Sunday, June 17, 2012

पासवर्ड

शिव प्रकाश
त्यो दिन पनि दिन नियमितरुपले ढल्दै थियो । 
कुनै पहाडले छेकेको छैन त्यो विरानो आकाशलाई । हुन त यहाँ न पहाड नै छन,् न पहाड जस्ता मान्छे नै– न धैर्य र  स्थिर ! न ठूलो मन भएका, न विचार भएका ! 
खुला आकाशले सिउँदोमा सिँदुर भर्न थालिसकेको छ । मादक सौन्दर्य ओढेको पश्चिमी क्षितिजको चहकमहक नै बेग्लै छ– मनै बहलाउने ? पहाडका छाती चिरेर बगेका वयस्क नदी जस्तै अनुभूतिका अलौकिक नदी शरीरभित्र बगिरहेका छन् । एकनासले फुटेका छन् चाहनाका मूलहरु ।
म मेरै एक गजलको एक शेर सम्झन्छु –
वशमा छैन वासना फूलको के दोष ?
मनमा छैन तीर्सना मूलको के दोष ?

‘समर’ सुरु भएको छ । जुलाईको हल्का गर्मी ! बोस्टनको वातावरण– टुङ्गो छैन, एकछिन पछि के हुन्छ ? 
जे होस्, आज अचम्मै राम्रो छ मौसम । भरखरै सिमेटरी पुगेको छु । यो त्यही सिमेटरी हो जुन उसले भनेकी थिई । अहिले मेरो आँखा धेरै अनुहारमा डुलिरहेकाछन् तर कुनै अनुहारमा अहिलेसम्म अडिएका छैनन् ।
हुन त देखेर पनि के गर्ने ? अनुत्तरित प्रश्नको बिटो बोकेका आतुर आँखा निरन्तर दौडिरहेका छन्– यहाँका मान्छेजस्तै हतारमा ! एकदमै हतारमा ! मलाई थाह छ– शार्ली ! तर चिन्ने कसरी ? उसले भनेकी थिई– ......यही हो तिम्रो ‘पासवर्ड’ अर्थात ... चार अंकको एक समूह !
सिमेटरीमा अनौठो चहलपहल छ । निरन्तर दौडिरहेको समयभन्दा छिटो मेरा निरन्तरताहरु दौडिरहेछन् । एकतमासले निरन्तर खोजिरहेछन् मेरा आँखाले एक अनुहार । थाह छैन कस्तो छ त्यो अनुहार ? अर्थात छ कि छैन ?
उसले भनेको सम्झन्छु– “मनका आँखाले तिमीलाई मैले धेरैचोटी हेरिसकेकी छु । तिमीले मलाई चिन्नु पर्दैन । म चिन्छु तिमीलाई तै पनि पासवर्ड सोध्ने छु, मेक सियोर गर्न ।”
मनमनै सोच्छु– “सिमेटरीमा यति धेरै मान्छे ! यो सम्पूर्ण जमात कतै अमानवीय जमात त हैन ? धरती थोत्रिएर कतै मनुमेण्ट मुनी रोपिएका मान्छे उम्रिएका त हैनन ?” 
फेरि सम्झन्छु– “सिमेटरीमा अनौठो शान्ति मिल्छ भन्ने कुरा । त्यसैले मानिस यहाँ आउँछन् ।” 
यसै पनि संसारमा सबैभन्दा बढी ‘मेन्टल प्रब्लम’ भएको मुलुक हो अमेरिका । यहाँ मान्छेका लागि समाधि नै शान्तिको सागर बनेको छ । जीवनरुपी खोलाको गन्तव्य यही रहेछ भन्ठान्छु तर म भने झन् अधीर, अस्थीर, व्याकुल र गरुङ्गो भएको छु । 
एकमनले सोच्छु– “त्यस्तो पनि होला कहीँ ? जस्तो मैले सोचेको छु ! यो संसारमा सायद कुनै शार्ली नै छैन ! शार्ली मरेकी पनि छैन । मर्नका लागि जन्मनु पर्छ । जसरी भेटाउनका लागि हराउनु पर्छ । न शार्ली जन्मेकी छे, न हराएकी छे !” 
एउटा निश्कर्षमा निकाल्छु– “हो, धेरै मान्छे जस्तै म पनि भ्रमपीडामा बाँचेको छु ! सपनाको चिहान खोतल्दै यहाँसम्म किन आँए होला ! कतै  बाटो हिड्ने निहुँमा बाटो उल्टै ममाथि हिडिरहेको त छैन ?”
“हैन शार्ली यतै कतै छे नत्र उसले यही सिमेटरीको नाउँ किन लिन्थी ? किन यहीँ बोलाउथी ? शार्ली अवश्य भेटिन्छे ।” मनमनै बातमार्छु । 
धेरै अनुहारमा मेरा आँखा अझै दौडिरहेका छन् । धेरै आवजहरु हावामा उडिरहेहका छन् । ती मध्ये एक आवाज एकाएक मेरा कानमा ठोकिन्छ विजुलीको पोलमा ढुङ्गो ठोक्किए जस्तो ! त्यही आवाजतिर आँखा दौडिन्छन् र टक्क अडिन्छन् ।
“हलो सनसाईन !” ठ््याक्कै उही शब्द ! उही आवाज ! उही लवज ! उही स्वर ! धेरै दिनदेखि देख्न थालेको सपनाहरु मेरा आँखामा एक्कासी दौडन थाल्छन् । एकाएक त्यो एकल पात्र नाच्न थाल्छे आँखामा ! छिनमै मेरा आँखा उसका आँखामा मिसिन्छन् । अनि एकछिन् पछि चार आँखाबाट मेरा दुई आँखा छुट्टिएर सिधै उसको सुकुमोल छातीमा गएर केकमा नाइफ गाडिए जस्तो गरि गाडिन्छन् ! आखिर लोभी आँखा न हुन्, प्रायः सबै लोग्नेमान्छेका जस्तै मेरा पनि ! 
फूलको सुन्दरता टपक्क टिपेर फक्रेका छन् छातीमा वैंशका विम्बका दुई थुँगा ! मेरा आँखा तिनमा औधी रमाइरहेका छन् । आँखासँगै मेरा पाइला त्यो आवाजतिर तानिन्छन् । छातीमा अड्किएका आँखा विस्तारै ओरालो लाग्दै पिँडुलातिर पुग्छन् । बग्दा बग्दै नदी टक्क रोकिए जस्तै रोकिन्छन् मेरा आँखा ती सुँडौल पिँडुलामा । छुँदै हातको मैलो लाग्ला जस्तो त्यो सुकुमारी शरीर ! कुनै राजकुमारी देख्छु म उसलाई ।
यहाँनेर म एकपटक फेरि दुविधामा डुब्छ । नारीवयका वैभव ! लाजका ती गहना ! थाह छ मलाई– वैंशका ती वैभव नै नारीवयका अमूल्य गहना हुन् । जीवनपर्यन्त यी अमूल्य नै रहन्छन् तर यो थाह छैन– त्यस्तो अमूल्य वस्तु लुकाउनका लागि हुन्छ वा देखाउनका लागि ? उसले तिनलाई लुकाएरै तीप्रतिको  कौतुहलता बढाएकी छे । ऊ अमेरिकी नारी हो तर यसबेला म केही नेपाली नारीहरुको कल्की अवतार सम्झन्छु । जसका उदाङ्ग अङ्गमा पुरुषआँखा ठोक्किएर झुक्न वाध्य भएको पनि देखेको छु र भोगेको पनि छु । 
यो भोगाइको मेसोमा ऊ एक अनौठी प्रतिनिधिपात्र भएर उभिएकी छे मेरा सामू ।
मैले उसलाई मेरो नाउँ प्रकाश र प्रकाशको अर्थ बताउँदा उसले भनेकी थिइ– म तिमीलाई सनसाईन भन्छु । प्रकाशको सोझो अर्थ जान्न खोजेकी थिइ, पछि उसले त्यसलाई आफ्नै अर्थ लगाई– सानसाईन ।
म धेरै सपनाहरु भुल्छु तर यी पछिल्ला सपना पटक्कै भुलेको छैन । भुल्नै नसक्ने छन् ती सपना । तिनै सपनाका चिहानमा डुल्दै छु । मनुमेन्टमा कुँदिएका अक्षरहरुमा उसका आँखा गाडिएका छन् । म छेवैमा पुग्छु ।
“पासवर्ड ?” प्रश्नसूचक बोली निकाल्छे । म पासवर्ड बताउँछु । मन्द मुस्कानको मीठो सुवास छर्छे– हुरुक्कै पार्छे । 
“मिस्टर सनसाइन ! यहाँ मेरो विगत गाडिएको छ ।” बोलीमा बिट मार्छे । आँखाले माथि डाँडातिर इसारा गर्छे । म इसारालाई पच्छ्याउँदै उसँगै लाग्छु । चुपचाप छे ऊ । हातले हातको साथ माग्छे । म पनि चुपचाम हातलाई हातको साथ दिन्छु । मौनतामा सबै भइरहेछ । सिमेटरीको उकालोसँगै म मित्रताको उकालो चढ्न थाल्छु । मित्रता भन्दा पनि प्रेमको उकालो ठान्छु । निक्कै ठाडो छ त्यो उकालो । सिँढी नै सिँढी ।
आखिर प्रेमिल यात्रा पनि त सजिलो यात्रा हैन ! पीडाका कति जँघारहरु तर्नु पर्छ ?
सुनसान छ माथि डाँडामा । बतासमा वसन्तको वासना छ । त्यसमाथि फूलको महकले झन् मादक बनाएको छ ‘समर’को वायुलाई । यौवनका विम्ब ओढेर रंगीचंगी फूल फुलेका छन् । चराचुरुङ्गी संगीतमय आवाजमा प्रेमका गीत गाइरहेका छन् । मानौ प्रकृति आफैं दुलही जस्तै सजिएर बसेकी छे । स्वर्ग ओर्लेर धरतीमै आए जस्तो लागेको छ ।
हावाको हल्का लहरसँग ठोक्किदा प्राप्त हुने रोमाञ्चकता बेग्लै छ । साच्चीकै प्रेमको आवृत्तिले ढपक्कै ढाकिसकेको छ मलाई । शार्लीको समीपताले मलाई मबाट खोसिसकेको छ । सुटुक्क मेरो मन चोरेर लगिसेकेकी छे उसले ।
चेरीको फेदमा अडेसा लाग्दै लामो मौनतालाई भत्काउँदै भन्छे– “मिस्टर सनसाईन... !” फेरि मौन हुन्छे । 
म पनि मौनतामै मुस्कुराइदिन्छु । उसका आँखासँग बात मार्न खोज्छु । आफ्ना आँखा उसका आँखामा बिसाउँछु । मादक मौनताको महक छर्दै फूल जस्तै फेरि मुसुक्क मुस्कुराइ दिन्छे ऊ । साच्चिकै फूल जस्तो ! शीतविन्दुका मोतीदाना सिउरेर फक्रेको मनमोहक गुलाफ जस्तो देख्छु म उसलाई ! माहुरी जस्तै मोहित हुन्छु । मग्न हुन्छु । निमग्न हुन्छु । भित्रभित्रै पल्लवित हुन्छु । 
ढकमक्क चेरी फुलेको छ । हरियो घाँसमाथि फूलको ओछ्यान ! भुइँभरी खसेका चेरीफूलले बुट्टे गलैंचा ओछ्याए जस्तो बनाएको छ जमीनलाई । ऊ त्यसैमा लमतन्न हुन्छे । आँखा चिम्लिन्छे । निस्फिक्री छोडिदिन्छे हातगोडा । लामो शास तान्छे । विस्तारै मेरा हात सुम्सुम्याउँन थाल्छे । असरल्ल कपालभित्र लुकेको उसको अनुहारमा म ती फूलका रंगहर देख्न थाल्छु । मन हुँडल्ने त्यो इन्द्रणी रंगमा म हराउन थाल्छु । मधुर कल्पनामा चुर्लम्म डुब्छु । अझै मौन छु म । मौनताभित्रको त्यो रोमाञ्चकताले सुस्तरी मेरा आँखामा पर्दा लगाउँदै छ । विस्तारै म पनि आँखा बन्द गरिदिन्छु र मनमनै भन्छु– आहा, धरतीको यो स्वर्ग । यो स्वर्गको यो अलौकिक आनन्द ! 
तल मान्छेको दोहोरीलत्ता थियो । यहाँ कोही छैन, ऊ र म बाहेक । यो समय यसरी नै यही टक्क रोकिए हुन्थ्यो जस्तो लाग्छ तर विडम्बना ! मैले सोचे जस्तो कहिले, के नै भएको छ र ?
मौनताको बाँध निक्कै लम्बिसकेको छ । शून्यताको आयतन झन ठूलो छ । त्यही शूून्यता र मौनतामै मनले मनसँग बात मारिरहेछ । अनि त्यही शून्यता र मौनताभित्र अलौकिक आनन्दको अपूर्व अनुभूत भइरहेछ । सुसुप्त संवेदनाहरु भित्रभित्रै तरङ्गित भइरहेछन् । तरङ्गसँगै अनौठा भावहरु जुर्मुराउँन थालेकाछन् । मस्तिष्कमा गाडिएर बसेका कयौं अनुहारहरु शार्लीको अनुहारमा अनुदित हुन्छन् ।
“आज मैले .....!” ऊ केही बोल्न खोज्छे तर धाँटीमा केही अड्किए जस्तो अचानक रोकिन्छे । म आँखा खोल्छु । ऊ कुन लोकमा छे थाह छैन– उसका आँखामा परेलाका पर्दा अझै लागिरहेका छन् ।
म एकतमासले उसलाई हेरिरहेको छु । उसँग बोल्नु, उसलाई हल्लाउनु, चलाउनु, गिजोल्नु, हुडल्नु भन्दा समीपमा बसेर मौनतामै मनका आँखाले एकहोरो हेर्नुमा मलाई अनन्त आनन्दको अनुभूति भइरहेको छ ।
आहा ! अनुभूतिका अर्थहरु कति धेरै ? म यिनैमा हराइरहेको छु ।
टिलपिल तलाउमा तैरिएको दिशाहिन डुंगा जस्तो अनुभूतिको सागरमा म मनको डुंगा बनेर तैरिरहेको छु ! मस्तिष्कमा प्रेमसौन्दर्य फक्रक्क फक्रिएको छ । त्यो प्रेमिल सौन्दर्यपानको जिजीविषा भित्रभित्रै झनझनै वढ्न थालेको छ । 
ऊ विस्तारै मेरो हात आफुतिर तान्छे र चुम्बनको गहिरो अनुभूतिमा मलाई एकछिन् डुवाउँछे । म चुर्लुम्मै हुन्छु तर ऊ एक्कासी झसङ्ग भएर जुरुक्क उठ्छे– कुनै नराम्रो सपना भङ्ग भए जस्तो । मलाई डो¥याउँछे । त्यहाँभन्दा माथि आकाशमात्र छ । अब ओरालो झर्नु छ । म पछिपछि लाग्छु । आफूसँगै मलाई पनि झार्छे ।
ऊ कसैका अनुहारमा हेर्दिन । मलाई डो¥याउँदै पार्कबाट निकाल्छे । 
साँझ झमक्क छ । ल्याम्पपोष्टको दुधिलो उज्यालोमा उसको आभारुप बत्तीभन्दा उज्यालो देख्छु । अलिपर सडक छेउ गाडी पार्क गरेको छ । टलक्क टल्केको कालो हम्मर गाडी ! कालै सिसा ।
हामी दुबै गाडीमा बस्छौ । गाडी हुइँकिन्छ । मेरा आँखा घरी उसका आँखासँग ठोकिन्छन् घरी आगाडिका दृष्यसँग । मुसुक्क मुस्कुराएको उसको अनुहारमा सुन्दर फूलको सजीव विम्ब चल्मलाएको देख्छु । हेराइमा कस्तो मधुर मादकता ! म तीनै मादक नयनतालमा तैरिरहेको छु । 
“अमेरिका ! संसारको सबैभन्दा सुखी मुलुक तर यहाँ भित्रको दुःख भोग्नेलाई मात्र थाह छ । यहाँ सबैथोक भएर पनि मान्छेसँग केही छैन । लोग्ने हुनेको स्वास्नी छैन । स्वास्नी हुनेको लोग्ने छैन । आमा हुनेको बाउ छैन । बाउ हुनेको आमा छैन । आमा छ तर आमाभित्र आमा छैन । बाउ छ, बााउँभित्र बाउ छैन । सबै छन् तर सबैभित्र कोही छैन । सबै छ, सबैभित्र जे आवश्यक छ त्यो छैन । हरेकका बीचमा लामा र गहिरा तनावका रेखा छन् ।” 
ऊ यस्तै केही मार्मिक यथार्थहरु ओकल्छे र फेरि चुपचाप हुन्छे । 
“हो मैले पनि अनुभूत गरेको छु । यहाँ धेरै स्वास्नीमान्छे पाइन्छन् तर स्वास्नी पाइदैनन् । धेरै लोग्नेमान्छे पाइन्छन् तर लोग्ने पाइदैनन् .....।”
मेरो वाक्य पुरा नहुदै ऊ बोल्छे– “एक्ज्याक्ट्ली ! सत्यहरु सधैं फरक हुन्छन् । म स्वास्नी मान्छे हुँ तर यहाँ लोग्ने भन्दा स्वास्नी पाउन गाह्रो छ ।” 
मूलबाटो छोडेर गाडी वस्तीतिर मोडिन्छ । ‘अफरोड’मा मच्चिदै एकैछिन पछि ‘डेड इण्ड स्ट्रिट’को छातीमा गाडी रोकिन्छ । ओरिपरी जंगल जस्तो छ । बीचमा चिटिक्क परेको सानु घर । ऊ लामो शास तान्छे । मानौ उसले धेरैबेरपछि शास फेरेकी छे । 
लामो मौनतालाई भत्काउँछे– “बाइसौं शताब्दीका विम्बहरु मेरो मस्तिष्कमा नाचिरहेका छन् ।” 
हामी गाडीभित्रै छौ । बाहिर अँध्यारो पोखिएको छ । 
“अर्थात ?” उसको कुरासँगै लघु जिज्ञासा सलबलाउँछ मभित्र । 
“म सबै बताउँछु, हिड भित्र जाऊँ ।” रिमोटमा नम्बर थिच्छे, घरको ढोका खुल्छ । भित्र पस्नासाथ कोठामा मिहिन उज्यालो पोतिन्छ । ‘मोसन डिटेक्टिभ लाइट एक्टिभ’ हुन्छ– बत्ती बल्छ । बत्तिसँगै बोल्छे– “मलाई यस्तै मिहिन उज्यालो मनपर्छ ।”
एउटा घरमा एक्लै बस्छे ऊ । म फेरि एकपटक चकित हुन्छु । सोध्छु– तिमी एक्लै एउटा घरमा ? 
“मयुर, मित्र र आफन्त एकै हुन् । हेर्दा सबै सुन्दर र प्रिय लाग्छन् तर मयुर कतिबेला खुशी हुन्छ थाह छ ?” प्रश्नको एउटा झटारो हान्छे । 
“छैन ।”
“जब आकाशलाई कालो बादलले निल्छ र अनिष्ठको घण्टी बजाउँछ । बुझ– मयुर, मित्र र आफन्त अनिष्ठमा रमाउँछन् ।”
उसको यो दर्शनिक विचार साच्चै हो जस्तो लाग्छ । म मेरो दुःखमा रमाउने आफन्त र मित्रहरु सम्झेर एकछिन् आफैंभित्र हराउँछु । यो कस्ती केटी होला ? यसलाई कोही मान्छे मन पर्दैन कि क्या हो भन्ठाछु र सोध्छु– “यसको मतलब तिमीलाई कोही मान्छे मन पर्दैैन ?” 
“मन पर्छ । मान्छे चिनुन्जेल  मात्र !”
“मतलब ?”
“मतलब, नभोगुन्जेल र मान्छेको मन नचिनुन्जेल !”
“अनि मेरो बारेमा नि ?”
“भोग्न पनि र मन  पनि चिन्न बाँकी छ तर पूर्व जन्ममै चिने जस्तो लागिरहेछ ।”
निक्कै खुशी हुन्छु भित्रभित्रै । एउटा गहिरो चुम्बनले खुशी व्यक्त गर्दै उसको पूर्ण परिचय माग्छु । 
ऊ संक्षिप्त परिचय दिन्छे– “म एक टुहुरी हूँ तर मेरा आमाबाबु जिउँदै छन् ।”
अर्को प्रश्को भूमरीमा पर्छु र सोध्छु– “टुहुरी ! के भन्न खोजेकी ?”
“जिउँदा बाबुआमाका टुहुरा सन्तान भएको मुलुक हो अमेरिका । म पनि त्यही मध्येकी एक हूँ । ड्रग र डिभोर्सले धेरै सन्तानलाई टुहुरा बनाएको छ । मेरा बाबुआमा दुबै रिह्याबमा छन् ।” 
उसको अनुहारमा पीडाको प्रतिच्छायाँ दौडिन थाल्यो । एकछिन अघिसम्म रोमान्टिक मुडमा भएकी शार्ली जीवन खोज्दाखोज्दै जीवनसँग थाकेकी जस्ती भई । अभ्यन्तरका वेदनाहरु निचोरिए । आँखा रसाए । रसाएका ती आँखाका पानीले मलाई पनि कतकति रुझायो । बाहिर त्यति प्रफूल्ल, खुशी र सुन्दर देखिने मान्छे भित्रभित्रै कति दुःखी छे । आखिर दुःख कसलाई छैन ? म यस्तैयस्तै कुरामा हराइरहेको छु । ऊ पीडानुभूति ओकल्दै छे ।
“फर्सी हो यो देश ! बाहिरी दुनियाँलाई थाह छैन भित्रभित्रै कति कुहिइसकेको छ । म त्यही कुहिएको फर्सीको एक बियाँ हूँ । जसमा वीज छैन ।” 
बोल्दाबोल्दै उसले कुरोलाई कुलो जस्तै मोडेर सेक्समा पु¥याई– ”अमेरिकनहरुको प्रेम र सेक्स दुबै पशुवत् छन् ।” 
“पशुवत् प्रेम र सेक्स ?” म फेरि एकछिन् अड्किन्छु । मेरा प्रश्नसूचक नजर उतिर हुत्तिन्छन् ।
“हो, पशुवत् !”पशुले जस्तै भेट्ने बित्तिकै चाट्न थालिहाल्ने र अलिकति तलवितल हुने बित्तिकै लात्ती हानिहाल्ने । ‘युज एण्ड थ्रो’ त ‘थेउरी’ बनेर बसेको छ यहाँका मान्छेको मास्तिष्कमा । र त म एउटा मान्छेको खोजीमा थिएँ, आज भेटे जस्तो लाग्दैछ ।” 
यो मायिक यथार्थप्रति सहमतिको टाउको हल्लाउँदै भन्छु– “कसरी भन्छौ तिमीले भेटेको मान्छे असल हो भनेर ?”
“मैले भेटेको हैन, खोजेको हो । त्यतिकै भेटिदैन । भेट्नका लागि खोज्नु पर्छ । मैले पूर्वीय दर्शन बुझेकी छु । पश्चिममा रमझम र रमिता छ तर पूर्वमा रचना र सृजना छ । म निर्माण चाहन्छु । त्यसैले तिमीलाई... !” 
बोल्दाबोल्दै रोकिन्छे । वैंशालु नजर म तिर हुत्याउँछे ।
निक्कै फुर्किन्छु म भित्रभित्रै । मुस्कुराइदिन्छु एकनासले । तर, अक्करमा अल्झिएको फर्सी जस्तो मेरो दिमागको अल्झिएको छ त्यो ‘पासवर्ड’ । मन मान्दैन, अर्थ सोध्छु । 
“यो सबै समयको आवश्यकता हो ।” लघु उत्तरमा बिटमार्न खोज्छे ।
म कुरा बुझ्दिन र तन्काउँछु । “अर्थात ?” 
“अर्थात ! अब पासवर्ड बिना केही हुदैन । एटिएमदेखि मोवाइलसम्म, कम्प्युटरदेखि कन्टेनरसम्म, गाडीको ढोकादेखि घरको ढोकासम्म पासवर्ड चाहिन्छ । अब त प्रेमदेखि र सेक्ससम्म  पनि पासवर्ड चाहिन्छ ।”
ऊ भन्दैछे– “प्रेमिका र स्वास्नीले पनि अब पासवर्ड सोध्नेछन् । प्रेमी–प्रेमीका वा लोग्ने–स्वास्नीका बीच कम्प्युटर हुनेछ र सबैकाम अनलाईनबाट हुनेछ । एक्काइसौं शताब्दीको यो अभ्यास वाइसौ शताब्दीको आवश्यता हुनेछ । समयले मान्छेको समय निलिसकेको छ । अब मान्छेको इच्छा मान्छेले हैन प्रविधिले पुरा गर्नेछ ।” 
हो जस्तो पनि लाग्यो जहाँ पनि कम्प्युटर, जहाँ पनि पासवर्ड ! 
कति ठाउमा पासवर्ड नमिल्दाका अप्ठ्यारा सम्झेर सोध्छु– “पासवर्ड मिलेन भने नि ?”
“ओछ्ुयान चिसै रहने छ । अमेरिकाका धेरै गाडीहरु दूर्गन्धित हुने छैनन् ।”
अर्को प्रश्नले चिमोट्छ मलाई– “चोरीको पनि त बिगबिगी छ । पासवर्ड कसैले चो¥यो भने नि ?” 
“चोरले चोर्न पायो भने आफूलाई भाग्यमानी ठान्छ । त्यो चोर पनि भाग्यमानी हुनेछ । जसले चोर्छ उसैले सबैथोक.... गर्छ !
लाटाका आँखा केरामा अड्किए जस्तो मेरा आँखा धरैबेर उसका अनुहारमा अड्किन्छन् । उसका कुरा सुनेर म विम्ब नपाएर झोक्राएको कवि जस्तो हुन्छु । भुँइतिर आँखा गाडेर केही सोच्ने प्रयत्न गर्छु तर केही सोच्नै सक्दिन । ऊ उसैगरि लमतन्न बेडमा पल्टिएकी छे  जसरी केहीछिन् अघि सिमेटरीमा फूलको बुट्टे गलैचामाथि निस्फिक्री पल्टिएकी थिई । 
आतिथ्य उही छ जुन सरदर अमेरिकी नारीहरुले गर्छन– रेड वाइन । वाइनको रमरमसँगै उर्लिएका वाफिला आँकाक्षाहरुसँग पौडी खेल्दैछु म । साँझ रंगीन भएको देख्न थालेको छु । उत्ताउला छालहरु उपद्रो मच्चाउँदैछन् भित्रभित्रै ।
मेरो अनुमान भन्दा बाहिर जादैछे ऊ तर मेरो जिज्ञाषाले उसलाई पछ्याउँदछन् । सोध्छु– “कसरी ?”
“अब अर्को स्टिभ जब्स जन्मने छ ।” 
कुहिरोको काग जस्तै हुन्छु म उसका यी भनाइमा । फेरि सोध्छु– “अनि ?” 
“अनि, जब्सको नयाँ संस्करणले मान्छेको जीन र वीर्य  मान्छेबाट कम्प्युटर र कम्प्युटरबाट मान्छेमा ट्रान्सफर गर्ने प्रविधिको आविस्कार गर्ने छ । ‘एपल’को ठाउँमा ‘अरेन्ज’ ‘चेरी वा बेरी’ बनाउने छ ।” 
“अनि ?” 
“अनि ती सबै कम्प्युटरका मेमेरी र चीप्सहरुमा हुनेछन् र त्यसको उत्पादन चाइनाले गर्ने गर्ने छ । मान्छे र चाइनिज सामान जस्तै कुनै कुराको ग्यारेन्टी पनि हुने छैन ।” 
म एकतमासले उसको अनुहार पढिरहेको छु विस्तारै बुझ्दैछु त्यो अनुहारमा कुदिएँका अक्षर र भाषा । 
ऊ त्यसरी नै पल्टिरहेकी छे । उसले लगाएको लुगा घुँडाभन्दा माथि सरेको छ । उसका ती गोरा, बाटुलावयमा अल्झिएका मेरा आँखा बेलाबेलामा उसका आँखासँग ठोक्किरहन्छन् तर कान उतै छन् । एक चित्तले सुनिरहेको छु उसका यी अद्भूत परिकल्पना ।
पासवर्डको लट्टु अझै मस्तिष्कमा घुमिरहेको छ । सोधेँ– “यो पासवर्ड मलाई नै दिनुको अर्थ ?”
“सुन– तिम्रो ‘एक्सन’ले तिम्रो स्वभाव देखाउँछ । मान्छेको ‘एक्सन’ नै विस्तारै स्वभाव बन्दै जान्छ । त्यसैले कुनै पनि ‘एक्सन’ बिचार गरेर लिनु पर्छ । तिम्रो बानी, बेहोरा, रुची, क्रियाकलाप सबै अनलाईनबाटै हेरेकी हुँ । सबै कुरा ठीकै लागेपछि तिमीलाई अनलाईनमै ‘पासवर्ड’ दिएकी हँु ।” 
“अर्थात ?”
“अर्थात, तिमीलाई चिन्नका लागि । तिमी त्यही मान्छे हौ कि होइनौ भनेर.... !”
बोल्दाबोल्दै ऊ रोमान्टिक मुडमा आई । ममा भने एउटा हल्का स्पर्श पनि थाम्न नसक्ने दूर्वलता बढिसकेको छ । उसको स्पर्शले धरती नै हल्लिए जस्तो हुन थालेको छ । उसका छातिभित्रबाट उठेका छालहरुले मलाइ छोपिसेकेको छ । बहिर जुनकीरीको उत्सव छ भित्र प्रेमोत्सव ! उत्कर्षमा डुबुल्की मार्दा लागिरहेछ– आहा ! बाँच्नुको मजा यही रहेछ ! 
.... तर खुशीको आयु कति छोटो ? 
झल्याँस्स बिउँझिए ! बाहिर उज्यालोले चल्मलाउन थालिसकेको रहेछ । ओहो ! म त सपनामा सपनासँगै खेलिरहेको रहेँछु । धेरैबेर पछि बल्ल म आफुसँग फर्किए र धेरैबेर टोलाएँ ।
थाह छैन यो धरतीमा शार्ली छ कि छैन ? सपनाको सत्ता र अस्तित्व हुन्छ कि हुदैन तर त्यो ‘पासवर्ड’ र शार्लीको अनुहार मेरो मस्तिष्कमा चल्मलाइरहेछ । 
कलिलो बिहानीसँगै उठेर निकैबेरसम्म श्रीमती र छोराको कृयाकलाप अवलोकन गरेँ । मनमनै ठानेँ– आज मान्छे संसारसँग नजिक छ तर परिवारसँग धेरै टाढा भै सकेको छ । 
उनीहरु दुबैका काखमा ल्यापटप थिए । अघिल्लो रात अबेरसम्म पनि ती ल्यापटप तीनै काखमा त्यसरी नै बसेका थिए ।
जून १४, २०१२ हालः बोस्टन, अमेरिका । 

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !