Friday, February 15, 2013

शिलशिला


शिव प्रकाश
त्यसपछि एउटा शिलशिला समाप्त भयो र अर्को त्यहीँबाट सुरु भयो ।
घण्टाघरको घण्टी घण्टाघण्टामा बजे जस्तो उसले भनेको कुरा अहिले मेरा कानमा बजिरहेछ– “अहंकार र आक्रोश नै मान्छेभित्रको सबैभन्दा कुरुप र डरलाग्दो शत्रु हुदो रहेछ । यो भए पछि कोही चाहिदैन !” 
अन्ततः उनका लागि ऊ सायद शत्रुवत् भयो ।
के थाह अघिल्लो रातको खुशीको वर्षाले भोलिपल्ट बिहान एकाएक पीडाको भेल ल्याउँछ भन्ने कुरा ! तर ल्यायो र त्यो भेलमा ऊ निक्कैबेर बग्यो । अफसोचका ढुंगामा अनायास ठोक्किएर थाङ्थिलो भयो । मनमा पीडाको अनुभूति निक्कै दिन अल्झियो ।
“सायद नर्थ क्यारोलिनाको चोवान नदीमा रातभरमा धेरै पानी बग्यो होला ! नदी किनारका भ्यागुताले जस्तै रातभर कुराले धेरै फुल पारे होला ! यो अमेरिकामा पनि कुरा कथुर्ने र कोरल्ने काम केही महिला तथा सज्जनबृन्दको फूल टायम ‘जब’ नै भएको छ ! रोल र खेल पक्कै यस्तै केहीको हुनु पर्छ !
उसको मनको दोबाटोमा अहिले अनुमानका केही अनुहारहरु ओहोरदोहोर गरिरहेछन्– कथुर्ने र कोरल्ने अनुहारहरु ! रोल र खेल गर्ने अनुहारहरु ! 
विहानीको कलिलो किरणले धरतीमा पाइला टेक्न नपाउँदै उसलाई छर्लङ्गा भोयो– आफूले श्रद्धा र आदर गरेको नम्रताभित्र रातभरमा अर्कै नम्रता हुर्किसकेको रहेछ । मध्यदिनको टण्टलापुर घाम जस्तै चर्को भो त्यो विहानी उसलाई ।
अहिले विना अर्थ एक शिलशिला सुरु भएको छ । एक सुरुवातले अर्को अन्त्य निम्त्याएको छ । कहिले काहीँ केही नभई पनि धेरै हुदो रहेछ !  ऊ अहिले त्यही केही नभएको तर धेरै भइसकेको सुरुवात र अन्त्यको बीचमा छ । 
कसैलाई खुशी बनाउने एक अमूर्त प्रयासले एक घातक मूर्त रुप लिएको छ । सम्बादको ढोका पुरै बन्द भएको छ । थाह छैन भविष्यमा यो संवादहिनताको बीरेआग्लो खुल्छ कि खुल्दैन ? 
जे नहुनु थियो, त्यही भयो ! नम्रताप्रति निहुरेको उसको श्रद्धाको शिर सायद अब कहिल्यै निहुरिने छैन । नम्रताका लागि उसको शिरलाई अब सुकेको बाँसको ठुटो भने पनि हुनेछ अथवा थारो रुख भने पनि हुन्छ ! 
“आँखिर कुरा के हो ? के अन्त्य र के सुरुवात भयो ?” नसोधी बस्न सकिन म ।
“केही होइन । किन भने म स्वयंमा केही होइन । जो केही होइन ऊसँग अपेक्षा गर्नु पनि खासमा केही नहुनेले नै गर्नु हो । भएको यही हो ! केही नहुनेसँग के आश गर्नु ? संसार अनौठो छ । संसार भनेको मान्छे नै हो ! मान्छे बिनाको संसार हुदैन । आखिर जे हुन्छ, मान्छे–मान्छेबीच नै हुन्छ ।”
हिड्दा हिड्दैको बाटामा तँगारो तेस्र्याए जस्तो उल्टा अव्स्ट्र्याक प्रश्न र प्रतिप्रश्न तेस्र्याइदियो मतिर । म मूक सुनिरहेको छु  । 
“अपेक्षाभित्र लुकेको अन्र्तअपेक्षाको आगोमा चरु होमिए जस्तो होमिएको छु अहिले म । नम्रताको उग्रता मैले भोलिपल्ट मात्र थाह पाए, जब फेरि धम्कीपूर्ण इमेल प्राप्त भयो । बस्... !” बोल्दा बोल्दै रोकियो । 
ऊ भन्ने गथ्र्यो म कोहीसँग डराउँदिन तर एउटासँग डराउँछु । त्यो हो– निष्ठा । आजकाल बेग्लै छ । ऊ नारी र सर्प भनेपछि विजुली चम्किदाको कुकुर जस्तो हुन्छ । बारम्बार भन्छ– “नारी हंश र सर्प दंश भोग्नेलाई मात्र थाह हुन्छ । हुनत सबै सर्प विसालु हुदैनन् र सबै नारी पनि सर्प जस्ता हुदैनन् तर पनि सर्प, सर्प नै हुन् । सर्पको जात दंश पछि मात्र थाह हुन्छ ।” 
००
नम्रताले आरामै भन्ने वित्तिकै ऊ झसङ्ग हुन्थ्यो । र, हत्तपत्त जवाफ लेख्थ्यो– “मैले विर्सेको छैन, किन भने म विर्सनै सक्दिन ।” 
उताबाट प्रतिउत्तर हुन्थ्यो– “हो र, खै मलाई त विश्वास लाग्दैन !” 
अप्रिल २०, २०१२ को रात ऊ अत्यन्त खुशी थियो । रातको बाह्र बजेसम्म बसेर लेख्यो । दंग परेर नम्रतालाई इमेल ग¥यो । एक नेपाली अनलाईनमा पठाएको जानकारी पनि गरायो ।
एकैछिन पछि इमेलेको उत्तर आयो । रोमन इङ्लिसमा लेखिएको थियो – Kasto sabdai nabhayako ta...? jhan lekhi rahane manche sanga dhari kura chha bhanera  .... ha..ha..
नम्रताको हा.. हा.. सँगै ऊ पनि मनमनै हा.. हा.. ग¥यो । भन्यो– “लेखक भनेको यस्तो हुनु पर्छ । झूठो प्रशंसाको भोको लेखक कहिल्यै लेखक हुन सक्दैन । मानिसलाई सबैभन्दा कमजोर बनाउने हतियार नै झूठो प्रशंसा हो ।” 
उसले नम्रतामा अथाह सम्भावना देख्यो ।
एक वर्षभन्दा बढी भै सकेको थियो उसले कबुल गरेको । “बल्ल आँङ हलुङ्गो भयो, अब नम्रता पनि म भन्दा कम खुशी छैनन्” भन्दै एक पेग ठोक्यो । 
म उसको खुशीको किनारामा सदर साक्षी छु । सबै देखिरहेको छु । सुनिरहेको छु तर अचानक भोलिपल्ट परिस्थिति बेग्लै भयो ।
मैले सोधे– “आखिर भएको के हो ?”
मतिर फर्किएका अफ्ना निरस आँखा एकछिन भित्तातिर फर्कायो र भन्यो– “आफ्नो बारेमा आफैंले प्रश्न उठाउन नसक्ने निरिह बानीले आफैंलाई कमजोर बनाउँछ ।”
यति भनेर घाँटीमा हड्डी अड्किए जस्तो ग¥यो । एकछिन पछि कम्प्युटर खोल्यो र ल पढ् भन्यो । शिर्षक थियो “मलाई माफ गर नम्रता !
 म पढ्न थालेँ–
‘मन भए तिमीसँग’ जे पनि हुन सक्छ तर मसँग पनि तिमी जस्तै मन भएर पनि तिमीले सोचे जस्तो भएन । माफ गर नम्रता ! माफ गर !
गर्छु भने मैले तर सकिन । नचाहेर हैन नसकेर हो । नसक्नुको कारण साहस नै नभएर हो । आखिर धेरै मान्छे धेरै गर्छु भन्छन् तर ती धेरैभित्रका धेरैले केही गर्दैनन् । ती धेरै मध्ये म पनि एक हुँ । माफ गर नम्रता ! केही गर्न नसकेकोमा माफ गर !
गर्न खोजे तर सकिन । कारण– मैले गरेको न मानक हुन्छ, न मापक हुन्छ । न मूल्य हुन्छ न मान्यता हुन्छ । हुन्छ भने केवल एकसुरे एक गीत हुन्छ । एक भजन हुन्छ । एक प्रशंसापत्रको नयाँ नमुना हुन्छ । एक विरुदावली हुन्छ । कारण– त्योप्रति मलाई न ज्ञान छ । न अध्ययन छ । न विद्वता छ । न सीप छ । न कला छ । 
कलाबिहिन बाँचेको एक मान्छे हँु म । तिमी नै भन त्यस्ताले के नै गर्न सक्छ र ? न गाउँने कला छ, न बाउँने कला छ ।
म तिमीलाई खुशी बनाउन सक्छु– त्यो पनि एक कला हो । त्यसको लघुज्ञान अहिले हुदैछ तर पनि मलाई त्यो कला संसारका कलामध्येमा सबैभन्दा भद्दा लाग्छ । कुरुप लाग्छ । नराम्रो लाग्छ । घिनलाग्दो लाग्छ । त्यसैले अङ्गिकार गर्न सकिन । स्विकार गर्न सकिन । सक्दै सकिन । 
सक्ने–नसक्ने कुरा पनि चाहनामा भर पर्छ । खासमा चाहनै भएन । चाहना नभए पछि नसक्नु स्वाभाविकै हो, सकिन । 
मलाई माफ गर नम्रता ! मैले तिमीलाई खुशी बनाउन सकिन । नसक्नुको कारण वास्तवमा नचाहनु नै हो  ।
सक्थे, तर आज खुशी बनाउने त्यो कलाले भोलि तिमीलाई दुःखी बनाउँछ । अवश्य बनाउँछ । त्यो कलाभित्रको कलाकारिताको गुण नै त्यही हो दुई दिन खुशी बनाएर बाँकी जीवनका सम्पूर्ण दिन दुःखी बनाउने । जसरी म भएको छु । र म चाहन्न ।
नम्रता, धेरै खुशी भएँ केही दिन केहीसँग । अनि धेरै दुःखी भएँ तिनै केहीबाट धेरै दिन ! यद्यपि ती दिनमा दिन थपिदै छन् । माफ गर नम्रता, म यो खुशी तिमीलाई दिन सक्दिन .। जुन खुशी, खुशीका रुपमा बाँच्दैन । जुन खुशी दुःखको कारण बन्न सक्छ ।
हिजोसम्म उज्यालोको सुन्दर पछ्यौरा ओढेको समयले आज अँध्यारोको कालो बर्को ओढेको छ । त्यो बर्कोभित्र धेरै मान्छे लुकेका छन् । ‘फूलको आँखामा फूलै संसार !’ फूल पनि त्यही हो– काँडा लुकाएर हाँस्छ मान्छे जस्तै ! मेरा आँखाले फूल देख्न छोडेका छन् । साँच्चै भन्दैछु नम्रता, अहिले कागजका फूलको बिगबिगी छ । फूलका धेरै उपहारहरु पाएँ मैले तर ती सबै कागजका फूलका थिए । धेरै पछि थाह भयो– उपहारमा कागजका फूल पनि दिइन्छ । जुन फूल भन्दा झन् सुन्दर देखिन्छन् !
म यस्तो उपहार दिन चाहन्न । माफ गर नम्रता तिमीलाई यसरी खुशी बनाउन चाहन्न । कागजको फूलमा सुवास हुदैन ।
तिमीले नै भनेकी छौ– ‘समाजमा दोणाचार्यहरु धेरै छन् । गुरु दक्षिणमा स्वाभिमानी एकलव्यहरुको औंला लुट्छन् ।’ तै पनि द्रोणचार्य असल गुरु मानिन्छन् । मानवजातीका एक असल गुरुका असल नमुना हुन् द्रोणचार्य । सादय त्यसैले पूजित छन्, सम्मानित छन् । तिमै नै भन् अब– समाज कस्तो छ ? गुरुहरु कस्ता छन् ?
तिम्रा कविताले मलाई अझै बलियो बनाउन खोज्छन् तर संसार यस्तै छ एक्लो बृहस्पती झूठो ! आफूलाई झन् बलियो ठानेर बारम्बार लड्न खोज्छन् मेरा विचारहरु । गड्यौला लडेजस्तो लड्नेहरुसँग अनायास हार्छन तिम्रा जस्तै मेरा पनि विचारहरु तर अन्तनः अनन्तसम्म तिनै विजयी हुन्छन् । 
मान्छे गड्यौला लडाइँ लडिरहेछ आज जहिँतहिँ ! आफैंसँग हारिरहेछ, खै कसरी जित्छ अरुलाई ?
मान्छेले पढेर केही हुदैन । जो सबैभन्दा झूठो बोल्छ त्यै सबैभन्दा मीठो बोल्छ । तिमी लेखिरहु नम्रता, तिम्रा कविताहरु कविता जस्तै छन् । तिमी कस्ती छौ थाह छैन । कारण– मैले तिमीलाई बेहोरेको छैन, न तिमीले मलाई ! नबेहोेरेसम्म थाह हुदैन को कस्तो छ ? । 
नम्रता, झूठो जहिले पनि मीठो हुन्छ । माफ गर नम्रता म त्यो मीठो बोल्न सक्दिन । नसक्नुको कारण नजान्नु नै हो ।
नम्रता, पशु र मान्छेमा एउटै फरक छ– पशु सधैं एकै हुन्छ । तिम्रा अघि जस्तो हुन्छ र पछि पनि उस्तै तर मान्छे ठीक विपरित छ । मान्छे– सन्मुख हुँदा मीठोमात्र बोल्छ, बिमुख हुँदा त्यै मुखले तीतोमात्र ओकल्छ । पशुले जे गर्छ अघिल्तिरै गर्छ तर मान्छेले धेरै पछिल्तिर गर्छ । तिमीलाई पनि थाह होला– मान्छेले पछिल्तिर के गर्छ ? के गर्दैन ? 
मैले माथि भने नि तिम्रा अक्षरहरु समयले पढ्नेछन् । समयले जे भन्छ त्यही हुन्छ । म मान्छे हुँ ..... मलाई माफ गर । म तिम्रो महान सृजनाको समीक्षा गर्न सक्दिन । ममा न त्यो क्षमाता छ । क्षमता भन्दा बढी त्यो कला हो, न त्यो कला छ । कला भन्दा बढी विद्वता हो न त्यो विद्वता छ । छ भने उपबुज्रुकता छ । त्यो ..... म आफै घृणा गर्छु ।
नम्रता, मलाई एउटा कुरा भरखरै थाह भो– मान्छे जे हुन्छ त्यो लेख्दैन, जे लेख्छ मान्छे त्यो हुदैन । हाम्रा केही कवि, लेखक भनाउँदालाई सम्झने वित्तिकै गन्हाउने डकार आउँछ । छि यस्ता पनि कवि–लेखक ? हुन त बल्ल थाह भो ती कवि–लेखक नै होइन रहेछन् । टपरटुइँयाँ ! 
मलाई देवकोटा, पौड्याल, सम, सुकराँत, नित्से, दाँते, रसेल, थोरो, वार्थ, फुकुयामा र कन्फुसियसहरु भेट्ने इच्छा छ । उनीहरु कस्ता थिए जान्ने चाहना छ ।  के ती पनि हामी जस्तै मान्छे थिएँ ? 
हामी हाम्रै विचारभन्दा फरक छौ । अनि हाम्रा विचार हामीभन्दा झन् धेरै फरक छन् । यस्तो अवस्थामा म के लेखुँ ? कसरी बुझुँ तिम्रा कविता ? कसरी बुझुँ तिमी र म आफूलाई ? मान्छेको मन र मुख मिलेको देख्न गाह्रो छ । के तिमीले देखेकी छौ ? छौ भने तिम्रा आँखामा पक्कै खराबी छ । 
‘मन भए तिमीसँग’ जे पनि हुन सक्छ– भावना छ । विचार छ । वेदना छ । संवेदना छ । समवेदना छ । निराशाभन्दा बढी आशा छ । विश्वास छ । शब्दमा उत्ताल छ । गहिराइ छ । सबै छ तिमीसँग तर मसँग केवल एक दृष्टिकोण छ । त्यो दृष्टिकोणले कि राम्रो भन्छ कि नराम्रो । यतिबेला म रोर्वट्सन डेभिसलाईसम्झन्छु– “लेखक, बिरालो जस्तै हुन्छ– शान्त, मायालु र बुद्धिमान् ।”
उनले किन यसो भने ? भरखर थाह पाउँदै छु । धेरै विरालाहरु देख्दैछु किताबका पानाहरुमा । मलाई विरालोसँग डर लाग्छ । त्यसैले म लेखकका बारेमा धेरै बोल्दिन । डेभिसले भनेका बिराला लेखकहरु कति डरलाग्दा हुन्छन्, के थाह ?  भोग्नेलाई थाह हुन्छ ।
मैले प्रयत्न नगरेको हैन । गरेँ, धेरै गरेँ तर सबै प्रयत्नहरु पानीका फोका भए । कारण– जब किताब अगाडि राखेर लेख्न बस्छु तिम्रो अनुहार आँखामा नाच्न थाल्छ । त्यही अनुहार मस्तिष्कमा दौडन थाल्छ । मेरा शब्दले तिमीलाई पछ्याउन थाल्छन् । म तिमीलाई खुशी बनाउन चाहन्छु तर तिमीलाई खुशी बनाउँदा तिम्रा किताबभित्रका अमुक शब्दहरु दुःखी हुन्छन् । तीप्रति अन्याय र अपमान पनि हुन सक्छ । किताब हेरेर लेख्ने प्रयत्न गर्छु, तिम्रो अनुहारप्रति अन्याय हुन्छ भन्ने ठान्छु । 
न म तिमीलाई हेरेर लेख्न सक्छु, न म तिम्रो किताब हेरेर । यसका दुई कारण छन् ।  एक– ममा त्यो कला छैन । समीक्षात्मक कला हैन, तिमीलाई खुशी बनाउने कलात्मक कला । उपबुज्रुकताको कला । 
दुई– म रोवर्ट बेन्चलेलाई सम्झन्छु । आफूमा लेखन दक्षता छैन भन्ने जान्न उनलाई पन्ध्र वर्ष लाग्यो तर उनले लेख्न छोडेनन् । त्यही समय उसको प्रशिद्धि चुलियो । 
बस् लेख्दै गर । म पनि लेख्दै गर्छु ।
नम्रता, जिन्दगी आफैंमा एक किताब हो । । मैले आफैंले पनि आफ्नै किताब पढ्न सकेको छैन, म तिम्रो किताब पढेर के लेखँु ? लेखे भने त्यो मात्र विरुदावली हुन्छ ।
हो, ‘मन भए तिमीसँग’ सबै कुरा हुन्छ । मन कस्तो हुन्छ तिमीलाई पनि थाह होला । त्यसैले भनिएको छ नि– मनै हो मित्रु, मनै हो शत्रु । 
समयले सबै पढ्ने छ । सयम नै मानक हो । समय नै मापक हो । हो, पक्कै हो । म केही हैन । पक्कै केही हैन । त्यसैले मलाई माफ गर नम्रता ! माफ गर ! 
नम्रता तिमीले भने जस्तै– 
‘मैले भोगेको यथार्थ 
देखेको संसार भन्दा फरक हरेछ ।’

हो नम्रता पक्कै हो । म पनि यसमा थप्छु– 
तिमीले भोगेको थयार्थ जस्तै
मैले देखेको मान्छे 
बेहोरेको मान्छेभन्दा फरक रहेछ 
धेरै फरक रहेछ ।”

कम्प्युटको स्त्रिनमा उसका यी शब्दहरुसँग दौडिरहेका मेरा आँखा उसको अनुहारमा गएर रोकिए । उसका यी अक्षरहरुसँगै मैले उसको मौनता पनि पढेँ । उसले अर्को एक ‘नीट सट’ हान्यो ।
भन्न थाल्यो– “भोलिपल्ट अर्को इमेल आयो । लेखिएको थियो– Can you please take out the article about my book? I don't like to publish it.मैले चुपचाप स्विाकारेँ । किन, के, कसो ? प्रश्न–प्रतिपश्न केही गरिन । फेरि अर्को इमेल आयो–I don't want to see this article  in any web magazine  or other publication again. Give me your phone. मनमनै प्रश्न गरेँ– मौनताको भाषा नबुझ्नेले अक्षरका भाषा झन् के बुझ्नु ? भित्रभित्रै दुःखको ठूलो पहिरो गयो ।”

यस अघि सम्पादक मित्रले “सरी धेरै प्रेशर आयो थाम्नै सकिन, त्यसैले तपाइँको समीक्षा मैले हटाई दिएँ” भनेर लाचारी देखाइसकेका थिए । सम्पादक मित्र पुराना र प्रत्रकारिता बुझेको भए पनि प्रेशर थाम्न सकेनन् ।

मान्छेलाई भोक, भोग र सम्भोगको रोगले त सताएकै छ, त्यसमाथि अर्को झन् खतरा प्रशंसाको महाभोकको महारोगले झन् पीडित छ मान्छे ।  उसको यो कथा सुनेर सधैं प्रशंसा र आत्मप्रशसामा भड्एिका भोका आत्माका केही दुःखी अनुहारहरु एकछिन् मेरा आँखामा दौडिए । छ्या भनेर पन्छाइदिएँ तिनलाई ।
मैले पनि एउटा कुरा राम्रोसँग बुझेको छु– लेखन भन्दा गहन र महान् साहित्य हो समीक्षा । अध्ययन, चिन्त–नमनन्, विचार, विषय, विवेक, भाषा–शैली र परिशिलनको सामुहिक स्वरुप हो समीक्षा । नजानेको विधा, समीक्षा साहित्यलाई कुरुप बनाएर लेखकलाई खुशी बनाउन चाहदैनथ्यो ऊ । 
ऊ भन्ने गथ्र्यो– “दुईवटा रोग छ लेखनमा । छायाँवाद र मायावाद । रोग मात्र हैन नेपाली साहित्यमा फस्टाएको प्रकोप नै हो यो । म समीक्षक होइन, हुदै होइन । हुन त मैले नलेखेको हैन, छिटफुट समीक्षा भनेर स्तुतिक्षा लेखेँ मायाँवादकै छायाँमा बसेर । औकात र अनुहार हेरेर । अनुहारमा पनि दुईखाले छन् नारी र पुरुष । त्यसमा पनि बढी नारी अनुहार नै हेरेँ मैले पनि । अहिले त्यो गरिन । गल्ती यहीँ भयो र एउटा शिलशिला अन्त्य भएर अर्को यहीँबाट सुरु भयो ।”
उसले लेखक विनोद मेहताको उदाहरण दियो– “लेखनको मुल्यलाई लेखक स्वयंले आँक्न सक्दैन भने त्यस्तो लेखन र लेखक स्वयंको पनि मुल्य हुदैन ।”
अप्रिल २७, २०१२ 

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !