Tuesday, November 27, 2012

किस्ने पँणित

शिव प्रकाश

र्‍याकमा केही किताबहरु असरल्ल छन् आफ्नै जीवन जस्तै अव्यवस्थित ! अक्षरमा अनुदित भएर भित्तामा सिसेरो झुण्डिइरहेछ विग्रिएको भित्तेघडी सँगै !
“किताब बिनाको कोठा आत्म बिनाको शरीर जस्तै हुन्छ ।”  
जमघट भैरहन्छ त्यहाँ । साप्ताहन्तमा दोहरीलत्ता नै चल्छ । पढनदास भन्दा गफनदासको घुइँचो नै बढी हुन्छ अन्यन्त्र जस्तै । तर, आज वातावरण भिन्न छ । केही दिनदेखि केहीलाई देखेको छैन । आत्माज्ञानीहरु– अध्ययन बिनानै महाज्ञान प्राप्त विदुरहरु !
अर्को भित्तामा भगवान बुद्धको तस्वीर मुनि एक शेर लेखिएको फ्रेम झुण्डिएको छ । 
मान्छे हुँ, मान्छे भै मान्छेकै रुपमा रहुँ म
प्रार्थी छ,ु हे ईश्वर ! मान्छेकै उपमा बनुँ म ।।

अध्ययन पनि आशिर्वाद हो भन्ठान्छु म । मान्छेको रुपमा जन्मिएर भगवान्को उपाधि पाएका बुद्धको तस्वीर मुनिको त्यो शेरमा मेरा आँखा निक्कैबेर अल्झिन्छन् । मन–मस्तिष्कले पनि लामै विश्राम लिन्छ । त्यतैतिर हेर्दै सोध्छु– खै त मित्रहरु ? 
“मित्रहरु जहीँका तहीँ छन् मात्र परिभाषा र अर्थ बदलिएको छ ।” 
“किस्ने फेरि एक लामो घुट्को घुटुक्क तान्छ र रसिला ओठ देब्रेहातले पुछ््दै भन्छ– “समयको खेल समयले नै देखाउँछ, मान्छेले आफ्नो रुप आफैं देखाए जस्तै । हेर्दै जानु पर्छ सबै देखिन्छ तर समस्या– हेर्नै सकिदैन । हेर्नै नसक्ने गरि देखाइदिन्छ मान्छेले । 
लुगाले लाज छोपेँ भन्ठान्छ मान्छे, अनुहार नाङ्गै हुन्छ । नाङ्गो अनुहारले सबै देखाइरहेको हुन्छ ।
उसका कुराले मेरो चेतनाको ढोका खोल्न सकेन । एकछिन् अक्क न बक्क भएँ । कुराको अर्थ खोज्न आँखासँगै मन पनि भुइँतिरै गाडँे तर खाली भुइँमा भुइँ बाहेक केही देखिन ! 
मेरो उत्सुक आँखा उतिरै फर्किए । फेरि सोधेँ– खै कहाँ छन् त मित्रहरु ?
“भने नि जहीँका तही छन् ।”
अदुवाको झोल जस्तो टर्रो र पीरो आवाज फेरि मतिर हुत्यायो । मीठो र नम्र बोली कमै निस्किन्छ उसको मुखबाट तर राम्रो कुरा– उसको मन र मुख प्रायः मिलेको हुन्छ । उन्नाइस–बीसमात्र हुन्छ धेरै फरक पर्दैन ।
“गिदी कति घिनलाग्दो हुन्छ ? त्यस्तो घिनलाग्दो गिदीबाट सुन्दर विचार उब्जिनु गाह्रो हुन्छ । सुन्दर, असल र राम्रो कम हुनुको कारण पनि यही हो ।”
“दिमाग ठीक छ किस्ने तेरो ? कि रक्सीले मातेर बर्बराउन थालिस् ?” रिसको अगुल्टो झोसेँ ।
“तिमीहरुको दृष्टिकोण नै गलत छ रक्सीप्रति पनि । रक्सी खराब छ भन्ने ठानीठानी किन घटघटी पिउँछौ ? मैले मात्र पिएको छु ?” गोलभेडा जस्ता राता भैसकेका उसका गहिरा आँखा उचितेतिर फर्कायो । “यही हो, आफूले गरेको काम  खराब छ भन्ने जान्दा जान्दै पनि मान्छे मान्न तयार हुदैन ।”
कहाँको कुरा कहाँ पु¥यायो किस्नेले । मेरो चेतनाको ढोकाको चक्का झन मजाले जाम भयो । उचितेले सही थप्दै भन्यो– “कुरा त सही हो” । 
उचिते हाम्रो मण्डलीको स्थायी सदस्य हो । तर, उचितेले बुझेर भन्यो कि बुझे जस्तो गरेर भन्यो उही जानोस् ।  किनभने बुझ्ने भन्दा बुझे जस्तो गरेर आफूलाई आफैं ठूलो बनाउने बज्रस्वाँठ विद्धानहरुको बिगबिगी छ समाजमा । 
हुन पनि मान्छे सयमा पचास प्रतिशत सुन्छ । पच्चीस प्रतिशत बुझ्छ । जिरो प्रतिशत मनन गर्छ र बुझक्कड बनेर एकसय पचास प्रतिशत प्रतिकृया दिन्छ ।
उचितेले फेरि हँमा हँ मिलाएर भारी टाउको हल्लायो । 
“एउटा कुरा बुझ तिमेरु, रक्सी पिएको मान्छे बर्बराएको मात्र हुदैन त्यसले सत्य कुरा पनि गरेको हुन्छ ।”
एकछिन् उसको कुरामा घोरिए– “यो कुरा त साँचो हो” । मेरो चेतनामा केही पात्रहरु चलमलाउन थाले । अन्तर्मुखी स्वभावका ती पात्रहरु दुई ट्वाक हानेपछि बर्बबराउन थाल्थे । मनमा जमेर बसेका ढुस्सी सबै ओकल्थे । समाजै पुरै गन्हाउने गरी ।
कुरो कहाँबाट कहाँ पुग्यो म समेत तिल्मिलाउन थालिसेकेको थिएँ तर मलाई एउटै कुराले खेदिरहेको थियो र म त्यही कुरालाई अघि लाएर किस्नेलाई खेदिरहेको थिएँ ।
फेरि सोधेँ– खोइ त मित्रहरु ? 
म जसरी “खोइ त मित्रहरु” भनेर सोध्छु ऊ त्यसरी नै “जहीँका तहीँ छन् ?” भन्छ ।
मैले नबुझेको कुरो– कहाँ हो त्यो जहीका तहीँ ?
“मान्छेले अहंलाई ठूलो शक्ति ठान्छ र आफूलाई ठूलो देख्छ तर अहमले शक्तिशाली हैन कमजोर बनाउँछ । अहमंता जति आनन्ददायक हुन्छ अन्ततः त्यो त्यति नै पीडादायक हुन्छ । मेरा मित्रहरु मित्रकै रुपामा छन् तर अर्थ र परिभाषा बदलिएको छ, समय र शक्तिले गर्दा ।”
अन्तमा उसले उही कुरा जोड्यो । उही दोहो¥यायो ।
मैले अर्को अगुल्टो झोसेँ– “कहाँ हो त्यो जहीको तहीँ ।  कुनै युटोपिया हो कि यही धरतीको कुनै कालो फगटो हो ? अनि के हो त्यो तेरो अर्थ र परिभाषाको अर्थ र परिभाषा ?”
“समयले उनीहरुलाई मभन्दा राम्रो बनाइदिएको छ । उनीहरु सबैको घरमा एउटा ऐना छ त्यो ऐनाले आफूलाई राम्रो देखाउँछ । उनीहरु त्यही हेरेर आफूलाई राम्रो देख्छन् । म सल्लाह दिन्छु– सुकरातको ऐना हेर ।”
उसले सुकरातको एउटा प्रसंग थप्यो– सुकरातले पनि सधैं ऐना हेर्थे रे । जति हे¥यो आफूलाई त्यति नराम्रो देख्थे रे । आफू झन्भन्दा झन् नराम्रो देखिन नै उनी बारम्बार ऐना हेर्न गर्थे रे । यसरी बारम्बर ऐना र्हेनुका कारण सोध्दा उनले भनेछन्– “मैले धेरै राम्रा काम गरेर मेरो कुरुपताको प्रतिकार गर्नु पर्छ । ऐना हेरिरहदा मलाई यो कुरा सम्झन सजिलो हुन्छ । अरुले पनि बारम्बार ऐना हेर्नु पर्छ र सधैं सभ्झनु पर्छ कि ईश्वरले दिएको सौन्दर्यमा मेरो कुकृत्यले कतै कालो धब्बा नलगाओस् ।” 
“यस्तो महान् सुझाव संसारमा अब कसैले कसैलाई दिन्छ कि दिदैन” भन्दै किस्ने एकछिन रोकिन्छ र एक घुट्को तान्छ । ओठ पुछ्ने उही प्रकृया दोहो¥याउँछ र बोल्छ– “मित्रहरु म भन्दा राम्रा छन् । हुन त संसारमा नराम्रा कोही छैनन, सबै राम्रा छन् तर आफ्ना लागि मात्र । संसारमा नराम्रो पनि कोही सोच्दैनन्, सबै राम्रो सोच्छन् तर त्यो पनि आफ्ना लागि मात्र ।”
किस्ने एकहोरो बर्बराइरहन्छ । बर्बराएको भन्दा पनि आज किस्नेको आत्मज्ञानको बाँध फुटेजस्तो लाग्छ मलाई । उचिते पनि लठ्ठ परेर सुनिरहेको छ ।
“तर संसारको विडम्बना बेग्लै छ । असलले खराबलाई खराब नै भन्छ । त्यसको ठीक विपरित खराबले असललाई पनि खराबै भन्छ । एक उल्टो सत्य के पनि हो भने– असलले खराब हैन, खराबले असल कहिल्यै मन पराउँदैन ।”
“आज मलाई बेस्सेरी पिउन मन लागेको छ” भन्दै डिवार्सको घैंटोसँग गिलास जोड्दै ज्ञानगंगा फेरि बगाउन थाल्छ– “परपीडकहरु अरुलाई पीडा पु¥याउँदा खुशी हुन्छन् । परपीडक भावबाट उत्पन्न हुने अभिव्यक्तिले अन्ततः आफूलाई नै पीडा दिन्छ । अर्कालाई पीडा दिन आफूले आफूलाई त्योभन्दा बढी पीडा दिएको हुन्छ मान्छेले ।”
एक घुट्को रक्सी फेरि तान्छ । आफ्ना रसिला राता आँखा मेरी स्वास्नीको अनुहारतिर ठोक्काउँदै भन्छ– भाउजु, जसले आफ्नी स्वास्नीको रायसल्लाह लिदैन त्यो मान्छे महामुर्ख र महाघमण्डी हुन्छ ।”
सपना मतिर हेर्दै सहमतिको मुन्टो हल्लाउँछिन् तर उत्तर उसले सोचेभन्दा उल्टो दिन्छिन्– “प्राय सबै कुरामा हाम्रो रायसल्लाह हुन्छ ।”
मतिर लक्षित उसको बाँण निस्तेज हुन्छ । त्यसको भाव अनुहार र आँखामा झल्किन्छ । धेरैबेर पछि उचितेको मुख चिलाउँछ– “ओ, पँणित दाइ ! तपाइँ आफू नराम्रो भनेर कसरी थाह भो नि ?”
उसको स्वर चर्किन्छ –“म सँग त्यो ऐना छैन । पाएँ र हेरेँ भने म पनि आफूलाई नै राम्रो देख्छु ।”
“कहाँ पाइन्छ नि त्यो ऐना ?” किस्नेलाई जिस्क्याउँदै हाँसोमा उडाउन खोज्छ उचिते ।
किस्ने झन् चर्किन्छ । “नहाँस ए, मूला उचिते । जीवनदर्शन केही बुझ्नु छैन !” किस्नेको बोलीले मेरो पनि हाँसो फुटाउँछ । धपधपी बल्न लागे जस्ता रातापिरा आँखा मतिर ओइरिन्छन् । भित्ता चर्किने गरि बोलीको गोली छुट्न थाल्छ ।
“निष्ठा बेच्नु पर्छ त्यो ऐना किन्नलाई । जहाँ निष्ठा र इमान बेच्ने ठाउँ छ त्यही  पाइन्छ त्यो ऐना । जहाँ मान्छेले आफूलाई इमान्दार वेश्याका रुपमा प्रस्तुत गरिरहेको हुन्छ । तीसँग जस्तो फालाफाल छैन मसँग इमान र निष्ठा । जति छ आफ्ना लागि नै ठीक्क छ ।” 
एक घुट्को फेरि लाउँछ र फेरि सुरु गर्छ ।
सुन ए, उचिते– “शरीर बेचेर गुजारा गर्ने एउटी आइमाईलाई तेरो यो समाज वेश्या भनेर धृणा गर्छ । वाहिस्कार गर्छ । तिरस्कार गर्छ तर निष्ठा बेचेर बाँच्ने ती आत्मवंचक  महावेश्याहरुलाई यो समाज उल्टो सम्मानित गरिरहेछ ?”
म किस्नेलाई थुमथुम्याउँदै भन्छु– “ए, अलि बिस्तारै ।”
आवाजको भोल्युम अलि घटाउँछ । 
“एउटी वेश्याले एकरातमा आफूलाई एउटासँग बेचेकी हुन्छे तर यी निष्ठाका फौबन्जारहरुले हजारौसँग बेच्छन् आफूलाई । तै पनि यी तिरस्ृत, घृणीत र वहिस्कृत हुदैनन् । किनभने समाज यिनीहरुकै छ । खराबहरुको योग हो समाज पनि मान्छे जस्तै ।”
किस्नेले भनेका कुराले मेरो मन–मस्तिष्क छुन थालिसकेको छ । हो, समय आएपछि समयले नै सबै देखाउँछ । ठाउँ पाएपछि मान्छेले केही बाँकी राख्दैन । ठाउँ भनेको पनि समय हो । वास्तवका कति मुर्ख छ मान्छे । आफूलाई असल देखाउन खराब काम गर्छ । नराम्रो काम गरेर मान्छे राम्रो देखिन खोज्छ । आफू बढेको देख्छ तर खसेको देख्दैन । 
म यस्तै यस्तै सोच्दै तरङ्गका तरेलीमा एकछिन् तैरिन्छु  । मौनताको लघुयात्रा पुरा गरेर मुख फोर्छु ।
“हो, नि ! मान्छे वास्तवमा मान्छेमात्र भएर बाँच्यो भने पनि पर्याप्त छ नि ! मान्छेमात्र हुनका लागि कुनै राम्रो र महान् काम गर्नै पर्दैन नराम्रो मात्र नगरे पुगिहाल्छ ।”
“समस्या यहीँ छ भन्दै” फेरि एक घुट्को लाउँछ । एकछिन रोकिएर ज्ञानगंगा बहाउन थाल्छ– 
“मान्छेमा अर्को आधारभूत समस्या छ– मान्छेलाई आफ्नो अज्ञानता बारे ज्ञान हुन्छ तर त्योभन्दा बढी आफ्नो अज्ञानता अरुले थाह पाउँछ कि भन्ने डर हुन्छ । त्यो भयले ऊ सधैं बज्रुक बन्न खोज्छ तर सधै उपबज्रुकको उपाधी पाइरहेको हुन्छ ।”
आँखाबन्द गरेर निक्कैबेर घोरिएँ । किस्नेका कुराले भित्रैसम्म छोयो । कुराको घट्ट चल्दाचल्दै मैले पनि सानो घान हालेँ– “किस्ने तलाइँ रक्सी बढी भइसक्यो नखा त ।”
उसले सधैंको जस्तै जवाफ दियो– “यो एक पेगले केही हुदैन ।” पछिल्ला तीन पेगदेखि ऊ त्यही भनिरहेछ । 
मैले सपनातिर हेर्दै भने– “यिनलाई चिया धेरै नपिउ भन्यो, एक कपले केही हुदैन भन्छिन् । उचितेलाई मासु धेरै नखा भन्यो, यतिले केही हुदैन भन्छ । किस्नेलाई रक्सी दिनहु नपी भन्यो, एक पेगले केही हुदैन भन्छ । आखिर मान्न को तयार छ ? आफ्नो गल्तीलाई स्वीकार्न सक्दैन मान्छे बरु कुतर्क दिएर जित्न खोज्छ ।”
“किन भने मान्छे धेरै तत्वको योगले बनेको छ ।” म बोल्दाबोल्दै उसले आफूलाई रोक्न सकेन । “थोरै मान्छेमा मात्र मान्छेको अंश छ र धेरै मान्छेमा मान्छेको भन्दा अरुको अंश बढी छ । त्यसैले संसारमा मान्छेको संख्या अति कम छ र मान्छे जस्ता देखिने मान्छेको संख्या भने धेरै छ ।”
“जब समय आउँछ तब मान्छेले देखाउँछ ऊ कुन तत्वले बनेको छ । ऊ मान्छे हो कि ढुंगो हो ? मान्छे हो कि ब्वाँसो हो ? बाघ, भालू, चितुवा, गोही, विरालो, सर्प, काग, छेपारो के हो ? क्षयमा स्त्रीको र व्ययमा मित्रको परिक्षा हुन्छ भन्छन् । त्यसैले ‘वरं न मित्रो न कुमित्र मित्रम् ....!”
तर खोइ त मित्रहरु ? मैले फेरि सोधे
“मूर्ख ! भालूलाई पुराण सुनायो सीता कसकी जोई । हा... हा... हा..... ” किस्ने कड्कियो । 
“शास्त्र पढेको छैनस् ? चोरका शत्रु चन्द्रमा ! काममा लगाउने बेलामा नोकरको, दुःख आइपर्दा वन्धुवान्धवको, आपत्तिको बेलामा मित्रको र सम्पत्ति नाश भएको बेला स्त्रीको परीक्षा हुन्छ भनेर ..। ”
“पटमुर्खहरु !” भन्दै उचिते र मतिर तातो भुङ्गो भएर खनियो किस्ने । “हामी गरीब भएको पैसा नभएर भन्नु हुन्थ्यो हाम्री आमा, तेती पनि ज्ञान छैन तिमेरुसँग ।” घटक्क एक घुट्को फेरि लायो र दिल खोलेर हाँस्न थाल्यो किस्ने ।”
मनमनै सोचेँ–“अध्ययनमै छ ज्ञान र ज्ञानमै छ मान–सम्मान !”
अहिले हामी उसलाई माया गरेर किस्ने, आदर गरेर पँणित र जिस्क्याएर किस्ने पँणित भन्छौं !

नोभेम्बर २३, २०१२ हालः बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !