्दै छ । अंकल आन्टी यति धेरै सम्पन्न नभएको भए सायद दुबै सन्तान अमेरिका भासिने थिएनन् होला । दुबैको भिसा लाग्ने थिएन होला । सन्तानको बिटै मर्ने थिएन होला । यो सब धनले पनि हो । हो, सन्तान विदेशिनु भनेको हातको माछो उम्किनु हो । धेरै परिवारका सन्तान अमेरिकामा छन् तर गोठै रित्याएर हैन ।
अंकलको अवस्था देख्दा विरक्त लाग्यो । कथा सुन्दा विदारक लाग्यो । अंकलबाट थाह भयो हरेक दशैंतिहारमा उनीहरुमा आशा पलाउँछ वशन्त आउँदा बनमा मुना पलाए जस्तो खुशीहरु पालउँछन् मन भरी । यसपटक त छोरी, छोराबुहारी, नातिनातिना आउँछन् होला भनेर तर फेरि उनीहरुको आशामा शिशिरको तुसारो लाग्छ । उजाड हुन्छ  शिशिरमा रुखका पात झरे जस्तै गरी । अंकलका कुरा मेरा मनमा ओहोरदोहोर गरिरहेछन् ।
अहिले कोठाभित्र हामीसँगै मौनता पनि छ । म मौनताकै साथ लागेर चिया पिइरहेको छु । अंकल पनि मौन हुनुहुन्छ ।
आ कत्ति विरक्तिका कुरा मात्र गरिस्या, हजूले ? अमेरिका रमाइलो होला, यहाँभन्दा सुखसुविधा होला । बच्चाबच्ची पढाउन सजिलो होला र त बसेका हुन् नि । भनि त राछन् तिनले पनि ! अलि रमाइला कुरा पनि गर्नु नि !आन्टी बीचबीचमा हस्तक्षेप गर्नु हुन्छ । कताकता मलाई पनि रमाइलो लाग्छ । हो, बढी भावुकतामा किन बगिरहनु ?
अनि बाबू अमेरिकामा बच्चाबच्चा मात्र भन्छन् । पढाई छ भन्छन् । अनुशासन सिकाइन्छ भन्छन् । के सिक्छन्, के सिकाउँछन् हँ, त्यहाँ बच्चालाई । हाम्रा यहाँका त सबै जंगली नै हुन् जस्तो गरी कुरा गर्छन, ‘एडजस्टहुन सक्दैनन् भन्छन् ! कसैका नभाका बच्चा ! के हो ?” आन्टीले रोमान्टिक मुडमा कुरा गर्नु भो । मलाई पनि लागिरहेको थियो, वातावरणलाई कति बोझिलो बनाउनु ?
आन्टी, अमेरिकामा धेरै कुरा सिकाइन्छ । सबैभन्दा पहिला कम्प्लेनगर्न र मेरा भन्न सिकाइन्छ । मीअर्थात माइनअर्थात मेरा ! हामी र हाम्रो भन्ने सम्भवत कहिल्यै सिकाइदैन । अँग्रेजी बोल्न सिकाइन्छ । अनि घरपरिवार र आफन्तसँग आफ्नो भाषा बोल्दा सानो हुइन्छ भन्ने ठान्दै जान्छन् । आफ्नो भाषा, भाषामात्र मातृभाषा हो भन्ने कुरा सबैभन्दा पहिले विर्सन्छन् ।आफ्नै घर परिवारका कुरामा पनि आइ डण्ट केयरभन्न सिक्छन् । इट इज नट माइ प्रब्लमभन्न सिक्छन् ....।
म बोल्दै छु आन्टीले मलाई बीचमा रोक्दै भन्नु हुन्छओहो, यहाँ पनि कताकति यस्तो आइसक्यो, यस्ता नखडा गर्ने बच्चाहरु देखिसकेको छु मैले । यो उतैबाट आएको रैछ हगि... ।  अनि धीत मर्ने गरी हास्नुहुन्छ ? गम्भीर मूडको अंकलको अनुहारमा अलिकति मुस्कान फूल्छ । मनमनै खुशी हुन्छु म ।
भन्न त मन लागेको थियो आन्टीलाईआन्टी, अमेरिकामा अरु पनि धेरै कुरा सिक्छन् । निधार खुम्च्याएर, कुम कक्य्राएर, हात फिँजाएर उड्न लागेको गिद्ध जस्तो गरी कुरा गर्न सिक्छन् । सानु कुरालाई ठूलो बनाएर फैलाउन सिक्छन् । हरेक कुरामा निहूँको वीउ खोज्न सिक्छन् । सिक्दै जाँदा हरेक सानासाना कुरामा कप्रोमाइजहैन कम्प्लेनगर्ने र इश्यूबनाउन सबैभन्दा बढी सिक्छन् । अरुको कम्प्लेनगर्नु नै आफूलाई असल बनाउनु हो भन्ने झन मजाले सिक्छन् । विस्तारै विस्तारै आफूलाई अलिकति मन नपरेको कुरा, मान्छे, विषय, वस्तुलाई ओ ! आइ हेटभन्न अझ मजाले सिक्छन् । बाह्रतेह्र वर्षदेखि आफ्नै बाबुआमालाई पनि आइ हेट माइ प्यारेन्टस्भन्न सिक्छन् । कलिलैमा गाँजा सिगरेटको धुवा फुसफुस उडाउन सिक्छन् । खल्तीमा कण्डम बोकेर हिड्नु पर्छ भन्ने पनि सिक्छन् । अनि अठार वर्ष पुगेपछि व्वाइफ्रन्डगर्लफ्रेन्डसँग बस्नु पर्छ, जन्मदिने बाबुआमा वा परिवारसँग बस्नु हुदैन भन्ने कुरा रिठ्ठो नबिराई सबैले सिक्छन् । अनि सिक्दासिक्दै आमाबाबु बुढा भए पछि घरमा हैन यी बुढाबुढीलाई सिनियर सेन्टरमा लगेर राखिदिनु पर्छ भन्ने सिक्छन् । बुढाबुढी घरमा भ एभने टेन्सन हुन्छ भन्ने सिक्छन् । अनि मरेकै दिन हि/सी वाज ओल्ड एण्ड सिक, सो हि/सी गन, इटस् ओ के, इट इज टाइम टु गोसंवेदनाहिन शब्दहरु स्वभाविकरुपले भन्न झन मजाले सिक्छन् । अनि सबैभन्दा बढी एफलाएर बोल्न सिक्छन् । तर, अंकलको मन त्यसै कुँडिएको छ अझै किन कुँड्याउनु जस्तो लाग्यो ।
अँ, अर्को एउटा कुरा पनि छ आन्टी ! कतिपय बाबुआमाले पनि आफ्ना छोराछोरीलाई नेपालीसँग चिनायो भने आफ्ना छोराछोरीको तह घट्छ भनेर पनि ठान्छन् नि !आन्टी अलिकति भावुक आँखाले मलाई हेर्न हुन्छ र हास्नु हुन्छ ।
थाह छैन, जीवनको उकाली चढेर निक्कै माथि पुगिसेका यी दुई मनले सोचेको अमेरिका कस्तो छ ? तर, मैले देखेको अमेरिका यस्तै छ । अमेरिकामा राम्रा पनि केही छन् तर नराम्रा धेरै छन् । धेरै नराम्रा भएको हुनाले धेरैको मन धेरैतिर नै गएको छ । त्यसमा पनि टीन एजमा एकपटक सबैलाई धेरैतिर होमिन मन लाग्छ । अमेरिका इज सेक्स फ्री कन्ट्रीभन्ने कुरा कलिलै उमेरमा सिकेका हुन्छन् तर फ्रिडम इज नट फ्रिभन्ने कुरा कहिल्यै सिक्दैनन् । विडम्बना.. !
आज उनीहरु छोराछोरी भनेर अमेरिका बसेका छन् तर यो सोच्दैनन् कि मेरा बाबुआमा पनि छोराछोरी भनेर हाम्रा लागि बाँचेका छन् । मान्छे आफू जुन आँखाले आफूलाई हेर्छ, त्यो आँखाले अरुलाई हेर्दैन । मान्छेको कमजोरी नै यही हो अंकल ।अंकलको सान्त्वनाका लागि केही शब्द थपेँ ।
के कोही होलान् त्यस्ता ? आलोकबाबु !
छन् अंकल, कोही अवश्य छन्.....! मैले उत्तर दिइ नसक्दै अंकलले जिज्ञाषापूर्ण पूरक प्रश्न गर्न भो ।
को होला त्यस्तो ?
त्यो मान्छे तपाइँकै सामु छ...।त्यहाँ म बाहेक कोही थिएन । अंकल मलाई फेरी एक तमासले हेर्न थाल्नु भो । अनि लामो सुस्केरा तान्दै सबै मान्छे एकनास कहाँ हुन्छन् र.. !भन्दै फेरी विरहव्यथा पोख्न थाल्नु भो ।
पढाइ सकिएपछि आउँछु भने, पढाई सकियो, आएनन् ! अब केही काम गरेर, केही शिप र अनुभव बटुलेर आउँछु भनेआएनन् ! बच्चा जन्मिए साना छन् अलि ठुलो बनाएर आउँछु भने, आएनन् ! बच्चा ठुला हुदै गएँ अब हाम्रा बच्चा त्यहाँ एडजस्टहुन सक्दैनन् कसरी आउनु भन्न थाले ?” मनका बह सबै बगाएर कुनै भारीबोझबाट मुक्त हुन पाए हुन्थ्यो जस्तो गर्नु भो अंकलले ।
मनमा गँुडलिएर बसेको गुनासो अंकलले पोख्दा पोख्दै आन्टीको हस्तक्षेप भद्र अंकलमाथि फेरी भयो । कति हजूर गन्गन मात्र गरिस्याभन्या । उनीहरुले अब मम्मीड्याडी उतै आउनु भनेकै छन् नि । हामी दुबैको ग्रीनकार्ड बनाउँछु भनेकै छन् नि । हामी पनि उतै सेटलहुने नि ! देखाइदिउँ न हामी पनि यो समाजलाई । कति अरुका मात्र फूइँ हेर्नु ? मैले त भनिरहेको छु, हुन्छ हाम्रो पनि ग्रीनकार्ड बनाओ हामी उतै आउँछौं ।आन्टीको अन्तर्मनको खुशी अनुहारमा छायो । चुपचाप अंकल झन गम्भीर देखिनु भो । त्यो गम्भीरताभित्र असन्तोष र असहमतिको पहाड ठडिएको जस्तो लाग्यो ।
आन्टीको इच्छा अमेरिकामै सेटल भएर बस्ने । यो समाजलाई देखाउने । त्यो हेर्न यो समाज अझै लालायित छ । थाह भो आखिर समाजले के खोज्दो रहेछ ? के चाहदो रहेछ ? अमेरिकाको शान कस्तो छ हाम्रो सम्भ्रान्त समाजमा पनि ? प्रश्नै प्रश्नको भूमरीमा म एकछिन् रुमलिएँ ।
धेरै नारीहरु दुविधामा बाँचेका हुन्छन् । मैले उनमा पनि त्यो पाएँ । मलाई थाह छनारी इच्छा सामू पुरुष चाहना प्रयाशः असफल नै हुन्छ । पराजित नै हुन्छ । अंकल जस्तै ....! जसरी सीयोको स्थिरता बिना धागोको प्रवेश असम्भव छ ।
आन्टीका कुराले कताकता मन चसक्क भयो, खङ्रङ्ग भयोहो, अमेरिका जाने सपनाको घोडामा यो समाज अझै दैडिरहेछ  । आन्टी पनि त्यसैमा सवार हुनुहुन्छ ।

डिसेम्बर ०९, २०११ बोस्टन, अमेरिका ।
मीठा जहरहरू शिर्षकमा कान्तिपुर (नेपाल साप्ताहिक) अंक: ५९७ | २०७१ जेष्ठ ११ | May 25, 2014 मा प्रकाशित ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !