Tuesday, January 8, 2013

बेबीसिटर



शिव प्रकाश
हिउँको हिलोले न्यूयोर्कका सडक बेस्सरी पोतिएका छन् । हिउँकै बर्को ओढेर सुतेको हड्सन नदी अझै मुर्दासनमै लम्पासार छ । हिजोसम्म शहर पनि सेताम्मे पहिरनभित्र घुर्मैलो अनुहार लिएर सुतेको थियो । ग्याल्जेनको अनुहार पनि धेरै दिनदेखि शहर जस्तै अँध्यारो थियो ।
“सुखले कतिबेला दुःखको रुप धारण गर्छ थाह हुदैन !” म यस्तै सोचिरहेको छु । उता मिङ्माले त्यो रुप धारण गरिसकेकी छे । मिङ्मा हिजोसम्म उसको जीवनको सबैभन्दा ठूलो सुख थिई ।
सोझो स्वभावको ग्याल्जेन सम्भवतः आज पनि मृत्युगीत गाइरहेछ । उसको मनमा सायद आफ्नै मृत्युको शोकधून  अझै बजिरहेछ ।
उसले प्राप्त गरेको संसारभरिको खुसी र ऊ भित्रको सम्पूर्ण माया मिङ्मामाथि खन्याइरह्यो तर त्यो सबै बालुवामा पानी भयो ।
“जीवनमा मान्छे दुई पटक मर्दो रहेछ, यो मेरो पहिलो मृत्यु हो । अन्तिम सत्य अघिको सत्य यही हो ।” आफ्नै मृत्यु घोषणा गर्दै ग्याल्जेन भर्खरै बोले जस्तो लागिरहेछ ।
दुःखले जीवन जिउन सिकाउँछ । मृत्युले दुःख भगाउँछ । त्यसैले दुःख जीवनको असल साथी हो भने मृत्यु जीवनको अभिन्न साथी हो । जीवनमा सबैले छोड्छन् तर यिनले कहिल्यै छोड्दैनन् । जीवन ननिलेसम्म मृत्यु मान्छेसँगै बाँचिरहेको हुन्छ । ग्याल्जेन आज सिनु भएको छ र उसका यी साथीहरु हरिया झिँगा भएर ओरिपरि घुमिरहेछन् ।
दुःख र मृत्युका यी हरिया झिँगाहरु ग्याल्जेनको जीवन ओरिपरि घुमे जस्तै मेरो मस्तिष्कमा ऊ सम्झनाको पुतली बनेर फन्फनी घुमिरहेछ ।
गीताको ज्ञान नभए पनि सार थाह थियो । ग्याल्जेनभित्र छाएको निराशाको अँध्यारोमा उत्साहको दियो बाल्न मैले उसलाई सार बताएँ ।
“सम्झ– जे भयो राम्रो भयो । जे भइरहेछ राम्रो भइरहेछ । जे हुनेछ राम्रो हुनेछ । तिम्रो के गयो ? जसका लागि तिमी रोइरहेका छौ ! तिमीले के ल्याएका थियौ ? जुन तिमीले गुमायौ ! तिमीले के पैदा ग¥यौ ? जुन नष्ट भएर गयो ! तिमीले जे लियौ यहीँबाट लियौ । जे दियौ, यहीँ दियौ । आज तिम्रो जे छ, हिजो अरु कसैको थियो । भोलि फेरि कसैको हुनेछ ।”
ग्याल्जेनलाई देख्दा सधैं लाग्थ्यो– न्युयोर्कको बिरामी मौसम जस्तै छ ऊ पनि । उसको ओठमा हाँसो हराएको धेरै भैसकेको थियो । अनुहारमा सधैं औसीको छाया देखिन्थ्यो ।
तर आज एकदमैै फरक छ । धेरै दिनदेखि धुम्मिएको आकासलाई बिहानीको किरणले चिरेको छ । सर्पले काँचुली फेरेजस्तै शहरले काँचुली फेरेको छ । हिँउको काँचुलीले बेरिएर सुस्ताएको शहर आज स्फूर्त देखिन्छ । मुटु कमाउने स्याँठ पनि मान्छेप्रति त्यति निर्दयी छैन ।
आज उसका ओठमा मुस्कानका फूल र अनुहारमा खुसीका आभा फक्रेको देखिन्छ । आजको यो पहारिलो घाम उसैको अनुहारबाट झुल्केको जस्तो लाग्दैछ । मानौं उसले जीवनमा पहिलो पटक जीवन्त भएको अनुभव गरिरहेछ ।
ग्याल्जेन आज एकाएक हँसिलो अनुहार लिएर सामुन्ने आयो ।  हातमा मिठाइको प्याकेट थियो ।
“आज मेरो जीवनको रुखो खडेरीमा खुसीको वर्षा भए जस्तो लागिरहेछ । मेरो मनको बाँझो पाखामा हरियाली पलाएको छ ।” अनुहारलाई अझ हँसिलो बनाउँदै उसले भन्यो ।
सधैं चिन्ताको चर्को घामले डढेको उसको अनुहार आज खुशीको झरीले पखालिएर सिनित्त भएको छ– स्निग्ध÷उज्यालो ! मनमनै भने–“आहा, कति हँसिलो आज ग्याल्जेन !”
“आज तिम्रो पीडाको आगोलाई खुशीको दमकलले निभाए जस्तो छ नि, ल बधाई छ ग्याल्जेन ।” उसको खुशीको कारण बारे अनुमान गर्न मलाई धेरै गाह्रो भएन ।
भूसको आगो जस्तै सधैं भित्रभित्रै अथाह पीडाको आगोमा सल्किरहेको उसको मनको कुरा मैले बुझेँ । ऊ झन दंगदास भयो ।
“खै काम पनि गर्न मन लाग्दैन । केका लागि गर्नु, कसका लागि गर्नु ?” बारम्बार यही एउटा शुष्क प्रश्नको उत्तर खोजिरहन्थ्यो ऊ । पाँच वर्षदेखि म देख्दैछु उसको अनुहारमा कहिल्यै खुशीका फूल फुलेका थिएनन् । सधैं काँडा उम्रिए जस्तो लाग्थ्यो त्यो मलिन अनुहारमा । मनमा सधैं उदास धून बजिरहे जस्तो !
तर, मिङ्मा भने ऊ जति निरस र निराश थिइन । भित्र के थियो थाह छैन । बाहिर हाँसी–खुशी र चञ्चल नै थिई ।
सरदर आइमाईभन्दा निक्कै सुन्दर देखिन्छे मिङ्मा । टिलपिल भरिएको घैंटो जस्तो जोबनले सजिएको ज्यान ! चटक्क मिलेको जीउडाल । ग्याल्जेनको पीडाको मल्हम थियो उसको सुन्दरता । निक्कै बयान गथ्र्यो मिङ्माको रुपको । प्रायः सबैका आँखा तान्थी उसले । औधी प्रेम थियो दुईबीच ।
“लैला–मजनुलाई बाँध्ने प्रेमको धागोभन्दा हाम्रो प्रेमको धागो धेरै बलियो छ ।” मिङ्माप्रतिको प्रेम र विश्वासले ग्याल्जेनको मन–मस्तिष्कलाई छिचोलेको थियो ।
“आखिर कुरा त्यही होला हैन ? तिमीले जे चाहेका थियौ त्यही भयो.. !”
वाक्यको बिट मार्न नपाउदै उसले जवाफ दियो– “तपाइँ पनि साक्षात ज्योतिषी नै हो, कसरी था’पाउनु भो ? हुन त मेरो मनको कुरा तपाइँले जति कसले बुझेको होला र ?” मिठाईको प्याकेट मेरो हातमा थमाउँदै मर्करी लाइट जस्तो उज्यालो भएर उभियो मेरो अघि ऊ ।
खुशीले मनका दुःखहरु धोएर मन सुकिलो बनाएको छ आज । जीवनको उजाड फूलबारीमा ढकमक्क रंगीचंगी फूलहरु फुलेका छन् ।
एकटकले निक्कैबेर हेरेँ । ऊ मुस्कुराई रह्यो । मेरो सहानुभूतिले उसको दुःखलाई सधैं साथ दिए जस्तै अहिले मेरो मुस्कानले उसको मुस्कानलाई निक्कैबेर साथ दियो ।
कहिले खुशी हुँदा, कहिले दुःखी हुँदा र यदाकदा जिस्किदा ऊ मलाई गुरुदेव भन्छ । उसले गुरुदेव भन्दा म आफूलाई ठूलै गुरु ठान्छु र टुटेफुटेको ज्ञान र थोरबहुत अर्तिबुद्धि पनि दिए जस्तो गर्छु । बेलाबेलामा गीताका एकदुई श्लोक सुनाइदिन्छु । चाणक्यका एकदुई पङ्ति । बुद्ध र ओसोका एकदुई लाइन ।
मान्छेमा आशा र आशामा विश्वास भरियो भने दुबै खुट्टा नभए पनि मान्छे अगाडि बढ्न सक्छ तर निराशा भयो भने दुबै खुट्टा भए पनि काम लाग्दैन । हिजोसम्म निराशाले लंगडो बनेको ग्याल्जेनलाई आज आफ्ना खुट्टा नचाहिने भएको छ । आशा र विश्वासका खुट्टाले दौडाइरहेको छ ।
खुशीको कारण मनमनै किटान गरेर सोधेँ– “कति भयो त ?”
“दुई महिना भयो ।”
“पक्कै हो त ?”
“फरकै पर्दैन अब त !”
“ल बधाई छ , मिङ्मालाई पनि भन्दिन” ।”
“ए, भनिहाल्छु नि । मभन्दा पनि ऊ पो खुशी जस्तो लाग्छे ! तर धेरै टेन्सन खेपेँ मैले यसका लागि । बल्ल यो मनमा शान्ति भयो ।”

सुख, शत्रुसँग र दुःख विश्वासिलो मित्रुसँग बाड्नु पर्छ भन्ने सल्लाह दिन्थे । ऊ मान्थ्यो । दुःखका साथी मलाई सधैं बनाउथ्यो । सहानुभूतिले उसको जीवनको तृष्णा मेटाउने प्रयत्न गरिरहन्थे ।
भोलिपल्ट शनिवार साँझ उसको डेरामा भेट्ने निम्तो दिएर ग्याल्जेन बिदा भयो । उसको खुशीले मलाई पनि कम खुशी बनाएन ! उसको दुःखको कारण र दुःखको तह–सतहका बारेमा म पनि ऊ जत्तिकै परिचित थिएँ । उसले मसँग प्रायः सबै कुरा भन्ने गथ्र्यो ।
उसका डेरामा अब हप्तैपिच्छे रमाइलो हुन थाल्यो । हप्तामा एक दिन हैन, शुक्रबार र शनिबार दुबै दिन बेलुका प्रायः जमघट भई नै रहन्थ्यो । प्रत्येक पटक प्रायः फरक–फरक उमेर र फरक–फरक समूहका फरक–फरक अनुहार देखिन्थे  ! तर म भने संयुक्त राष्ट्र संघको स्थायी सदस्य जस्तो थिएँ– सधैंको स्थायी निम्तारु ।
नातागोता, साथीभाइ, साथीभाइका साथीभाइसम्म उसले आफ्नो खुशी बाड्यो, निरन्तर बाँडिरह्यो । यो क्रम झण्डै सातआठ महिना चलिरह्यो ।
केही असल कामका लागि एकदुई डलर माग्दा तर्कितर्की हिड्ने नेपाली भद्रभलाद्मी–विद्वान्विदुषीहरुको उपस्थिति प्रायः बाक्लो हुने गथ्र्यो त्यस्ता जमघटहरूमा ।
“जहाँ नेपाली नर–नारी, त्यहा रक्सी–बियरको भरमारी” यहाँ पनि त्यस्तै भइरहेको थियो ।
लगातारको जमघटमा उसले मलाई धेरै मान्छेसँग परिचय गरायो । तीमध्ये धेरैसँग म पहिले नै परिचित थिएँ । हाँसिहाँसी भनी दिन्थे– “कसैले कसैको परिचय दिइरहनु पर्दैन । समय आएपछि मान्छेले आफ्नो परिचय आफैं दिन्छ ।”
हप्तैपिच्छेको रमाइलोसँगै उसको खुशीको सागरले सगर छोला जस्तो भइरहेको थियो । बतास चल्दा सागरमा उर्लेका एकनासका लहरहरु जस्तै उसको जीवनमा खुशीका लहरहरु उर्लिहरेका थिए । हिजोसम्म सायद संसारका दुःखीहरुमध्ये सबैभन्दा दुःखी उही थियो तर आज खुशीहरूमध्ये सबैभन्दा खुशी पनि उही छ ।
“आहा... दुःखपछिको यो सुख !” मनमनै धन्य भगवान् भन्ठाने । आखिर भगवानसँग त रहेछ नि ! तर कति धेरै दुःख खेपेपछि मात्र दिँदा रहेछन् भगवान्ले पनि ।
खुशीको त्यो दोहोरीलत्तासँगै शुभकामना र बधाईको ओइरो पनि त्यतिकै लागेको थियो । हिमालको काँखमा हुर्केको निश्छल, नम्र र भद्र ग्याल्जेनको अनुहार त्यो हिमाल जस्तै उज्यालो थियो । ग्याल्जेनको खुशीको त्यो उज्योलोको ज्योतिमा मिङ्मा पनि धपक्क बलेकी थिई ।
लाग्छ– ग्याल्जेनको चीरकालको घाउ बिसेक भएको छ । यही संसारमा यति धेरै खुसी र सुख पनि रहेछ भन्ने अनुभूतिको तलाउमा चुर्लुम्म डुबेको छ ग्याल्जेन । जीवन सार्थक भयो भन्ठानेको छ । यो खुसीका लागि ऊ आफ्ना गाउँघरका पाखाभित्ता, उकालीओराली, देउरालीचौतारीका मठमन्दिर, देवीदेउता, कूलदेउता, ईश्वर–परमात्मादेखि लिएर शुभचिन्तक इष्टमित्र सबैलाई मनमनै नमन गरिरहेछ । धन्यवाद भनिरहेछ ।
आखिर मान्छेले जे गर्छ आफ्नु खुशी र सन्तुष्टिका लागि गर्छ । मनलाई आल्हादित बनाउन मान्छेले के गर्दैन ? परोपकार, परपीडा जे पनि हुनसक्छ त्यहाँ । चरम उन्मादमा मान्छेले मान्छेकै हत्यासम्म पनि गर्छ । तर, ग्याल्जेनले खुसी बाँडेर खुसी मनाइरहेछ । ऊ यसैमा सन्तुष्ट छ ।
उसले के मात्र गरेर यो खुसीका लागि !
कति देवी–देउता भाकल ग¥यो । कति पटक कुलदेउताको पूजा गर्न लगायो । कति मठ–मन्दिरमा अक्षेतापाती चढाउन लगायो । कति बोका–कुखुराको बलि चढायो । कतिलाई खुवायो तर केही भएन ! हँुदै भएन ! कहिल्यै भएन !
अमेरिकाबाट अक्षेता र दक्षिणा समेत पठाएर कति लामागुरु, कति घामी–झाँक्रीलाई हेरायो, देखायो । घरमा कति ढ्याङ्ग्रो ठोकायो । कति रक्सीमासुको भोग लगायो । कति ओखतीमूलो खायो । कति तन्त्रमन्त्रका बुटी लगायो । कति गर्दा पनि केही भएन ! हँुदै भएन !
जति उपाय गर्दा पनि निरुपाय नै रह्यो । प्रत्येक पटकको असफलताले ऊ निरस, निरास, उदास र निरपेक्ष हुँदै गइरहेको थियो । मनको अश्रुपोखरीमा डुबुल्की मार्दै आर्फैभित्र जलेको आफ्नै मनलाई शान्त पार्दै थियो ऊ ।
उसको जीवनको निरासालाई म अनुभूत गर्न सक्थे । मेरो कोमल हृदय उप्रति सधै अँध्योरोमा दियो जस्तो भएको थियो । अलिकति भए पनि अन्धकारलाई चिर्ने प्रकाश उसले मबाट पाइरहेको थियो ।
एकदिन मैले भने– “हेर ग्याल्जेन यी देवीदेउताप्रतिको हाम्रो बोध, बुझाइ र विश्वासले कतै हामीलाई झन् अबुझ त बनाइरहेको छैन ? देवीदेउता र धामीझाँक्रीप्रतिको अबुझाइको शिकार बनेको मान्छेले समाजमा जधन्य अपराध पनि गरेको छ । हाम्रो समाजमा यो एक अभिश्राप पनि भएको छ । तिमी यसका पछाडि नलाग, कुनै डाक्टरको सल्लाह लेऊ ।”
यो सल्लाह दिएको केही दिनमै ऊ त्यो खुशीको खबर सबैभन्दा पहिला मलाई नै सुनाउन आएको थियो– हातमा मिठाई लिएर ।
उसले त्यसदिन भनेको थियो– “हउ, गुरुदेव ! देवीदेउता त छ नि हउ । अनि धामीझाँक्रीले भनेको पनि त पुग्छ नि हउ । जडीबुटीले पनि काम त गर्छ नि हउ । ई.. गरो त । पुगो त । भाकल पनि गरेको थो । जोखाना पनि हेरा’को थो । दवाइमूलो पनि खा’को थो । आखिर काम त गरो नि ।” आज उसले खाट्टी हिमाली शैलीमा बोल्यो ।
मैले “डाक्टरलाई देखायौ  त ?” भनेर सोध्दा उसले “ह्याँको डाक्टरले हाम्रो बिमार काँ’ जानेको हुन्छ र हउ” भन्दै हाँसेथ्यो ।
मेरा मनका दुई खुट्टाले हो र होइनको दुई ढुङ्गा टेकेका थिए । बढी भार भने होइन भन्नेमा नै थियो तर उसको खुशीकोे साथी र साक्षी उसकी स्वास्नी मिङ्मा भन्दा म बढी भएको कारणले हँमा हँ गरिदिन्थे । कहिलेकाहीँ हो नै जस्तो पनि लाग्थ्यो ।
समय बित्दै गयो । दिनहरु नजिकिदै आए । उसको खुशीले संसारलाई नै खुशी देख्न थाल्यो ।
जसरी संसारमा उज्यालो र अँध्यारोको द्वैध अस्तित्व छ, त्यसरी नै जीवनमा पनि सुख–दुःख, खुशी–पीडा, राम्रो–नराम्रो, असल–खराब, मीठो–तीतो घाम–छायाको द्वैध अस्तित्व छ भन्ने सबै बिर्सियो । अहिले लाग्थो “उसको बुझाइमा जीवन खुशीको अद्वैत साम्राज्य हो । दुःख भन्ने नै छैन ।”
+
उसले मलाई पनि जाउँ भन्यो र भोलिपल्ट हामी हस्पिटल गयांै । ग्याल्जेनको मनभरि माया, आँखाभरि सुन्दर सपना, एक हातमा ढकमक्क फुलेको गुलाफको ठूलो बुकी, बुकीका बीचमा मिङ्माको सुन्दर तस्वीर र तस्वीरसँगै एउटा शुभकामना कार्ड, रेशमी खादा र अर्को हातमा मिठाइको प्याकेट ।
हस्पिटल पुग्नेवित्तिकै ग्याल्जेनको खुशीमाथि अर्को खुशी थपियो । नर्सले भनी– “बधाई छ ग्याल्जेन, मिङ्माले एक स्वस्थ छोरो जन्माइन् । मिङ्माको कण्डिसन पनि राम्रो छ ।”
खुशीमाथि खुशी । खुशीको सीमा रहेन । ग्याल्जेन दौडदै कोठाभित्र छि¥यो तर छिर्न नपाउँदै निस्कियो । म प्रतीक्षा–कक्षमा बसिरहेको छु ।
एकाएक उसका आँखा फेवाताल जस्ता टिलपिल भए । निधारबाट पसिनाको बागमती बग्न थाल्यो । अनुुहारमा आंैसी घोप्टियो । कहिल्यै भूकम्प नआउने न्यूयोर्कको धरतीमा एकाएक महाभूकम्प गए जस्तो भयो । आफू उभिएको धरती भासिए जस्तो भयो । अकल्पित पीडा र कहालीलाग्दो त्रादसीले छोप्यो उसलाई । छिनमै सुकेको रुख जस्तो भयो ऊ ।
अहिले मेरासामु ग्याल्जेन हैन, उराठलाग्दो सुकेको रुख ठिङ्ङ उभिए जस्तो लागिरहेछ । मूर्तिवत् छ ऊ । मौन छ तर अनुहार र आँखा बोलिरहेछन् । र, भनिरहेछन्– “मेरो जीवनको नदीले मलाई नै बगायो । बगर बनायो मलाई । मेरो जीवनको रुख मैमाथि ढल्यो र किच्यो । जीवनको मेलोमेसो एकछिनमै भताभुङ्ग भयो ।”
हतास अनुहार अनि मतिर एकहोरिएका उसका उदास आँखाले मसँग त्रासद मौनतामै निक्कैबेर बात मारे । मुठी बटारिएका छन् उसका । अनुहारले आगो ओकलिरहेको छ ।
निक्कैबेर पछि उसले मुख खोल्यो– “तपाइँले भनेको ठीक रहेछ; मान्छे, मान्छे हो कि हैन थाह छैन !”
“आँखिर भयो के ?” उभित्रको अत्यासले मलाई पनि हतास बनाउँदै लग्यो । मैले आफूलाई धेरैबेर मौन राख्न सकिन र सोधेँ ।
उसले छोटो जवाफ दियो– “जसले सपना जन्माएको थियो उसैले त्यसको हत्या ग¥यो । त्यो छोरो मेरो होइन ।”
आफ्नो शरीर आफैंलाई थामी नसक्नु बोझिलो भयो उसलाई । थचक्क बस्यो ।
म दौडेर कोठाभित्र गएँ । मिङ्माका आँखा भित्तातिर तानिएका थिए, कुनै आकृतिमा अल्झिए जस्तो तर आकृतिविहीन थियो त्यो भित्तो । उसले मतिर हेर्दै हेरिन तर मैले उसलाई निक्कैबेर हेरेँ । त्यो भन्दा बढी छेवैमा सुताएको उसको छोरालाई हेरेँ ।
हेर्दाहेर्दै ग्याल्जेनलाई सम्झिएँ– धन्न ग्याल्जेन, तिमीले आफूलाई कसरी सम्हाल्यौ ? हे भगवान्, तेरो लीला ! के थियो, के भयो ?
एकाएक मिङमाको छोराको रुप मेरा सामु एक घनघोर अकल्पनीय स्वरुपमा परिणत भयो । त्यो सानु बालक  भयानक पीडाको पहाड जस्तो भएर उभियो मेरासामु । एउटा ठूला चट्याङ मैमाथि खसे जस्तो भयो । ग्याल्जेनलाई कस्तो भयो होला ? मैले अनुमान लाउन सकिन ।
प्रेम घृणामा परिणत भएपछि मान्छे एकाएक पशु बन्न सक्छ । म डराए । म आफैं अधीर जस्तो भएँ तर आफूभित्रको धैर्यको बाँध फुट्न नदिई ग्याल्जेनलाई सान्त्वना दिन म बाहिर आएँ ।
तर विडम्बना, ग्याल्जेन त्यहाँ थिएन !
मेरो झोलासँगै एउटा किताब थियो । किताब माथि एउटा सानो चिर्कटो थियो । त्यसमा लेखेको थियो– “यो संसारमा कसले कसलाई विश्वास गर्ने ?  हुन त मैले आफैं खनेको हुँ आफ्नो चिहान ? थोरै पैसाको लोभमा उसलाई बेबीसिटरमा त्यहाँ पठाएनु नै मेरो मृत्युको कारण भयो । म जिउँदै मरिसकेको छु । मलाई नखोज्नू ।”

उता मिङ्माले जे जति गरी, यो सबै ग्याल्जेनको खुशीको लागि गरी । बाबु हुने ग्याल्जेनलाई इच्छा जस्तै उसलाई पनि आमा हुने इच्छाले भित्रभित्रै पिरोलिरहेको थियो । त्योभन्दा बढी बाबु हुने ग्याल्जेनको इच्छालाई मिङ्मा मार्न चाहन्नथी ।
मिङ्माको मातृत्वभावले पनि ग्याल्जेनको पिता बन्ने आकासिदो इच्छालाई पूरा गर्न यो सब गरायो । मिङ्माले सोचेकी थिई त्यो बच्चा आफू जस्तै हुनेछ । मिङ्माको वंशविकास आमाको अनुहारमा बिस्तारित भएको छ । आमा हजुरआमा जस्तै छन् । ऊ आमा जस्तै छे । बाबुतिर कोही गएको छैन । ऊ ढुक्क थिई– ग्याल्जेनको कमजोरीको रहस्य पनि रहस्यमै रहनेछ र आफ्नै अनुहारको बच्चा पनि हुनेछ । तर परिणाम उल्टो भइदियो ।
जसलाई आफ्नो ठानेर आश गरिन्छ त्यसबाट निराशा हुँदाको पीडा र जसमाथि विश्वास गरिन्छ त्यसबाट घात हुँदाको घाउ तेजाबको घाउभन्दा पनि गहिरो हुन्छ । ग्याल्जेनको जीवनमा एकाएक लागेको त्यो गहिरो घाउको खाल्डोमा ऊ आफंै गाडियो । र, त्यहीँभित्र हरायो – धरतीको घाउमा सीता हराए जस्तै  !
पश्चातापको तावामा जिउँदो माछो भएको ग्याल्जेन बेपत्ता छ त्यो दिनदेखि । मिङ्मा पनि पश्चाताप र अशान्तिको आगोमा जीवन जलाएर बाँचिरहेकी छ ।
कालो न कालो, भैंसीको पाडो जस्तो कालो । लफ्फ्रक्क परेका ठूल्ठूला ओठ ! भेडाका भुत्ला जस्तो घुङिग्रएको कपाल ! मिङ्माको छोरालाई देख्ता एन्थोनी मेरा आँखामा नाच्न थाल्यो । मिङ्मा कालो जातिको एक मान्छेको घरमा बेबीसिटर काम गर्न थालेको एक वर्ष भएको थियो ।
लोभले लाभ, लाभले विलाप भयो ! त्यो कालेले देखाएको आर्थिक लोभ र लाभलाई मिङ्माको तेस्रो नेत्रले पनि स्वीका¥योे ।
हुन त प्रेमले बनेको सम्बन्ध जति टुटाउन खोजे पनि टुट्दैन । त्यही सम्बन्ध स्वार्थले बनेको छ भने जति नै बचाउन खोजे पनि बच्दैन तर म अझै द्विविधामा छु– यो प्रेम हो वा स्वार्थ ?
जनवरी ०३, २०१३, हालः बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !