Sunday, January 27, 2013

मान्छे


शिव प्रकाश
“मान्छेको मनको तस्वीर अनुहारमा उत्रिने हो भने यो संसारमा मान्छे नै बाँकी रहदैन,” ऊ मनमनै बोल्दै थियो, मैले सुनिहाले ।
“अज्ञानताको अर्को नाउँ हो– मूर्खता ! मूर्खताको अर्को नाउँ हो– अहंकार ! अहंकारको अर्को नाउँ हो– अज्ञानता ! यी सबै मान्छेकै गुण, स्वभाव र विशेषता हुन् ।”
“मभित्र पनि छ– खराबलाई असल भन्न नसक्ने अज्ञानता । नराम्रोलाई राम्रो भन्न नसक्ने मूर्खता । गल्तीलाई ठीक भन्न नसक्ने अहंकार ।”
“मूर्खलाई ज्ञान र अन्धालाई ऐना ! मैले त्यही मुख्र्याइँ गरेँ ।”
“नराम्रोलाई राम्रो नभन्नु दुष्टता हुँदो रहेछ । मैले त्यही दुष्टता गरेँ ।”
“नराम्रोलाई राम्रो भनाउन मान्छेले कति प्रयत्न गरेको हुन्छ । ती यावत प्रयत्न र उपायका विरुद्धमा उभिनु शत्रुता नभए के हुन सक्छ ? मैले त्यही शत्रुता गरेँ ”
“समयको कमानी खुस्किएको छ । जसले जतिखेर जे मन लाग्यो त्यही गरेको छ ।”
ऊ एउटा विचित्रको वक्ता । म अर्को झन् विचित्रको श्रोता ! ऊ मनमनै बोलिरहेको छ । म सुनिरहेको छु ।
“म जेलाई गल्ती भन्छु, उनीहरु त्यसैलाई ठीक मान्छन् ।”
ऊ एकछिन घोरिन्छ । मूर्तिवत् हुन्छ र सम्झन थाल्छ– “वास्तवमा त्यो गल्ती भएको हुदैन, गरिएको हुन्छ । एउटै कुरालाई मान्छेले पटकपटक गरिरह्यो भने त्यो भएको हैन, गरिएको हुन्छ । गरिएको कुरा गल्ती हुदैन, त्यो इच्छा हुन्छ । त्यो आशय हुन्छ । त्यो चाहना हुन्छ । त्यो बानी हुन्छ ।” उसले यस्तै सुनेको छ ।
यस्तै इच्छा, आशय, चाहना र बानी भएकाहरू धेरै छन् । मलाई थाह छ उसले भन्न खोजेका कुरा यही हो तर यहाँनेर सधैं म पनि गल्ती गरिरहेको हुन्छु– गल्तीलाई गल्ती नै भनेर दोहो¥याइरहेको हुन्छु ।

मान्छेको पत्रैपत्र छ उसको मन–मस्तिष्कमा । मनको भन्दा मस्तिष्कको पत्रको खात अग्लो छ । प्रेम गर्नेहरु मनमा छन् । घृणा गर्नेहरु मस्तिष्कमा । प्रेमभन्दा घृणा गर्ने बलिया छन् । किनभने उनीहरु धेरै छन् ।  धेरै भएकाले ती सब एक अर्काका लागि असल छन् । किनभने धेरैले जे भन्छ त्यही हुन्छ । धेरैले चलाएको छ संसार ।
स्वामी विवेकानन्दलाई सम्झन्छ– “जीवनमा धेरै मित्रताको जरुरी छैन । थोरै होस् तर त्यसमा जीवन होस् ।”
उसले कतै पढेको हुन्छ– “इमान्दारले धेरै गुमाउँछ तर जति रहन्छ, असल मात्र रहन्छ ।” अहिले थोरै छ तर असल छ भन्ने लागेको छ उसलाई ।
यो कुरा उसले बुझेको छ– अहिले संसारमा खराबी बढेको छ र खराबीलाई असल भन्नेको संख्या पनि बढेको छ । यही संसारमा अहिले प्रेमभन्दा घृणा गर्नेको संख्या पनि बढेको छ ।
ऊ अल्फ्रेड एडलरको भनाइ सम्झिन्छ– “विश्वास केवल चरित्रवान् व्यक्तिलाई मात्र गर्न सकिन्छ ।”
तर मान्छेको चरित्र भोगेपछि मात्र थाह हुन्छ । ऊ पहिले विश्वास गर्छ र पछि भोग्छ । त्यसैले सधैं पहिले गुल्टिन्छ र....पछि दैलो देखेर पछुताउँछ  – “किन विश्वास गरेछु ?”
–“अनुहारले चरित्र बताउने भए.......?” बोल्दाबोल्दै एकछिन् रोकिन्छ ।
फेरि बोल्छ– “मन परेको मान्छेको मन चिनेपछि अनुहार पनि हेर्न मन लाग्दैन ...।” वाक्य पुरा भयो कि भएन थाह छैन, फेरि रोकिन्छ ।
ऊ रोकिनासाथ मेरो मुखबाट त्यही वाक्य फुत्किन्छ । फुत्किनासाथ उनले आवाज र नजर एकैचोटि मतिर हुत्याउँछिन्  । उनका नजर मेरा नजरमा ठोक्किन्छन् । सधैं झैं यसपालि पनि मेरै नजर लुत्रुक्क पर्छन् । कुकुरले पुच्छर लुकाए जस्तो परेलाभित्र लुक्छन् । आवाजले कानका कीरा बिउँझिन्छन् । शक्तिशाली झड्का लागे जस्तो हुन्छ ।
“कोसँग कुरा गरेको ?”
“कोहीसँग होइन, उसँग..।”
“कोहीसँग होइन रे, अनि फेरि उसँग रे ! को हो त्यो ऊ भनेको ?”
“ऊ भनेको त्योे !”
“अनि त्यो भनेको को नि ?”
“त्यो भनेको ऊ !”
बोली खस्न नपाउँदै उनका आँखाले डसुँला जस्तो र्गछन् । मुखभित्र दाँतको कटाक्ष चल्छ । आवाज एकछिनलाई रोकिन्छ । म उनको यो बानीसँग अभ्यस्त भैसकेको छु ।
उनको आवाज रोकिनासाथ उसले फेरि सुरु गर्छ तर उही पहिले जस्तै मनमनै ।
“पढ्न सक्यौ भने आफ्नै जिन्दगी एक असल किताब हो तर थाह छैन, मान्छेले किन यसो गर्छ ?”
“के गर्छ ?” म पनि मनमनै सोध्छु ।
ऊ पनि मनमनै जवाफ दिन्छ– “आफूलाई जे मन पर्दैन अर्कालाई त्यही गर्छ । जे गर्नु हुदैन भनेर अरुलाई अर्ति दिन्छ तर आफू त्यही गरेर देखाउँछ ।”
उसको आफ्नै जीवनले आफ्नै जीवनलाई बहुमूल्य पाठहरु सिकाउँछ तर मान्छेका दुःख देखेपछि स्मरण शक्ति कमजोर हुन्छ । सबै बिर्सिन्छ ।  आफूले अति विश्वास गरेका अनन्य मित्रबाट कसैले नपाउने सदावहार उपहारहरु पाइरहन्छ, जुन उपहारलाई धोका भनिन्छ, जसलाई कपटको बट्टामा घातको रातो ¥यापरले बेरेर स्वार्थको रंगीन रिवनले वाँधिएको हुन्छ । बाहिरबाट हेर्दा त्यो जति सुन्दर सायद संसारमा केही हुदैन । जसको असर युरेनियमको जस्तै हुन्छ । यस्ता उपहार उसले आफन्त र मित्रबाट धेरै पाएको हुन्छ । तैपनि विश्वास गर्न छोड्दैन ।
“आखिर जे गर्छ आफन्तले नै गर्छ । मुखमा आगो झोस्ने पनि आफन्तै हुन्छ ।”
“दोषै देखाउने नै हो भने भगवानको पनि देखाउन सकिन्छ ।”
म एकछिन निहुरमुन्टी लाएर आशय खोज्छु र सोध्छु– “अर्थात् ?”
“के परुषोत्तम् रामचन्द्र भगवान् हैनन् ? यस्ता भगवान्लाई सुनको मृग हुन सक्दैन भन्ने ज्ञान थिएन ? आफ्नी पत्नी सीतालाई यज्ञकुण्डमा हाल्न लगाउने मूर्खता किन गरे ती भगवानले ?”
“भएको त आखिर ‘विनाशकाले विपरित बुद्धि’ हो नि तर मान्छे असल भन्दा खराब बढी मन पराउँछ । त्यसैले खराबको पछि लाग्छ । त्यसैलाई फैल्याउँछ । मलजल गर्छ । हुर्काउँछ । बढाउँछ । हावाको बुइँ चढाएर उडाइदिन्छ । अनि अर्कालाई  खराब देखाई सधैं आफू असल बन्न खोज्छ । म पनि मान्छे मैले पनि सायद यसै गरेँ !”
“सफलता आफ्नो प्रयासमा निहित हुन्छ तर अर्काको कमजोरीमा खोज्छ मान्छे ।”
“कमजोरी थाह नपाउँन्जेल मित्र, मित्र हुन्छ । त्यसपछि कमजोरीका तिनै घाउ खोजीखोजी हिड्छ मान्छे, झिँगाले घाउ खोजे जस्तै ।
“घाउ भेटेपछि खल्तीबाट नून निकालेर छर्किदिन्छ । अनि भन्छ– यो जडी दबाई हो । मित्रले मित्रलाई लगाइदिने यो जडी दवाइको पुरिया सधैं खल्तीमा बोकेको हुन्छ ।”
“मान्छे आफ्नो दुःख सहन गर्न सक्छ तर अरुको सुख सहन गर्न सक्दैन ।”
“मान्छे यो बुझ्दैन– दुःख पाउने मान्छे सुखी हुन सक्छ तर दुःख दिने मान्छे कहिल्यै सुखी हुन सक्दैन ।” उसले पढेका, सुनेका र गुनेका कुरा मनमनै व्यक्त गरिरहेको छ ।
“असल भन्दा पनि राम्रो बन्नुृछ मान्छेलाई । राम्रो बन्नका लागि आफ्नै नयाँनयाँ संस्करणहरु समाजमा ल्याउँछ तर ती झन् कुरुप हुन्छन् मेरा जस्तै । आफ्नो सँस्करण आफैंले देख्दैन । किनभने आफूलाई हेर्ने र अरुलाई हेर्ने आँखा फरक छन् मान्छेका । ”
“कति मूर्ख छ मान्छे ? असल हुनलाई खराब काम गरिरहेछ ! जो सबैभन्दा खराब छ, उही सबैसँग सबैभन्दा असल हुन खोज्छ ।”
“यति पनि बुझ्दैन मूर्ख मान्छे– असल हुनलाई केही गर्नु पर्दैन, खराब नगरे पुग्छ ।”
“मान्छेले मान्छेलाई गाली गर्दा ‘ए, कुकुर !’ भनेर गाली गर्छ । वास्तवमा त्यो गाली हैन उपदेश हो तर मान्छे उपदेशलाई गाली सम्झिन्छ । हुन त मान्छे उपदेश सुन्दैन । दिन्छ मात्र ?”
“विष्टा खाएर के भो त मान्छेले जस्तो निष्ठा खादैन कुकुरले । मान्छेभन्दा कति महान् छ कुकुर ? कुकुरबाट शिक्षा लेऊ– निष्ठा कहिल्यै नखाऊ ?”
ऊ भनिरहेको छ । म सुनिरहेको छु । भन्ने र सुन्ने प्रक्रिया उही अद्भूत छ हामी दुबैको– मनमनै ।
उनी अर्थात मेरी उनी ! बेलाबेला छेउमा आउँछिन् र पहिले जस्तै आँखाले डस्न खोज्छिन् मलाई । नियमित क्रिया–प्रक्रिया नौलो भने होइन ।
मैले फेरि मनमनै सोधेँ– कुरा के हो ?
उसले पनि मनमनै जवाफ दियो– “आफ्नै जिन्दगी पढ्दैछु ।”
समयका चड्कनहरु धेरै खाएको छ तैपनि अघाएको छैन । सायद जिन्दगी रहँुन्जेल मान्छे केही कुराले अघाउँदैन ।
“सरगमाथामा छु भनेको मान्छे अन्ततः केचनाकलन वा मुसहरनियामा भेटिन्छ ! त्यो पनि नाङ्गै !”
“आत्मविश्वास भएन भने मान्छेले अनेक उपाय लगाउँछ । एकैचोटि दुबै खुट्टा उचालेर दौडिन पनि खोज्छ । जब उत्तानोचित पर्छ तब दोष अरुलाई दिन्छ । गाली गर्न थाल्छ । पूर्व जन्मदेखिको रिस फेर्छ । म पनि धेरैपटक रिस बनेर पोखिएको छु ।”
“मान्छे सधैं आफू जित्न खोज्छ तर कहिल्यै अरुलाई जिताउन चाहदैन ।”
यो सुनेर मेरो टाउको एकाएक तातेको हाँडी जस्तो हुन्छ । त्यो हाँडीमा मकैका फुल उफ्रिए जस्तो केही मित्रपात्र मेरो मस्तिष्कमा उफ्रिन थाल्छन् । जो, जे पनि खान्छन् ! जे पनि बोल्छन् ! जे पनि गर्छन् ! कसैको मगजमा माखो छ, कसैको माकुरो र कसैको अरिंगाल !
एकाएक मेरो मस्तिष्कको इनबक्समा रहेको नेपोलियन बोनापार्टको एसएमएस खुल्छ– “हे भगवान् मलाई मित्रबाट बचाउँ, शत्रुको सामना म आफैं गर्छु ।”
न्यूयोर्कको मुटुमा ठडिएका टुइनटावर जस्तो मेरो मुटुमा एकाएक रीसका टुइनटावर ठडिन्छन् तर ती धेरैबेर टिक्दैनन् । विन लादेनले ढाले जस्तै उसले एकैछिनमा ढालिदिन्छ । ऊ नदी जस्तै अविरल बगिरेहछ । धेरै कुरा हो जस्तो लागिरहेछ ।
    –“गाली गर्नेप्रति रिस हैन प्रेम बढ्न थालेको छ ।”
“कति सजिलो छ गाली गरिदिन । यस्तो सजिलो काम त केही गर्न नसक्नेले गर्ने हो । के कुनै ठूलो अपराध हो यो ? यो त अहिले समाजको शैली नै भएको छ । यस्तो सजिलो काम गर्नेप्रति किन दुर्भाव राख्ने ?”
“पछाडि बसेर गाली बाहेक अर्थोक केही गर्न नसक्ने यस्ता निरीह पात्रप्रति उसमा दया र प्रेम दुबै पलाउन थालेको छ ।”
“तर एउटा कुरा– मस्तिष्कले मान्छेलाई गलत निर्देश गरिरहेको छ र मान्छे गल्तीका नाउँमा प्रवृत्ति दोहो¥याइरहेको छ । मान्छे आत्मालाई सोधेर निर्णय गर्दैन । मस्तिष्कले अह्राए अनुरुप गर्छ । मस्तिष्क अरुले ‘अक्कुपाई’ गरेको हुन्छ । आत्मा सधैं आफ्नो हुन्छ ।”
“एक अद्भूत यथार्थ यो पनि हो– मान्छेको सबैभन्दा ठूलो र भरपर्दो साथी पनि मान्छे नै भएको छ भने सबैभन्दा ठूलो र डरलाग्दो शत्रु पनि मान्छे नै भएको छ ।
म सुनिरहन्छु । उसको भन्दा मेरो शक्ति अद्भूत छ– उसको मनको कुरा सुन्न सक्ने असाधारण शक्ति ।
उनी फेरि छेउमा आउँछिन् र उही पहिले जस्तै आँखाले डस्न खोज्छिन् मलाई ।
“कसैको केही वास्ता छैन, मस्त छ, मग्न छ,” भन्छिन् । जान्छिन् ।
जान पाएको छैन फेरि आउँछिन् ।
“को सँग कुरा गरेको ?” फेरि प्रश्नको एउटा अगुल्टो हुत्याउँछिन् मतिर ।
म जवाफको चिसो पानी विस्तारै खन्याउँदै भन्छु– “मान्छेसँग ।”

“खै को मान्छे ? म त कोही देख्दिन यहाँ !” बोलीको अगुल्टो झन् राँकिएको जस्तो हुन्छ ।
“के म मान्छे हैन ? देखिनौ मलाई ?” म शीतल र शान्त भै दिन्छु तलाउ जस्तो ।
“देख्या छु तर कुरा चैँ कोसँग गरेको त ?” अगुल्टो अली मत्थर हुन्छ ।
“मै भित्रको मान्छेसँग ।” म पूरै पोखिन्छु अगुल्टोमाथि ।
“कवि–लेखकहरु पागल हुन्छन् भनेको यही हो कि क्या हो ? अरुको भावना नबुझ्ने यस्ता कसरी हुन्छन् कवि–लेखक ?”
रौद्ररस भरिएका उनका आँखामा प्रेमरस भरिन्छन् । मन–मस्तिष्कमा सौन्दर्यवेगले लालित्य छरिसकेको आभाष हुन्छ ।
“म लेखक पनि हैन, कवि पनि हैन । दुबै नभएपछि म पागल पनि हैन । म पनि मान्छे हुँ र मैले पनि बुझेको छु .....भावना ।”
हामी दुबै चुपचाप हुन्छौ । र, ..........मान्छे हुन्छौ । जतिबेला जे मन लाग्यो त्यही गर्ने मान्छे !

जनवरी २५, २०१३ हालः बोस्टन, अमेरिका ।

2 comments:

  1. Sorry, tapainle manchhe nai chinnu bhayana.
    Pahila manchhe lai chinnus ra amimatra lekhnus.
    Dhanyabad jati je jun jasari lekhnu bhayo.

    ReplyDelete
    Replies
    1. Anonymousज्यू
      धरैधेरै धन्यवाद प्रतिकृयाका लागि । हुन सक्छ मैले मान्छे चिनिन, तर जति चिने त्यसैका बारेमा लेखेको हुँ । मेरो काँचो लेखनमा दम छैन भन्ने जान्दाजान्दै पनि नलेखी बस्न सक्दिन । कहाँनिर कमजोरी छ देखाइदिनु भयो भने विनम्रतापूर्पक सच्याउने प्रयत्न गर्ने थिएँ । धन्यवाद ।

      Delete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !