शिव
प्रकाश
उसलाई थाह छ- उसका विचारहरु उनीहरुलाई मन पर्दैनन् किनभने ती उनीहरुका विरुद्ध छन् । मान्छेको मस्तिष्क बौरिएको छैन, विरामी नै छ । मलाई पनि उनीहरु त्यही ठान्छन् ।
मान्छेको मनमा अहिले घुर्मलो छायाँ छ त्यो सायद बाँचुन्जेलसम्म नै रहने छ !
मात्र ‘म थिए र म भएँ’ भन्ने हैन मैले मलाई बनाउनु छ र बचाउँनु छ । जीवन आफैंमा एउटा महाविद्यालय हो । शिक्षक र विद्यार्थी दुबै हो । जीवन नै पढिने र पढाउने पाठ हो । तर, हामीहरु यो पाठ पढ्नै चाहदैनौं पढाउनु कसरी ?
आत्मामा उज्यालो हुन्छ । तर मेरै ओरिपरीका मान्छेमा त्यो छैन । त्यो अँध्यारोमा ईश्वरको बास कहाँ होला ? हुन त ईश्वर पनि त एउटा प्रश्न चिन्ह नै हो- समाधान रहित ।
ईश्वरले मान्छेलाई दुई आँखा दिनुको अर्थ- एउटाले आफूलाई राम्रो देख्नु र अर्कोले अर्कालाई नराम्रो देख्नु भएको छ । यस्ता आँखा ती ईश्वरले मान्छेलाई किन दिएँ ?
मान्छेको मस्तिष्कमा आजकाल अर्थोकै सल्बलाउन थालेको छ । एउटा लेखक प्रायः एक्लो भएजस्तै म आज एक्लो भएको छु । आफैंले आफ्नो चित्त बुझाउनु छ । बस्……॥ ।
अहिले राम्रा कुरा- ‘गधाको घाँटीमा महुवाको माला’ । आजको सुकुमार बिहान त्यतिकै बित्यो ! केही सोचेर मात्र !
००००००००००००
छोरो पढाउन पैसा पुगेन । दाजुले पैसा माग्नु भयो । ऊ एकछिन दाजुको अनुहार हेर्छ अनुहारमा केही देख्दैन । न विगतको पश्चाताप न आगतको आशा ! फेरी एकछिन् त्यो अनुहार पढ्छ- मात्र निराशाका काला अक्षरहरु भर्भरी उम्रिरएका छन् गर्मीका घमौरा जस्ता ।
रिन गरेर दुईलाख दिन्छ । दाजुको अनुहारमा खुशी छाउँछ । सुरुहुन्छ पैसाको चलखेल । अर्को भतिजाले भन्छ- बाबा मलाई ज्याकेट चाहिएको छ । पोहोरको ज्याकेट पुरानो भो ।
हरेक वर्ष ज्याकेट फेर्नु पर्ने चलन भैसेको छ । बजारमा नयाँनयाँ स्टाइल आएको छ । दुनियाँ स्टाइलमै चलेको छ
दाजु बजार जानुहुन्छ । छोराको इच्छा तु… पुरा गर्नु हुन्छ । नयाँ मोडेलको ज्याकेट लाएर छोरो हिडेको छ । दाजु भाउजु खुशी छन्, दुबै दंग छन्- अरुको भन्दा मेरो छोरो के कम ?
कतिमा किनेको ज्याकेट? दामी देखिन्छ नि !
सजिलो उत्तर दिन्छ- जाबो तीन हजारमा !
तर त्यो जाबो तीन हजार कहाँबाट कसरी आएको छ उसलाई मतलब छैन । उसको साध्य ज्याकेट हो साधन जे होस् … ! ‘इट इज नट माइ प्रब्लम’ यतिमै सकिन्छ उसको जवाफ ।
यो छोटो वार्ता उ सुनिरहेको छ । उसको मन कट्कटी खान्छ । मनले मन खाने भनेको यही रहेछ भन्ठान्छ ।
भतिजाको अनुहार हेर्छ उसमा पनि भविष्यको आशाभन्दा निराशा झन् बढी देख्छ तर दाजुभाउजुको हँसिलो मुहारसँग हाँसो साट्दै फोस्रो हाँसो फिसिक्क हाँस्छ !
उसको मन कति दुःखेको छ- उसैलाई थाह छ ! रिस कति उठेको छ- त्यो पनि उसैलाई थाह छ । तै पनि आफूभित्रको रौद्ररुप आफैभित्र लुकाउँछ । दुःखको बागमती आफैभित्र सुकाउँछ ।
मनको दुःखाई र पेटको भोक कसैलाई थाह हुदैन । कसैलाई पेडा छ, कसैलाई पीडा छ । कसैलाई सोख छ, कसैलाई भोक छ । संसार यस्तै छ । भोक पनि थरीथरीका हुन्छन् । मुख्यतः राम्रो हुने र असल हुने भोक । त्यो मध्ये राम्रो हुने भोकले मान्छेलाई सताएको छ । धेरै त्यही चाहन्छन् र त्यही धेरैभित्र धेरै मान्छे बगिरहेका छन् । बागमतीमा ढल बगे जस्तै !
‘चितुवालाई जति पुराण सुनाएर पनि बाख्रो खान छोड्दैन ।’ सम्झिन्छ चित्त बुझाउँछ ।
०००००००००
आज यी एकजोडी दाजुभाउजु कति वर्षपछि हाँसेका छन् । मनमनै सोच्छ- यी हाँसिरहुन । ईश्वरको कृपा यीमाथि यसैगरी भइरहोस् । प्राय सधैं हास्ने अर्को जोडी दाजुभाउजु भने हाँस्न छोडेका छन् । फेरी सोच्छ- यस्तै हो संसार कहीँ घाम कहीँ छायाँ । सबै मान्छे सधैं खुशी र सुखी हुन सक्दैन । दुःखका थर र थरी धेरै छन् । दुःख र सुखले पनि घर र घाट साटीसाटी बस्छ ।
उसलाई सुखी देख्छन् तर उसको दुःख उसैलाई थाह छ । जीवन भनेको बाच्नु मात्र हैन भन्ने कुरा बुझाएर पनि कसैले बुझ्दैन ।
मानिस रहरका दास भएका छन् इच्छाका हैन । नत्र मान्छेले आफूलाई मान्छे बनाउन सक्थ्यो । जन्म त प्रकृतिको रचना हो, निर्माण हैन । निर्माण आफूले गर्ने हो आफूभित्र आफूलाई ! रुखले आफ्नो खानेकुरा आफैं जुटाउँछ । आफैं बाँचेको छ त्यो रुख । दुनियाँलाई छाहारी पनि दिएको छ । तर मान्छे …?
मान्छे नपाउँदा पनि दुःखी नै थिए । पाएर पनि झन् दुःखी छन् -थोरै पाए भनेर ! सर्वोच्च आनन्दमा को नै होला र उनीहरुको विचारमा उ बाहेक !
यस्तै हो- ‘दुःख पाए गीत आउँछ सुख पाए अक्कल भाग्छ !’ भन्ठान्छ चित्त बुझाउँछ ।
००००००००००००००००००००००००००
भान्जीले एउटा तस्वीर भित्तामा टाँस्दै भन्छिन्- मामा यो त खतरा देखियो नि !
कुरा बुझ्दिैन र सोध्छ- खतरा ?
‘ आइ मिन’ यहाँ त खतरा देखिन्छ नि मामा !
भान्जीको कुरा सुनेर भन्छ- ल त्यो तस्वीर त्यहाँबाट निकाली हाल ।
भान्जी अलमल्ल पर्छिन र सोध्छिन्- किन मामा ?
त्यस्तो खतरा देखिने ठाउँमा तस्वीर राख्नु हुदैन राम्रो देखिने ठाउँमा राख्नु पर्छ । तस्वीरको इज्जत गर्नु पर्छ ।
हुन त आज विचेत छन् चेतनाहरु । जिउँदा चेतनाहरुको त इज्जत हुदैन । निर्जीव तस्वीर जहाँ राखे पनि हुन्छ । शालिक भत्काएर फ्याँके जस्तो फ्याँके पनि हुन्छ । जे गरे पनि हुन्छ । लाग्छ- अहिले समयको उर्दी नै यस्तै छ ।
स्नातक तहको अन्तिम वर्ष पढ्दै गरेकी भान्जीप्रति दुःखी हुन्छ । आफ्नो भाषा, भाषा मात्र हैन मातृभाषा पनि हो त्यसको सम्मान गर्न र सुहाउँदो बोल्न सिक्नु पर्छ भन्छ । भान्जी ङिच्च हाँस्छिन् । बुझिन् कि बुझिनन् उनैलाई थाह छ ।
नयाँपुस्ताका लागि आज आफ्नै भाषा अन्धकार जस्तो भएको छ । ज्ञानको भोक छैन आम मान्छेलाई । आधुनिकताको भोकमा भौतारिएको छ नयाँ पुस्ता । रिमिक्स छ जताततै !
जमाना यस्तै छ- ‘हिराको मोल गधाले जान्दैन ।’ यो भन्दा बढी उ केही सोच्न सक्दैन । ००००००००००००००००००००००००००००००००
बल्ल हास्न थालेको दाजु बेलुका अबेला आउनु हुन्छ । अनि दिल खोलेर आफ्नो दैनिकी सुनाउनु थाल्नु हुन्छ । धेरैदिन पछि दाजुको दिल खुश देखिन्छ ।
परिवारका सबै ओरिपरी बसेर सुन्छन् । एता गएँ, उता गएँ, यस्तो भयो, उस्तो भयो, पुऽराआऽऽ घुमियो, पुऽराआऽऽ थाकियो, लाऽऽस्टैऽ भीऽऽड थियो गाडी ,पकेटमारले मेरा चस्मा झ्याप हानीदियो । क्याऽऽ बोर ! थाहै भएन । ओर्लिएर चस्मा लाउन खोज्छु त छैन ।
दाजुको कुरा सुनेर सबै गलल् हाँस्छन् रमाइलो मान्छन् । हा…। हा… ही… ही… ।
उनै भान्जी थप्छिन्- मामालाई त्यो गगल्स त दाऽऽम्मीऽ देखिन्थ्यो नि ! फेरी उही हा… हा… ही… ही… बत्तिसी सबैका देखिन्छन् । गँजाडीको गाना अम्मलीको ताल जस्तो देख्छ त्यो दृष्य उसले !
त्यो दृष्य उसलाई न हाँस उठ्दो नै हुन्छ न रमाइलो नै लाग्छ । उल्टो विरक्त लाग्छ । मित्रभित्रै मन दुःख्छ । उसलाई थाह छ- उसको मन प्रायः सधैं दुःखेको हुन्छ तर कसैले त्यो दुःखको अनुभूत गर्दैनन् । हुन त नगर्ने त हैनन् बिचराहरु… तर त्यो क्षमता नै छैन उनीहरुमा । त्यसैले बिचरा भन्छ उनीहरुलाई ऊ ।
दोष उनीहरुको हैन उनीहरुलाई बनाउने त्यही ईश्वरको हो । त्यो पक्षपाती ईश्वरको ! ईश्वरले त्यो क्षमता उनीहरुलाई दिएनन् । यो पनि एक कारण हो- ईश्वर आफैंमा एक प्रश्न हो भन्ने । समाधान रहित प्रश्न !
ऊ सकेसम्म अरुजस्तै भइदिन्छ । तर पनि कहिलेकाहीँ दुःखेको मन अनुहारमा अनुदित भइहाल्छ । अरुले देख्दैनन् त्यो अनुहार ऊ आफैं मात्र देख्छ ।
दाजुको अनुहार हेर्छ उज्यालो छ हँसिलो छ । भाउजुतिर हेर्छ झन् उज्यालो झन् हँसिलो छ । अर्का दाजु-भाउजुतिर हेर्छ उनीहरुको पनि अनुहारबाट अहिले बादल हटेको छ थोरै भए पनि जून चिहाएको छ । । अलिकति भए पनि असजिलो हाँसो छ ती दुबै अनुहारमा । भाइ-बुहारीतिर हेर्छ- हाँसो न खुशी ! सधैं जस्तो, उस्तै पाउँछ । निरपेक्षताभन्दा माथि अपेक्षाभन्दा तल… !
तर पनि वातावरण रमाइलो छ । भित्र मनमा काँडा उम्रिरए पनि, फूल फूले पनि अनुहार फक्रेकै देखिन्छ । सुझु न बुझु दुई वर्षको पिन्टु पनि हाँसेको छ । अरु भतिजा-भतिजी भान्जा-भान्जीको त उमेरै आफ्नो अनुहार हेरेर आफैं दंग पर्ने र हास्ने नै छ ।
तालु धेरै खुइलिसकेको छ । सेतै फुलेका दाह्री रंगाएर रातो बनाएको छ । म्याचिङ्ग छ कपालको रंगसँग ! गाला चाउरी पर्न थालेका छन् । साठीको हाराहारीमा पुगेका दाजु । भन्न पनि गाह्रो नभन्दा आफैंलाई झन् साह्रो ।
तेसो भए आज पुऽराऽऽ घुमियो आधा हैन, अब घुम्ने ठाउँ यो धरतीमा बाँकी कहीँ छैन हैन त ? आज पुऽराऽऽ थाकियो, अब बाँकी जीवनमा थाकान भन्ने नै छैन हैन त ? पुराको अर्थ त त्यही हुन्छ हैन र ? सबै उतिर हेर्न थाले । एकाएक आश्चार्यबोधक चिन्ह अंकित सबै आँखा उसका आँखामा ठोक्किए ।
उ बोल्दैछ । गाडी लाऽस्टैऽऽ भीड थियो तर फस्ट सेकेण्ड थर्ड फोर्थ……भीड चाहिँ कस्तो हुन्छ ? कहिले हुन्छ ?अनि चस्मा झ्याप हानीदियो ! कसरी हान्छ झ्याप ?
दाजु हाँस्दै प्रतिप्रश्न गर्नु हुन्छ- हँ ,के भनेको कुरै बुझिन ?
तपाइँको उमेर र विद्वताले बोल्ने भाषाको मात्र कुरा गरेको हूँ । छोटो जवाफ फर्काउछ ।
पुरा थाकियो हैन धेरै थाकियो । थोरै थाकेकोलाई के भन्ने आधा थाकियो ? त्यस्तै पुरा घुमियो हैन धेरै घुमियो । लास्टै भिड हैन धेरै भिड थियो । अनि झ्याप हान्यो हैन चोर् यो अथवा पाकेट मर् यो । सायद यस्तो हुन्छ होला ! यो छिहत्तरे भाषा हो भन्ने सुनेको छ । हामी त त्यो होइन नि !
दाजु स्विाकार्नु हुन्छ । दाजुको बानी फेरिएको छ यसपाली दाजु रिसाउनु भएन । हास्नु भयो र तर फेरी लेघ्रो तान्दै भन्नु भो- क्याऽऽ बोर ! बानी लागि सक्यो भन्या ।
उसले भन्यो- शब्द भनेका ज्ञानका भण्डार हुन् । तपाइँले बोल्ने शब्दले तपाइँको पहिलो परिचय दिन्छ ।
कसले कति बुझे उ त्यसको पछि लाग्दैन ।
‘ मान्छे हेर्नु बोलाई सुन हेर्नु गलाई ।‘ त्यही ठानेर चुप लाग्छ । चित्त बुझाउँछ ।
०००००००००
अर्की भाउजु पिन्टुका कुरा गर्दै प्याच्च बीचमा बोल्नु हुन्छ- यो बाबूलाई त अब पुराऽऽ हेर्नु पर्छ । नत्र रेलिङ-झ्यालमा चढ्छ र लड्छ ।
उसले अलि जोड दिँदै भन्छ- पुराऽऽऽ हेर्नु पर्छ रे उसोभए हिजो आधा मात्र हेरेकोले यो पिन्टु लडेको हो कि क्यो हो ?
पठ्ठापठ्ठी ती भतिजा-भतिजी, भान्जा-भान्जीले कुरा बुझेछन् । सापको जस्तो जिब्रो निकालेर हाँस्न थाले । त्यो देखेर बाँकी सबैले त्यस्तै जिब्रो निकाले । उलाई भने भित्रभित्रै दुःख लाग्यो आफ्नो मातृभाषालाई भ्याक्सेटोमी गर्ने ती डाक्टरहरुको पारा देखेर ।
उसले धेरै बोल्नु पनि हुदैन । अरुलाई हेपेको हुन्छ । नबोली बस्नु पनि हुदैन ठूलो भएको हुन्छ ।
एउटा गहिरो मौनतातिर उसको मन जान्छ । ‘मौन सम्मति लक्षणम’ कति भन्नु जस्तो लाग्छ उसलाई । ‘वैंश जाओस् बानी नजाओस् ।‘ यस्तै हो भन्छ मौन बस्छ ।
०००००००००००००००००००
जैमलीको विमोचनको आख्यानपुरुप ध्रुवचन्द्र गौतमबाट हुने भयो भन्छ ।
को हो ध्रुवचन्द्र भनेको ? डिग्री पढ्ने तरखरमा रहेको भतिजो ले प्रश्न गर्छ ।
हास्य कलाकार शिवहरी पौड्याललाई सम्झिन्छ- मुखाँ ‘ हान्दिउँ जस्तो हुन्छ उसलाई त्यो भतिजोको । हाम्रो भाषा-साहित्यको समकालीन परिचय हो यो मान्छे भन्ठान्छ उसले आफ्नो भतिजोलाई । भित्रभित्रै झन् सारो दुःख्छ उसको मन । ऊ आफु एक साहित्यप्रेमी हो । सोच्छ- मेरो घरको अवस्था त यस्तो छ भने…… ?
‘ अन्धाका अगाडी दुनियाँ अँध्यारो ।‘ ईश्वरले आँखा दिए पनि समयले यिनलाई अन्धो बनायो । ईश्वरभन्दा समय बलियो भएछ भन्ठान्छ । ईश्वरले दिएका आँखा फुटालेर मान्छेलाई अन्धो बनाउने समय ! कति बलबान ?
०००००००००००००
एक महाविद्यालयका रुपमा रहेको मान्छेको जीवन अहिले आफैंमा एक कारागार भएको छ । मान्छे त्यसैमा थुनिएका छन् । अहिले सस्ता इन्टरनेटमा धेरै मान्छे तस्वीरको सौन्दर्यतासँग नजिक हुन खोजे जस्तो । तिनलाई फूल सम्झेर मोहित भए जस्तो !
तर सबै फूल सुन्दर हुदैनन् र सबै फूलमा वासना पनि हुदैन । पलासँका पनि फूल हुन्छन् । कागजका पनि फूल हुन्छन् । अनि धेरै फुलभित्र काडाँ लुकेका हुन्छन् । मान्छेभित्र मान्छे लुके जस्तै !
शहर जस्तै मान्छे सघन अँध्यारोमा डुबेको छ । इच्छाहरु
अब्स्ट्रयाक छन् । अहिलेको मान्छेलाई ‘बायोलोजिकल
निड’ले
निलेको छ । यौवन र नग्नता अहिले अस्त्र बनेको छ । मोडर्न माइण्डभित्र धेरै एप्लिकेशनहरु छन् सम्हाली नसक्ना !
छाल जस्तै तैरिरहेका सपनाहरु अवरुद्ध छन् । र पनि मान्छे हाँसेका छन् । सबैकुरा हाँसउठ्दो छ त्यसैले मान्छे हाँसेका होलान् ! अब त दुःखमा पनि मान्छे हाँस्न थालेको छ । कति रुनु ?के केमा मात्रै रुनु ? बागमतीको मुहान सुके जस्तै आँशुका मुहान् सुकिसकेका छन् । रुनु कसरी ? रुनुको पर्याय हास्नु भएको छ । रुनुको विकल्प पनि हाँस्नु नै भएको छ ।
कृत्रिम विनम्रताहरु मान्छेको बजारमा छ्यापछ्याप्ति छन् । मान्छेले आफुलाई बेचेर त्यही मुल्यले अर्कोलाई किनिहरेछ । मान्छेको बजारमा आज खुला व्यपार भएको छ मान्छेको खरिदविक्री ।
दुःखद स्पर्शहरुले आजको दिनलाई अचेटिरह्यो । यथार्थहरुले आज उसलाई चिमोटिरहे । उसलाई भाग्यमानी देख्छन् तर एउटा ठूलो अभागको भागिदार पनि उ नै हो ।
‘ सुख भन्नु जनसँग दुख भन्नु मनसँग’ भन्छ । बोल्दैन. घोरिएर केही लेखिरहेको छ ।
००००००००००००००००००
एउटा डायरी छ । पहिलो पृष्ठमा लेखिएको छ । अनाम डायरी !
डायरी कसको हो कुनै नाउँ छैन । धेरै पानाहरु छन् । ती पानाभित्र धेरै मानिस छन् मानिसका चरित्र छन् । कुचरित्र छन् । विचार छन् । अविचार छन् । विचारशून्य विचार पनि छन् ।
ती मध्ये यो पानामा मात्र शिर्षक लेखिएको “अनाम डायरीको एक पाना !”
छाल जस्तै तैरिरहेका सपनाहरु अवरुद्ध छन् । र पनि मान्छे हाँसेका छन् । सबैकुरा हाँसउठ्दो छ त्यसैले मान्छे हाँसेका होलान् ! अब त दुःखमा पनि मान्छे हाँस्न थालेको छ । कति रुनु ?के केमा मात्रै रुनु ? बागमतीको मुहान सुके जस्तै आँशुका मुहान् सुकिसकेका छन् । रुनु कसरी ? रुनुको पर्याय हास्नु भएको छ । रुनुको विकल्प पनि हाँस्नु नै भएको छ ।
कृत्रिम विनम्रताहरु मान्छेको बजारमा छ्यापछ्याप्ति छन् । मान्छेले आफुलाई बेचेर त्यही मुल्यले अर्कोलाई किनिहरेछ । मान्छेको बजारमा आज खुला व्यपार भएको छ मान्छेको खरिदविक्री ।
दुःखद स्पर्शहरुले आजको दिनलाई अचेटिरह्यो । यथार्थहरुले आज उसलाई चिमोटिरहे । उसलाई भाग्यमानी देख्छन् तर एउटा ठूलो अभागको भागिदार पनि उ नै हो ।
‘ सुख भन्नु जनसँग दुख भन्नु मनसँग’ भन्छ । बोल्दैन. घोरिएर केही लेखिरहेको छ ।
००००००००००००००००००
एउटा डायरी छ । पहिलो पृष्ठमा लेखिएको छ । अनाम डायरी !
डायरी कसको हो कुनै नाउँ छैन । धेरै पानाहरु छन् । ती पानाभित्र धेरै मानिस छन् मानिसका चरित्र छन् । कुचरित्र छन् । विचार छन् । अविचार छन् । विचारशून्य विचार पनि छन् ।
ती मध्ये यो पानामा मात्र शिर्षक लेखिएको “अनाम डायरीको एक पाना !”
पानाको अन्त्यमा लेखिएको छ- “केही गर्नका लागि के गर्ने होला ? ”
देशका धेरै ठूला विचारहरु त्यही देशका ठूला कन्टेनरमा फलिए जस्तै एउटा सानो घरको सानो कन्टेनरमा फोहोरसँग फालिएको अवस्थामा म त्यो डायरी फेला पार्छु र जस्ताको तस्तै यहाँ “अनाम डायरीको एक पाना” कथाका रुपमा प्रस्तुत गर्छु ।
डिसेम्बर १७, २०११ बोस्टन, अमेरिका ।
देशका धेरै ठूला विचारहरु त्यही देशका ठूला कन्टेनरमा फलिए जस्तै एउटा सानो घरको सानो कन्टेनरमा फोहोरसँग फालिएको अवस्थामा म त्यो डायरी फेला पार्छु र जस्ताको तस्तै यहाँ “अनाम डायरीको एक पाना” कथाका रुपमा प्रस्तुत गर्छु ।
डिसेम्बर १७, २०११ बोस्टन, अमेरिका ।
0 comments:
Post a Comment
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !