Monday, January 16, 2012

जीवनपट

शिव प्रकाश

प्लेनको इन्जिन ‘अफ’ हुने वित्तिकै सेलफोनको स्वीच ‘अन’ गर्छ । एउटा म्यासेज आइसकेको छ– “आशु, म तिमीलाई एक घण्टा पछि फोन गर्छु– गौरी ।”

समयले लामो फड्को मारिसकेको छ तर साइनोको रंग झन् गाढा भएको छ । अतीतका मीठा अनुभूतिमा हुर्केका स्मरणहरु झन् वयस्क बनेर आशुतोषका मनभरी दौडिन थाल्छन्– कहिले प्रभासँग अनि कहिले गौरीसँग ।

वादलका थुम्काहरुसँग कहिले छलिदै, कहिले ठोक्किदै, कहिले लुकामारी गर्दै बहराइनबाट उडेको जहाज विभिन्न देशका आकासको छाती चिर्दै मातृभूमि नेपालको माटोमा अवतरित हुन्छ । स्वप्नभूमि अमेरिकाबाट लामो समयपछि मातृभूमि टेक्दैछ ऊ । दिनले संध्याको पोल्टोमा टाउको लुकाइसकेको छ । अहिले साँझको पाँच बजिसकेको छ । 

घरदेशको सम्झनाले निथ्रुक्क भिजेको उसको मन छट्पटी र औडाहा छड्किन थालेको छ । आँखाभरि धेरैवर्ष अघिदेखि देखेका सपनाहरु छन् ।

आँखाका परेलीमा सधैं नाचिरहने, अन्तष्करणमा सधैं डुलिरहने र मस्तिष्कमा सर्धै खेलिरहने त्यो मातृभूमि ! आज बल्ल आफ्नो अभागी निधारले मातृभूमिको चरणकमल ढोग्दै छ । विगत दुःखै दुःखमा बगाएको भए पनि दुःख के हो यतिबेला उसले सबै भुलेको छ । ऊभित्र खुशी नै खुशी मात्र छ । 

“आखिर जीवनमा खुशी पनि आउँदो रहेछ !”  धेरै वर्षपछि मातृभूमिको माटोमा माथा टेकाउँदेछ आशुतोष !

प्लेनको सिँढीको अन्तिम खुड्किलो छोड्नु अघि ऊ टक्क रोकिन्छ । मातृभूमिको पवित्रमाटो टेक्नु अघि त्यो माटोलाई ढोक्छ । प्लेनबाट ओर्लिनेको लाइन एकैछिन अवरुद्ध हुन्छ । उसका अगाडि–पछाडि धेरै मान्छे छन् । ती त्यही प्लेनमा यात्री हुन् । 

पछाडिबाट एउटा आवाज आउँछ– “के गरेको यो लाईन जाम गरेर ? हा... हा... हा... यस्ता पनि मान्छे देखिए !” त्यो रुखो हाँसोको ककर्श आवाज उसका कानमा ठोक्किदा मुटुमा ढुङ्गा ठोक्किए जस्तो हुन्छ । मर्मान्त हुन्छ त्यो आवाजले ।  

“कसैको नभाको स्वाङ् !, बाटो छोड ए....” अर्को एउटा संवेदनाहिन उदण्ड अपदब्दको आवाजले उसालाई धकेल्छ । आगाडि केही पर्यटकहरु छन् उनीहरु एकतमासले हेर्छन् । एउटाले सोध्छ– “के गरेको यो ?” उ विनम्रतापूर्वक मधुरो स्वरमा जवाफ दिन्छ – “मेरो देशको माटोलाई ‘स्यालुट’ गरेको ।” 

ओरिपरिका अरु नेपालीले हाँसोको पात्र बनाउँछन् उसलाई । सबैका अनुहारमा आँखा दौडाउँछ तर चुपचाप अघि बढ्छ । मनमनै भन्ठान्छ– मूर्खहरुले यस्तै हुन्छन् ढुंगालाई ढोग्दा धर्म मान्छन्, माटोलाई ढोग्दा अपराध ठान्छन् । 

यो घटना एउटा दुस्वप्न जस्तो लाग्छ । 

आकासमा झण्डै उन्नाईस–बीस घण्टाको उडान अनि लण्डनको लामो ट्रान्जिट । बहराइनका थप केही घण्टा । झण्डै तीस–बत्तीस घण्टाको निरस, पट्यार र थकानलाग्दो यात्रा ! तै पनि आशुतोष पटक्कै थकित देखिदैन । उसको अनुहारमा बिहानीको किरणले चुमेको त्यो आफ्नै हिमालको चमक छ । शरीरमा कलकल बग्ने ती आफ्नै देशका वयस्क खोलानालाको स्फूर्ति छ । ती सधैं नसानसामा बगेको अनुभूत गर्छ । मनमा उमंगको गुँरास ढकमक्क फुलेको छ । जो सधैं दुःखका साथी बनेर खुशी दिइरन्छन्  । 

मातृभूमिसँग उसको सम्बन्ध त्यही छ– जुन सम्बन्ध नङ र मासुको हुन्छ । मुटु र श्वासको हुन्छ । जून र ताराको हुन्छ । माटो र ढुङ्गाको हुन्छ ।

तर विडम्बना ! समयको भँगालोले उसलाई भूगोलको कुनै सुदूर कुनामा लगेर धेरै वर्ष थन्क्याइदियो । विधाताको इच्छा– उसलाई माता र मातृभूमिको काख र परिवारको मायाबाट वर्षौ अलग गरायो । अन्ततः आज एक निराश्रित एकाङ्की जीवनबाट गृहस्थ जीवनमा फर्केको छ । मानिस जस्ता देखिने मान्छेहरुको जंगलबाट फेरि मानिस भेट्न आएको छ ।

बाहिर उभिएका सयौ अपरिचित अनुहारमा आँखा दौडाउँछ । त्यो भीडमा टाढैबाट प्रभालाई देख्छ । खुशीले प्रफूल्ल मन, झलमल्ल जून–तारा झुल्केको आकाश जस्तो हुन्छ तर एकाएक झट्ट गौरी सम्झिन्छ । अहिले आफू फेरि  दशगजामा उभिएको जस्तो लाग्छ उसलाई– एकातिर प्रभा र अर्कातिर गौरी ! 

आँखामा प्रभा, मनमा गौरी ! एउटा अन्र्तद्वन्दले उसको अन्र्तमनमा अर्को युद्ध चलाउँछ एकछिन् ।

साँझ झमक्क परिसकेको छ । घरमा पुग्छ– अँध्यारो छ । बत्तीको स्वीच अन गर्छ– बल्दैन । धेरै अँध्याराहरु मध्ये लोडसेडिङको सघन अँध्यारोमा देश डुबेको छ । उसलाई लोडसेडिङको तालिका थाह छैन । छोराले भन्छ– “बाबा, बत्ती छैन । राती बाह्र बजेमात्र आउँछ ।” 

बल्ल उसलाई थकानको महशुस हुन्छ । लखतरान शरीरलाई सोफामा एकछिन् मुडो जस्तै लडाउँछ । उठेर नुहाउँन बाथरुम तिर जान्छ र धारा खोल्छ– पानी आउँदैन । 

“खै मैले धारा खोल्न जानी न कि क्या हो ?” श्रीमतीतिर हेर्दै भन्छ ।

“नजानेको हैन, पानी नभएको हो । एकदिन विराएर पानी आउँछ– जम्मा दुई घण्टा । बिहानै आयो अब पर्सी मात्र आउँछ ।” श्रीमतीको कुराले ऊ एकछिन् विलखबन्दमा पर्छ । श्रीमतीको अनुहारमा एकटक लाउँछ । प्रभाका आँखाले निरस जीवनको अर्थ खोजिरहेका हुन्छन् । । हेर्दा हेर्दै मोती हराएको नाग जस्तो हुन्छ । ओलिएर रुख ढले जस्तै गरि सोफामा फेरि ढल्छ । 

“घर अँध्यारो....! धारा रित्तो ....!” एक्लै बोल्छ । 

“यसमा त्यस्तो अचम्म मान्नु पर्ने कुरा म त केही देख्दिन । यहाँ त देश आफैं शहीद हुन लागेको छ । यो सबै सामान्य भएको छ । यो सामान्य सबैलाई मान्य भएको छ । ” 

उनका कुरामा केहीबेर गम्भीर हुन्छ । प्रभाको अनुहारमा यौवनका आभाहरु देख्दैन । शरीरमा वैंशको वशन्त भेट्दैन । मनको कितावमा वेदनाका भाषामा लेखिएका पीडाका अक्षरहरु पढ्छ । मर्माहित हुन्छ ।

सोच्छ– म एक अपराधी हुँ ! उ जिन्दगीको हिसाबकिताब गर्न थाल्छ । कमाएको भन्दा गुमाएको नै बढी आउँछ शेषमा । विगत र वर्तमानलाई तौलन्छ– न्यायको जस्तै वर्तमानको पल्ला हुलुको हुन्छ । ऐनामा आफ्नो अुहार हेर्छ– उस्तै देख्छ आफ्नी स्वास्नी प्रभाको जस्तै । यौवनको भीख अब कोसँग माग्ने ? यौवन गुमाएर कमाएको पैसाको अर्थ खोज्छ– केही पाउँदैन ? झन् लखतरान थाके जस्तो हुन्छ । 

मैनबत्तीको मधुरो उज्यालोतिर गहिरो नजर लाएर जीवनको परिभाषा खोज्छ– जीवन एक ठट्टा पनि रहेछ जस्तो लाग्छ । आकाश जस्तै शून्य आँखाले आफैंलाई हेर्छ– रित्तो भेट्छ आफूलाई ।

ए, मान्छे ! हैन कहाँ हरा’....? प्रभावको आवाजले झस्किन्छ । “यस्तै हो यहाँ । अँध्यारोसँग विरक्ति लाग्यो होला । हाम्रो त प्रीत गाँसिसकेको छ ।” प्रभा मुस्कुराउन खोज्छे ।

“मैले कुरा बुझिन ।” आफ्ना उदास आँखा प्रभाको अनुहारमा डुलाउँछ । फिक्का उज्यालो जस्तो लाग्छ ।

“मैले धेरै अँधेरा रातहरु एक्लै काटीसकेकी छु । त्यसैले आजको यो अँधेरो मलाई अँधेरो जस्तो लागेको छैन । तपाइँको उपस्थिति नै यो घरको उज्यालो हो ।”

चुपचाप आशुतोष चुपचाप नै छ । फेरि आफ्ना आँखा प्रभाको अनुहारमा दौडाउँछ । उनको अनुहारमा फाट्टफूट्ट खुशीका जुनकीरीहरु उडेको जस्तो देख्छ ।

“यस्तै हो भने त तपाइँ यहाँ चारदिन पनि टिक्नु हुन्न । यहाँ ‘छैन र हुदैन’सँग मित र ‘अँधेरो’सँग प्रीत लाएर बाँच्नु पर्छ । दुःखसँग हाँस्नु पर्छ । देशमा अब ‘छैन र हुदैन’ बाहेक केही बाँकी छैन ।”

उसले फेरि पनि कुरा बुझ्दैन र सोध्छ– “के भन्न खोज्या ?”

“छैन अर्थात केही छैन । देशमा पेट्रोल छैन, मट्टीतेल छैन, ग्यास छैन, पानी छैन, बत्ती छैन, नीति छैन, नियम छैन ।  मान्छेमा नैतिकता छैन, निष्ठा छैन, इमान छैन, धर्म छैन, मानवता छैन, संवेदशीलता छैन । देशमा जे हुनु पर्ने हो त्यो छैन । मान्छेभित्र हुनु पर्ने जे हो त्यो पनि छैन । खोज्दै गयो भने ‘छैन र हुदैन’ बाहेक कहीँ केही छैन ।” 

आशुतोष शुष्क हाँसो फिसिक्क हाँस्छ तर भित्रभित्रै मन चसक्क दुःख्छ । देशको पीडा अनुहारमा झल्किन्छ ।

“ल म तातो चिया बनाएर ल्याउँछु ।” प्रभा भान्सातिर लाग्छे ।

+

“मलाई थाह छ तिमी थाकेका छौं तर त्योभन्दा बढी म थाकेकी छु तिम्रो पर्खाइमा । स्वागत छ तिमीलाई मातृभूमिमा । भोलि.............. !”

गौरीको आवाजले उसलाई विगतको त्यो लामो बाटोमा एकछिन् फेरि हिँडाउँछ । स्मरणका उकाली–ओरालीहरु चढाउँछ–ओराल्ःछ । औपचरिकताका केही शालिन शब्दले गौरीप्रति आभार देखाउँदै “हुन्छ” मात्र भनेर फोन विसाउँछ । अनि उही बाटो हिड्छ जुन बाटो उसको मानसपटलमा हिडिरेको छ । 

आशुतोषको मष्तिष्कमा गौरी र गौरीको मष्तिष्का आशुतोष प्रेमका एक अनौठा विम्ब र प्रतीक भएर बसेका छन् । यता जीवनमा प्रभा छे !

। चियाको कप नजिकै राख्दै सोध्छे– “यात्रा कस्तो भयो त ?” प्रभाको आवाजले ऊ आफू अहिले फेरि घरमा भएको महशूस गर्छ । आत्मग्लानीको पसिनाले एकचोटी मन भिजाउँछ । गौरीलाई एकछिन् विर्सिन्छ ।

“अँ ठीकै भयो तर अलि थकित भए जस्तो भएको छ । के भन्नु प्रभा दिक्क लाग्छ सम्झिदा पनि ....! पछि भनुला कुनै दिन ।”

आठ वर्षपछि भेटेको लाग्नेसँग बेलाबेलामा प्रभाका आँखा ठोक्किन्छन् । आफूभित्र हुर्किएको अलिकति लज्जा र अलिकति संकोचले प्रभालाई एक अनौठो दूरीमा राखेको छ । त्यसमाथि केही शङ्का र सन्देहले पनि पछ्यारहेको छ– “यत्रो वर्ष एक्लै विदेश बसेको एउटा लोग्ने मान्छे ?” प्रभाका आँखामा  प्रश्नहरु चल्मलाउँछन् ।

सूर्यास्त सँगै लजालु बनेको साँझ । प्रभाको मूहारमा साँझको सिँदुर छाएको छ– एक शालिन मृदुभाव । तर, आशुतोषलाई भने कस्तो कस्तो आफ्नै स्वास्नीलाई पनि भरखरै मात्र चिनेको जस्तो भइरहेछ । कुरा गर्न पनि कताकता अप्ठ्यारो जस्तो । कुरा गर्ने कुरा पनि केही नभए जस्तो । साँच्चै भन्ने हो भने भरखर ‘लभ’ पर्न सुरु भए जस्तो ! कुरै नआउने, आए पनि छिट्टै सिद्धिने । एउटा पछि अब अर्को के कुरा गरुँ जस्तो  । 

उनीहरु बीच समयले एउटा लामो रेखा तानेको छ । थाहा छैन छोट्याउ यो समयले कति समय लिन्छ ? आठ वर्षको अन्तरालले ल्याएको यो अवस्था दुबैका लागि असहज भएको छ ।

+

बातैबातमा ........ !  रात वित्छ । 

धरतीमा घामका पाइला परिसकेका छन् । उज्यालो छ धरती । धरती जस्तै छ प्रभाको अनुहार आज ।

“उठ्न अलि अबेला भएछ तर आहा ! आज मन कति चंगा भयो ।” प्रभाको अनुहारको खुशी आशुतोषको अनुहारमा सर्छ । ऊ मुस्कुराउँछ । 

+

“गौरी पर्खिरहेकी होली, ओहो ! एक बज्न लागिसकेछ ।” हातारहतार निस्कन्छ । 

पिपलबोट मुनी गौरी गाडी रोकेर बसेकी छे । गहिरो मुस्कानले स्वागत गर्दै मित्रताका हात निशङ्कोच अघि बढाउँदै भन्छे– “वेल कम माइडियर आशु ! मैले हिजै भनेकी थिइन, एक बजे भनेर । पाँचमिनेट ढिलो भयौ नि । खोइ त अमेरिकन टाइम ?” प्रश्नसूचक दृष्टिसँगै गौरीका प्रेमिल आँखा आशुतिर एकोहोरिन्छन् ।

“सरी !” लघु मुस्कानसाथ गौरीको आँखासँग आफ्ना आँखा मिसाउँछ । सोध्छ– “हामी कहाँ गइरहेका छौ ?” 

“म जहाँ लान्छु त्यही ।” गौरीको बोलाई उस्तै छ पहिलेकै जस्तो भाववाचक र अलि चर्को । गाडी तीनकुनेबाट मोडिएर भक्तपुरको हाइवेतिर लाग्छ । कुराकनीको शिलसिला सुरु हुन्छ ।

“अनि यत्रो वर्षपछि फर्किएको तिमी, के फरक देख्यौ त देशमा ?”

“धेरै देखेँ, गौरी । नेता भनाउँदा भष्माशूरहरुले बोली फेरेछन् । पहिले मजाले नेपाली बोल्नले आज नेपाली भाषा विर्सिएछन् । हिजोसम्म दौरा–सुरुवाल र ढाकाटोपी ढल्काएर दरबार छिर्ने अनुहारहरु आज अर्थोकै के–के लाएर अन्तै कता कता छिर्न थालेछन् । भेषभूषा त फेरेछन् तर अनुहार र व्यवहार फेरेका रहेछन् । भित्रका उही सधैका भष्मासुर, अझै भष्मासुरै रहेछन्  !

“अनि अरु नि ?” आफ्ना ठूला–लाम्चा चंचल आँखाका तीखा नजर आशुतोषतिर फर्काउँछे ।

“गौरी, कताकता मेरो देश, आफ्नै देश हो कि हैन जस्तो पनि लाग्यो । खै के हो ? देश, परदेश गएको हो कि परदेश नै देश भित्रिएको हो ?” उसले कवि विष्णुविभूका कविताका यस्तै केही भावहरु पनि सम्झन्छ ।

थप्छ– “स्वप्नदर्शीहरु पनि सायद सबै शहीद भए !”

“अर्थात .... ?” ऊ छिट्टो र छोटो बोल्छे । शब्दका चास्नी घोल्न सिपालु छे ।

“गौरी, देशमा छाएको अँध्यारोसँगै सँस्कारका बत्तीहरु सबै निभे जस्तो लाग्यो मलाई । चेतनाका जुनकीरीहरु सबै मरिसके जस्तो लाग्यो ।”

गौरी लामो शास तान्छे । “हो, हईऽऽ... कस्तो भयो समाज ?” भन्दै “अनि म नि ?” उही चंचलेपाराले सोध्छे । 

गोरो वर्णकी गौरी । बाटुलो अनुहार । लाम्चा चंचले गाजलु आँखा । सलल बगेको हलुका हल्का तामा रङ्गको कपाल । हात गोडा उस्तै सलक्क परेका । अझै जीउडाल उस्तै चटक्क मिलेको । कालो रंगको टिसर्ट । निक्कै उदरतापूर्वक खोलिएको  गोरो छाती । उसका आँखामा झनै वयस्क देखिन्छे गौरी । 

आफ्ना आँखा निर्वाध डुलाउँछ गौरीको शरीरमा । जूनको उज्यालोमा विताएका पल्लवित पलहरु सम्झन्छ । गोधुलीमा हराएका मधूर साँझहरु सम्झन्छ । शहरबाट कतै टाढा खेतबारीमा विताएका उज्याला दिनहरु सम्झन्छ । गौरीसामू गौरीसँगै बिताएको क्षणरुमा एकछिन् हराउँछ । गौरीको गालाको चिटिक्क परेको कोठी जस्तो सधैं गालामै टास्सिउँ जस्तो लाग्छ उसलाई । हाँस्दा फक्रिएको गुलाफ जस्तो देखिन डिम्पल भएर सधैं उसको मनमा फक्रिरहन पाउँ जस्तो लाग्छ ।

नागबेली बाटामा गाडी एकनासले बगिरहेको छ । ऊ भने विगतमा बगिरहेको छ । गौरीले एक्कासी गाडीको ब्रेक ध्याच्च लाउँछे । उ झस्किन्छ र गौरीका हात समाउन पुग्छ । असजिलो महशुस गर्छ । अनुहार फिक्का हुन्छ । ग्लानीको अनुभूति अनुहारमा उत्रिन्छ । 

गौरी मुस्कुराउँदै बोल्छे– “त्यसैले ब्रेक लगाएको हुँ । कहाँ हराएको ? बोस्टनका समुद्र किनारका ‘बीच’ र शहरका ‘वीच’हरुले मन उतै ताने कि क्या हो ? बडो शालीन र भद्र बनेर बसेका थियौ नि  ! डर लाग्यो ?”

“छैन ।”

“नत्र किन समायौ त हात ?”

आशुतोष हाँस्छ । गौरीले त्यो हाँसो बुझ्छे र उ पनि हाँस्छे । दुबै एकछिन् रोमान्टिक हुन्छन् । 

खै मेरो बारेमा त केही भनेनौ नि ? “कस्तो ‘गुफी’ जस्तो हँऽ तिमी ? नो कमेन्ट ? फेरि ब्रेक हानौ कि क्या हो ? अब त ब्रेक हैन एक्सिलेटर दवाउँछु र उडाउँछु तिमीलाई नै । अनि कसैले नभेट्ने ठाउँमा पु¥याउँछु नि !”

“तिमी, तिमी जस्ती रहिनछौ, गौरी !” मुसुक्क हाँस्दै वाचाल बोली बोल्छ आशुतोष ।

“अर्थात ?” 

गौरीका आँखामा आवेगको एक लघुविम्बको झिल्को झिलक्क झल्किन्छ । तर, आशुतोषलाई थाह छ प्राय नारीहरुलाई नराम्री भन्नु हुदैन भन्ने कुरा । धेरै पुरुषले नारीलाई कहिल्यै नराम्री पनि भन्दैनन् । नारीप्रति नमर हुने पुरुषहरुको एउटा जन्मजात सद्व्यवहार हो । त्यसमा पनि गौरी निक्कै राम्री देखिन्छे । उमेरले मान्छेलाई खान्छ भन्छन् तर उसले उमेरलाई खाएर पनि पचाएकी छे जस्तो लाग्छ ।

“अर्थात गौरी ! तिमी, तिमी जस्ती नभएर तिमीभन्दा राम्री रहिछौ । झन् राम्री ! सुन नउगेलिने र तिमी बुढी नहुने रहस्य एकै हो कि क्या हो ?” 

आशुतोषको कमेन्टले गौरीको मुखबाट हाँसोको बाक्लो फोहोरा फुट्छ । अनुहारमा गुराँस फुल्छ । “गीभ मी फाइभ” गौरीको खुशीलाई आशुतोषले साथ दिन्छ । दुबै उन्मुक्त हाँसोमा एकछिन् हराउँछन् । गाडी मन्द वेगमा दौडिरहेछ । हावाका हलुका स्पर्शले गौरीका कपालका केस्रा अनुहार भरी आफूखुशी सल्बलाउँछन्– हेरुँ हेरुँ लाग्ने गरी ! बेलाबेलामा ती केस्रा आसुतोषका गालासम्म  जिस्किन आउँछन् र ठोक्किएर जान्छन् । उसलाई भित्रभित्रै काउकुती लागे जस्तो हुन्छ ।

लामो ग्यापको अनुभूति र अनुभवहरु बाड्दै यात्रालाई अगाडि बढाइरहेछन् तर दुबैलाई लाग्छ उनीहरु बीच त्यस्तो लामो ग्याप कहिल्यै भएको थिएन । आफ्ना विगतलाई कति छिट्टै वर्तमानसँग हिडाइरहेछन् आफुसँगै उनीहरु । 

सडकको किनारमा एकछिन् गाडी रोकेर गौरी एकतमासले आशुतोषलाई हेर्छे । अनि छिनमै आँखा बन्द गरेर भन्छे– आहा ! मनका आँखाले हेर्दा तिमी झन सुन्दर देखिन्छौ । 

”तर, हामी कहाँ जादैछौ ?” आशुतोषको कौतुहलता तपक्क तप्किन्छ । आँखा गौरीको अनुहारमा अडिन्छन् । 

“आइपुगियो ।” नभन्दै गाडी नगरकोटको एक भव्य होटल आँगमा पुगेर रोकिन्छ । 

“हामी यहाँ गौरी ?” आफ्ना अमुक आँखा गौरीतिर लगाउदै सोध्छ ।

“हो यहाँ, जस्ट फलो मी !” लाग्छ यो कुनै कमाण्डरको आदेश हो । ऊ गौरीका पाइला पछ्याउँदै एउटा सानो सेपरेट डाइनिंग रुममा छिर्छ । होटलमा सबैले गौरीलाई ‘म्याम’ भन्दै नमस्कार गर्छन् । सधैं आउने ग्राहक जस्तो ! नजिकबाट चिनेजाने जस्तो गरी ! 

ऊ अल्मिलिन्छ । किन हो ? के हो ? गौरीलाई कसरी चिने यी सबैले । गौरी एक बैंकर हो । यी वेटरसम्मका मान्छेले कसरी चिने ? यो होटलसँग उसको के रिलेशन ? मनको बाघले निल्न थाल्छ । शङ्का उपशङ्का भित्रबाहिर गर्न थाल्छन् ।

“ह्याभ अ सीट । ह्वाट उड यू लाईक टु ड्रिंक ?”

आशुतोष गौरीको विपरित कुर्सीमा बस्छ । गौरीको प्रश्न उतै फर्काउछ– “तिमी के पिउँछौ नि ?” 

“म आज वाइन पिउँछु ।” अवाक बोल्छे गौरी ।

“यो केटी काठमाण्डुदेखि यहाँसम्म ड्राइभ गरेर आएकी छे । वाइन पिउँछु भन्छे । यस्तो होटलमा ल्याएकी छे । फर्किदा गाडी कसरी चलाउँछे ?” आफैभित्र केही प्रश्न उब्जिन्छन । उ तिनै प्रश्नमा एकछिन्  फेरि हराउँछ । 

“चिन्ता नगर फर्किदा मसँग मेरो ड्राइभर कर्णध्वज हुनेछ ।” सायद तिमीले यही सोचेका होलाउ, हैन त ?

मन्द हाँसोसाथ सहमतिको टाउँको हल्लाउँछ आशुतोष ।

गौरीले केही स्यान्याक्स अर्डर गरिसकेकी छे । चियर्स......... । दुबैका गिलास बज्जछन् ।

“भन आशु, कस्तो छ अमेरिका ?”

“मान्छे जस्तै छ ।” 

“मेरो प्रश्न त सद्दे नै हो तर उत्तर किन पागल ?” गौरीका तीखा नजरका वाँण र लोभलाग्दा मुस्कान एकसाथ प्रक्षेपित हुन्छन् ।

“देखेको मान्छे र बेहेरेको मान्छे फरक हुन्छ, गौरी । त्यस्तै हो सुनेको अमेरिका र भोगेको अमेरिका पनि ।” 

“कस्तो फरक ?”

“मान्छेभित्रको मान्छे जस्तै छ अमेरिकाभित्रको अमेरिका । अणु–परमाणु र जीवाणुहरुको देश हो अमेरिका– मान्छेको हैन । बाँकी कुरा गर्दै गरौंला ।” कुरा अर्कैतिर लान खोज्छ आशुतोषले ।

“ओ, मिस्टर ! धेरै कुरा ‘फ्री’ छ रे नि त्यहाँ ?” गौरीका आँखाका टेडा हेराईको अर्थ बुझ्छ ।

“हो म्याम ! भावना नै मूल्यहिन भएपछि अरु कुराको मूल्य के हुन्छ ? तिमी नै अनुमान लगाऊ । तर, मैले जीवनमा कुनै पनि ‘फ्री’ को उपयोग गरेको छैन ।” एकछिन् हाँस्छन् र केहीछिन् चुपचाप हुन्छन् । त्यो मौनतामा आँखा–आँखा मात्र बोल्छन् । 

गौरीले आशुतोषको हात तान्छे र प्रेम र सम्मानको एक चुम्बन चुप्प पार्छे । खिसिक्क हाँस्छे । धन्यवादको प्रतिउत्तरमा मुन्टो हल्लाउँछे ।

“भाइ, म्यानेजनर सा’बलाई पठाइदेऊ त ।” वेटरतिर हेर्दै भन्छे । आशुतोष झन् छक्क पर्छ । मनमा अनेक शंका–उपशंकाको दोहोरीलत्ता चल्छ । यो होटल ! म्यानेजर ! सबैसँग चिनजान ! के हो ? ‘अलमल गोत्र आमा एक बाउ सत्र’ जस्तो हुन्छ उसलाई ।

“म्याम, सर मिटिङ्मा हुनुहुन्छ रे, एकै छिन पछि आउँछु भन्नु भा’छ ।” 

“ओके नो प्रब्लम, थ्यांक्यू...” गौरील्े वेटरलाई भनेको वाक्य सिध्याउँन नपाउँदै पछाडिबाट एउटा आवाज आउँछ– “हजूर, नमस्कार ! म कर्णध्वज ।” 

गौरी उठ्छे । मुसुक्क मुस्कुराउँछे र छेउमै बस्ने संकेत गर्छे ।  गौरीको अहिलेको यो मुस्कार न र केहीबेर अघिसम्मको त्यो मुस्कानमा फरक पाउँछ । 

“के मान्छेपिच्छेको मुस्कान पनि फरक हुन्छ ? कतै त्यो कस्मेटिक त थिएन ?” उसलाई कताकता मनको बाघले फेरि निल्न थाल्छ । ‘नारीको शत्रु सुन्दरता हो’ भन्छन् हो कि क्या हो जस्तो लाग्छ । “को हो कर्णध्वज ?” प्रश्नको एउटा पहाड उभिन्छ उसका सामू ।

शूटबुटको शुभ्र पहिरनमा शालीन बोली र भ्रद स्वाभावको लाग्ने कर्णध्वजले खल्तीबाट चेक निकाल्दै मित्रताका हात आशुतोष तिर बढाउँछ । चेक आशुतोषको हातमा थमाउँछ । 

“भद्र हाँसो हास्दै भन्छ– “धनले धन कहिल्यै दिदैंन, लिन्छ मात्र । मनले हो दिने त । तपाइँले गरेको यज्ञका लागि अलिकति चरु सम्झिनुस् यो र स्वीकार्नुस आशुतोषजी ।”

गौरी बीचमा बोल्न खोज्छे । एकछिन भन्दै गौरीलाई रोक्दै कर्णध्वज फेरि बोल्छ– “वाइ द वे मलाई थाहा छ अमेरिकाको दुःख । म पनि अमेरिकाको भुइँ पुछेर  होटल म्यानेजमेन्टमा मास्टर्स गरेर सात वर्षपछि फर्किएको हुँ । मलाई तपाइँ र तपाइँको दुःखको कमाइले गर्न लागेको त्यो सामाजिक कामको बारेमा गौरीले सबै बताएकी छिन् ।”

“मलाई एउटा कुराले असाध्यै प्रभाव पारेको छ आशुतोष । आफ्नो जन्मदिनका नाउँमा मान्छेले उडाउने हजारौं रुपिया तिमीले तिम्रो गाउँको स्कुललाई जन्मदिनको उपहार भनेर दियौ । मैले यो कुरा कुनै अखबारमा पढेकी थिएँ । त्यतिबेला तिमीभन्दा सायद म बढी खुशी थिएँ होला– मेरो मित्रको महानता देखेर ।” गौरी एक सासमा बोल्छे ।

आशुतोषका आश्चार्यवोधक आँखाहरु घरी गौरीका, घरी कर्णध्वजका आँखासँग ठोकिन्छन् । तर, कर्णध्वज हो को ? ओठमा मुस्कान भए पनि मनमा आँधीहुरी चलिरहेको छ ।

“वाइ द वे आशुतोष, उहाँ मेरो श्रीमान् !” कर्णध्वजको परिचय गराउँछे गौरी । ऊ तीनछक पर्छ । सपना जस्ता लाग्छन् उसलाई यी सबै । यो सबै कुनै एउटा पुरानो, सभ्य र शालिन सिनेमा हेरे जस्तो पनि लाग्छ । एकछिन् एकतमासले हेर्छ दुबैका अनुहार । छोटो मौनता पछि सबै मुस्कुराउँछन् ।

“गफ गर्दै गरौ म आइहाल्छु, अनि लागुँला नि हुन्न ?” कर्णध्वज बाहिरिन्छ । झमक्क साँझ परेको छ । दिनसँग सन्ध्याको प्रणयपात सुरु भैसकेको छ ।

“नो हग ?” गौरीले मन खोल्छे । गौरीको उदारताको पर्खाइमा बसेको हुन्छ आशुतोष पनि । दुबैले एकछिन् आँखा चिम्लिन्छन्, लामो सास तान्छन् ।

“यतिसम्म त नैतिकताले पनि छुट दिन्छ नि हैन त आशु ! अनि तिम्रो र मेरो कथाले पनि मागेको हुन्छ नि हैन र ? अहिलेका सिनेमामा जस्तो !” दिल खोलेर हाँस्छे गौरी फेरि । 

“आशुतोष तिमीले जानेबेलामा भनेका थियौ नि– हामी जीवनसाथी नभए पनि जीवनभरको साथी हुन सक्छौ भनेर । मैले सधैं तिम्रो त्यही वाक्यलाई सम्झे, सोचेँ र मनन गरेँ । तिमीले भनेजस्तो प्रेम र विवाह फरक हो भन्ने छुट्याएँ । आखिर सम्भव पनि त थिएन ...। अन्ततः तिम्रो अवतारको रुपमा कर्णध्वजलाई मैले मेरो प्रेमी र पति दुबै स्वीकारेँ । स्वीकारोक्तिसँगै उसँगै खुशी हुने प्रयत्न गरेँ । गरिरहेको छु र सायद गरिरहने छु तर एक शर्तमा...... ।

“कस्तो शर्त ? गौरी !”

“पछि भन्छु कुनै दिन......।” उसले वाक्य टुङ्ग्याई । 

हुन त गौरीले अहिलेसम्म बताएकी छैन, त्यो शर्त .... ! गौरी सम्झेर आशुतोष सोच्छ– जीवनपटमा जिन्दगी एक ठट्टा पनि रहेछ र रहस्य पनि ! 


जनवरी ०६, २०१२ बोस्टन, अमेरिका ।
(नोटः जैमली कथा संग्रहको गौरी कथाको विनिर्मित कथा)

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !