Wednesday, May 1, 2013

मृत्युछाया

शिव प्रकाश

“सर्प र मूर्खले न भाषा बुझ्छन् न भावना !” ऊ यस्तै सोच्दै गइरहेको छ । मनमा शङ्का–उपशङ्को घाम उदाउने–अस्ताउने क्रम–उपक्रम चलिरहेको छ ।
“मलाई किन अदालत बोलाइयो ?”। मन्द गतिमा गुडेको उसको गाडीसँगै यो प्रश्न पनि गुडिरहेको  छ । अनि यो प्रश्नसँगै त्यो त्रादस दिनका दुस्वप्न पनि मस्तिष्कमा गुड्न थालेको छ ।
ऊ अदालत पुग्दा काइली कठघरामा उभिएकी थिई । उसलाई लाग्यो– “मेरो महाप्रस्थानको अत्यन्त जरुरी सूचना लिएर आउने यो यमराज्ञीका भोका आँखाले मलाई नै खोजिरहेका छन् ।” काइलीका आँखामा उसका आँखा एकछिन मिसिए ।
उपस्थिति जनाएर ऊ सबैभन्दा पछाडिको बेन्चमा बस्यो । एकैछिनमा उसलाई अर्को कोठामा लगियो । कमिला हिडे जस्तै उसका आँखा कोठाका भित्ता, भूइँ र सिलिङमा हिडिरहेका थिए, एक्कासी ढोका खुल्यो । काइलीलाई डो¥याउँदै ल्याउने बन्दुकधारी सुरक्षाकर्मी बाहिर निस्कियो । अटोमेटिक ढोका अटोमेटिक्ली बन्द भयो । काइली उसको छेउमै बसी ।
कहिल्यै विर्सन नसक्ने काइलीको अनुहारलाई ऊ एकटकले हेरिरहेको छ । काइलीले हग गर्न खोजी तर सकिन । हातमा हतकडी छ । ऊ भने मूर्तिवत् बसेको छ ।
काइलीका निर्जल आँखा एकाएक सजल भए । हेर्दाहेर्दै ती आँखाबाट नाइल र अमेजन बग्न थाले । राता पोटिला गाला आँसुमा नुहाउन थाले । निशब्द छे त्यो केटी, आँखा बोलिरहेका छन् ।
हिमालसँग भेटका लागि उसले न्यायाधिश समक्ष अपील गरेकी रहिछ । कारण बताए पछि न्यायाधिशबाट एक घण्टाको लागि गोप्य भेट गर्न स्विकृत भएछ ।
ऊ काइलीतिर हेरिरहेको छ । काइलीका उदास आँखा भने भूइँतिर गाडिएका छन् । अहिले उसका आँखा त्यसरी नै झुकेका छन् जसरी त्यो दिन काइलीले निसाहाय हिमालका आँखा झुकाएकी थिई ।
हिमाललाई सिङ्गै निनुलाँ जस्तो त्यसदिनको त्यही अनुहार आज निभेको बात्ती जस्तो भएको छ । आँखामा याचनाको तृष्णा सल्बलाइरहेको छ । नूर गिरेकी निरिह काइली बोल्न खोज्छे तर सकिरहेकी छैन । काइलीका आँखाभरी उकुसमुकुसका विरुवा बग्रेल्ती उम्रेका छन् । हिमाल भने बोल्नै चाहेको छैन ।
“भन, अब के चाहन्छौ तिमी ?” अन्ततः हिमालले नै मुख खोल्यो ।
काइलीको जवाफ सुनेर सोच्नै सकेन । किन भने सोच्दै नसोचेको जवाफ दिई उसले । हिमालले पनि सोच्दै नसोची जवाफको जवाफ दियो– “यो असम्भव छ ।”
त्यो असम्भवतासँगै हिमालको आँखामा त्यो सटगन आयो । जुन सटगनको नालले उसको छाती छोएको थियो । त्यो बन्दुक सँगै उसका आँखामा झल्झली त्यही केटी आई । त्यो केटीसँगै त्यो दिनको मध्य दिउँसो त्यही कोठाभित्र छि¥यो । त्यो मध्य दिनसँगै ढोका अगाडि त्यो निलो ¥याम पिकअप ट्रक रोकियो । कालो ड्रेस लाएकी त्यही केटी ट्रकबाट ओर्ली । टक् टक् टक् जुत्ताको आवाज निकाल्दै त्यही केटी भित्र पसी । रौद्रमुद्रामा त्यही केटीले कालो झोला फ्यात्त काउन्टरमा फ्याकी । ओभरकोटको बटम खोलेर त्यही केटीले सटगन निकालेर छातीमा तेस्र्यायी । धपधपी बलेका गोमनसापका जस्ता आँखाले डसुँला जस्तो गरी त्यही केटीले आदेश दिई– “सबै पैसा यो झोलामा हाल ।” मानौ तेसको बाउको सम्पत्ती हो त्यो ।
हिमालले त्यति नजिकबाट बन्दुक कहिल्यै देखेको थिएन । हिमाललाई त्यो बन्दुकको ‘मजल’ले छुँदा मत्युको छायाले छोएजस्तो भयो । हुँदाहुँदै सबै ‘फ्यासव्याक’ हुन थाल्यो ।  स्वास्नी, छोरो, बा–आमा, घर–परिवार, इष्टमित्र, छरछिमेकी, गाउँघर पाखापर्वत सबै मनमस्तिष्कमा फेरी सल्बलाउन थाले । यीसँगै उसका कानमा त्यही आवाज निरन्तर ठोक्किदै भित्रभित्रै प्रतिध्वनित हुन थाल्यो– “हरी अप... अदरवाइज आई गन पुल द ट्रिगर अप !”
मनमस्तिष्कमा एकाएक भरिएका ती पाश्र्वदृष्य भित्र निक्कैबेर हरायो ऊ । धप्धपी बलेका आफ्नै आँखाका क्रोधको आगोले पोल्न थाल्यो उसलाई । एक्कासी मुस्लो बनेर निक्लियो क्रोध– “ओ नो ! स्टे अवे फ्रम मि, प्लिज ! यू आर बेन्डिट ।” कोठाका भित्ता चर्किने गरी चिच्यायो हिमाल ।
भूइँतिर गाडिएका काइलीका आँखामा सन्त्रासको हुरी छायो । क्रोधका ज्वालामा लप्किएका हिमालका आँखासामू काइलाका सन्त्रस्त आँखा धेरैबेर टिक्न सकेनन् ।
हिमाललाई लाग्यो– “यो सर्प पनि हो र मुर्ख पनि । सर्पलाई जति नै दूध पियाए पनि विषै ओकल्छ । मूर्खलाई ज्ञानको घुटी जति नै पियाए पनि त्यसको मुखबाट मूढता नै विरेचित हुन्छ । बोल्नुको केही अर्थ छैन ।”
हिजो हिमाललाई वशिभूत गराउने काइली आज उसैसामू अभिभूत छे । विस्मिति मुद्रामा मुर्झाएको अनुहारमा ग्लानीका टाटा छ्याप्छ्याप्ती छन् । भित्रभित्रै उर्लेको पश्चाताप र पीडाको पोखरी भरिएर आँखाबाट फेरी अमेजन र नाइल बनेर बग्न थाल्यो । कपालीनी जस्ती त्यही काइली अहिले कामधेनु जस्ती भएकी छे ।
आफ्ना निरिह याचक दृष्टिले ऊ हिमाललाई एकतमासले हेरिरहेकी छे । कोठामा निक्कैबेर शून्यता ओहोदोहोर गरिरहरन्छ । लामो हेराई पछि १०० डिग्रीको तापमा पुगेको हिमालको क्रोधको पारो विस्तारै झर्दै जान्छ ।
“आखिर यसले चाहेकी के हो ?” हिमालभित्र प्रश्नको भुमरी चल्न थाल्यो ।
“हिमाल, मलाई थाह छ– मैले गल्ती गरेकी छु र त्यही गल्ती बारम्बार गरेकी छु । त्यही गल्ती बारम्बार गर्नु भनेको वास्तवमा गल्ती हैन नियत हो । इच्छा हो । म यो नियत र इच्छाबाट मुक्ति चाहन्छु ।”
उसका अनपेक्षित आशय र इच्छाले हिमालभित्र उत्सुकता र कौतुहलताका टुसामुना पलाउन थाले ।
काइलीको बाटुलो स्निग्ध उज्यालो अनुहार । गोरो छाला । लालिमा भरिएका भरिला गाला । लाम्चा निख्खर काला आँखा । लहलह केशराशी । पोटिला पाखुरा । चटक्क मिलेको जिउडाल ।
काइलीको प्रतिरुप हिमालको मस्तिष्कमा त्यसै दिनदेखि गाडिएको थियो । अहिले भने भित्रभित्रै तरङ्गको छाल उर्लिन थालेको छ ।
लोग्ने मान्छेको मन .... ? आफैंभित्र एक प्रश्न बन्यो ऊ । उभित्र प्रतिशोध, घृणा र क्रोधको हिउँ जमेर बनेको चिसो हिमाल काइलीको बोली, व्यवहार र रापले विस्तारै पग्लदै गयो ।
अमेरिकाको उच्चाट लाग्दो एकतन्त्रिय जीवन पद्धती ! यहाँको कथित सुकिलो समाजभित्रको दूर्गन्ध ! कथित सभ्यताभित्रको असभ्यता ! कथित थिति भित्रको दुस्थिति ! पूर्विय दर्शन र सभ्याताले थोरबहुत दीक्षित हिमालभित्रको मावनताको आँखाले अमेरिकी समाजभित्रको निर्दयता चिनिसकेको थियो ।
“कतै यो केटी पनि यही निर्दयी सामाजिक कुचक्रको जाँतोमा पल्सिएर यस्ती भएकी त हैन ?” एउटा प्रश्नले जरो गाड्यो ऊभित्र ।
“आखिर यो सब तिमीले किन ग¥यौ र म नै तिम्रो शिकार किन भए ?” नसोधी बस्न सकेन हिमाल ।
“हामी दुई दिदी बहिनी थियौं । सँगै बस्ने, खाने, खेल्ने, सुत्ने गथ्र्यौ । हामी सँगसँगै हुर्किदै गयौ । हामीसँगै हामीभित्रको नारीवय पनि हुर्किदै गयो । हामी दिदी बहिनी मात्र थिएनौ, साथी पनि थियौ ।”
बोल्दा बोल्दै निस्सासिए जस्ती भई । केहीबेर ओभएका आँखा फेरी रसाए । भित्रभित्रै जमेका पीडाका अमेजन र नायलले फेरी आँखाका डील नाघे । बाँकी भएको पेपर टावल दियो हिमालले ।
“भन, के भन्न चाहन्छौं ?
ऊ विग्रिएको थोत्रो टेप रेकर्डर जस्तो बीचबीचमा रोकिदै बोल्न थाली । भोल्युम घरी उचो घरी निचो हुन्थ्यो ।
“सँगसँगै हुर्केका हामी सँगसँगै मूभी हेर्न जान्थ्यौ । कहिले घरमा ल्याएर हेथ्र्यौ । हेर्दा हेर्दै पोर्न मुभी र म्यागजिन हेर्न थाल्यौ । हामीलाई कसैले रोकेन । १८ वर्ष पुगेका छोराछारीलाई केही भन्नु हुदैन भनेर बाबुआमाले पनि केही भनेनन् । जे गर्न पनि छुट चाहने हाम्रो उमेरलाई अमेरिकी समाजको नाङ्गो आदर्शले सदैव उक्साइरह्यो । बजारमा छ्यापछ्प्ती पाइने पोर्न मूभी र म्यागजिन किन्दा हामीलाई कसैले सोधखोज गर्न सकेन । रोक्न सकेन । फ्रिडम इज नट फ्री भन्ने कर्नेल वाल्टर हिचोकको भनाइलाई न यो समाजले बुझ्यो । न हामीलाई बुझायो ।”
बोल्दा बोल्दै ऊ ओइलिएको फूल जस्तो भई । फेरी पेपर टावलले फेरी आँखा पुच्छ थाली ।
“अनि ?”
“अनि पोर्न मूभी र म्यागजिन हेर्दा हेर्दै हामी दिदीबहिनी नै एक–आपसमा ‘प्ले’ गर्न थाल्यौ । हामी दिदीबहिनीबाट प्रेमी–प्रेमिका पनि भयौ । हाम्रा बारेमा बाबुआमाले थाहा पाएपछि हामीलाई घरबाट निकालिदिए ।”
हिमालको मनमा चिसो स्याठले हाने जस्तो भयो एकछिन् । ऊ बोलिरहेकी छे ।
“त्यसपछि हामी एउटा अपार्टमेन्ट लिएर बस्न थाल्यौ । विस्तारै हामी ‘लेजवियन’ भएको थाह हुदै गयो । भित्रभित्रै साथी, सहकर्मी र समाजले हामीलाई दूरदूर गर्न थाल्यो । हामी ‘इन्फेरेटिभ कम्प्लेक्स’ को शिकार हुन थाल्यौ । यही कारणले म बेरोजगार भएँ । डिप्रेशन र अरुको संगतले बहिनी ‘डोज’ पनि लिन थाली ।”
अनि ?
“मैले बहिनीलाई छोडिदिए । म एक्लै बस्न थाले ।”
“बहिनी नि ?”
“ऊ ओभर डोजले मरी ।”
“त्यसपछि  ?”
“त्यसपछि मैले बाउको बन्दुक चोरेँ । समयको कालो पर्दाभित्र लुक्दै म अपराधमा संलग्न भएँ ।  बाँच्नका लागि ‘रबरी’ गर्न थाले ।”
यो विरलाकोटीकी केटीको कथा सुनेर हिमललाई अमेरिका झन् झन् दूर र झन् झन् गहिरो भास जस्तो लाग्यो । अमेरिकाभित्र अर्को अनौठो अमेरिका पत्ता लागेको ठान्यो । अमेरिकाभित्र अझै कति अमेरिका छन् र अझै कति कोलम्बस जन्मनु पर्ने हो यो सबै पत्ता लागउन ? मनमनै सोच्न थाल्यो । काइली बोलिरहेकी छे ।
“जे गरायो, सबै समय र समाजले गरायो । म कलेज ग्य्राजुएट केटी हुँ तर आज जेलमा छु । मलाई यो समाजले गलत बाटोमा अगाडि बढ्न सिकायो तर फर्कन दिएन । म फर्कन चाहन्छु । त्यसैले तिमीसँग क्षमा र सहयोगका लागि याचना गरिरहेकी छु ।”
“यसका लागि पनि तिमीले मलाई नै किन रोज्यौ ? तिम्रा आफन्त, साथीभाइ पनि त छन् । के तिमी अर्को कुनै गेम त खेलिरहेकी छैनौ मसँग ?”
केही बेर रोकिएका अमेजन र नायल उसको आँखाबाट फेरी बग्न थाले ।
“यहाँ कसैले कसैलाई केही गर्दैन । गर्ने भए मान्छेसँग मान्छेको नाता बलियो हुन्थ्यो । यहाँ सबैभन्दा कमजोर भनेकै मान्छेसँग मान्छेको विश्वासको बाँध र सबैभन्दा बलियो अविश्वासको पर्खाल हो । यही अविश्वासको पर्खालको आडमा मान्छे यहाँ आफूलाई सुरक्षित ठान्छ । अमेरिका कसैको कोही नभएको ठाउँ हो । यहाँको समाजमा वस्ती छ तर समाज छैन ।”
“मसँग यस्तो प्रस्ताव राख्ने साहस कसरी भयो र तिमीभित्र यस्तो विश्वास कसरी पलायो ?”
“यो त मेरो हैन, तिम्रो प्रस्ताव र विश्वास हो, हिमाल ।”
हिमाल एकछिन् रानी हराएको मौरी जस्तो भयो । रनभुल्लमा प¥यो ।
“अर्थात ?” उसले सोध्यो ।
“अर्थात, सम्झ त त्यो समाचार ! जुन समाचारले सनसनी नै मचाएको थियो । याहू अनलाईन न्यूजदेखि सारा मिडियासम्म । तिमीले नै भनेको हैन, मलाई लुट्ने त्यो बन्दुकधारी सुन्दरीलाई म प्रेम गर्छु भनेर !”
सम्झेर ऊ मुस्कुरायो । मध्यदिउँसो एउटी बन्दुकधारी सुन्दरीबाट आफू लुटिएको कथा सँगै उसको सुन्दरतासँग आफू मोहित भएको कुरा बताउँदै भनेको थियो– “म त्यो लुटेरासुन्दरीलाई प्रेम गर्छु ।
“म त्यही दिनदेखि तिमीलाई प्रेम गर्न थालेकी थिएँ ।”  आँसुको बाढी दौडिरहेको काइलीको अनुहारमा अलिकति खुशीको आभा फक्रियो ।
“मैले अघि नै भनि सके यो असम्भव छ र प्रेमको अर्थ विबाह हुदैन ।” हिमालले आफ्नो आशय र वाध्यता पोख्यो ।
काइलीले ती आशय र वाध्यताका अर्थ खोज्दै सोधी– “अर्थात ?”
“अर्थात, म विबाहित छु । फेरी विबाहसँग प्रेमको कुनै सम्बन्ध हुदैन । विबाह सँस्कार हो भने प्रेम संवेदना हो । विबाहको सम्बन्ध मान्छेको आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक तत्वसँग जोडिएको हुन्छ तर प्रेमको सम्बन्ध आत्मासँग मात्र हुन्छ ।”
ऊ एकतमासले हिमाललाई हेर्न थाली । निक्कैबेर मनोवादमा हराई । मृत्युछाया बनेर मस्तिष्कमा गाडिएकी त्यो केटी अहिले प्रणयपात्र बनेर हिमालको मनमा नाचिरहेकी छे ।
“त्यस बाहेक तिमी के चाहन्छौ ?” फेरी सोध्यो हिमालले । हिमालको मुखबाट निस्किएको सान्त्वनाको सुवास काइलीको अनुहारमा पोतियो ।
मुस्कुराउँदै धेरैबेर पछि मुख खोली– “यदि म तिम्री स्वास्नी हुन सक्दिन भने तिमी जस्तै कुनै नेपालीको स्वास्नी भएर नेपाल जान चाहन्छु । म अमेरिकासँग अघाइ सकेकी छु ।”
“अमेरिकामा जन्मेकी केटी अमेरिकासँगै अघाई तर संसार अमेरिकाको भोको छ ! कति फरक छ देखेको मान्छे जस्तै सुनेको अमेरिका र बेहोरेको मान्छे जस्तै भोगेको अमेरिका ?” हिमाल आफैंभित्र रुमलियो । आफैंलाई सोध्यो तर अनुत्तरित नै रह्यो ।
अप्रिल २७, २०१३ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !