Sunday, April 15, 2012

कल्की

शिव प्रकाश 

केही दिन अघि तर धेरै दिन पछि शाम्भवीको फोन आयो ।
“तिमी भन्ने गथ्र्यौ र्शादूल, मसँग कुनै अपेक्षा नराख, सधैं खुशी रहने छौं ।” फोनका कुरासँगै म शाम्भवीसँग फेरि एकछिन् हराएँ । ऊ बोलिरहेकी छे ।
“मन डोरिएर उतै गयो, त्यही भएर आज फोन गरेकी– तिमीलाई सम्झेर ! हातको अँगालोबाट टाढा भए पनि मनको अँगालोभरी तिमीलाई फेरि एकचोटी कसुँ भनेर ।’ हाँस्दै बोल्दै छे शाम्भवी ।
‘शाम्भवी तिमी र ममा यही फरक अझै बाँकी छ– तिमी बेलाबेलामा सम्झन्छौ तर म कहिल्यै विर्सन्न । कहिल्यै नविर्सेपछि सायद सम्झिहरनु नै पर्दैन !“ केहीबेर हाँसोमा परिणत भएर हाम्रो सम्वाद सकियो ।
उतारचढावमा धेरै समय पनि विताई शाम्भवीले । म पनि एक पात्र भएँ एक समयको ! समय तन्किदै गयो तर हाम्रो सम्वन्ध खुम्चिदै गयो । आत्मियता र मित्रताको आवादीमा हाम्रो एक सुन्दर स्वप्नदर्शी महल थियो तर समयले एकाएक भत्कायो । अहिले हामी दुबै त्यसको भग्नावशेषमा परिणत भएका छौं । 
छानो विनाको जीवनको एउटा भित्तामा ऊ छे । अर्कोमा छु । पश्चातापले बेलाबेलामा शाम्भवीलाई पनि जलाउँछ । उसको जलनले मलाई पनि पोल्छ ।
यस्तै हुदो रहेछ– किताब पढ्न जस्तो सजिलो छैन मान्छे मान्छे पढ्न । सयौ किताब पढ्न सकिन्छ तर एउटा मान्छे पढ्न सकिदैन ।
जे होस्, शाम्भवीसँग मेरो एकप्रकारको सम्मानित सहवास थियो । स्नेह र प्रेमका धेरै नाता र सम्बन्धहरु थिए तर उसँग मेरो केही छैन । केही नहुँदा पनि मेरो मानसपटलमा बसेकी शाम्भवीलाई उखेलेर फ्याँक्दैछे । शिलामा खोपिएका गहिरा अक्षर जस्तै मेरो स्मरणमा गाडिएर बसेकी छे त्यो केटी अहिले । शाम्भवीलाई जस्तै कहिल्यै सम्झिनै नपर्ने गरी !
+
त्यो केटी ! कति खुशी छे आफैंमा ? हुन पनि हो– सुन्दरता अरुका लागि साँच्ने भए पनि जीवन आफू खुशी बाँच्ने हो । 
म कसैको जन्मदिनको जमघटमा छु । ऊ अर्को कोठामा बोल्दै छे । अङ्गुरको झुप्पो जस्तै छ पेण्डुलमहरुको झुण्ड । ऊ घेरिएकी छे ।  यी पेण्डुलमहरु देख्दा नवयुवाप्रति जागेको मेरो आशामाथि निराशाको धमिलो पानी बग्न थाल्छ । त्यहाँ धरै जसो गाँजाडीहरु नै छन् ।  
मेरा दृष्टि उसको शरीररमा बारम्बार ठोक्किन्छन् । मेरा जस्तै हरेक दृष्टि ठोक्किदै फर्कदै गर्छन् । त्यसको आभारुप सामू कुनै दृष्टि धेरैबेर टिक्न सक्दैनन् । ती दृष्टि मात्र याचक दृष्टि जस्ता लाग्छन् ।
उसको शरीरको आधाँभन्दा बढीभाग आकाश जस्तै खुल्ला छ । त्यही आकाशमा कताकति देखिएका वादलका पाटा जस्तै पहिरनका पाटाले लपेटिएको छ त्यो आदिम शरीर । उसको पोशाकले के छोप्न खोजेको हो र के देखाउन खोजेको हो ? ठ्याम्मै ठम्याउन सक्दैनन् मेरा आँखाले । 
त्यो पोटिलो शरीर हेर्दा लाग्छ– साच्चिकै रुप र यौवनको खाँदेर बनाएको हुनु पर्छ । लाम्चा परेका तीखा आँखा ! धेरै बेर हेर्न सक्दिन उसको त्यो रुप । नसके पछि आँखा चिम्लनु भन्दा मुन्टो बर्टानु ठीक ठान्छु । मुन्टो बटार्छु । कान खुल्लै छन् । 
उसको बोलीले सबैको ध्यान तानेको छ । बोलीसँगै पहिरनले सबैका आँखा झन् मजाले तानेको छ । मानौ उसको शरीरमा पृथ्वीको भन्दा भारी गुरुत्वाकर्षण छ– अरुका आँखा, मन, शरीर सबै तान्न सक्ने विशाल शक्ति !
उसँगै पेण्डुलम ठिटाहरुको हुल एक्कासी भान्सतिर ओइरिन्छ । म प्यालाले प्यास मेट्दै छु । 
सबैले अंकल भनेर नमस्ते गर्छन तर उसले हाई बड्डी भन्दै मसँग हात मिलाउँछे । म एकछिन् अलमल्ल हुन्छु । हग गर्न तम्सिन्छे । संकोच हुन्छ । पछाडि हट्छु ।
मनमनै सभ्यता सिकाउँ कि भत्रे लागेको थियो तर सकिन । बोल्न खोज्छु, घाँटीमा गुच्चा अड्किए जस्तो भयो । अनि बल्लबल्ल नमस्ते मात्र भने ।  कागका तीखा चोसोले पाकेको मेवा ठुँगे जस्तो ठुँगियो मेरो मन त्यो केटीको पहिलो व्यवहारले ।
‘ओऽ, ओ के नमस्ते, बेबी !’ अर्को निर्लज्जता ओकली । झन् तीखो चोसोले झन् वेस्सरी ठुँगे जस्तो भयो– “बेबी शब्दले मलाई !”
हुलको एक ठिटोले मेरो परिचय गराउँदै भन्यो “ऊ र्शादूल अंकल हो ।”
उसले फेरि निसङ्कोच मुख खोली– ‘हाई, र्शादूल, हाउ आर यू बडी ?’ “बडी” शब्दले अर्को अशिष्ठताको अर्को थप्पड हाने जस्तो भयो मलाई । लबटे चिउरा ख्वाएर सँस्कार सिकाउँ कि जस्तो भयो तर सम्हाले आफूलाई ।
म केही बोलिन । मेरो असहजताको महशूस परिचय गराउने ठीटोले ग¥यो जस्तो लाग्यो । स्पष्टिकरण दिदै भन्यो– “अंकल, ऊ नेपाली बुझ्छे तर इङ्गलिस मात्र बोल्छे ।”
फ्यूजन, कन्फ्युजन, इलुजन ! एकै पटक भो । नसोधेको, नखोजेको र नसोचेको जवाफ दियो त्यो ठिटाले । 
अगुल्टो झोस्दा चाकाबाट उडेको विक्षिप्त बारुलो भन्भनिएको जस्तो मेरो टाउकोभित्र रिसको बारुलो भन्भनिन थाल्यो । निकास नपाए पछि दाँतले दाँतसँग रिस पोख्न थाले । मुड्की बटारेँ । एउटाले अर्को पैतालाले बेस्सेरी थिचेँ । आफूलाई शान्त पार्न एकछिन् शून्यतामा हराएँ । 
तै पनि फिस्स दाँत देखाएर सहमतिको मुन्टो हल्लाएँ । मान्छेको मन अनुहारमा अनुदित भए जस्तै मेरो पनि भयो होला । उसले निधार खुम्च्याउँदै कुम कक्व्रm्याउँदै मधुर वाणीमा अर्को निर्लज्जता ओकली– “ओ, माई डियर ह्याण्डसम ! आर यू अल राइट ?” म केही बोलिन ।
मुस्कुराउँदै लेघ्रो तानी–“यू रियल्ली लुक हेण्डसम् ।” ऊ अँग्रेजीमा बोलिरहेकी छे ।
मनमा आवेगकको आगो बलिसकेको छ तर म फूल झै मौन बसिदिएँ– मन्दमुस्कान फिँजाएर । आफूलाई सामान्य देखाउँदै भने– “हैन केही छैन त्यस्तो ।” म नेपालीमा जवाफ दिइरहेको छु । 
मभित्र यति बेलासम्ममा धेरै खुल्दुली, उत्सुकता र आव्रmोसको युद्ध एकसाथ चलिसकेको छ । धैर्यताको बाँध फुट्न लागे जस्तो भइरहेछ । उकुसमुकुस ! टिलपिल–टिलपिल ! 
“ओ के व्योइ, आइ विल बी व्याक” अँग्रेजीमै बोल्दै अर्को कोठातिर लागि । मलाई अलिकति राहत अनुभूत भयो । लामो सास फेरेँ । धन्य भगवान् छुटकारा पाएँ भन्ठाने । अर्को कोठाबाट उसको आवाज पहिले जस्तै चर्को आइरहेछ । गानोमा मौरी झुम्मिए जस्तो गरि पेण्डुलमहरु सबै झुम्मिएरका छन् । उसले मलाई लगाएको “व्योइ” शब्द भित्तामा ठोक्किदै कानमा गुञ्जिरहेको छ ।
मभित्र उत्सुकताको सगरमाथा ठडिन्छ । सोच्न थाले¬ “यो केटी हो को ? नेपाली बोल्दिन भने पक्कै नेपाली होइन ।  होइन, नेपाली नभए नेपाली कसरी बुझ्छे त ? नेपाली नै हो । कता कता लाग्छ यो क्यारेवियन, म्याक्सिकन वा ब्राजिलियन पनि हुन सक्छे ! यी पनि झट्ट हेर्दा नेपाली जस्तै देखिन्छन् । हैन, बंगाली जस्ती पनि छे ! कालीकाली हिस्सी परेकी निक्कै राम्री । 
आत्मसम्वादमा हराउँछु म ।
आऽऽ जे होस् । उसले बोल्ने भाषासँग मेरो के सरोकार ? पहिरनसँग मेरो के दरकार ? चालचलन र हाउभाउप्रति मेरो के अधिकार ? जसरी मेरो शरीरमा मेरो अधिकार छ, उसको शरीरमा पनि उसैको अधिकार छ । म आफूलाई सकारात्क र सहज बनाउने प्रयत्न गर्छु ।
केहीबेर अघि अर्कोतिर बटारिएको मुन्टो अहिले फेरि उतिर फर्किन थालेको छ । रिसाएका आँखा संयमित र लालयित हुन थालेका छन् । मेरा आँखा तान्ने उसको गुरुत्वबल झन् बढेको छ । 
“तिमी ह्याण्डसम देखिन्छौ । ओ माई डियर ह्याण्डसम !” अमेरिकामा केटीमान्छेले केटामान्छेलाई यस्तो भत्रु भनेको प्रेमको सांकेतिक प्रस्ताव हो भत्रे सुनेको थिएँ । प्रेमलाई उमेरले छेक्दैन भनेको यही रहेछ । 
उसले भनेका प्रेमपूर्ण शब्दहरु दोहोरिदै तेहेरिदै मेरा कानमा ठोक्किदै छन् मनमा गुन्जिदै छन् । मप्रति कत्रो चिन्ता भन्ठाने । उसको स्वरुप आँखाको बाटो भएर हृदयको ढोका खोल्दै भित्र पसिसकेको छ । मनमा डेरा जमाउन थालिसकेको छ । नजानिदो चालाले मभित्र चाहनाहरु चुलिदैछन् । उच्छवासका लघुआभाष मिश्रत उत्सुकताहरु मनमा वयल खेल्दैछन् । 
मेरो हातको प्यालामा मधुमासका चित्रहरु सल्बलाउन थालेका छन् । नारी सामू नतमस्तक हुने लोग्ने मान्छेका कमजोरीहरु झन् बलिया भएर उम्रिन थालेका छन् । 
केही बेर अघिको घृणा अहिले प्रेममा परिभाषित हुन थालेको छ । मनमा प्रेमको वियाड नै जमिसकेको छ । प्यालामा रुपको रस घोलिएको छ । म तनतनी पिउँदै छु ।
त्यो केटी मेरो छेउमा आएर बसिदिए हुन्थ्यो, मसँग कुरा गरिदिए हुन्थ्यो जस्तो लाग्न थालेको छ । म आगोसामू मैन जस्तो गल्न थालिसकेको छु यद्यपि ऊ सामू छैन । उमेरमा मभन्दा ऊ निक्कै तल छे । 
आफ्नै मनलाई सोच्छु– आखिर कति कमजोर हुन्छ बिचरो लोग्ने मान्छे ! कति छिट्टै गल्छ ? कति छिट्टै पग्लन्छ ? कति छिट्टै बल्छ ? कति छिट्टै निभ्छ ? कति छिट्टै पानी हुन्छ ?  कति छिट्टै खरानी हुन्छ र कति छिट्टै आफूलाई समाप्त गर्छ ?
निक्कैबेर भयो म सोचिरहेको छु । ऊ उतै छे । कालो गुलाफ कहिल्यै देखेको थिइन । पहिलो पटक उसको उदार छातीमा देखेँ, टाटू भएर टाँसिएको छ । आधा छोपिएको छ । देखेर थुक निल्छु– “आहा ! त्यही गुलाफ भएर त्यै छातीमा बस्न पाए !” आखिर मनै त हो ! 
आँखा सोरिए उतै जान्छन् घरीघरी । मेरा आँखा मबाटै सुटुक्क चोरेर उसैले लगे जस्तो लागिरहेछ । म तानिएको तानियै छु । मानौ ऊ चुम्बक हो म फलाम हँु ।
अमेरिका ! काम, केटी र मौसमको भरोसा नभएको ठाउँ । जसलाई यहाँ “कमन” भनिन्छ । मैले पनि के सोचेको होला यो नाथे केटीको बारेमा– आफैलाई सम्झाउँछु तर मन मान्दैन । आफ्नै मनलाई गाली गर्छु । गरेर के गर्नु मेरा चोर आँखा उतै तानिन्छन् । बेलाबेलामा समातिन्छन् पनि ।
ऊ उतै रमाइरहेकी छे । मलाइ भने छटपटीले हुट्हुटी पार्न थालिसकेको छ । ऊ आइन भने के गर्ने ? निक्कैबेर मनोबादमा हराउँछु । थुइक्क ! लोग्ने मान्छेको मन भन्ठान्छु । 
“म पनि मुर्खको भाँडो !” उसले मेरो त्यत्रो प्रशंसा गर्दा मैले पनि त्यस्तै शाब्दिक वा प्रतिकात्मक अभिव्यक्ति व्यक्त गर्न सकिन । सायद त्यसैले ऊ मबाट छिनमै अलग्गिएकी होली ! अङ्ग्रजी पनि नजान्ने गवाँर पाखै नै ठानी होली ! छिन्मै नजिक भइ, छिन्मै टाढा । सुरु बिनै अन्त्य भए जस्तो । यहीँका अमेरिकनहरु जस्तै ! 
के मैले यसालाई टुटाएँ त ? आखिर आफूलाई राम्रो नभत्रे मान्छे को छ यो संसारमा ? एक आँखाले सधैं आफुलाई राम्रो र अर्को आँखाले सधैं अर्कालाई नराम्रो देख्छ मान्छे । मान्छेलाई मनले खराब ठाने पनि मुखल राम्रो भन् भत्रे कुरा मैले किन विर्सेको ? मैले पनि उसको जस्तै भावुकताले भरिएको प्रणयमिश्रत बोली बोलिदिएको भए के विग्रन्थ्यो ? 
मेरै प्रश्नको पहिरोमा म एकछिन बगेँ । एकछिन् पुरिएँ । एकछिन् हराएँ ।
“मेरो कठोर व्यवहार र रुष्ठ अनुहारले पक्कै उसको कोमल हृदयलाई टुक्र्यायो ।” मलाई फेरि मनको बाघले खेद्न थाल्यो । केहीबेर अघिसम्म आगो भएको मेरो मन अहिले पानी भैसेको छ । ऊ मेरो मनको तहमा तैरन थालेकी छे । भित्रभित्रै मभित्र केही हराए जस्तो भइरहेछ । आफ्नै मनले आफैभित्र धुइँधुइँती केही खोजिरहेछ ।
फेरि सोचेँ¬– “हैन, अमेरिकामा केटीमान्छेले केटामान्छेलाई यस्तो कुरा भत्रु सामान्य नै हो नि ! भालुको मन खनिउ माथि ! धत् मेरो मन ?” 
तर जति सोचे पनि मन मानेको छैन । अर्को उपाय सोचँे । “ल म जानु पर्यो“ भनेर अली ठूलो स्वारले बोले । मुखले हिड्न खोजे तर मनले हिड्न चाहेको थिइँन । मनले मनको दूरी छोट्याइसेको थियो । मात्र उसलाई सुनाएर प्रतिकृया बुझ्न चाहन्थे । उसले मलाई साच्चै वेवास्ता गरेकी हो त ?
मेरो बोली सुत्रे बित्तकै ऊ दौडेर आई । मेरो पाखुरा सामाउँदै कुर्सीमा बसाई र भनी¬ “एकछिन् बस न !“ के खोज्छस् काना आँखा जस्तो भयो मलाई । मन फुरंग, मस्तिष्क हलुंगो । अन्तै कतै पुगेको मेरो मन फर्केर आफैसँग आए जस्तो भयो ।  
“मैले तिमीसँग कुरा गरिसकेकै छैन कहाँ जान लागेको अहिल्यै ?” सासै नफेरी बोली । म मुस्कुक हाँसे मात्र ।
“ए तिम्रो नाउँ के रे” उसले फेरि मेरो नाउँ सोधी मैले बताएँ । ऊ अहिले पनि अँग्रेजीमै बोलिरहेकी छे । म मेरो मातृ तथा राष्ट्रभाषा नेपालीमै बोलिरहेको छु ।
“तिमी के काम गर्छौ ?“
“म सानोतिनो स्टोरमा काम गर्छु...।” बोली नसक्दै एक्कसी निधार खुम्च्याइ । कुम कक्र्याएर कानसम्म पु¥याई । दुबै हात फिजाई । चुक घोप्टिए जस्तो अनुहार लागाई । गिद्धेमुद्रामा भन्न थाली– “ओऽ नोऽ किन सारा नेपाली स्टोर, ग्यास स्टेशन र ईण्डियन रेष्टुरेन्टमा मात्र काम गर्ने ?  
बोली र हाउभावमा मिसिएको हेय भावको अमिलो गन्ध बेस्सरी डकारी । मैले स्पष्टिकरण दिइन । उसको अनुहारमा एकछिन् आँखा विसाएँ । फेरि पनि भलाद्मी हाँसो मुसुक्क हाँसे ।
उसको अँग्रेजी बोलाईको लवजले लाग्छ– यो अमेरिकन हुदै होइन । लट्टु झैं मेरो मस्तिकमा ऊ फनफनी घुम्नि थाली । उसको बारेमा प्रश्नै प्रश्नको लामो सूचि तयार भयो । 
मान्छेको उपस्थिति पातलिदै छ । अचेतनाको आवरणभित्र लुकेको उसको बेलाबेलाको शसक्त चेतनस्पर्शको वेग मेरा इन्द्रियहरुले नथेग्ने भैसेकेका छन् । लोग्ने मान्छेको मन न हो ।
उभित्रको आगो मलाई पनि सल्किसकेको छ । भित्रभित्रै म पनि हुर्हुरी बल्दैछु । एक मनले लाग्छ– सबैकुरा छोडर सबैभन्दा पहिले आगो नै निभाइ हालुँ जस्तो ।
छातीका थुँगा बेलाबेलामा निसङ्कोच ठोक्किदा आकाशको बिजुली मनमा चम्किए जस्तो लाग्छ । अलिकति बेहोसीपन वाइनले पनि थपेको छ । त्योभन्दा बढी ऊ उत्कर्षमा पुगिसकेको भान गरिरहेकी छे । अहिले म सुन्दरता भन्दा पनि मादकता बढी देखिरहेको छु । रंगीन सपनाहरु आँखामा झुम्मिन थालेका छन् ।
ऊ अब अमेरिकाका बारेमा महाभारत र नेपाली बारेमा रामयण सुनाउन थाली । इन्द्रका अगाडि स्वर्गको बयान जस्तो लाग्छ तर पनि म सर्तकतासाथ मेरो भलाद्मी पनलाई बचाउँदै होमा हो र ए, ए भन्दै सहमतिको भारी टाउको हल्लाई रहेको छु– आज्ञाकारी शिष्य जस्तै । बेलाबेलामा मुसुक्क हाँस्छु । उसले नेपाल र नेपालीका बारेमा धेरै कुरा गरी । ती धेरैमा धेरैभन्दा धेरै नराम्रा मात्र गरी । 
यहाँबाट अब म फेरि उल्टो हुन थालेँ । सुरुमा उसले हात मिलाउँदाको अवस्थामा म विस्तारै फर्किन थाले । भित्रभित्रै विपरित दिशा तिर बग्न थाले । हावाहुण्डरी जस्तो कहिले पूर्वबाट । कहिले पश्चिमाबाट । छिन्छिन्मा दिशा परिर्वनतन गर्दै छ मेरो मनले ।
फल रित्तिएको रूखलाई चराहरूले छोडे जस्तै अहिले ती ठिटाहरुको झुण्डलाई उसले त्यसरी नै छोडिदिइ जसरी केहीबेर अघि मलाइ छोडेकी थिई । मन भाँडिने र बाँडिने व्रmम जारी छ । फेरि भाँडियो । फेरि बाँडियो । एक मनले अब यो केटीको फन्दाबाट उम्किनु नै वेश हुन्छ भन्ठाने । अर्को मनले हैन भन्ठाने ।  
सोधेँ– “हामीबीच धेरै कुरा भयो तर तपाइँको नाउँ थाह भएन ।”
“कसरी थाह हुन्छ त ? तिमीले अहिलेसम्म सोधेका छैनौ ।” उसको बाचाल जवाफले मलाई नाजवाफ बनायो । म फेरि मुसुक्क भलाद्मी हाँसो हाँसे । उसले आप्mनु नाउँ बताई । उसको नाउँ सुनेर फेरि म एकछिन घोसेमुन्टो लाएर एककोहोरिएँ । नखाउँ त तलतली खाउँ त उपरतली जस्तो भयो । 
म निक्कै होसियारी र सतर्कतासाथ उसालाई पढ्ने प्रयत्न अझै गर्दैछु । 
मलाइ विश्वास भयो यो केटी अमेरिकामा जन्मेकी हैन । किन भने ईन्द्रचोकमा हात्ती हराएका जस्ता कुरा गरिरहेकी छे । फेरि पुरानै कुरामा फर्नक चाहेँ र सोधेँ¬ “स्यान्ड्रिया, तपाइँको मातृभूमि नि ?” 
मोसो पोतिए जस्तो भयो अनुहार । निधार खुम्च्याउँदै भनि– “नेपाल !” 
थोरै सोचेको तर धेरै नसोचेको उत्तर दिई उसले । दार्जिलिँगेहरु धेरै नखरा पार्छन भत्रे सुनेको थिएँ । उतैकी होली भत्रे थोरै अनुमान पनि थियो तर सबै दार्जिलिँगे त्यस्ता छैनन्, भलाद्मी र असल पनि छन् ।
“नेपाल !” भन्ने सुन्दा खुशी हुनु पर्ने तर मभित्र दुःखको पहाड बिथोलिएर ज्वालामुखी फुट्ला जस्तो भयो । आँखा तिर्मिराएँ एकछिन् ।  रिसाएको घोडा जस्तो हिन्हिनाउन थाल्यो मेरो मन । काबुमा ल्याउन धैर्यताको अर्को चाबुक हाने । 
फेरि सोधेँ¬ “के काम गर्नुहुन्छ ?” उसले आँखी भौं तन्काइ । गर्वको अनुभूति एकाएक झल्कियो । पूर्णिमाको जून पोतियो अनुहामा । चर्को स्वरमा भनि– “अमेरिकनको बच्चा हेर्छु ।” 
पहिलो चोटी मैले उसलाई एकहोरो निकैबेरसम्म हेरे– मानौ अमेरिकनको बच्चा हेर्ने काम यो जस्ता अप्सराले मात्र गर्छन् ।
आफूलाई अझै सामन्य बनाउँदै सोधेँ ¬ “कति भयो अमेरिका आएको ?”
नजरका छड्के तीर मेरा निर्दोष आँखा तिर तेस्याउँदै लेध्रो तानेर जवाफ दिइ¬ “सात वर्ष !”  
“वाह ! सात वर्षमा यस्तो ?” मनमनै दाह्रा किँटे । उसको त्यो सात वर्ष मेरो मुटुमा सातओटा ताता तीर भएर रोपिए । शरीरका सारा तन्तु जुरुकजुरुक उठे जस्तो भयो तर ... सहनु र सुन्नु भन्दा अर्को कुनै उपाय थिएन ।
विनम्रता साथ फेरि सोधेँ¬ “अहिले तपाइँ कति वर्षकी हुनु भयो ?” 
“चौविस ।” यो सबै उसले अँग्रेजीमै बताइरहेकी छे । एकछिन फेरि चुपचाप बसेँ आँखा चिम्लिएँ । भगवान सम्झिएँ ।
“शार्दूल के भयो ?” लोलीको अर्को बोली ओकली । बेलाबेलामा ओकले जस्तै ।
“खासै केही हैन ।” मभित्रको असहजतालाई थिच्दै सहज जवाफ दिएँ । के सोचेको भन्दै मेरो हत्केला तानी तर पहिले जस्तो अहिले करेन्टको अनुभूति भएन मलाई । फेरि पनि मुसुक्क मुस्कुराउँदै भने¬ “केही हैन ।” 
मनमा फक्रेको उच्छवासको फूलमा पराग बनेर बसेको उप्रतिको प्रेमरागको रस सुकेर अब फिक्का भैसकेको छ ।  
“मलाई त म्याराथन मन पर्छ । तिमीलाई कुन खेल मन पर्छ ?” एकाएक उसले एक पागल प्रश्न गरी । आकासको कुरा पाताल पु¥याए जस्तो लाग्यो । उसले अचानक किन यस्तो प्रश्न सोधी ? आफ्नै मनलाई सोधेँ । एकछिन् आफैंभित्र हराएँ ।
“मेरो प्रश्नको जवाफ किन नदिएको ?” फेरि घचघच्याई । चिरिक्क चिमोटी । 
“बुझिन ।” 
“यति पनि बुझेनौ ?”
“म्याराथन खासै चाखलाग्दो र उत्तेजनात्मक खेल पनि होइन । तै पनि मन पर्नुको कारण के हो ?”
अब ऊ र म मात्र छौ त्यहाँ । प्राय सबै आ–आप्mनो गन्तव्यतिर लागिसकेका छन् । पल्लो कोठामा केही मान्छे गफ गरिरहेका छन् आ–¬आप्mनै धुनमा । हामी आफ्नै धूनमा । वाइनको बोतल लगभग रित्तिइसकेको छ । उसका हातमुख सबै सक्रिय छन् ।
“म्याराथन धावक भनेका लामा दुरीका धावक हुन् । तिनमा स्टेमिना ज्यादा हुन्छ । ती प्रायः म्याचुअर्ड पनि हुन्छन् ”
“अनि ती धावकको स्टेमिनासँग तपाइँको सम्बन्ध ?”
“लोग्नेमान्छेमा स्टेमिना हुन जरुरी छ माइ डियर, जरुरी छ । सेक्समा म्याचुअरिटी कति जरुरी छ ?”
मलाई उसको कुराले हावामा कावा खुवायो एकछिन् । कुहिरोको काग जस्तो भएँ । कोसँग, कहाँ, के कुरा गर्दैछु ? ठम्याउन सकिन । ह्विस्कीको हल्का झट्काले मलाई पनि हानेको छ । ऊ भने उत्कर्सबाट सीमान्ततिर गइरहेकी छे । उसको झट्का झन शक्तिशाली छ ।
“प्राय लोग्नेमान्छे छोटोदूरीका धावक जस्ता हुन्छन् । यौवनको आगो ताप्नै सक्दैनन् तर म्याराथन खेलाडी अलि पाका र छिप्पिएका हुन्छन् ।” 
मैले उसलाई यसपटक तलदेखि माथिसम्म आरामले हेरेँ । म उसलाई पढ्न खोजीरहेको छु तर अब झन् अल्मलिदैछु । ऊ मेरालागि झन क्लिष्ट, झन् गुढ र झन् रहस्य बन्दै गई । महाकविको शाकुन्तल जस्तै ! अमूर्त चित्रको अर्थहिन रंग जस्तै ! 
“अनि तपाइँको खास नाउँ के हो बताउन मिल्छ ?” विनम्रतापूर्वक सोधेँ ।
उसको अनुहारमा एकाएक ढकमक्क गुराँस फव्रिmयो । तिख्खर आँखा सन्काउँदै टाउको हल्लाउँदै भनि–¬“मिल्छ माइ डियर, मिल्छ ! तिमीलाई सबै कुरा बताउन मिल्छ । नेपालको मेरो नाउँ शारदादेवी हो । यहाँ स्यान्ड्रिया !”
ऊ हाँस्दै जति छिटो बोलिरहेकी छे त्यति नै छिटो टाउको पनि हल्लाइरहेकी छे, आँखा पनि घुमाइरहेकी छे । सायद शरीरका अरु तन्तु पनि त्यसरी नै चलाइरहेकी छे ।
मभित्र भुतभुते खनिए जस्तो भयो । र पनि मुखले हाँसेँ । मन रिसाए पनि सकुन्जेल ओठ च्यातिदिएँ । उसले अनुमान लगाइ म खुशी भएँ । 
फेरि सोधेँ¬ “अनि किन अँग्रेजी मात्र बोल्नु भएको ?”
अनुहार मलिन बनाई । मेरो हात समाई । अँग्रेजीमै अर्को लोलो ओकली– “सरी, मैले नेपाली सबै विर्सिएँ !”ण्
निर्वाध बोली । निशङ्कोच बोली । निल्र्लज्ज बोली ।
म छाँगाबाट खसे जस्तो भएँ । चीराचीरा भयो मन् । एकछिन सर्वाङ्ग शरीर सिताङ्ग भयो । फेरि छिट्टै रनक्क तातो एकदमै तातो जस्तो भयो । तातो न तातो झिरले घोचे जस्तो घोच्यो मेरो मुटु उसको यो अन्तिम वाक्यले । कथाको एक पात्रलाई विभिन्न चरित्रमा पढे जस्तो भई स्यान्ड्रिया ।
यसले सात वर्षमा आप्mनो मातृभाषा विर्सिइ भने मातापिता, दाजुभाइ, दिदीबहिनी, नातागोता, इष्टमित्र, साथीसंगत, गाउँठाउँ, थाँतथलो, रस्तीबस्ती सबै विर्सिइ ! मेरो सोझो ठम्याइले भन्यो– अर्काको देशमा शरणार्थीका रुपमा बसेर सात वर्षमा आप्mनो मातृभाषा विर्से भन्नु त्यो भन्दा ठूलो चाण्डालपन के हुन्छ ? मातृभूमि र मातृभाषाको यो भन्दा ठूलो खिल्ली अरु कसले कसरी उडाउन सक्ला ? 
यसले यस्तै खिल्ली उडाउने कुरा बाहेक सबै बिर्सिइ, सबैलाई बिर्सिइ ! नराम्रा बाहेका राम्रा सबै विर्सिइ । 
महिनौ कोखमा बास दिने माता र धरतीमा पहिलो पाइला टेक्न साहस दिने मातृभूमिलाई कसले विर्सन सक्छ ? तर यसले बिर्सी । सात वर्षमै यो सबै बिर्सिनेले मलाई त सात मिनेटमा विर्सन्छे । सायद यसले सात मिनेटका लागि मलाई धावाक बनाउन खोजेको पनि हुन सक्छ ! 
एकछिन म फेरि मनोवादमा हराएँ । 
सृष्टि विधाको अनुपम सृजनाको स्वरुप नारी, त्याग र तपस्याकी प्रतिरुप नारी, उत्सर्गको उपमा नारी, प्रेमको आधार र स्रोत नारी, सभ्यताको सर्जक नारी, शुशिलताको सम्बाहक नारी, सौम्यताको साधक नारी ! त्यो नारीको श्रद्धा, सुधा, शक्ति, लज्जा, दया, मायाँ, छाँया, दातृ, भातृ र मातृरुपका ती सुन्दर स्वरुप सम्झेँ । अनि त्यही नारीको विस्मयकारी विभत्स यो– कल्कीरुप ! 
जुरुक्क उठेँ र भने– “मिस शारदादेवी अर्थात स्यान्ड्रिया तिमीले सोचे जस्तो म्याराथन धावक म नहुन सक्छु ! तिम्रो निशाना गलत ठाउँमा परको छ ।” 
म हिड्न थालेँ । ऊ आँखा च्यातेर हेर्न थाली । क्रोधले अनुहार तिल्मिलाएको थियो । निधार गाँठौ पार्दै अँग्रेजीमै भन्दै थिई– “एफ... एफ... किङ् नेपाली, द्याट्स् ह्वाई आई डण्ट लाइक दोज गाइज ।” म हिडेको हिड्यै भएँ । 
मनमनै सोच्दै आएँ– जीवन आफैंमा एक पुस्तक हो । त्यही पढ जीन्दगीमा । जिन्दगी थाह हुन्छ तर हजार पुस्तकभन्दा क्लिष्ट छ यो जीवनपुस्तक– त्यसैले मान्छे पढ्दैन ? 
चुलिएको पाथी कतिबेर पो लाग्छ र पोखिन ! थाह छैन– ऊ हिडेको चरम आधुनिकताको यो बाटो कहाँ गएर कसरी टुङ्गिन्छ ? अनि यो पनि थाह– छैन म एक लोग्ने मान्छे हूँ, कमजोर लाग्ने मान्छे, भोलि के हुन्छ ?

जून १४, २०११ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !