Saturday, February 11, 2012

पार्श्वपात्र

शिव प्रकाश

सडकमा कुरिरहेको छु । अलि परैबाट उनीहरु त्यो सडक छोडेर गल्लीतिर लागे ।
मलाई थाह छ– काला सर्प जस्ता यी ठूला आदिम सडकहरु धेरैजसो ठूलै घरमा गएर टुङ्गिन्छन् । गल्लीहरु प्रायः साना घरका कोच्याक्रा कोठामा । उनीहरु कोठाभित्र छिरे । म बाहिरबाटै फर्किएँ ।
त्यो दृश्य त्यसैगरी हरायो जसरी अचानक निद्रा खुल्दा सपनाहरु हराउँछन् ।
भोलिपल्ट म उनीहरुलाई पछ्याउछुु– जीवनलाई छायाले पछ्याए जस्तै । उनीहरु जता जान्छन् म त्यतै जान्छु पछिपछि ।
उनीहरु आपसमा कुरा गर्दै अघि बढ्छन्, ‘हामीसँग सपना नै छैनन् । सपना पनि स्वपीडक हो । किन देख्नु सपना ?’ एउटाले भन्छ, अर्को सहमतिको भारी मुन्टो हल्लाउदै बोल्छ– ‘इच्छाहरु नै सपना हुन् । तिनलाई शहीद बनाउनुभन्दा बरु नजन्माउनु नै राम्रो ।’
मानांै– यो उनीहरुको आत्मविश्वासको आवाज हो, जुन ‘जीवनको स्लोगन’ नै भएको छ । म सुन्छु मात्र, केही बोल्दिन । लाग्छ– आशा र अनुग्रहको एउता सानो त्यान्द्रो पनि अल्झिएको छैन उनीहरुको जीवनमा । अरुलाई माखेसाङ्गोमा पार्ने दुःस्वप्न त झन् छदैछैन । यस्तै सोच्दै उनीहरुको पछिपछि म कोठामा छिर्छु । मेरा जिज्ञासु नजर ओरिपरि घुमाउँछु ।
असरल्छ छ कोठा !
एउटा कुर्सी दक्षिण फर्किएको छ, अर्को पश्चिम । एउटामा पुरानो कम्प्युटर छ, हात्तीटाउके मोनिटर भएको । छेउमा किताब छरिएका छन् मान्छेका चाहना छरिए जस्तै ! अर्को टेबुलमा किताबको झन् ठूलो खात छ सहरका बेवारिसे मान्छे जस्तै ! धूलोको लेपनले किताबका मुहार धमिल्याएको समाजका तमाम मुक मुुहारहरु जस्तै ! भित्तामा दराज छ । दराजमाथि बाङ्गाटिङ्गा–टेढामेढा ठेलीमा ठडिएका छन् झन् धेरै किताब, अफिसका हाकिमहरु जस्तै !
धुम्रपान निषेधको कुनै सूचना टाँसिएको छैन ।
टाँसिएकै भए पनि त्यसको पालना गर्ने कसले ? नगर्ने टाँस्न लाउनेहरु नै हुन्छन् जसरी कानून बनाउनेले नै कानूनको पालना गर्दैनन् । चुरोटको धुँवाको बाक्लो तुँवालो बेलाबेलामा कोठामा घुमिरहन्छ मान्छेका मनमा बारुदको कालो धुवाँको त्रास घुमेजस्तै तर मान्छे अभ्यस्त भैसकेको छ चुरोटको धँुवामा जस्तै ।
सायद डस्टप्यानलाई ठम्याउन नसकेर होला रस निख्रिएको चेपुवाको थेग्रो भुँईतिर पनि छरपस्ट देखिन्छ– शहरमा यत्रतत्र बेसहारा वृद्धवृद्धा र बालकहरु अलपत्र भए जस्तै ।
फुर्सद छैन मिलाउने । आवश्यक पनि छैन सायद ! एउटाले मिलाएर के गर्ने अर्कोले उस्तै बनाइहाल्छ । बनाउने भन्दा भत्काउनेको संख्या कति हो कति धेरै छ देशमा । देशको दुःखको तस्वीर देख्छु म त्यहाँ जसलाई देशको नमुना पनि भन्न सकिन्छ । जहाँ जहाँ म गएँ, त्यहाँ त्यहाँ उस्तै देख्छु ! दुःखका मैला टुक्रा देशभरि छरपस्ट भेट्छु !
उनीहरुलाई पछ्याउँदै म अहिले उनीहरुकै अफिस कोठामा पुगेको छु ।
धेरै मान्छे आफ्ना सफा कोठाका चिल्ला र महँगा टेबुलका र्याकमा, दराजका खापाहरुमा, सोफाका कुसनका पत्रहरुमा, कुर्सीका खपेटाहरुमा मनका मैला चित्र र हृदयका कुरुपताहरु लुकाएर बसेका हुन्छन् । तर त्यहाँ फरक छ !
मलाई थाह छ– उनीहरुले केही लुकाएका छैनन् । र त जस्ताका तेस्तै छन् । हिजो जस्तै आज, आज जस्तै सायद भोलि.... ! त्यो कोठा जस्तो छ, त्यस्तै छ जिन्दगी  । ती किताब जस्ता छन् त्यस्तै छन् त्यहाँ मान्छे ।
म सोच्छु–  यिनीहरुले देशको तस्वीर बोकेर बसेका छन् । ढाक्ने नै केही छैन यिनीहरुसँग किनभने ढाक्नु पर्ने पनि केही छैन– आफ्नो एक शरीर र शारीरिक लाज बाहेक !
मलाई यो पनि थाह छ– यी मुकदासताका पुजारी हैनन् । र त सडकमा भेटिन्छन् । सर्धै प्रायः, सँगै प्रायः ! सडकमा दुईजना उस्ताउस्तै सँगै भेटिए भने माने हुन्छ ती तिनै हुन् ।
मैले सामान्य कुराकानी सुरु गर्दै हालखबर सोधेँ ।
‘बेघरको बेहाल भन्दा हाम्रो हाल ठीक छ । कमसेकम घर त छ ।’
उसले जवाफ दियो । उ कवि हो । इमानी कवि । अर्कोले कोरस थप्दै मुन्टो हल्लायो । अर्को पनि कवि नै हो । रुमानी कवि । जवाफमा गहिरो अनुभूतिको आभास भयो मलाई । ‘बीस वर्ष जागिर खाने मान्छेको काठमाडौं एक भव्य घर त हुने नै भयो नि !’ सबैले अनुमान लाए जस्तै मनमनै अनुमान लाएँ । कुन चैं नयाँ कुरा हो र !
म उनीहरुलाई धेरै वर्षपछि भेट्दैछु ।
‘भन के छ ? कहिले आयौ विदेशबाट ?,’ बलै कविले सोध्यो ।
उ बलैको पिता हो । अर्थात बलै शब्दको जन्मदाता । बलैको अर्थ उसैलाई थाह छ । एक पटक सोधेको थिएँ– के हो बलै भनेको ? ‘तिमीले मलाई जस्तो सोच्छौ, त्यस्तै । राम्रो सोचे राम्रा,े नराम्रो सोचे नराम्रो, बलैक्वाँक !’ यसरी नै बुझाएको थियो ।
‘तीनचार दिन भयो । आएदेखि म तिमीहरुलाई खोजेको खोज्यै छु ।’
‘तमीले हामीलाई स्यालहरुको भीडमा खोज्यौ होला ...हामी त्यहाँ भेटिन्नौं ।’
 एकछिन् रोकिएर थप्यो– ‘कारण ?’
 ‘अन्तर–वार्ता गर्न आएको ।’
‘केका लागि हाम्रो अन्तर्वार्ता ? हामी को हौं र ? अन्र्तवार्ताका लागि अन्तरबस्तु पनि हुनुपर्छ । के छ त्यस्तो ?’
‘अन्र्तवार्ता हैन अन्तर–वार्ता, कथाका लागि । अन्तरबस्तु नभए पच्छ्याउँदै किन आउँथे यहाँसम्म ?,’ विनित भावमा भने मैले ।
‘तिम्रो दिमाग त ठीक छ ? कथामा अन्तर्वार्ता.... ! के कथा लेख्छौ तिमी ?’
अगुल्टो जस्तो रापिलो प्रश्न मतिर हुत्यायो, बलै कविले । मुसुक्क तर गहिरो हाँसो हाँस्दै रुमानी कविले उसको भनाइको मौन पुष्टि ग¥यो ।
‘के कथामा प्रेमवार्ता मात्र हुन्छ ? हेरौं हुन्छ कि हुदैन अन्तर–वार्ता ?’
‘कस्तो कथा हो यो ?’
‘तिमीहरुको जीवन जस्तो छ त्यस्तै कथा ! कथामा जलपभन्दा पनि जीवन हुनुपर्छ । श्रृंगारभन्दा पनि विचार हुनुपर्छ । विचारसँगै सन्देश पनि हुनुपर्छ । त्यो कथाको जीवनले मान्छेको जीवनलाई छुन सकोस् र मस्तिष्कलाई डो¥याउन सकोस् । त्यस्तै कथा !’
म पनि के कम ? मेरो स्वर पनि अलि उँचै भयो । दुबै चुप लागे । एकछिनको मौनतालाई भत्काउँदै मैले औपचारिकता शुरु गरेँ ।
० सन्चै छौ ?
–अधकल्चो छौं !
० अर्थात ?
– आधा सन्चो आधा विसन्चो !
 एउटाको कुरा सुनेर अर्को मुस्कुरायो । यो टर्रो दार्शनिक उत्तर सुने मात्र । त्यसालाई लम्ब्याउन चाँहिन ।
० तिम्रो नि ?
अर्कातिर आँखा तेस्र्याउँदै मैले सोधेँ ।
उत्तर उसैले दियो– मेरो जे हो उहाँको पनि त्यही हो ।
काँचो हलेदो जस्तो अहिले झन् टर्रो लाग्यो उसको जवाफ ।
० घर बनायौ ?
– छदै छ नि ।
० कहाँ ?
– गाउँमा ?
० गाउँ कहाँ नि ?
– जहाँ मेरो घर छ ....।
मनमनै सोचेँ यो कहिल्यै सुध्रिदैन । तर, सत्य बोल्न र सुन्न दुबै गाह्रो हुन्छ । सत्य यही हो । र त ‘कडुवा’ छ । सत्य बोल्ने मान्छे प्रायः अप्रिय नै हुन्छ । त्यसैले उसका पनि मित्र धेरै छैनन् । स्वामी विवेकानन्दलाई सम्झिएँ– “जीवनमा धेरै मित्रता हैन, मित्रतामा जीवन चाहिन्छ ।”
सोधेँ–
० गाडी नि ?
– छ ।
० कहाँ ?
– बस पार्कमा ।
यो जवाफ त काँचो मेवा भन्दा झन् कोक्याउने भयो मेरा लागि । तैपनि निरन्तरता दिएँ ।
अर्कातिर हेर्दै, त्यही प्रश्न रुमानी कविलाई सोधेँ, जो गेडी सम्राटका उपनाउँले पनि नेपाली साहित्य बजारमा  चिनिन्छन् ।
उत्तर उही आयो– ‘मेरो पनि उहाँकै जस्तो छ– घर गाउँमा छ, गाडी बसपार्कमा ! हामी दुबै महानगरका स्थायी सुकुम्बासी !’
जवाफ दुबैको उस्तै टर्रो भए पनि मेरो मन छोयो । छोयो मात्र हैन रोयो पनि । अमिलो र धमिलो भयो । एउटा शाश्वत सत्यको साक्षात्कार गरे जस्तो लाग्यो मलाई । म अझ उत्सुक हुदै गएँ । दुर्लभ सपना जस्ता भए मलाई यी अनुभूतिहरु । एक्कासी रक्सीको मातको निद्राले छोडे जस्तो भयो मलाई यो क्षण । एउटा स्वाभिमानी मान्छे समयको जाँतोमा कसरी पिसिन्छ ?
कुराकानीलाई निरन्तरता दिएँ ।
० अनि जागिर नि ?
– खादै छौं तर हामीले भन्दा जागिरले हामीलाई बढी खाएको छ ।
० कमाइ नि ?
– धेरै छ ।
० कति धेरै ?
– नभएकाहरुको भन्दा कति धेरै कति धेरै ! गन्न भ्याइँदैन ।
० मतलब ?
– मतलब सीधा छ– गन्नै नभ्याई सकिन्छ ।
लाग्यो– जीवनका बारेमा यिनीहरुका केही प्रश्न नै छैनन् त्यसैले उत्तर खोज्ने झन्झटमा पनि अल्झेका छैनन् ।
० खुशी छौ त ?
– छौं ।
० कसरी ?
– साट्न पाएर ।
० सुखी छौ त ?
– छैनौं ।
० किन ?
– किन्न नसकेर ।
० विदेश किन नहान्या’ त.. ? कस्ता कस्ता तोरीलाहुरे त हान्या.. छन् ।
– घरदेश र घरमालिक्नी छोड्न नसकेर ।
अवाक ! मेरा दुबै आँखा गएर दुबैका अनुहारमा निक्कैबेर अड्किए । समयले कोरेका बुढ्यौलीका बक्ररेखाहरु देख्छु ती अनुहारमा तर पश्चातापका कुनै धर्साहरु देख्दिन । निश्छल छन् ती अनुहार ! अन्नपूर्ण हिमाल जस्तै हाँसेका छन् विहान बेलुकै ।
मनमनै ठान्छु– यिनीहरुको नाभी यो देशको माटोमा गाडिएको छ । जसले यिनलाई सधैं तानिरहेको छ ।
० भोलि समयले हिसाब माग्यो भने नि ?
– केको हिसाव ?
० श्रीमती र छोरा–छोरीका खुशी, रहर र इच्छाको हिसाव !
– हामीले बाध्यताका डायरीमा सबै लेखेर राखेका छौं । हिसाव दुरुस्त मिलेको छ ।
म एकछिन् फेरि निःशब्द हुन्छु । आफैभित्र एउटा प्रश्न उब्जिन्छ – किन यसरी मानवीय हिंसाको शिकार भइरहेछ  मानवीय संवेदना ?
आँखाका डिलमा बलिया बाँध बाँधेर दुःखका साउनेभेलहरु लुकाएर हाँस्ने लहरमा यिनका लालाबाला र श्रीमतीहरु पनि त होलान् भन्ने लाग्यो । त्यो कोठामा रुमलिएको चुरोटको धुवाँ जस्तै मभित्र पीडा र उकुसमुकुसको हुरी–हुण्डरी रुमलियो केही बेर । आफ्नो विगत सम्झिएँ ।  लामो सास ताने । एकछिन् आँखा चिम्लिेर बिसेक माने । हुन त मैले पनि धेरै सपनाहरु चिहानमा गाडेको छु ।
० ईश्वर के हो जस्तो लाग्छ ?
– अभावका सामु आँखा चिम्लिने, दुःखका सामु हराउने एक विश्वास !
मैले नै भने, ‘छोड, ईश्वर, नारी र सत्यका पछि नलागौं ।’
मभित्र उकुसमुकुस उत्सुकताहरु चाकामा मौरी सल्बलाए जस्तो झन् बढी सल्बलाउन थाल्छन् । काँचो केरा, मेवा र हलेदोको स्वाद जस्ता उनीहरुका टर्रा, तीता र पिरा जवाफहरु अब मलाई झन्झन् गुलिया–मीठा–रसिला लाग्न थालेका छन् । मार्फाका स्याउ जस्तै ।
एकाएक चिया पिउन मन लाग्यो र सोधेँ– ‘चिया पिउन पाइन्छ ?’
‘चिया पिउने भए माथिको कोठामा जानु पर्छ । माथिकै कोठामा अन्तर–वार्ता गर्नु पर्छ ।’
भक्भकी उम्लेको चियाभन्दा तातो जवाफ दिदैं कविले थप्यो– ‘अहिले त्यहाँ चिया पाइन्छ । बेलुका चमेना, चुस्की र चमेली सबै पाइन्छ । यहाँ त पानी पनि छैन ।’
निरपेक्ष भएर बसेपछि न चिन्ताको आगोमा जल्नु पर्ने ! न सपनाको चिहान खन्नु पर्ने न खोतल्नु पर्ने ! यस्तै सोच्दै देशको अवस्थातिर गएँ म ।
० अनि देशको राजनीति नि ?
तरल छ, कहिल्यै जमेन । बगेको बगै छ उँधोको उँधो । मूल्य र मान्यताहरु शहीद भएका छन् । शहीदको संख्या बढ्दो छ । मूल्य र मान्यताले अज्ञात शहीदको मान्यता पाएका छन् । अब देश आफैं अब शहीद हुन बाँकी छ ।
० जनताको नागरिक सर्वोच्चता नि ?
– के ग्वाँचे मान्छे रै’छ !
रिसाए जस्ता आँखाका तिखा हेराइ मतिर तेस्र्याउँदै भन्यो– ‘सर्वोच्च शिखर सगरमाथाको देशको नागरिकको नागरिक सर्वोच्चता सधैं उँचोको उँचो । त्यति पनि थाह छैन ?’
एकछिन विलखबन्दमा परेँ । उसका शब्दहरु पीडाको पहाड बनेर मेरा सामु ठडिए । बागमतीमा ढल बगे जस्तै शहीदका सपनाहरु बगिरहेको यथार्थले मुटुमा चिमोट्यो ।
वार्ता भइरहँदा मेरो बोलीको स्थान बेलाबेलामा मौनताले लिन्छ । मनमनै लाग्छ– राजनीतिको जुछे सिद्धान्त जस्तै साहित्यका जुछेका विम्ब हुन् यी दुबै कवि– बलै र गेडी सम्राट । तर, यी राजनीति गर्ने जस्तो निर्दयी हुन सक्दैनन् । भए पनि अरुका लागि हैन आफ्नै लागि आफैंसँग हुन्छन् । हो, सच्चा कविहरु कोमल हृदयका हुन्छन् तर आफ्ना लागि भने कठोर ! समाजका दिग्दर्शन हुन् कवि तर आफू कुनै बाटो खोज्दैनन् यी । विडम्बना हुन् यी । यी विडम्बना विडम्बनै बनेर बाँचेका छन् । विचारहरु शहीद भइरहेछन् । त्यसैले विचारहरु अमर भएका होलान् !
‘लेखक व्रायन एल्डिसले भने जस्ता कवि हौ तिमीहरु ?’
‘के भनेको छ र उसले ?,’ समवेत स्वर निस्किन्छ ।
‘उनले भनेका छन् – यहाँ दुईखाले लेखकहरु छन्, एकले सोच्न बाध्य गराउँछ भने अर्काले आश्चर्यचकित । म तिमीहरुलाई त्यस्तै देख्छु– एउटाका बारेमा सोच्छु र अर्काका बारेमा आश्चर्यचकित हुन्छु ।
‘रिमिक्स चेतना रहेछ तिमीमा पनि एल्डिस जस्तै । युरोपतिर उहिल्यै आएर थोत्रिएको चिज रहेछ यो रिमिक्स भन्ने । जुन हाम्रो देशमा नौलो भएको छ, खुब चलेको छ । अन्धाधुन्ध जताततै !’
म मुसुस्क हाँस्छु मात्र ।
० तिमीहरुको समानता के हो ?
– जीवन शैली ।
० असमानता नि ?
– सोच ।
दुबै मुखामुख गर्दै मुस्कुराउँछन् ।
० एउटै रुखमा फलेका, एकै रंगका तर दुई भिन्न स्वादका फल जस्तो हैन त ?
– होला !
० तिमीहरु बीच मतभेद हुदैन ....? मेरो प्रश्न पूरा हुन पाउँदैन ।
– हुन्छ । प्रेम र युद्धमा जे पनि हुन्छ भन्ने थाह छैन ?
लाग्छ, यिनीहरुको सहयात्रा जीवनपर्यन्त हुनेछ । मनमनै शुभकामना भन्छु ।
० के फरक छ तिमीहरु र अरुका बीच ।
हृदयको फरक छ । हाम्रो हृदयले जे–जसलाई घृणा गर्छ अरु मानिस त्यसैलाई सम्मान गर्छन् ।
अर्कोले थप्यो, ‘अरुले जे गर्दैनन् हामी त्यही गर्छौ, हामी जे गर्छौ अरु त्यो गर्दैनन् ।’
कुराको सिलसिला चलिरहेको छ । एक साहित्यिक मासिकको सम्पादक छि¥यो, चुरोट सल्कायो । चुरोटको धुवाँ गोलाकार आकृतिमा विम्बित हुँदै मेरो टाउकोमाथि घुम्न थाल्यो । मैले नेपालीका टाउकामाथि अझै उडिरहेको बारुदको धुवाँ सम्झिएँ । एकछिन् त्यसैमा हराएँ ।
० कस्तो छ साहित्यिक बजार ? सम्पादक मित्रलाई सोधेँ ।
– बजारशास्त्रको सिद्धान्तमा चल्न थालेको छ ।
० साहित्यमा बजारशास्त्रको अर्थ ?
– लक्ष्मीका अधीनमा सरस्वती परेकी छिन् । अनाडी पाठकहरुलाई विज्ञापनले किताब भिराएको छ । केही समीक्षकहरु ती अनाडी पाठकलाई झन् अनाडी बनाउँदै साहित्यक फौबन्जारी गरिरहेका छन् । यो भूमिमा साहित्य अहिले व्यवसाय भएको छ । अवपादलाई छोडेर लेखक बाहेक सबैले व्यवसाय गर्छन । सबैतिर धन्धा छ । धन्दामै चलेको छ सबै । सुनदेखि ....साहित्यसम्म ।
एक सासमा बोलिरहेको छ ऊ । लाग्यो यो भरिएर आएको छ पोखिन दिनुपर्छ । यो तथ्य मलाई आजै थाह भो । मानौं, मैले दिव्यज्ञान प्राप्त गरेँ । नेपाली साहित्य र साहित्यकारको स्तर र अवस्था थाह पाएँ ।
० सत्य र निष्ठाका खातिर सुकरातले जहर पिए, सेन्ट पलले ढुंगा पनि खाए । तिमीहरु त्यही खाइरहेका छौ, त्यही पिइरहेका छौ तर विडम्बना ! तिमीहरु न सुकरात हुन सक्छौ न सेन्ट पल ।
हाँस्दै बोले उनीहरू, ‘अरुका लागि नभए नि तिम्रा लागि त भयौं नि । अरुले नचिने नि तिमीले त चिन्यौ नि । त्यसैले त कथामा हाम्रो जीवन–दर्पण लेख्ने भयौ ।’
‘हो, तर मलाई नै यो संसारले चिन्दैन तिमीहरुलाई मैले चिनेर के गर्नु ? अर्को कुन संसारमा लगेर चिनाउनु ?’
‘तिमी हामीभन्दा मुर्ख रहेछौ ।’
उसको भनाइमा तत्वमीमांसाभित्रको यथार्थवादमा कताकति प्लेटो नै भेटे जस्तो लाग्यो मलाई ।
‘छोड यो अन्तर–वार्ता सन्तर–वार्ता अब । अरु नै कुरा गरौं’ भन्दै विस्मितभावमा ऊ फेरि बोल्यो ‘आज आत्माले केही मागेको छैन ?’
‘कसका लागि हो कस्तो प्रश्न हो यो ?’
म एकछिन् अल्मलिएँ– मेरा आँखामा चल्मलाएका प्रश्नसूचक चिन्ह सायद उनीहरुले पढ्न सकेनन् । एकै छिन्मा ‘ल जाउँ’ भने, म पछिपछि लागेँ ।
‘मैले रक्सी पिउँन छोडेँ ।’
चकित बोली बोल्यो उसले एकाएक ।
वाह ! सम्पादकले रक्सी नपिउने ? नयाँ नेपालमा नयाँ कुरा सुनेँ– मेरो देशको एउटा सम्पादकले रक्सी पिउँदैन ! देशमा केही नभए पनि जहाँ तिमी छौ त्यहाँ अब केही हुन्छ । अरु केही भएन पनि त्यहाँ जड्याहा लेखकहरुको भीड कम हुन्छ ।
मैले हाँस्दै थपँे– ‘रक्सी नपिउने भए यहाँ किन आएका त हामी ?’
म एकछिन् जेरी जस्तै जेलिएँ भित्रभित्रै । यी अनौठा प्राणीहरुको न कुरा बुझी सक्नु छ न व्यवहार ठम्याइ सक्नु छ । सेतीको बगाई जस्तो लाग्छ यी तिनैको जिन्दगीको भोगाइ । एकै पटक उनीहरु मलाई तीनत्रिलोक चौधभुवनको यात्रा गराइरहेछन् । जीवनको अवोधगम्य पाठ पढाइरहेछन् ।
ल्याम्पपोष्टबाट दुधिलो प्रकाश झर्न थालिसकेको छ । बानेश्वरको कुनै रेष्टुरेन्टमा बसेर हामी जम्न थाल्यौ ।  नाउँले वशन्त भए पनि बोलीले शिशिर जस्तो छ तर व्यवहारमा भने शरद् पनि मिसिएको छ ।
‘म रेडबुल पिउँछु,’ वशन्तले रेडबुल मगायो । मैले ठट्टा गर्दै भनें, ‘रेडबुल त अहिले प्रेमिकाहरुले प्रेमीलाई सम्बोधन गर्ने शब्द भएको छ रे नि, ‘हाई माई रेडबुल हनी’ भनेर ।’
सबै हास्यौं । बलै कवि गफिस मात्र हैन बाँण हान्न खप्पिस पनि छ । हानी हाल्यो– ‘जाडोको मौसम छ बाटैबाट तातेर जाने हो कि क्यो हो यो आज ? सम्पादकहरु यस्तै हुन्छन् ।’
‘अरे छोड यार.... देशको कुरा गर’ भन्दै देशका पत्रकारहरु माथि खनियो वशन्त– ‘रिपोर्टहरु सबै पोर्टर भए । नेताले देश बिगारे ।’
अर्काले भन्यो– ‘हो, नेताले बिगारे तर नेतालाई पत्रकारले बिगारे ।’
अर्काले थप्यो– ‘पत्रकारलाई कसले बिगारे नि ?’
पालो मेरो आयो, नबोली भएन । प्वाक्कै भनिदिएँ– ‘पत्रकारलाई नेताले बिगारे । हो, रिपोर्टरहरु नेताका पोर्टर भए ...।’
म बोल्दै थिएँ, रुमानी कविले फड्को मा¥योे ।
‘यहाँ मान्छेको जीवन मौसमभन्दा छिटो परिवर्तन भैरहेछ । सबैतिर परिवर्तन नै परिवर्तन छ । बरु तिमी पनि आऊ त्यो विदेशको मोह त्यागेर । अर्काको देशमा शरणार्थी भएर बस्नुभन्दा आफ्नै देशको बुझक्कड हुनु वेश ! नैतिकता व्यापारको एउटा कर्पोरेट फर्म खोलेर बसे हामीले जस्तो दुई खुट्टाले सडक नाप्नु पर्दैन तिमीले ।’
‘हो, खुब फस्टाएको छ अहिले नैतिकताको व्यापार आफूलाई बेचेको मूल्यले अरु धेरैलाई किन्न पाइँदो रहेछ यहाँ ।’
मैले सुनाएँ । सुनाउन त सुनाएँ तर मन तिखो सुइरोले घोचे जस्तो भयो ।
हो, वास्तवमा नैतिकताको व्यपार गरेको भए अहिले यी सडकमा हुने थिएनन् । भए पनि गुडिरहेका हुन्थे । नत्र आकाशमा उडिरहेका हुन्थे चील, गिद्ध र वाजहरु जस्तै, मान्छेको अनुहारमा !
आदर्शका पैतालाहरु यो सडकमा जति खिए पनि सडक उस्तै छ, समाज उस्तै छ । न सडकलाई कुनै असर परेको छ न समाजलाई ।
मानसिक अपाङ्गताहरुको भीडमा उनीहरु भेटिदैनन् र त प्रायः सँगै हुन्छन् यी दुई । अनि बेलाबेलामा थपिन्छ वशन्त यिनीहरुका माझमा ।
मैले प्रसंग मोडें– साहित्य नि ?
‘कित्ता कित्तामा विभाजित छ– देश र समाज जाति–जातिमा विभाजित भए जस्तै । नेपाली साहित्यमा भ्यागुताहरुको जमात झन् ठूलो छ । पानी पर्नु पर्दैन, आकाश गडगडाउनु पर्दैन भ्यागुताहरुको टर्रटर्र सुरु हुन्छ । खडेरीमा पनि रोकिदैन ।’
वशन्त बोलिरहेको छ ।
यिनको विचारले मलाई खबरदारी गर्छ । आक्कलझुक्कल मभित्र रसाउने लालसको ¥याल त्यसै सुकेर जान्छ ।
‘नेपाली साहित्यको यो अवस्था मौलाएको हो कि बौलाएको हो ?’
‘त्यति पनि थाह छैन ? दुबै हो ।’
आक्रोशको आगो ओकल्दै तिखो प्रतिप्रश्न आउँछ ।
त्यसै त बुहारी, भटमास खाएकी भने जस्तै त्यसै त वशन्त त्यसमाथि रेडबुल पिएको....! यो भन्दा बढी उसलाई गरम नपारांै जस्तो लाग्यो र म पुरानै प्रसंगतिर फर्किएँ ।
‘छोड यार, गाउँघरतिर के छ नि ?’ बलै कवितिर फर्किएँ म ।
‘बाटो छ, मोटर छैन । बिजुलीको तार छ, बत्ती छैन । जेठो जोर्डनतिर छ । माइलो मलेशियातिर छ । साइलो साउदीतिर छ । कान्छो कतारतिर छ । कान्छी कुवेततिर छे । यी बाहेक सबै छन् ।’
म उसैको च्याट कविता सम्झन्छु ।
‘यो त मैले तिम्रोे च्याट कवितामा पढेको थिएँ नि ?’
‘हो त्यही हा,े मेरो अन्तर्वार्ता भने पनि त्यही हो, अर्को जे...वार्ता भने पनि त्यही हो ।’
‘अनि उनको नि ?’
‘उहाँको पनि त्यही हो, मेरो जस्तै ।’
उसलै जवाफ दिन्छ ।
‘तिम्रो नि सम्पादक ?’
‘उसको पनि त्यही हो, उही मेरो जस्तै ।’, फेरि पनि उसैले जवाफ दिन्छ ।
भर्भराएको भुङ्ग्रो जस्तो उसको यो जवाफ मलाई झन् मन पर्छ । यी पाश्र्वपात्रहरुको कोरस स्वर मनमस्तिष्कमा गुञ्जिरहेछ  ।
२७ डिसेम्बर २०११, बोस्टन, अमेरिका

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !