Friday, April 6, 2012

पेद्रो लूजा

शिव प्रकाश
सानो प्राप्तिमा मान्छे ‘Something is better than nothing’ भन्छन् तर म आजकाल Nothing is better than anythingÚ भन्न थालेको छु । अनि यो वाक्यसँगै मेरो मस्तिष्कमा हरेकचोटी उही लूजा चल्मलाएको पाउँछु ।
त्यो दिन, दिन एक्कासी बदलिएको थियोती मान्छे जस्तै जो छिनमा बदलिन्छन् । अवस्था, मुड र त्योभन्दा पनि बढी निजी स्वार्थ अनुरुप । यसै पनि बोस्टन क्षेत्रको मौसम र मान्छेको मन एकै जस्तो लाग्छकतिखेर बदलिन्छ थाहै हुन्न ।
हिजोसम्म सारसौदो बोस्टनले आज हिउँको बर्को ओढिसकेको छ । लमतन्न सडकहरु हिउँको कात्रोभित्र चिसिइसकेका छन्मुर्दा चिसिए जस्तो । केप हाइवेको छातीमा अविरल बग्ने गाडीको भेल लगभग सुकिसकेको छ । रुखलाई शरदले ओढाएका हरिया पातका पहिरन शिशिरले खोसेर नङ्ग्याइसकेको छमान्छेले मान्छे नंग्याए जस्तै । कुम जोडेर नाङ्गा रुख सडक छेउ जिङ्ग्रिङ्ग उभिएका छन् । ओहो ! नाङ्गो कति विरुप देखिदो रहेछ ? तर यो विरुप रुप हेर्न मान्छे कति लाययित हुन्छ ? रुखको त्यो नाङ्गोपनले मेरो आँखा तानिरहेको छमान्छेका आँखा नाङ्गा तस्वीरले ताने जस्तै ।
बाहिर हिउँको झरी छ । म गाउँघरमा झर्रझर्र परेको असारे झरी सम्झिन्छु । असारे रोपार र बाउसेहरु सम्झिन्छु । गाउँका खेतबारी, गह्राकान्ला सम्झिन्छु । आहा ! ती दिन ? कठै त्यसै गए ! सम्झदा सम्झदै एक्कासी मेरो आँखा अर्को रमितामा अल्झिन्छन्हिउँको हिलाम्मे सडकमा मरीमरी पाइडल मार्दै एक साइकल यात्री अगाडी बढिरहेछ । सडकमा हिउँको हिलो अनि एक्लो साइकल यात्री ! उसका लुगाले हिउँको अर्को एक पत्र लुगा लगाइ सकेको छ ।
हिउँको बाक्लो बरसातले बाहिरको तापक्रमलाई निक्कै चिस्याएको छ । म भित्रबाट हेरिरहेको छु । ग्राहक नआएको पनि धेरैबेर भै सकेको छ । सकिनसकी उकालोमा पाइडल मार्दै ऊ अघि बढिरेको छ । लाग्छउसको लक्ष्य मेरो पसलतिरै छ ।
जीवनमा धेरै मान्छे एक्लो भए जस्तै सडकमा अहिले ऊ एक्लो छ । हेर्दाहेर्दै ऊ ढोका अघि आइपुग्छ र रोकिन्छ । लुगामा टाँसिएका हिउँका फाल्साफोसा टक्टक्याउँछ । त्यो ठीहीमा पनि तरतरी चुहिएको अनुहारको पसिना पुच्छ ।
टिठलाग्दो अनुहार । झुस्स दारी पलाएको । आधा तालु खुइलेर आलु जस्तो भैसकेको । बाँकी कपाल मिश्रित रंगकोनिख्खर खैरो पनि हैन, कालो पनि हैन । पातलेपातले लिखुरे पाराको । अलि मैला लुगा लाएको । झुत्रेझात्रे खालको बाँदरमुखे अनुहार भित्र पस्छ । डिच्च हाँस्छ ।
यो झुसे किन भित्र पस्यो भन्ठान्छु म !
अरुले जस्तै How are youÆ भन्ने अर्थहिन शिष्टाचार निभाउँदै सिगरेट माग्छ । म पैसा माग्छु  । ऊ छैन भन्छ । म दिन्न भन्छु  । सस्तो खाले दे भन्छ, म फेरि दिन्न भन्छु ।
सबैभन्दा सस्तो कति डलरको छ भनेर सोध्छ । सिगरेट हैन सिगार दुई डलरको छ भन्छु । ल उसोभए मलाई त्यही दे भन्छ । म फेरि पहिले जस्तै पैसा माग्छु । ऊ पनि पहिले जस्तै छैन भन्छ ।
आफूले लाएका तीन पत्र लुगाका एक दर्जन खल्ती छाम्छ । एउटा खल्तीबाट एक पेनी निस्किन्छ । ल यो लि बाँकी भोलि दिन्छु भन्छ । मतिर हेर्दै निसंकोच त्यो पेनी मेरो हातमा थमाउँछ । उन्मुक्त हाँसो हास्छ र भन्छ– “मसँग अहिले यति नै छ । बाँकी .....!
हे, एक पेनी भनेको एक पैसा हो ? सय पेनीको एक डलर ! एकसय उनान्नसय पेनी बाँकी ? के तैले मलाई मूर्ख ठानेको ?” म बोलीको बारुद पड्काउँछु ।
ऊ हाँस्छ । मजाले हाँस्छ । निर्धक्क हाँस्छ । म रिसाउँछु । ऊ झन् हाँस्छ , हाँसी नै रहन्छ  ! म जति रिसाउँछु उ उति हाँस्छ । म छक्क पर्छु । मेरा आँखाले उसलाई पढ्न खोज्छन् तर उसको अनुहारको भाषा बुझ्दैनन् ।
Relax ! don’t worry I will pay tomorrow. President Obama trusts me but you don’t ! what’s wrong with you ? ऊ फेरि हाँस्छ ।
उसका कुराले लाग्छयो एक इलूजन हो । पातालबाट पृथ्वी नटेकी एकैचोटी आकासमा उडि रहेछ । यो पागल हो । योसँग बहस गर्नु भन्दा दुई डलर गुमाउनु बेस हुन्छ । संसारमा सायद सबैभन्दा धेरै पागल भएको मुलुक अमेरिका नै होला ! यो पनि भेटियो भन्ठान्छु म ।
हुन त मैले भोगेको अमेरिका र अरुले देखेको र सुनेको अमेरिकामा फरक पनि हुन सक्छ । मेरो अनुभवले अमेरिकालाई इमानका लागि मरुभूमि र बेइमानका लागि उर्वरभूमि मानेको छ । मेरो अहिलेसम्मको भोगाइलाई यो नयाँ इलूजन पनि पुष्टि गर्दैछ । उसले उधारो माग्दा अरु धेरै बेइमान अनुहारहरु मेरो मगजमा नाच्न थाल्छन् । नौ वर्ष भैसकेको छ म अमेरिका बसेको । यो नौ वर्षमा नौ जना इमान्दार अमेरिकन पनि भेटेको छैन ।
काम गर्दा गर्दै एकदिन दिउँसो अति भोक लागेर स्टिभलाई स्याण्डवीच ल्याइदे भनेर पाँच डलर दिएर पठाएको ऊ कहिल्यै फर्केन । सिगरेट, सोडा र भुसाहा किन्न जो दिनको सात पटक मेरो पसलमा आउँथ्यो ।
स्टिफनी पनि त्यहीकी लोकल हो । ऊपनि दिनको चार पाँच पटक उही भुसाहा र सिगरेट किन्न आउँथी । हरेक पटक मस्का मारेर जान्थी । एक दिन आइ एम ब्रोक भन्दै एक प्याकेट मार्लबोरो लाइट सिगरेट मागी । मैले हुन्न भन्दाभन्दै हनीका हनी लाएर लावण्य भाव देखाउन थाली । मर्नै लागि । क्षणिक स्पर्शसुख दिई । गोरो छालाले लोभ्यायोदिएर पठाएँ । त्यस दिनदेखि बेपत्ता !
काइलीले त झन एक प्याक सिगरेटका लागि एक रातको अफर नै गरी । कलेज पढ्ने केटी ! त्यसमाथि हिसी परेकी । मेरा आँखाले ऊ जति सुन्दरी अरु कोही देख्दैनथे । धेरै लोग्नेमान्छेका आँखा जस्तै मेरा पनि लोभिएदिएँ । पलस बन्द गरेपछि बारमा जाउँ भन्दै थिई । त्यो केटी उपर खर्च गर्ने दुःखको कमाइमा मेरा परिवारको छाँया देखेँ र मैले अर्को कुनै दिन भनेर टारेँ । त्यस दिनदेखि ऊ पनि बेपत्ता !
हप्ता दिन अघि मात्र फ्य्राङ्की पसलमा आएर रुनै थाल्यो । सधैं आउने, राम्रै खरिददारी गर्ने ग्राहक । आज मलाई पाँच डलर दिइनस भने म काममा जान सक्दिन । गइनँ भने मेरो काम खोसिन्छ । म बरबाद हुन्छु । काममा जाने भाडा छैन भन्न थाल्यो ।
पैसा पाए पछि तँ पनि बेपत्ता हुन्छस् अरु जस्तै भनेँ तर रोइकराई गर्न थाल्यो । आमाको कसम म आजै बेलुका तेरो पैसा तिर्छु भन्यो । आमा भन्दा पूजनीय र ठूलो अर्को के र को छ संसारमा ? एक पटकको आमा सधैंको आमा ! आमाको कसम खाएर आँसु नै चुहाए पछि पाँच डलर निकालेर दिएँ । त्यस दिनदेखि फ्य्राङ्की पनि बेपत्ता !
गाँठ भी गुमाना बेबकुफ भी बन्नाहिन्दीको उखान भन्दामाथि ग्राहक भी गुमाना, नाफा भी गुमाना भो अमेरिकामा मलाई ! एउटा ग्राहक गुम्दा वर्षभरिमा कति घाटा हुन्छ ? एकछिन् हिसाबकिताब गरेँ । टाउकामा हात लाएँ ! केहिबेर झोक्राएँ ।
अरु जस्तै फ्य्रान्की पनि मेरो पसलतिर नफर्की आजकाल सडकको पल्लो पेटीबाट हिड्छ । सबै त्यही छन् तर म र मेरो पसलतिर हेर्दैनन् । यस्तै अरु बेइमान अनुहारहरु एकाएक स्मृतिमा आउँछन् । केभिन, डेनिस, डेना, क्यारोल, म्याटी, ब्रिट्नी र अन्य केही ।
लाज भन्ने कुराको सम्बन्ध घैंटो र नाइटो मुनीको अंगसँग त छैन भने अरु केमा लाज ? यो समाजमा अरु जे गरे पनि पटक्कै लाज मानिदैन । यिनले यही सिकेका छन् र आफ्ना सन्ततीलाई पनि यही सिकाएका छन् । आखिर मान्छे आफू जुन तत्वले बनेको छ भावी सन्तान पनि त्यही तत्वले बन्नेछ । त्यो तत्वको उत्पादन अमेरिकामा दिनप्रतिदिन बढ्दो छ । म यस्तै यस्तै सम्झन्छु र भन्छुNo credit Û
"You don’t believe me for two dollars ? don’t worry if I don’t pay you. I will work for you." भन्दै ऊ पहिलेकै पाराले अट्टाहस हाँसो हाँस्छ ।
यो उपलक्षणमुखी बहुरुपीलाई किन उधारो दिने ? तर दिमागमा एकास्सी एक वाक्य क्लिक भयो– “उल्टो देशमा सुल्टो मान्छे !अमेरिका उल्टो देश हो ! यो उल्टो देशमा सुल्टो मान्छे पनि त हुन सक्छ म जस्तै ! स्टिभ, स्टिफनी, काइली, क्यारोल, केभिन, डेनिस, डेना, म्याटी र ब्रिट्नी ... जस्ता सबै उल्टा नहुन पनि सक्छन् । यो मेरो लागि अर्को ठूलो आश्चर्य पनि हुन सक्छ– “अमेरिकामा अर्को एक इमान्दार मान्छे !
फेरि सोचेँमेरो अनुभवले बताए अनुसार अमेरिकामा उल्टोको सिद्धान्त पूर्णरुपले लागू हुन्छ । हाम्रो गाउँघरका हाट, बजार, पसलमा सधै आउने नियमित ग्राहकलाई उधारो दिइन्छ तर यहाँ त्यसको ठीक उल्टो छ । सधैं आउनेलाई दियो, भोलिपल्टदेखि बेपत्ता । पैसा पनि गुम्यो, ग्राहक पनि गुम्यो, त्यो ग्राहकबाट सधैं हुने बेपार पनि गुम्यो र फाइदा पनि गुम्योफ्य्राङ्कीहरु जस्तै !
यो पहिलो पटक आएको छ । मेरो नियमित ग्राहक पनि हैन, गयो भने यही दुई डलर जान्छ भन्ठाने । दिने निधो गरेँ र एक सामन्य प्रश्न सोधेँ– “के काम गर्छस् ?”
जे पनि गर्छु अर्थात सबैथोक गर्छु ।त्यसरी नै हाँस्यो जसरी पहिले हाँसेको थियो ।
जे पनि अर्थात सबैथोक भनेको के ?” एक भुत्ते प्रश्नले उसलाई रेट्न खोजेँ ।
मान्छेको मासु खाने बाहेक जे पनि गर्छु !हा हा हा...You don’t believe, who am I ? I do everything.ऊ त्यसरी नै हाँसिरहेछ जसरी पहिले हाँसेको थियो ।
I know you do everything but I believe you don’t know anything! मेरो कुराले फेरि हाँस्यो तर योसँग धेरै सयम खर्चिनु भन्दा दुई डलरको सिगार दिएर पठाउनु उचित ठाने । दिएँ ।
हाँस्दै Thank you  भन्यो । अघि भनेकै शब्द दोहोर्यायो–“भोलि पैसा ल्याइन भने काम गरेर भए पनि सदाउँछु । म ठग हैन अरु जस्तो ।फेरि हाँस्यो । 
You don’t know me! उसले बारम्बार दोहोर्याउने वाक्य दोहोर्याउंदै पसलबाट निस्कियो । हिउँको हिलोमा साइकलको पाइडल त्यसरी नै मार्दै गयो जसरी ऊ आएको थियो ।
सडकमा रातभरी डोजर चलेको छ । डोजरले सबै हिउँ किनारा लगाइसकेको छ । म बिहानको कफी पिएर एक्लै टोलाइरेहेको छु । माटोको मायाले मनमुटुलाई घरदेशतिर पुर्याएको छ । आँखाभरी आफ्नै ती हिमाल छाएका छन् । मनभरी गाउँबेँसी डुलेका छन् । स्मृतिका एल्बमबाट सम्झनाका तस्वीरहरु एकएक गरि मस्तिष्कमा स्लाइड शो भइरहेका छन्घरपरिवारदेखि सबैसबै । बाहिरको चिसोले शहर मुर्दाशान्तिमा निदाए जस्तो छ ।
Hi buddy, good morning! मेरो एकाकिपन एकाएक च्यातिन्छ । त्यो आवाजतिर नजर हुत्याउँछु । हिजोको त्यही झुसे अगाडि उभिएर ङिच्च हासिरहेको छ ! मनमनै सोचेयसले आज अर्को स्टोरी बनाउने भो । झनक्क रिस उठ्यो ।
‘Money’! मेरो पाहिलो वाक्य नै त्यै भो । जसले मलाई चिन्तित तुल्याइरहेको थियो । थियो, दुई डलरमात्र तर त्यसमा अर्को एक अमेरिकीको नियत जोडिएको थियो ।
Relax ! उँचो स्वरमा एक शब्द मात्र बोल्यो । भित्र पसेर सावेल निकाल्यो र वाकवेको  सबै हिउँ फयाँक्यो ।
भित्र आएर हिजो जस्तै ऊ हाँस्न थाल्यो । फेरि सबै कुरा हिजो जस्तै भयो । बोली हिजोकै ! रुपरंग हिजोकै ! हाँसो हिजोकै ! व्यवहार हिजोकै ! लुगा हिजोकै ! साइकल हिजोकै तर मौसम भने आज नितान्त फरक ! आज बोस्टन बौरिएको छ । हिजो ओढेको हिउँको बाक्लो बर्कोबाट आज बोस्टनले अनुहार बाहिर निकालिसेकेको छ । बालसूर्यको कलिला किरणका स्पर्शले धरती हाँसेको देखिन्छ ऊ जस्तै ।
मलाई अर्को सहयोग चाहियो ।निर्धक्क बोल्यो । हाँस्नु उसको नियति हो जस्तो लागिसकेको छ । अहिले पनि हाँसको छ । प्रारब्धले उसलाई हसाइरहेछ । I am stupid but I am not dumb ÛÆ उसले भनेको सम्झिए र म पनि मुसुक्क हाँसे ।
के सहयोग चाहियो भनेर सोधें । म वालमार्टसम्म जानु छ राईड चाहियो भन्यो । मैले राईड दिएँ ।
एटिएमबाट पैसा निकालेर मलाई बीस डलर दियो । मैले किन भनेर सोधेँ । तैले मलाई सहयोग गरिस् त्यसैले दुईको वीस भन्यो । मैले लिन मानिन तर उसले मलाई वाध्य गरायो । लिएपछि you are a good man भनेर फेरि हाँस्यो र फेरि भन्योहेर, यो सबै मलाई राष्ट्रपति ओबामाले पत्याएर दिएको हो । मजाक मिसिएको उसको हाँसोको फोहोराले मलाई पनि भिजायो म पनि सँगै मिसिएर हाँसे । कार्ट भरी सामान किन्यो । सबै खानेकुरा । फूडस्ट्याम्प बाट पैसा तिर्यो । गाडीमा सामान हाल्ने बेलामा छुट्यायो । यो आमालाई । यो छोरी सिल्भियालाई । यो अर्की छोरी मरिनालाई । यो मलाई ।
सबैभन्दा कम सामान उसैका थिए । मैले सोधेतलाइँ यति सामानले कहिलेसम्म पुग्छ ?
फेरि हाँस्दै जवाफ दियो– “एक हप्ता पुग्छ । त्यसपछि देखाजाला !उसको अनुहारमा कोरिएका खुशीका रेखाहरु पढ्न खोजेँ तर सकिन । ऊ किन खुशी भएको हो थाह भएन । आखिर मान्छे जे गर्छ आफ्नो खुशीको लागि गर्छ र जे गर्दा खुशी हुन्छ त्यही गर्छ । ऊ यसैमा खुशी छ । दिनुमा खुशी छ । बाँड्नुमा खुशी छ र बाँडेर हाँस्नुमा खुशी छ ।
आफैमात्र खाउँ भन्ने यहाँका धेरै मान्छेको जीवन र जंगली जनावरको जीवनमा खासै फरक पनि छैन ।दुर्गन्धको एक गहिरो कुवा भएर जमेको कुरुप सत्य बेलाबेलामा यसैगरि ओकल्छ ऊ ।
मैले बल्ल उसको नाउँ सोधेँ– “तेरो नाउँ के हो ?”
मलाई सबैले चिन्छन् तँ किन चिन्दैनस् ? म अर्को दिन भन्छु ।हाँसो मिसिएको प्रतिप्रश्न गर्दै टर्रो जवाफ दियो । मसँग उसको प्रश्नको उत्तर थिएन । मैले उसलाई नयाँ नाउँ दिएँलूजा । तेरो मस्तिष्कका केही स्क्रू लूज भएका छन् त्यसैले तेरो नाउँ अब लूजा । उसले फेरि एकपटक आफ्नो सम्पूर्ण खुशी हाँसोमा बद्लियो र भन्यो You are right, I like it. Yes I am Loosa !
मैले उसको घर परिवारको बारेमा सोधेँ । सबै बतायोस्वास्नीसँग डिभोर्स भै सकेको छ र अर्कैसँग गइसकेकी छे । छोरो मेरिल्याण्ड स्टेटमा स्टेट पुलिस छ । दुई छोरी दुबै हेयर स्टाइल डिजाइनर छन् । 
तँ किन हरेक चोटी बोल्दा हाँस्छस् ?”
मेरो जीवनले मलाई हाँसोको पात्र बनायो । म अरुसँग हैन मेरै जीवनसँग हाँस्छु । हाँस्ने कारण एउटै छ, त्यो होमसँग सबैथोक छ तर केही छैन । र, मसँग जे छ त्यो नै मेरो सबैथोक हो । मैले जीवनमा कहिल्यै केही खोजिनँ त्यसैले दुःखको अनुभव गरिनँ ।
के हो त तेरो सबैथोक ?”
“Happy brain ! which never hurt’s you.”
उसका यी दार्शनिक विचारहरु मनमा गाँठो पार्दै, फूकाउँदै, ओल्टाउँदै, पल्टाउँदै म डेरा फर्किएँ । 
भोलिपल्टदेखि ऊ नियमित रुपमा मेरो पसल र डेरामा आफ्नो डेरा जमाउन थाल्यो । उसले हरेक काम जानेको थियो । गाडीको मेकानिक्सदेखि काठ, विजुली, धाराका सबै काम । उसलाई चाहिएको बेलामा म थोरबहुत उधारो र नगद पनि दिन थालेँ । हुने वित्तिकै ल्याएर तिर्थ्यो । कुखुराको लेदो मासु र भात भनेपछि हुरुक्क हुन्थ्यो । बेलाबेलामा मलाई सताइरहन्थो मासुभातका लागि ।
अचानक ऊ बेपत्ता भयो । एउटा खहरे आएर स्याप्पै सुके जस्तो भयो उसको अनुपस्थिति मलाई । दिन नबिराई आउने मान्छे आज तीन दिन भइसक्यो अत्तोपत्तो छैन । फोन पनि अफ छ । मनमा अनेक शंकाहरु तँछाडमछाड् गरेर दौडिन थाले । उसको घरमा फोन गरेँ भाइले रुखो स्वरमा थाह छैन भन्यो ।
ऊ भन्ने गथ्र्यो– “भाइले मेरो डाहा गर्छ । यसको ब्रेन कहिल्यै ह्याप्पी छैन, यो हानिकारक छ । अनह्याप्पी ब्रेनले जे पनि गर्न सक्छहिट्लरले जस्तो ।
फेब्रुअरीको महिना । दिनको साढे तीन बजेको छ । सन्ध्याको पोल्टोमा घामले टाउको लुकाउन थालिसेकेको छ । दिन छोटिएर सबेरै सम्साँझ जस्तै लाग्न थालिसेको छ । आजको दिन पनि उसैको भाईको अनुहार जस्तो घुर्मैलो छ ।
मेरो फोनमा घण्टी बज्छ । म पेद्रोको वकिल बोलेको । पेद्रो जेलमा थियो । आज उसको पेसी छ अदालतमा । तिमीले उसका लागि एक हजार डलर जमानत दियौ भने ऊ बाहिर आउन सक्छ । नत्र छ महिनाको लागि ऊ जेल जानु पर्ने छ ।
को पेद्रो ?
उसले पेद्रोको बारेमा बतायो । वकिलको कुरा सुनेर पुछ«ेतारा खसेजस्तो म भित्रभित्रै आफैभित्र खसेँ र आफैभित्र हराएँ एकछिन् ।
ऊ किन जेल गएको ?” वकिललाई सोधेँ ।
लाइसेन्स जफत भएको बखतमा उसले गाडी चलाए वापतको सय डलर जरिवाना नतिरेको तीन वर्ष भैसकेको रहेछ । त्यसैले ।
मनमनै भन्ठाने कानूनको राज्य भनेको यस्तो हुन्छ । मेरो देशको भ्रष्ट प्रशासन र भष्मासुर नेतालाई सम्झिएँ । मनमनै तिनलाई थुकेँ । हुन त सामुन्ने गएर मुखैमा थुकिदिँदा त शरम नमान्ने ती भ्रष्ट र भष्मासुरहरुलाई मनमनै थुकेर के नै हुन्थ्यो र ? तै पनि मनको आवेग शान्त गरेँ ।
मैले किन जमानत दिने ? उसको भाई छ । छोरा छ । छोरीहरु राम्रो कमाई भएका छन् उनीहरुलाई भन न ।मैले जे देखेको र हाम्रो समाजमा परिवारको दायित्व जे हुने गरेको छ त्यही भनेँ ।
हैन उनीहरु कसैले गर्दैनन्, तिमीमात्र अन्तिम आशा हौं । हामीसँग समय पनि छैन । आघा घण्टाभित्रमा सबै सक्नु पर्छ । नत्र.... !वकिलले फोन विसायो । म अलमल गोत्र आमा एक बाउ सत्र जस्तो भएँ ।
उही नम्बरबाट फेरि फोन आयो तर आवाज फरक थियो । फोनमा ऊ डाको छोडेर रुन थाल्यो र भन्न थाल्यो– “जन्म दिनेमात्र बाउ हुदैन मुक्ति दिने पनि बाउ हुन्छ । यो अमेरिका हो । यहाँ सबैका सबै छन् तर कसैका कोही छैनन् । मेरा पनि सबै छन् तर यतिबेला तँ बाहेक मेरा कोही छैनन् ।म सुनिरहेको छु । उसका वाक्यले मेरो मन चरक्क चरक्क चिरिरहेको छ । तै पनि हजार डलर भनेको अमेरिकीहरुका लागि सेतो हात्ती नै हो । यहाँ एउटा रेडिमेड शब्दको प्रयोग अति हुन्छPay you back ! तर अपवाद बाहेक यहाँ कसैले कसैलाई एक डलर पनि दिँदैन र दिए पनि तिर्दैन । कसैले कसैलाई पत्याउँदैन । लोग्नले स्वास्नीलाई, बाउले छोरालाई, प्रेमीले प्रेमिकालाई । यस्तो अविश्वासको यो घना जंगलमा म कसरी एक हजार डरलको सेतो हात्तीमा त्यो विन्दासलाई चढाऊँ जस्तो लाग्यो ? भोलिदेखि ऊ पनि बेपत्ता हुन के बेर ? न योसँग मेरो लिनुदिनु ? न दश पुस्ताले नाता पर्ने ? न यो मेरो देशको ?
तर पेद्रो अरु कोही नभएर उही थियोजसलाई म सधैं लूजा भन्थे, माया गर्थे, ख्याल गर्थे र परिवारको एक सदस्य मान्थे ।
सधैं हाँसिरहने पेद्रो आज डाको छोडेर रोयो । उसको अनुहारमा दुःखको लहर बगेको कहिल्यै देखिन । घरबाट भाइबुहारीले निकाल्दा पनि जिन्दगी यस्तै हो भन्दै मध्यरातमा हाँस्दै आएको पेद्रो आज रोयो । पैसा नहुँदा राति एघार बजे भोक लाग्यो भन्दै हाँस्दै आउने त्यही पेद्रो आज रोयो । मुन्टो भाँचिने गरि गाडीले हानेर मृत्युमा अनुवाद हुने अवस्थामा पुग्दा पनि हाँसेरै क्षमा दिने पेद्रो आज रोयो । कहिलेकाँही लाग्थ्यो सम्पूर्ण धरती उल्टिएर थिचे पनि ऊ हाँसी नै रहन्छ । हाँसेरै प्राण त्याग्छ । न भूतको पश्चाताप, न वर्तमानको परवाह न भविश्यको चिन्ता ! जीवनका क्रुरताहरूले निरन्तर आक्रमण गर्दा पनि उ हाँसिरहन्थ्यो । यस्तो मान्छे आज क्वाँक्वाँ रोयो ! आखिर खुशीको आयु कति नै लामू हुदोरहेछ र ?
उसको अनुहारमा कहिल्यै कुनै समस्या र बन्धनको जालो देखेको थिइन । मानव जातिकै एक प्रतिनिधि पात्र हो ऊ । यस्तै यस्तै कुराले मन चिथोरि रह्यो । मनै त हो थाम्न सकिन । सोचेंअरु के नै होला ? दुई हप्ताको कमाई गुमाउँला । दुई हप्ता काम गरिन भन्ठान्छु चित्त बुझाउँछु । बस् ! उसको आफ्नै रगतको सम्पूर्ण नातासामू मूल्यहिन बनेको यसको आँसुको मूल्य म चुकाउँछु ।
रगतको नाताभन्दा अर्को कुनै झन् बलियो नाताले मलाइ बाँध्यो । सायद त्यो मानवताको नाता हुन सक्छ ।
चेक खल्तिमा हालेर अदालततिर हुँइकिएँ । जमानत दिने ठाउँमा गएँ । चेक देखाएँ । चेक हैन नगद चाहिन्छ भने । अत्तालिँदै दौडेर बैंक गए र नगद ल्याएर बुझाएँ । दुई मिनेट प्रतिक्षा गर भने, पर्खिएँ । मेरो सामुन्ने ल्याएर पेद्रोको हतकडी खोलिदिए र काजमा सही गराएर जिम्मा लगाए । एक लामो निश्वाससँगै उसका आँखाका डील भत्काउँदै चार्ल्स नदी फेरि बग्न थाल्यो । उसका हातले मेरा गोडा समाए । उसको सम्पूर्ण हाँसो अहिले आँसु बनेर बगिरहेछ । जहिले पनि सुखको आभाष पोतिएको त्यो अनुहारमा दुखको भेल उर्लेर आयो ।
‘You are my god father, I call you Dad !’ उसको आवाज भासिएको छ एक गहिरो नदी जस्तै । एकहोरिएका आफ्ना अनुभुति विहिन आँखाभित्र मलाई निकैबेर बन्धक बनायो उसले ।
तलाईँ किन तेरो परिवारका कसैले सहयोग गरेनन् ? आखिर एक हजार डलर ठूलो कुरो पनि त हैन तेरा छोराछोरीका लागि । सबै राम्रो कमाइ गर्ने छन् ।मेरो प्रश्नले ऊ निक्कै भावुक बन्यो । केहीबेर थामिएको चाल्र्स नदी आँखाबाट फेरि बग्न थाल्यो ।
मेरो भाई र ममा एउटै फरक छऊ मभन्दा ठीक उल्टो छ । किन कि ऊ अमेरिकामा जन्मिएको हो, म पोर्चुगलमा । यहाँको हावापानी र माटो नै यस्तै छ त्यसैले मेरा छोराछोरी र मेरो भाई उस्तै छन्  ।माया बाँडेर कहिल्यै रित्तिदैँन भन्थे तर आज ऊ रित्तो लाग्दैछ । ऊसँग आँशुमात्र बाँकी छन् अहिले मसँग ऊ तिनै बाँड्दैछ । मैले सोचेँ आज यसले सबै आँशु रित्यायोस् भोलि अरुसँग बाड्नु नपरोस् । बाँकी रह्यो भने त्यो आँशुको मूल्य फेरि पनि नहुन सक्छ ।
म आँशुको भाषा पढिरहेको छु । एउटा विक्षिप्त सत्यले उसको अनुहारमा झम्टिए जस्तो लाग्यो । उसको कुराले निकैबेर मेरो मन चिमोटिरहन्छ ।
उसलाई थाह छकसैले उसलाई केही दिँदैनन् तर ऊ आफूसँग केही नराखी सबै अरुलाई दिन्छ । अमेरिकी समाजको नांगो सत्य ओढेको एक प्रतिनिधि पात्र पनि हो पेद्रो ।
सधैं हाँसिरहने उसको अनुहार एक तमासले हेर्छु र भन्ठान्छुआखिर जिन्दगी यस्तै रहेछ हाँस्दा हाँस्दै कतिखेर रुनु पर्दो रहेछ । अनि मनभरी पीडाको दह टिलपिल जमाएर पनि नदी झै बग्नु पर्दो रहेछ । उसको अनुहारमा शहरका मान्छेको जस्तो इन्द्रेणी रंग देख्दिन म । मेरै गाउँघरको मुहार जस्तो निश्छल श्यामश्वेत देख्छु । अहिले उसको अनुहारमा म एक अमेरिकीको हैन मेरो हरैंचा र डाँगीटोलका अनुहारहरु देख्न थालेको छु । अब झन्झनै ऊ मेरो आफ्नै जस्तो लाग्न थालेको छ ।
उसले मासुभात भन्न जानेको छ । सोध्योमासुभात ? घरमा ल्याएर लेदो हालेको कुखुराको मासु र भात ख्वाएँ । यति धेरै खायोमानौ ऊ महिनौदेखि भोको छ ।
I am alive but I have no life. That’s why I always laugh ! फेरि पहिले जस्तै उन्मुक्त हाँसो हाँस्न थाल्यो । अनुहारमा गहिरिएका पीडाका खोल्साहरु अहिले पुरिइसकेका छन् । सोचेँसमय पीडा पनि हो र उपचार पनि हो । 
हुन त निरस जीवनमा नवीनता भन्ने केही हुदैन । उसलाई लागे पिन यथार्थमा त्यो छैन । उसको यथार्थले मन ठुँगिरहन्छ । 

कस्तो शक्ति ? हाँसोमा मन पगाल्ने । रोदनमा ढुङ्गा पगाल्ने । नीरस जीवनमा सायद नवीनता भन्ने पनि केही हुदैन होला ! उसको थयार्थले अहिले पनि मेरो मन ठुंगीरहन्छ ।
दिन जतिजति वित्दै जाँदै छ उतिउति बुढ्यौलीले पेद्रोलाई पछ्याउँदै छ । बुढ्यौलीसँगै बेसाहारापनको निरस र एकाकी आयतनभित्र ऊ खुम्चिँदैछ । अमेरिकी समाजमा पेद्रो जस्ता धेरै बेसाहाराहरुले सहारा खोजिरहेका छन् । यद्यपि यो समाजलाई संसारकै सभ्य, शिक्षित र सम्पन्न समाज मानिन्छ । जहाँ मूल्यहिन बाँचेको मानवीय मूल्यले मानव जातीलाई जिस्क्याइरहेछ ।
ऊ मलाई ड्याड भन्छ । म उसलाई लूजा भन्छु । यो सुनेर मान्छे मुखामुख गर्छनहाँस्छन् । ऊ मभन्दा निक्कै पाको छ ।
हरेक फादर्स डेमा पेद्रोको फोन आउँछ र हाँस्दै भन्छHappy father’s day Dad ! this is your son Pedro Loosa. You know that- nothing is better then anything! like me, right ? ऊ दिल खोलेर हाँस्छ ।
उसले त्यो एक हजार डलर पनि तिरि सकेको छ ।

अप्रिल ४, २०१२ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !