Thursday, January 31, 2013

शोकधून

शिव प्रकाश

जीवन र मृत्युको दशगजामा उभिएर ऊ आफ्नै मृत्युको शोकधून सुनिरहेको छ । धूनसँगै बाँकी जीवन बाँच्नुको आनन्द पनि लिइरहेको छ ।
जीवनका साँध–सिमानाहरु लगभग पार गरिसकेको छ । कुनै पनि बेला मृत्युको मुखमा आफूलाई होम्न चरुजस्तै जीवन साँदेर बसेको छ । लाग्छ– मृत्युमा पनि गहन सौन्दर्य हुन्छ र त्यसको बोध उसलाई भैसकेको छ । झन् शान्त छ । सरल छ । स्वाभाविक छ ।
एकदिन उसले आफू एकाएक हराउने सूचना दियो हामीलाई– अपार्टमेन्ट छोड्ने सूचना जस्तो ! यसअघि ऊ पूरै छ महिना हराएको थियो । हामी कसैलाई केही थाह भएन, कहाँ गयो ? के भयो ? अन्त कतै गयो कि ? अनन्ततिर गयो ?
राज हरायो ! हाम्रो लागि राज, राजै बनिरह्यो ।
दुई मित्र छन् मसँग । हुन त यी मित्रको आफ्नै नाउँ छ तर एकजना अहिले आएर कवित्व र कल्पनाशीलतामा डुब्न थालेका छन्– उनी कालीदासले चिनिन्छन् । अर्का छन् पैसा खल्तीमा मात्र हैन, सधैं दिमागमा पनि राख्नु पर्छ भन्ने– यी लक्ष्मीदासले परिचित छन् मण्डलीमा ।
राजको राजका बारेमा कालीदास पनि म जस्तै अनभिज्ञ थिए । लक्ष्मीदास कालीदास जस्तै । हामीभन्दा लक्ष्मीदासलाई बढी जानकारी हुन्थ्यो उसका बारेमा । ऊ लक्ष्मीदासको छिमेकी हो । यसपटक लक्ष्मीदास पनि हामी जस्तै शून्य हरिदास भएको छ – केही थाह छैन ।
सधैं एकले अर्कालाई सोध्थ्यांै– “राज आएन ? कहाँ गयो होला ?” उत्तर राजसँग मात्र थियो ।
कति सोधियो–खोजियो । कतै केही नामोनिसान नपाए पछि लागेको थियो– गइसक्यो । कता गयो थाह छैन । बुझ्नेले के बुझे, त्यो पनि थाह छैन तर भन्थे– गइसक्यो ।
पुलिसलाई खबर गर्न सकिएन । ‘भिसा’ सकिएर ‘इलिगल’ बसिरहेको थियो हामी जस्तै । खबर गरौं, आफैं पनि जाकिन सकिन्छ । जेल–नेल, त्यसपछि घरदेशतिर फिर्ती सवारी । आखिर को चाहन्छ देश फर्कन ? फर्किने भए किन आउनु ?
घरबाट राजका बा–आमाको फोन आइरहन्थ्यो । हामीे ढाटिरहन्थ्यौं । प्रायः सधैं उस्तै उत्तर दिन्थ्यौं– बाहिर गएको छ, काममा गएको छ । कहिले भन्थ्यौ– भरखरै गएको । कहिले– अलि बेर भयो । कहिले– निक्कै बेर भयो ।
कसरी भन्ने तिम्रो छोरो छ महिनादेखि बेपत्ता छ भनेर ? बुढेसकालको एक्लो साहारा । अमेरिका आएको बीस वर्ष भैसेकेको छ । आएदेखि आमा–बाले छोरो र छोराले आमा–बा देखेका छैनन् । त्योभन्दा ठूलो अरु कुन बज्र खस्न सक्छ ती बुढाबुढीको जीवनमा ?
सधंै फोनमा सोध्थे– कहिले आउँछस् ? सधैं भन्थ्यो– अर्को पटकको दशैंमा अवश्य आउँछु । अर्काेअर्को भन्दाभन्दै दशौं दशैंले नेटो काटिसकेका थिए तर पनि बूढा बाबु–आमाका थकित आँखाामा आशाको दियो धिपधिप् बाँकी नै थियो ।
बुढाबुढी सत्तरीको हाराहरीमा छन् । छोरो पैतालीस नाघिसकेको छ । चिन्ताको पोखरी अर्को पनि छ– बिहाबारी भएको छैन । छोरो आउँछ र नाति–नातिना खेलाएर बसौं भन्ने आमा–बाको इच्छा भित्रभित्रै सगरमाथा जस्तै चुलिएको छ ।
छोराका पीडाले ती बा–आमालाई पर्नसक्ने घातलाई रोक्न हामीले उनीहरुका प्रश्नका अगाडि सधैं झूटको शिखण्डी उभ्याइदियौं । हामीले ढाटिरह्यौं, तिनले पत्याइरहे ।
त्यो दिन सोच्दै नसोचेको भयो– पश्चिमबाट घाम झुल्किए जस्तै अचम्म ! तर घाम पूर्वैबाट झुल्किएको थियो, घामसँगै ऊ पनि झुल्कियो । कालो अनुहारको ओढारमा उसका सेता दाँत परैबाट देखिए । संयोगले हामी तीनै जनाको कामको ‘ड्यूटी’ त्यो दिन एकै समयमा परेको थियो ।
“कहाँ गएको थिइस् ?” मैले सोधेँ । एकछिन् मेरो अनुहारमा आँखा डुलायो । बोलेन, हाँस्यो मात्र ।
“कफी पिउँछस् ?” अहँ बोलेन । एकोहोरो हाँसिरह्यो ।
त्यही प्रश्न कालीदासले दोहा¥याए । फेरि पनि बोलेन हाँस्यो मात्र ।
दुःखको बस्ती यो अमेरिकामा ऊ हामी सँगै बसेको दश वर्ष भैसकेको थियो । कहिल्यै उसको ओछ्यान खाली थिएन । अहिले छ महिनादेखि खाली छ । छ महिनापछि बल्ल आएको छ । कहाँ गएको थिइस् भन्दा बोल्दै बोल्दैन, हाँस्छ मात्र !
लक्ष्मीदास कड्किये– “पागल भइस् कि क्यो हो ? बोल्दैनस् हाँस्छस् मात्र, कहाँ गएको थिइस् ?
हाम्रो मनमा डरले डेरा जमायो– कतै यो बौलाएको त हैन ? अमेरिकामा बिग्रिन  र बौलाउन के बेर लाग्छ ? बौलैबौला भएको देश ।
तर बौलाएको मान्छेको लक्षण केही देखिदैन, सोधेको कुराको जवाफ नदिएर हाँस्नु बाहेक । हँसाइ पनि बौलाहाको जस्तो छैन । मन्द छ । मृदु छ । मुस्कान छ । अनुहारमा बिहानको जस्तै घाम छ । ग्लानि, थकान वा अपराधवोधका रेसा, धर्का, छिटा, बाछिटा केही देखिदैनन् त्यो अनुहारमा । सब ठीकठाक छ । दुरुस्तै छ । बोल्दैन हाँस्छ मात्र ।
लक्ष्मीदास फेरि कड्कियो– “अरे भाइ, के भयो ? कताबाट आज यहाँ आइस् ? यत्रो दिन कसरी गुजारा गरिस् ? केही त बता ।”
तैपनि बोल्दैन । अनुहारमा दुःख र पीडाका कुनै संकेत नभए पनि आँखा अलि निरस छन् । हामी उसका आँखामा उत्तर खोजिरहेका छौं तर महाकविले भने जस्तो शून्यमा शून्यसरी बिलाए जस्तो छ ।
एकाएक उसको अनुहारबाट हाँसो हरायो । हेर्दाहेर्दै ऊ शालिक जस्तो भयो । एकोहोरियो । एकैछिनमा अब न बोल्छ, न हाँस्छ ! हामी मूकदर्शक भयौ, हेरिरह्यौ । मनमा शङ्का उपशङकाको हिउँ जम्न थाल्यो– यसलाई कुनै डिप्रेशन वा मेन्टल प्रोम्बलम् भयो कि क्या हो ?
मैले अर्को बाटो अपनाएँ– “राज, हिड् म तलाइँ घरमा छोडिदिन्छु ।”
उसको टाउकोले सहमतिको सङ्केत ग¥यो । बाटोमा मैले तिनै प्रश्नहरु दोहो¥याएँ तर पहिलेजस्तै केही उत्तर दिएन । उत्तरविहीन भएर पनि उत्तरको खोजीमा लागिरहेँ ।
कोठामा पुगेपछि उही प्रश्न फेरि दोहो¥याएँ ।  हाँसो हराएको उसको अनुहारमा अहिले अर्कै तस्वीर उत्रियो । ऊ निक्कै गम्भीर भयो । मलाई अनिष्टको शङ्काले घे¥यो । कतै मनको पीडाको तस्वीर अनुहारमा उत्रेको त हैन ? म उसलाई हेरिरहेको छु । ऊ एकटकले भुइँमा हेरिरहेको छ । ऊ के सोचिरहेको छ, थाह छैन । म भने अनेकानेक सोचिरहेको छु ।
छ महिना हराएर एकाबिहानै देखा परेको छ । हेर्दा सबै दुरुस्त छ । सुकिलो मुकिलै छ । केही भए जस्तो पनि छैन तर केही नभए जस्तो पनि छैन । केही नभएको भए किन यस्तो हुन्थ्यो ? सोचेँ– हो, पक्कै यसको दिमाग सड्किएकै हो । फेरि लाग्छ– हैन, त्यो पनि हैन । दिमाग सड्किएको भए छ महिनापछि फर्केर यो किन यहीँ आउँथ्यो ? अन्तै कहीँ जान पनि त सक्थ्यो । मागेर खान पनि सक्थ्यो ।
हो–होइनको रोटेपिङमा मन फनफनी धुम्न थाल्यो ।
फेरि सोचेँ– यसलाई डिप्रेसन नै भएको हो । त्यसैले बोल्दैन । फेरि अर्को मनले सोचेँ– हैन, डिप्रेशन भएको मान्छे हाँस्नै सक्दैन । केही छिन अघिसम्म हाँसिरहेको थियो ।
अर्को कारण हुन सक्छ– यसले कसैलाई रेप गरेर आयो कि क्या हो ? पक्कै यो बीचमा यो कसैसँग बस्यो र केही गरेर आयो होला ! यसले एड्स लिएर आएको त छैन ? यसलाई पक्कै पश्चातापको आगोले भित्रभित्रै जलाएको हुनुपर्छ । नत्र किन बोल्दैन यो ?
अनेक तर्कवितर्कका धर्सा किरिङ्मिरिङ् कोरिए मेरा मन मस्तिष्कमा ।
कि कुनै ठूलै ‘लटरी’ जितेर पैसाले पुष्ट भएर नखरा पार्दैछ । अघिसम्म हाँसिरहेको थियो । कि यसले कुनै मालवाला आइमाई फेला पारेर बिहेसादी नै गरेर आयो । कि त्यो आइमाले घरबाट घोक्रेठ्याक लगाइदिई र मोती हराएको नाग जस्तो भएको हो । आइमाईको राज भएको देशमा के बेर ?
शंकाको हाइवेमा प्रश्नहरु दौडिरहे ।
यही बीचमा कालीदास र लक्ष्मीदासको फोन आयो । उसैका बारेमा सोधे । जे भएको छ मैले त्यही भन्दिएँ– अझै बोलेको छैन । उनीहरुले मानसिक अस्पतालमा लानुपर्छ भने तर मेलै हेरौं भनेर टारिदिएँ ।
अन्तिम प्रयास गर्छु भन्ने सोचँे– “राज, तलाइँ के भएको हो भन् नत्र हामी तलाई मानसिक अस्पतालमा भर्ना गरिदिन्छौ । कालीदास र लक्ष्मीदास पनि आउँदैछन् ।”
भन्नासाथ उसका टोलाएका आँखा एकाएक चञ्चल भए– तारा जस्तै चम्किला ।  मुर्झाएको अनुहार एकाएक उज्यालो भयो– पूर्णिमाको जून जस्तै । ओठमा मुस्कान फर्किएर आयो । धेरै कुरा एकैचोटि भनुला, बोलुला जस्तो ग¥यो तर बोल्न चाहिँ केही बोलेन ।
एकाएक उसमा आएको परिवर्तनले मलाई झन् त्रस्त बनायो । मन र वनको दुबै बाघले एकैचोटि निल्यो । डर–त्रास भित्र–बाहिर गर्न थाल्यो । ९११ कल गरौं कि जस्तो पनि भयो तर विगत दश वर्षमा उसले कहिल्यै विश्वासघाती र स्वार्थी काम गरेको थिएन । कहिल्यै टुट्न दिएन हाम्रो विश्वास । घातको आघात कहिल्यै सहनु परेन उसबाट हामीले ।
असल मान्छेले कहिल्यै अर्कालाई खराब देखाउँदैन । ऊ यस्तै एक असल मित्र हो हाम्रो । त्यो विश्वासले जित्यो तैपनि दुई कदम पछि हटँे । उसको अनुहार नियालेँ । मुसुक्क हाँसँे । ऊ पनि हाँस्यो ।
हाँस्न त हाँस्यो तर ऊ हाँसेको देखेर डरमाथि झन् डर थपियो । साँच्चै बौलाएको हो कि जस्तो लाग्यो फेरि मलाई ।
“तिमीहरु आइहाल त, राजलाई हस्पिटल लानु पर्ला जस्तो छ ।” मैले कालीदास र लक्ष्मीदासलाई फोन गरेँ ।
कुरा गर्दागर्दै उसले मेरो फोन खोस्यो र खित्का छोडर हाँस्न थाल्यो । ऊ हाँसिरहेको छ तर वर्षिन लागेको कालो मेघ जस्तो देखेँ मैले उसलाई । म भित्रभित्रै काँप्न थालिसकेँ । आजसम्म कसैसामु यति त्रसित भएको थिइन तर आज आफ्नै मित्र यति डरलाग्दो भयो मेरो लागि । लाग्यो– यो बौलाएकै हो ।
तीन दिन भैसकेको छ घाम रिसाएर कालो बादलको बर्को ओढेर लुकेको । आजको दिन पनि अलक्षिनी पाराको छ– दिउँसै रात परे जस्तो । यस्तो मौसममा बौलाहाहरुको बहादुरी झन् बढ्छ भन्ने सुनेको थिएँ ।
यसको बहादुरीको सामना मैले कसरी गर्ने ? मान्छेले दुःखमा नै भगवान् सम्झिन्छ, मैले पनि सम्झिएँ । मेरो साहारा, म र भगवान् भन्दा अरु कोही छैन । मनमनै दुई लाईन हनुमान चालिसा पनि पाठ गरेँ ।
कोठामा फोनको घण्टी बज्यो । ऊ फोन उठाउन दौडियो ।
फेरि कन्फ्युजन ! लाग्यो– यो पागल हैन । पागल भए किन फोन उठाउन जान्थ्यो ? फोनसँग यसको के लिनु दिनु हुन्थ्यो ?
लिभिङरुममा बसेर उसका एकतर्फी कुरा सुने । भन्दै थियो– “यसपालीको दशैंमा आउन सकिन, अर्को साल पक्कै आउँछु ।” उसका आमा–बाको फोन रहेछ ।
कालीदास र लक्ष्मीदास पनि घरमा आइपुगे । राज फोनमा कुरा गरिरहेको देखेर उनीहरु ममाथि आइलागे– पागल त्यो होइन, तँ भइछस् ।
हुन पनि हो, ऊ सद्दे मान्छे जस्तै आरामले फोनमा कुरा गरिरहेको छ । केही फरक छैन ।
“जति चिन्ता लिनु भो, अब नलिनू । म अर्को दशैंमा पक्कै आउँछु र जीवनभर तपाइँहरुसँगै बस्छु । अमेरिकासँग म चाँडै बिदा लिदैछु ।” उसले फोन बिसायो । फेरि एकपटक मुस्कुरायो र हामी सबै भएतिर आयो ।
ऊ थपिएपछि ऊसँगै हामीबीच शून्यता पनि थपियो । निक्कैबेर आँखा–आँखा मात्र बोले । मुखामुख भयो तर कसैको मुख खुलेन ।
उसको लीला र खेला देखर हामी ध्यानावस्थित भयौं– नदी किनारका बकुल्ला जस्तै ।
“राज ! तेरो यो के राज हो ? तँ.... !” मैले वाक्य पूरा नगर्दै उसले उत्तर दियो । “तिमीहरुको पहिलो प्रश्न– कहाँ गएको थिइस् र दोस्रो प्रश्न– किन बोल्दैनस् भन्ने होइन त ?” परालको आगो जस्तै एकाएक उसको स्वरको आगो दन्कियो ।
पोखरीमा पानी हुँदा माछाले कमिला खान्छ; पानी सुकेपछि कमिलाले माछा खान्छ भने जस्तो भयो । केहीबेर अघि हामी उसलाई प्रश्न गरिरहेको थियौं, अहिले ऊ हामीलाई प्रश्न गरिरहेछ । गरुडको छायाँमा पेरेको साप जस्तो भयौ हामी  । त्यसै ओइलायौ । बोलेनौ । मुखामुख ग¥यौ ।
“म किन बोल्दिन भन्ने प्रश्नको जवाफ त दिनु पर्दैन होला । किन भने म बोलिरहेको छु । त्यसैले म बौलाएको पनि छैन । बाँकी रह्यो– म कहाँ गएको थिएँ ?
ऊ बोल्दाबोल्दै अब्राहम लिंकनको स्ट्याचु जस्तो भयो– एकदम गम्भीर । मुखमा कुभिण्डो भने जस्तो भएका छौं हामी  । केहीबेरदेखि बोलेका छैनौं । एउटा छोटो अमूर्त मौनतापछि उसले भन्यो– “म जेल गएको थिएँ ।”
एकाएक आकास खसे जस्तो भयो । संसारै अध्याँरोले छोपे जस्तो भयो हामीलाई । एउटा कहालीलाग्दो शून्यता त्रास बनेर सल्बलाउन थाल्यो । सोच्दै नसोचेको यो कसरी भयो ? हामीभित्र शङ्कैशङ्काको ब्याड बन्यो । भरभर्ती उम्रिन थाले प्रश्नका विरुवा ।
“इमिग्रेसनको केशमा छ महिना जेल हाल्यो । मलाई स्वदेश फिर्ता गर्न चाहेको थियो तर सकेन । जित मेरो भयो । मैले पनि जान्न भनिदिएँ ।”
कुनै दन्त्यकथा सुने जस्तो लाग्यो हामीलाई । “अनि ?” मेरो उत्सुकताले बाँकी कथा खोज्यो ।
“अरु खासै केही छैन । एकडेढ महिनापछि थाह पाउने छौ ।” उसले धेरै कुरा गर्न चाहेन । काममा पनि गएन । भन्यो– “म आराम गर्छु । लामो यात्रामा जानु छ ।”
केही दिन, दिन समान्य रुपमा बिते । ऊ पहिलेभन्दा सरल, सामान्य र खुशी देखिन्थ्यो । लाग्थ्यो– ऊ प्राप्तिको समीप पुगिसेको छ । उसले हैन, अब इच्छाहरुले उसलाई पछ्याइरहेछन् । भन्ने गथ्र्यो– “बाँकी एक दिनको जिन्दगी हाँसीखुशी बिताउनु पर्छ ।” अझ बढी रसिक बन्न थालेको थियो राज ।
उसको एउटा ह्याण्डव्याग छ । त्यसमा उसका केही औषधी र केही कागजपत्रहरु छन् । ऊ त्यो हाण्डव्यागको सुरक्षामा विशेष ध्यान दिन थालेको छ । बिरालोले विष्टा लुकाए जस्तो लुकाउँछ । हाम्रो पहुँच र नजरबाट सधै टाढा अथवा आफूसँगै राख्न थालेको छ ।
आज उसले त्यो व्याग आफुसँगै लान बिर्सिएको हुनु पर्छ । ऊ बिहानै उठेर कतै गएको छ ।  पछि थाह भो, ऊ हस्पिटल गएको रहेछ ।
“ए, आखिर कुरा यस्तो पो रहेछ । एकडेढ महिनापछि थाह हुन्छ भनेको मतलब त एक महिनापछि घरदेश पर्किने पो रहेछ ।”
राजको व्यागमा मैले हवाई टिकट फेला पारेँ । थाह भो ऊ नेपाल जादैछ भनेर । भित्रभित्रै निक्कै खुशी लाग्यो तर यस्तो खुशीको कुरा लुकाउने पर्ने कारण के थियो ?
सोच्न थालेँ– धैर्यवान् ती बुढा पहाड जस्ता आमा–बालाई बीस वर्षपछि भेट्दाको क्षण कस्तो हुन्छ होला ! जीवनमा त्योभन्दा अर्को खुशीको क्षण कुन हुन्छ होला ! बीस वर्षपछि राज घर फर्किने परिकल्पनामा निक्कैबेर डुबेँ । दुबै आँखा टिलपील भए । परेलीका डिल छिचोलिए । खुशीको तलाउ भरिएर बग्न थाल्यो ।
खुशीका आसुँका थोपा एकाएक एउटा खाममाथि टप्किए । आँखा त्यतै तानिए । खाम खोलेर हेरेँ ।
हेर्दाहेर्दै सास रोकिएला जस्तो भयो । चिटचिट पसिनाले शरीर शिताङ्ग भयो । ब्रह्माण्ड फनफनी घुमे जस्तो लाग्यो । भित्रैबाट भेल उर्लेर आयो । गर्मीमा हिउँ पग्लिए जस्तो पग्लिए मेरा आँखा । खुशीका आँसु झार्दै गरेका तिनै आँखाबाट पीडाको भेल बग्न थाल्यो । निक्कैबेर एकनासले बगिरह्यो ।
खाममा अस्पतालको रिपोर्ट थियो । रिपोर्टमा उसको ‘डेट’ तीन महिना लेखिएको थियो । तीन महिनामा दुई महिना पार भैसकेको थियो । कहिलेकाहीँ सत्य कति कुरुप, क्रुर र भयङ्कर हुन्छ– उसलाई क्यान्सर भएको रहेछ । अमेरिकी सरकारले उसलाई स्वदेश फिर्ता नगर्नुको कारण पनि त्यही रहेछ । यस्तोमा बिरामीको स्वेच्छाको कदर गर्ने गरिन्छ ।
स्वदेश फर्किनका लागि उसले टिकट पनि किनिसकेको रहेछ तर विडम्बना, विडम्बना बनेर उसको जीवनको बाटो छेकिदिन्छ ।
नियतिको खेल– राजको जीवनमा जीवनको राजले आमा–बालाई समेत ढाँट्न बाध्य बनायो । कस्तो भएको होला विचरा राजलाई ? धेरै बेर धैरैकुरा सोचेर बसेँ । विस्तारै फेरि झोला खोतल्दै गएँ ।
उसको जीवनभरको कमाइ– उसले लक्ष्मीदासको नाउँमा पचास हजार डलरको एउटा चेक लेखेको रहेछ । चेकसँगै एउटा नोट छ– म हराएपछि मेरा आमा–बालाई दिनू ।

जनवरी ३१, २०१३ हालः बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !